विचार

रविलाई समर्थन थियो, सप्रेम सुझाव छ

घनश्याम भट्ट |
माघ २२, २०७९ आइतबार १२:१२ बजे

सिनेमामा नायकलाई एउटा समाज सुधारक, चरित्रवान् वा प्रजानायकका रूपमा चित्रण गरिन्छ, तर नायकलाई अत्यन्त हिंस्रक र दानवीय रूपमा प्रस्तुत गरिएका सिनेमा पनि सफल भएका प्रशस्त उदाहरण छन् । यस्ता सिनेमाको कथामा खलनायकलाई नायकभन्दा खतरनाक दुष्टका रूपमा चित्रण गरिदिए पुग्छ । यो  राजनीतिमा पनि लागू हुन्छ । कुनै विषयमा दक्षता र दृष्टिकोण नभएका, कुनै नयाँ मानव कल्याणकारी चिन्तन नभएका, गाली पुराण कण्ठ गरेका वा सम्पत्तिको मोहले राजनीतिमा लागेका नेताका लागि अरूलाई दुष्ट र खलनायकका रूपमा चित्रण गर्नु राजनीतिको सजिलो बाटो हो ।

प्रसंग हो, रवि लामिछानेको । कानुनी रूपमा कसूरदार देखिएमा उनले सजायको भोगी हुनै पर्छ । उनलाई अदालतले हालै दिएको एउटा दण्ड कसैको आपत्तिको विषय होइन, तर अदालतले त्यो भन्दा गम्भीर प्रकृतिका विषयमा यति तीव्रताका साथ फैसला गरेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक इतिहास नभएकाले कांग्रेस, एमाले र माओवादीको असफलता स्वरूप जनताले रास्वपालाई मत दिएका होलान् भन्ने अनुमान गर्न सकिन्छ ।


रास्वपाले दिएको चुनौती दशकौंदेखि राजनीति गरेका नेतालाई असह्य छ । त्यसैमा एउटा विशेष परिस्थितिवश रविले छोटो राजनीतिक यात्रामै उपप्रधान सहितको गृह मन्त्रालय प्राप्त गरे । राजनीति सिवाय केही नगरेका, नजानेका, नदेखेका पुराना दलका नेताहरूका लागि यो एक अपमानको विषय हुन पुग्यो ।

२०४८ मा देउवा र २०५१ मा ओली गृहमन्त्री हुँदा उनीहरूको लामो राजनीतिक पृष्ठभूमि थियो । उता दाहाल जस्ता राजनीतिका हेभीवेटले रविको कारणले आफ्नो निर्वाचन क्षेत्रबाट लखेटिएको दाहालको दर्शनमा अपमानको विषय छँदै थियो । त्यसैमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग निश्चित भएको बेलामा रविको कारणले अर्कै परिस्थिति बन्यो ।

एउटा युवा उपप्रधानमन्त्री भएको कारणले कतिपय वृद्ध नेताहरूलाई मन्त्री बन्ने अवसर जुरेन । रविका अनेक कमजोरी होलान् तर उनी द्रव्य लाभ गर्न राजनीतिमा आएका होइनन् भन्नेमा पंक्तिकार स्पष्ट छ । रास्वपाको लोकप्रियताले देखाएको क्रमभंगता वा नयाँपन एक पटक मन्त्री बन्ने सपनाले राजनीतिमा लागेका पेसेवर नेतालाई पचेन । त्यसैले रविले पद ग्रहण गरेकै दिन उनलाई खलनायक देखाउने खेल सुरु भयो ।

उनले सजाय भोग्नैपर्छ, तर आजको प्रमुख तगारो रवि नै हुन् त ? आफ्नो दुष्टता लुकाउन कसैलाई महादुष्ट मात्र देखाउने ?  

रविविरुद्धको अदालती सुनुवाइको तीव्रता प्रसंशनीय छ, तर उम्मेदवार बन्न अयोग्य नागरिकले निर्वाचनमा भाग लिएर निर्वाचित भएका अनेक उदाहरण यसअघिको संसद्मा पनि थिए, आज पनि सबैका सामु छरपस्ट छन् । तिनको हकमा नेपालको बौद्धिक बहस कता जान्छ ? निर्वाचन आयोगले त्यस्ता मुद्दाहरूको छिनोफानो गर्नु पर्दैन ?

रविको राहदानीको मुद्दामा नेपालको बौद्धिक बहस सुरु भएको छ । कुनै पनि घटनाको अनुसन्धानमा घटनाको उद्देश्य महत्वपूर्ण हुन्छ । जस्तो कि यौटा चालकले कुल्चेर कसैको मृत्यु भएको रहेछ भने त्यो चालकलाई न्यायाधीशले ‘तिमीले मान्छे मार्‍यौँ, तिमीलाई बीस वर्षको सजाय हुन्छ’ भनी हचुवा फैसला गर्नु न्यायोचित हुँदैन । चालकको लापरबाही हो वा उद्देश्य हो ? चालकले सयौं मानिसलाई बचाउने प्रयास गर्दा दुर्घटना भएको हुन सक्छ वा चालकले आफ्ना यात्रुहरूको जीवन रक्षाका लागि कसैलाई कुल्चिनु परेको हुन सक्छ ।

त्यसैले घटनाको उद्देश्य स्पष्ट नभएसम्म अपराधको गहिराइँमा पुग्न सकिन्न । सजाय पनि त्यसैमा आधारित हुन्छ । रोजगारीका लागि लाखौँ नेपाली विदेशिएका छन् । रवि पनि त्यस्तै बाध्यतावश अमेरिका गएका होलान् । के उनी कुनै गलत नियतले नेपाल फर्किएको प्रमाणित भएको छ ? के उनले पटक पटक कीर्ते नागरिता लिएर बेच्ने अपराध गर्दै आएका छन् ? के उनले नेपाली राहदानी कुनै अपराध गर्ने उद्देश्यका लागि लिएका थिए ? के उनको पृष्ठभूमि आपराधिक छ ? उनी वंशजको नाताका नेपाली नागरिक हुन् भन्नेमा कुनै विवाद छ ? 

राहदानी लिने क्रममा त्रुटि भएको भए प्रचलित कानुनले दण्ड देला नि त । अदालतको फैसला गर्ने न्यायाधीशलाई धम्काउने नेताहरू नेपालले पालेर राखेकै छ, तर रविले अदालतको फैसलालाई आदर गर्ने भने र आफ्नो राजीनामा समेत दिए । रोजगारीका लागि विदेशिएका मानिसलाई अमेरिकामा नागरिकता प्राप्त गर्ने सुविधा मिल्छ, जुन सुविधा अन्य देशहरूमा जाने कामदारलाई प्राप्त हुँदैन । यो अपराध होइन ।

देशद्रोहको अभियोग लागेको व्यक्तिलाई पनि नेपालको राजनीतिले स्वीकारेको छ । बलात्कारको मुद्दा खेपिरहेको व्यक्तिलाई राष्ट्रिय टिममा राखिएको हामीलाई स्वीकार छ । व्यक्ति हत्याको मुद्दा अदालतमा चलिरहेको व्यक्तिलाई सभामुखमा स्वीकारिएको छ । कांग्रेस, एमाले र माओवादीमा दागी सांसदहरू निर्वाचित भएर आएका छन् । कतिपयले त शपथ ग्रहणसमेत गर्न सकेका छैनन्, कुनै फरार छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र प्रहरी प्रशासनको व्यापक अनुसन्धान भने केवल रविमा केन्द्रित छ । यो अलि अस्वाभाविक भएन ? राजनीतिमा लागेर आर्थिक हैसियत वृद्धि गरेको व्यक्तिलाई नेपालको राजनीतिले महानायक नै मानेको छ । नेपालका प्रमुख तीन दलका नेतालाई ‘तिम्रो आर्थिक हैसियतको मुहान के हो ?’ भनी कसैले कुनै सार्वजनिक कार्यक्रममा सोध्ने आँट गरेको छ ? तिनको सम्पतिको स्रोत खोज्न कोही अख्तियार वा न्यायालय गएको छ ? रातो राहदानी मुद्दामा मुछिएका कतिपय नेताहरू राजनीतिमै छन् । त्यो बेइमानी गर्ने उद्देश्य हो । तिनलाई आजसम्म कुनै कारबाही भएको छ ? तिनको सांसद पद खारेज गरिएको छ ?  

रविद्वारा कुनै कानुनको उल्लंघन भएको रहेछ भने निःसन्देह उनले त्यसको सजाय भोग्नुपर्छ, तर आजको प्रमुख तगारो रवि नै हुन् त ? आफ्नो दुष्टता लुकाउन कसैलाई महादुष्ट देखाएर सिनेमामा ताली खान सकिन्छ । बालेन र रास्वपाको उदयलाई जनताको असल, अग्र सक्रिय र दक्ष नेता रोज्ने कोसिसका रूपमा बुझ्न सकिन्छ । रास्वापाको सफलताले नेपालको राजिनीतिमा जीवन्तता र परिवर्तन दुवै देखाएको छ । आ–आफ्नो पार्टीको इतिहास मात्र रटेका नेता अबको युगमा टिक्दैन । अब भविष्यको कुरा गर्न सक्ने नेताको खोजी हुन थालेको छ । ११ लाख मत रास्वपाले त्यसै तिनले पाएका होइनन् ।     

यो निर्वाचनका चर्चित पात्रहरू सागर ढकाल, ज्ञानेन्द्र शाही, रवि लामिछाने, तोषिमा कार्की, सोविता गौतम आदिले प्राप्त गरेको मतलाई अन्तर्घात भन्ने माधवकुमार नेपाल र झलनाथ जस्ताको ठेक्का हो नेपालको राजनीति ? कांग्रेस, एमाले र माओवादीको जनतामाथि ह्विप लगाउने चिन्तन रास्वपाका कारणले केही हदसम्म असफल भयो । 

यो निर्वाचनको उपलब्धि नै सागर र ज्ञानेन्द्र लगायत रास्वपाका यी युवाहरू हुन् । यही हो लोकतन्त्रको उपहार, लोकतन्त्रको सुन्दरता । रास्वपाका सांसदहरू आ–आफ्नो पेसामा सफल र दक्ष देखिन्छन् । यिनीसँग दृष्टिकोण छ, जुन अधिकांश ठूला पार्टीका नेताहरूमा पटक्कै छैन । 

त्यसैले गाली पुराणमात्र रटेकाले रास्वपालाई तगारोको रूपमा लिएका छन् । नयाँ पिँढीका शिक्षित युवाहरूको उपस्थितिले यो संसद् विगतमा कांग्रेस प्रतिपक्षी रहेको संसद्भन्दा जीवन्त बनेको देखिन्छ । त्यसैले रास्वपालाई असफल पारियो भने जनताको परिवर्तनको अभिमतप्रति कुठाराघात हुनेछ । सिनेमा नायकलाई सफल बनाउन जे जस्ता तिकडमबाजी गरे पनि हुन्छ, तर यथार्थको नायक भने यथार्थमै असल हुनुपर्छ । अरूलाई खराब देखाएर आफू असल देखिन खोज्ने राजनीति क्षणिक हो । यस्तो नाराले देश उँभो लाग्दैन ।    

अन्त्यमा, 

पंक्तिकारको बुझाइमा रास्वपा एउटा सुशासन केन्द्रित आन्दोलन हो । यसको असफलता कुशासनको सफलता हुनेछ । रास्वपाको ११ लाख मतमा रविको लोकप्रियता प्रमुख कारण हो त्यसैले आफ्नो नेताको प्रतिरक्षा गर्नु उसको धर्म हो तर जनताले रास्वापाबाट के–कस्तो अपेक्षा गरेका छन् भन्ने कुराको रास्वपाले सूक्ष्म रूपमा अध्ययन र मनन गर्नुपर्छ ।

रास्वपाले सरकारमा जान हतार गरेर केही अपरिपक्व निर्णय गरिसकेको छ । कहिल्यै निर्वाचन नजितेको र संसदीय निर्वाचनमा पराजित भएर पनि संसद्मा गएको व्यक्तिलाई उपप्रधानमन्त्रीमा स्वीकार्नु रास्वपाको महाभूल थियो । दाहाललाई पनि ससर्त मात्रै स्वीकार्नु पथ्र्यो । रास्वापाको शक्ति नै सुशासन हो, जसमा दाहाल असफल भइसकेका छन् ।

मालदार मन्त्रालय मोह रास्वपाका लागि आत्मदाह गरे सरह हुन् । आगामी उपनिर्वाचनमा आफू बाहिर बसेर आफ्नो दललाई जिताएमा रविको राजनीतिक उचाइ बढ्नेछ । रविले आफूमाथि लागेका आरोपको प्रतिरक्षा गर्न यो संसद्को पूर्णकाल संसद् बाहिरै बस्दा राजनीतिमा अत्यन्त राम्रो सन्देश जान्छ । जनविश्वास प्राप्त गर्नुभन्दा जनविश्वास जोगाउन रास्वापाले ठूलो मेहनत गर्नुपर्ने देखिसकेको छ । जनताले सधैं शंकाको लाभ दिँदैनन् । जनताको साथ नभए न्यायालय, विद्यार्थी, कर्मचारी आदिमा आफ्नो पकड नहुने राजनीतिक शक्तिको रक्षा कसले गर्देला ?


Author

थप समाचार
x