लुटको महलमा भ्रष्टाचार गन्हाउँदैन ?
इलामका प्रेमप्रसाद आचार्यले अहिले तमाम नेपालीको मन–मस्तिष्क हृदय यसरी बिथोलेको छ कि उनीजस्तै पीडितहरू अब हाम्रो मुद्दामाथि केही आवाज उठ्छ कि, परिवर्तन हुन्छ कि भनेर आशावादी छन् । उनीमाथि पीडा दिने संस्था तथा व्यक्तिहरू अब कसरी बच्ने यो विषय कहिले सेलाउला कसकसलाई घुस खुवाएर पानीमाथिको ओभानो बन्ने भनेर त्रस्त छन् ।
आम युवा जनताहरू कठै कस्तो मृत्यु रोजे कस्तो दर्दनाक कस्तो भयानक निर्णय लिए भनेर चिन्तित छन् । आफन्तजनहरू हेर हामीले थोरै ढाडस मात्र दिएको भए नि उसले जिन्दगी गुमाउनु पर्थेन, बालबच्चा टुहुरा हुनु पर्थेन भने पश्चात्ताप गरिरहेछन् सायद । र, श्रीमती छोराछोरी जसको त मन, मुटु, मस्तिष्क, जीवन र भविष्य सम्पूर्ण उथलपुथल हुने गरेर यो विषय उभिएको छ ।
तर सरोकारवाला निकाय पदमा बसेका एकादुईबाहेक कसकसलाई यो विषयले पोलेको छ ? वास्तवमा उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनी अत्याचारको विरुद्ध आफ्नै शरीर जलाएर, मारेर यो देशलाई ल है म जस्ता अरुले यसरी गर्न खोज्दाखोज्दै पाइलैपिच्छे ठक्कर खाएर मर्न नपरोस् भोलिको दिनमा भनेर आवाज उठाउने एक योद्धा हुन् ।
शरीर उनको जलेको हो तर मन मस्तिष्क सपना र भविष्य धेरैको जलेको छ यो देशमा । सबैसँग शरीर जलाउन सक्ने आँट कहाँ हुन्छ ? बरु रुन्छन्, कराउँछन्, छटपटिन्छन् केही नलागे बीस खान्छन्, झुन्डिन्छन् र कोठामै मर्छन् परिवार केही समय शोकमा डुब्छन्, सीमित समुदाय केही समय दुःखी हुन्छन् । उनलाई जस्तै मार्न बाध्य बनाउने ब्वाँसाहरू एउटा समस्या सल्टियो भन्दै झन्झन् मोटाउँदै जान्छन् र खुलेयाम दादागिरी शैलीमा लुटेर बस्छन् ।
यसरी कयौँ वर्ष बितिरहेको थियो होला तर यो घटनाले यथार्थ यसरी उदाङ्गो पारेको छ कि यतिबेला सरोकारवाला निकायहरू जुर्मुराएर यो बेथितिविरुद्ध आवाज उठाएर यसको जरैदेखि निर्मुल पार्ने हो भने भोलि उनीजस्तै अरु प्रेमप्रसादहरूले मर्नुपर्ने थिएन तर अफसोच यो देशमा लुटतन्त्र, भ्रष्टाचार, घुसखोरी अत्याचारले पराकाष्ठा नै नाघिसकेको छ जसको उपचार सानोतिनो तरिकाबाट सम्भव नै छैन ।
सोच्ने हो भने यो विषयले सत्तामा बस्ने हाम्रा मन्त्रीज्यू, सांसदज्यूहरूलाई लाज लाग्नुपर्ने हो नि, नीतिनियम संविधान बनाउने हजुरहरू होइन र ? जनताको हितका लागि बनाउनुस् न संविधान, बनाउनुस् न नियम । हामीले दिनरात रगत पसिना बगाउँदा नि परिवार पाल्न नसक्ने स्थिति छ किनकि हरेक ठाउँमा बेथिति छ ।
ज्ञानको बिगुल छर्नुपर्ने शिक्षाजस्तो पवित्र ठाउँमा व्यापार छ, आफ्ना आफन्त बिरामी हुँदा छटपटिरहेका आफन्तको पीडामाथि व्यापार छ, खाई नखाई बालबच्चालाई पढायो, लेखायो जागीर खाने ठाउँमा उस्तै व्यापार छ, लौ त यो देशमा केही गर्न सकिएन बिदेश जाऊ, अब त्यही व्यापार छ । पाइलैपिच्छे पैसा बिछ्याउनुपर्ने उपलब्धि निराशा अनि हुँदैन त फ्रस्टेसन, डिप्रेसन ?
एउटा सियो किन्दा पनि कर तिर्नुपर्छ केका लागि ? काम गर्न सक्ने उमेरकाले कर तिरेको बदलामा तिम्रा बालबच्चा देशले पढाउँछ, तिमीहरू काम गर्न नसक्ने हुँदा, तिमीहरू बिरामी हुँदा देशले हेर्छ भन्नुस् न बनाउनुस् न यस्ता नीतिनियम सिक्नुस् न विकसित मुलुकहरूबाट । हाँसीहाँसी कर तिरिन्छ तर अफसोच यो देशमा गरिबलाई निचोरेर पदमा पुग्नेहरूले सुख सहेल गर्छन् । हैन त्यो सुखको शय्यामा भ्रष्टाचार गन्हाउँदैन ? गरिबको पसिना गन्हाउँदैन ? त्यो पैसाको रापले पोल्दैन ? हाम्रा सन्तानको रहर मारेर तिम्रा सन्तान खुसी हुन सक्छन् ?
यो देशमा हामी जस्ता मिडल क्लासले सरकारबाट पाउने भनेको बच्चा छँदा पोलियो थोपा, जुकाको औषधी, १६ वर्ष पुगेसी नागरिकता, अनि जवान छँदा निराशा हन्डर ठक्कर र बुढेसकालमा वृद्धभत्ता । त्यति मात्र हो त ? खोइ अवसर ? खोइ आत्मा सन्तुष्टि ? खोइ शान्ति ? खोइ स्वतन्त्रता ?
हेर्नुस् त हाम्रो दैनिकी, जेसुकै होस् यसपाला त एकजोर लुगा फेर्छु, बालबच्चालाई घुमाउन लान्छु, एउटा मनले भन्छ अर्को मनले धत के भनेको बिर्सिस छोराछोरीको फी तिर्न ? तेरो व्यापार घाटामा छ भनेर सरकारले मान्छ ? कर तिर्नु परेन जरिवानामा पर्लास् नि ?
आमा बूढी हुनुहुन्छ कतिबेला के पर्छ भन्न सकिन्न थोपाथोपा गरेर राखिस् भने भोलि उपचार गर्न ऋण खोज्नु पर्दैन । त गरिब छस् भनेर तेरो सरकारले उपचार गर्छ ? यी र यस्तै विषयले जीवनमा कहिले खुसी भोग्नै पाउँदैन मिडल क्लास परिवारले । कि त उल्कै पैसावाल हुन पर्यो कि त पहुँच हुनुपर्यो । होइन भने खुसी भएर बाँच्ने त वातावरण नै छैन ।
दिनदहाडै छोरीचेली बलात्कृत हुनुपरेको छ । दिनदहाडै चोरी डकैती, अत्याचार, लूट, खोइ नियम खोइ सजाय ? हरेक दिन जस्तो दुर्घटना हुन्छ चाहे जमिनमा होस् या आकाशमा खोइ कारबाही ? घरबाट निस्किएसि फिर्ता नआउन्जेल डर छ त्रासैत्रास छ । मनलाग्दी छ जसको शक्ति उसको भक्ति छ यो देशमा । जहाँ पाप त्यही फलिफाप छ ।
नुनदेखि सुनसम्म हरेक ठाउँमा चर्को कर तिर्नुपर्ने स्थिति छ र त्यो करको भरपुर उपयोग गर्ने चाहिँ सत्तावाला । हाम्रा बालबच्चाको मन मारेर तिरेको करले तिम्रा बालबच्चा खुसी हुन्छन् मेरो प्रश्न ? हाम्रो परिवारले आधा पेट खाएर तिमीलाई तिरेको करले के तिम्रो परिवार अघाउँछ ?
हामीले पब्लिक गाडीमा उभिएर कयौँ पटक घाइते भएको खबरले तिमीलाई एसीवाला कारमा हिँड्दा खुसी मिल्छ ? हेलिकप्टर चार्टर गर्न नैतिकताले दिन्छ ? खैर यी सब कुरापछि सोच्नुहोला या नहोला तर यति बेला यति चाहि बिन्ती सोचिदिनु ती निर्दोष महिलामाथि यतिबेला कस्तो बज्रपात परेको होला ? उनी कति विक्षिप्त भएकी होलिन् ? उनको मनमा के बितिराको होला ? आफू पनि मरुँ या अब कसरी बाचूँ ?
ती नाबालक छोरीहरूको अवस्था कस्तो होला ? परिवारको खम्बा नै ढलेपछि उनीहरूको सहारा को त अब ? यतिबेला यस्तो चाहिँ नसोचिदिनु होला कि अब उनीहरूको त्यो ६० लाख ऋण नेपाली जनताले तिरिदिहाल्छन् नि । नेपाली जनताको मन ठूलो भएको हुनाले उनीहरूले त्यो सहयोग गच्छेअनुसार आफ्नो मायाले दिएका हुन् । कर्तव्य त तपाईं सरकारको हो किनकि देशको चरम बेथितिले गर्दा एउटा ३६ वर्षे जवानले आफ्नो त्यति कोमल शरीरमाथि आगो लगाउन बाध्य हुनुपर्यो ।
उसको परीवारका निम्ति जति बिघ्न क्षतिपूर्ति दिलाए तापनि उसको उपस्थिति जस्तो अरु केही हुनै सक्दैन यद्यपि जे नहुन भैहाल्नु । अब उनीहरूले पनि त्यस्तो कुनै नराम्रो कदम नचालून् भन्नका लागि कमसेकम यो राष्ट्रले ऊ माथि लागेको ऋण तिरिदिएर, ती दुई छोरीलाई जति पढ्न चाहन्छन् पूरै फी मिनाहा गरिदिएर, पीडितको श्रीमतीलाई गुजाराका निम्ति एउटा रोजगार दिलाइदिए उनीहरूको घाउमा थोरै भए नि मलमपट्टि लाग्ने थियो । आम जनताले गरेको सहयोगमा कृपया आँखा नलाइदिनुस् त्यो सहयोग ती छोरीहरूको बाँच्ने आधार हुन सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया