विचार

लासैलासमाथि उडिरहेका यी गिद्ध हुन् कि नेताहरू ?

कुर्सीका लागि काकाकुल राजनीतिमा शोकाकुल भन्‍ने शब्द हुँदैन !

विमल आचार्य |
बैशाख २१, २०७८ मंगलबार १६:२८ बजे

राजनीतिशास्त्रको पहिलो क्लासमा सल्यानमा गुरु रामशंकर बर्माबाट सुनिएकै हो- पलिटिक्स इज डर्टी गेम । 
‘राजनीति पीडित’ परिवारको मैले रहरले वा जानीबुझी यो विषय पढेको होइन । अन्य विकल्प नभएपछि मैले यो पढिफालेको हुँ । राजनीतिका कारण सधैँ तनावै मात्र झेलिरहेकी आमालाई ‘राइनीति’ पढ्न थाल्यो भन्ने चिन्ताले सताउला भनेर ‘पोल्टिकल पर्छु’ भनिएको कथा बेग्लै छ । यसको कथाव्यथा लामै छ, अहिले त्यतातिर नजाऊँ । (म पनि राजनीति बुझ्छु, राजनीति नै पढ्या हम् भन्नलाई यल्ले यति भूमिका बाँध्यो भन्ने यहाँले पक्कै बुझिसक्नु भयो । यहाँहरूले बुझेको पनि शतप्रतिशत ठीकै होला ।) 

त, घरमै एमाले र कांग्रेसका जिल्लास्तरका वरिष्ठ नेताजीहरू भएको परिवारको मान्छे म । बाहरूको राजनीतिक रडाको, आमाहरूको असीम दुःख पहिलो पाठशालादेखि नै देखेभोगेको म । राजनीतिमा सत्य र त्यागको शृंखलाबद्ध ट्रेजेडी अनि झुट र स्वार्थको जयजयकार, यी र यस्ता भावुक तथ्यसित राम्रै चिनापर्ची भएको मनुवा म माओवादी सशस्त्र विद्रोह सँगसँगै हुर्कें । 


राजनीतिको रस कतिसम्म मादक हुन्छ, राजनीतिको नांगो तस्बिर आफ्नै नांगो आँखाले प्रत्यक्ष देखियो पनि । २०६२–०६३ को वसन्त विद्रोहको अलिकता पहिला पहिलोचोटि काठमाडौँ आएको र आन्दोलनमा प्लाकार्डसहित शंकरदेवतिर जुटेको मान्छे म । रत्नपार्कको आकाशे पुलमुनिको तिमल्सिना बेकरी सपमा रोजन नेपाल, शैलेश पोख्रेल, पुरुषोत्तम अर्यालादिहरूसँग होस् या प्रेमिकाहरूसँग डेटिङहरूमा समेत राजनीतिक विषयमा इन्द्र लोहनी गर्न सक्ने म । `

महामारीको यत्रो प्रश्नचिह्नलाई (?) लाई हँसिया मात्र देखिरहनुभएको छ भने हथौडा झिकेर टाउकोमा बजार्नुस् । कोभिडले स्वाद मात्र होइन, तपाईंको गिदी नै खोसिसकेको हुन सक्छ ।  

हर साँझ, हर दिन, हर यात्रा, हर अड्डामा अहिलेसम्म सबैभन्दा बढी केही हानिइयो भने राजनीतिक गफ हानियो । जिन्दगीमा मैले सबैभन्दा बढी केही लडाएँ भने, गफै लडाएँ । त्यो पनि राजनीति । राजनीतिक विश्लेषण सुनाउनुमा, नेताजीहरूलाई गाली गर्नुमा, देशको चिन्ता गर्नुमा जति आनन्द सम्भोगमा पनि छैन । तर, अहिलेसम्म मैले राजनीतिक विषयमा लेख्ने दुस्साहस चाहिँ गरिनँ । (सबथोक त राजनीति हो, तैँले राजनीतिलाई साह्रै संकुचित अर्थमा बुझेको रहिछस् भन्ने तपाईंको तर्कलाई स्वागत छ । हो, म नि तपाईं जस्तै बर्थ न अर्थको तर्कशास्त्री हुँ । तर, अहिले म तर्कशास्त्रार्थको मुडमा छैन । मलाई रिस उठेको छ ।)
सानो छोरो सुताउँदा एक झप् सँगै निदाएछु । अचानक बिउँझेँ । फेरि निद्रै लागेन । ल्यापटप खोलेर यो टाइप गर्न थालेँ । यति बेला रातिको १ः२८ बजेको छ । सोमबार नै सुरु भएछ । म मनको मैदानमा जोडतोडले उफ्रिरहेको भकुण्डोलाई शब्दमा उफार्दै छु । बस् !  

आज (हिजो हो खासमा तर आजै लेख्न मन लागिरहेछ) मेरो दिनको सुरुवात सहकर्मी साथी कोभिड पजिटिभ भएको खबरबाट भयो । अनि अघि दिनको अन्त्य प्यारो साथीको १८ महिने सुपुत्र कोभिड भएर बनेपाको अस्पतालमा भर्ना भएको टेलिफोन संवादबाट भयो । आरम्भ र अन्त्य नै जब यस्तो झुरेस्ट छ, दिन कस्तो होला !  
न्युजरुममा खराबै खराब खबरले घेरिएपछि मलाई भाउन्न भयो । मैले दिउँसो एउटा ट्वीट गरेँ । ट्वीट जस्ताको तस्तै:

संक्रमित–सिकिस्त हुने, मृत्यु हुने बढ्दो छ
उपचारै नपाइरहेको दृश्य कहालीलाग्दो छ
स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्
कमाइ–बचत नहुनेहरू भोकले मर्दैछन् 
कुबेरहरू धन बेवारिस हुने हो कि– शोकमा छन्
सफाइ–सुरक्षा–सञ्चारकर्मी फ्रन्टलाइनर बनेर जुटिरहेका छन्
अनि केमा व्यस्त छन् त दलहरू ?

मेरो निद्रा गयल गराउने लाइन यही हो । मेरो मन–मस्तिष्क यही ‘केमा व्यस्त छन् त दलहरू ?’ वरिपरि नै घुमिरहेको छ । बितेको झन्नै ५० घन्टादेखि म यही प्रश्नमा रुमल्लिरहेको छु । 

आफू जसको कमाइबाट पालित, पोषित, संरक्षित र जीवित हुनुहुन्छ, तिनीहरू शोकाकुल भइरहँदा कुर्सीकै प्यासमा काकाकुल भइरहने तपाईंहरू ! आफूमा विवेक र इमान बाँकी रहेको प्रमाणसहित जनता–जनार्दनको अदालतमा तीन दिनभित्र हाजिर हुनुहोला ।

मेरा आफन्तजन चार जना संक्रमित हुनुहुन्छ । छिमेकी संक्रमित । सहकर्मी संक्रमित । कति त सिकिस्तै छन् । उपचारको कुनै गन्जायस छैन । उपदेश दिनबाहेक कसैका लागि केही गर्न सकिएको छैन । चार दिन भो, यहाँ काठमाडौँमा एउटा बेड खोजेको, कतै पाइएको छैन । अब पाइने छाँट पनि छैन । दाङमा सिकिस्त बिरामीलाई अब ल्याउनै नसकिने भएको छ । 

चार वर्षे छोरो मान्छेको नजिकै पर्नुहुन्न, ढोकाबाट निस्किनैहुन्न, स्कुल त जानैहुन्न, बाहिरबाट आउने बाआमालाई अँगाल्नै हुन्न भन्ने उल्टो पाठ सिकेर जीवनमा सिकाइ सुरु गर्दै छ । यो कलिलो उमेरमा सिकेको यस्तो पाठले उसको सामाजिकीकरण, मनोविज्ञान कस्तो हुने हो ! खै र, यो चिन्ता अहिलेलाई ठूलो होइन । ठूलो के हो त अहिले भने, जसरी पनि ज्यान जोगाउनुपर्यो ।  

खानपिउन नपाएका, आफैँ संक्रमित भएर अस्पतालमा अहोरात्र खटेका, पीपीईमा पाकेर सोफामा झुलेका, घरमा आफ्ना नानीहरूको तातेबोली र बाआमाको थोतेबोली सुन्न नपाएका स्वाथ्यकर्र्मीहरूको तस्बिर एकातिर छ भने यही बेला यही देश (प्रदेश)मा सांसदहरू किनिएको–बेचिएको, झुत्ती खेलेको भिडियो भाइरल छ । स्वास्थ्यकर्मी भर्सस स्वार्थकर्मी !

खानपिउन नपाएका, आफैँ संक्रमित भएर अस्पतालमा अहोरात्र खटेका, पीपीईमा पाकेर सोफामा झुलेका, घरमा आफ्ना नानीहरूको तातेबोली र बाआमाको थोतेबोली सुन्न नपाएका स्वाथ्यकर्र्मीहरूको तस्बिर एकातिर छ भने यही बेला सांसदहरू किनिएको–बेचिएको, झुत्ती खेलेको भिडियो भाइरल छ । स्वास्थ्यकर्मी भर्सस स्वार्थकर्मी !

म पागल भएको छु, यो सब देखेर । यो सब के भइरहेको हो, मलाई थाहा छैन । आर्यघाटमा लासको लस्कर छ । शवले पनि पालो कुनुपर्ने छ । यस्तोमा मेरो राजनीति चाहिँ ‘महाभोज’मा व्यस्त छ । अनुप बराल निर्देशित नाटक ‘महाभोज’मा लासमाथिको निकृष्ट राजनीति हेरिएको थियो, मण्डला नाटक घरमा । मेरो राजनीति यथार्थमा जति खराब देखियो, त्यो नाटकमा यसको दशांश पनि थिएन । 

एउटा जिउँदो चेतना भएको समाजमा सपनामा पनि कल्पना गर्न नसकिने दृश्य यहाँ यथार्थमा घटित छन् । एब्सर्ड भनिने वा सररियल कलामा पनि अतिशयोक्ति लाग्ने संकथन यहाँ कसरी स्वाभाविक जसरी रचित भइरहेछन् ? दुनियाँभरको ‘सर्वश्रेष्ठ प्राणी मै हुँ’ भन्ने मान्छे, अझ त्यसमा राज्यभरको ‘सर्वश्रेष्ठ सम्माननीय–माननीय मै हुँ’ भन्ने ‘अभिभावक’ले किन यसरी लासैलासमाथि निर्वस्त्र ताण्डव नृत्य नाचिरहेछ ? उसको नाच जति असंवैधानिक छ, नाचबीचको हाँसो उत्ति नै अश्लील । 
कोही शासक किन यति पतित र स्खलित हुन सक्छ ? के यो सब स्वीकार्य छ हामीलाई ? के यो सब स्वाभाविक हो ? सामाज्य नै हो ? के यो करको सदुपयोग हो ? के यो समाजवादउन्मुख राज्यको रिहर्सल हो ? के कुर्सी फाइट पहिलो प्राथमिकता हो ? सँघारमा यस्तो संकट आइपुगेका बेला एक साता पनि युद्धविराम गर्न नमिल्ने यो के उपध्रो हो ? लासैलासमाथि उडिरहेका यी गिद्ध हुन् कि नेताहरू ? बुझ्या भए मार्दिनु ! 

मलाई पनि थाहा छ:
– राजनीतिमा सोझो औँलाले घिउ निस्किँदैन । 
— राजनीति सत्ता र शक्तिको खेल हो । 
— राजनीति जति निर्मम खेल अर्काे हुँदैन । 
— जोगी हुन कसैले राजनीति गर्दैन । 
— राजनीति मूल नीति हो, कुला–नहरको कुनै माने छैन, मूल मुहानको मात्र अर्थ छ । 
— राज्य भनेको शोषक हो, हिंस्रक हो, दमनकारी नै हो । 
—  राज्य भनेको वैध अपराधी हो । 
 — राज्य चलाउनेले शक्तिको दुरुपयोग गरेन भने मात्र त्यो अनौठो हो । 
— चार–पाँचओटा तत्व मिलेपछि मात्र राज्य बन्छ । पहिलो तत्व त मान्छे नै हो । 

अनि मान्छे अर्थात् जीवन पहिलो हो भने के हाम्रो राज्यले आफ्नो मूल मियोलाई महत्व दिइरहेको छ त ? मान्छेलाई, मानवतालाई चरम उपेक्षा गरेर नयाँ राजनीतिशास्त्र नै रचना गर्ने महान् तथा गौरवशाली योगदान गरिरहेको छैन र हाम्रो राज्यले ? 

जब मान्छे नै रहँदैन, तब त्यहाँ केको सरकार, केको सार्वभौमसत्ता, केको जग्गा–जमिन, केको अधिकार, केको राष्ट्रवाद, केको वादविवाद, केको सत्ता, केको प्रतिपक्ष, केको विश्वास, केको अविश्वास, केको विघटन, केको तानातान, केको भनाभन, केको हानाहान, केको रमिता ? 
कोभिडले कात्रो मागिरहेका बेला मुलाहरू कुर्सी मागिरहेछन् ! मलाई लाग्छ, सद्दे मान्छेले यस्तो जात्रा देखाउन त के, सोच्न पनि सक्दैन । यिनीहरूलाई पुनःस्थापित संसद् होइन, पुनःस्थापना केन्द्र वा सुधार गृह वा मानसिक अस्पतालको खाँचो छ । 

गाउँ–नगर सरकारहरू कोभिड सामना गर्न गच्छेअनुसार भिडिरहेका छन् । अनि तपाईं प्रदेश र संघका सांसदहरू, मन्त्रीहरू (प्रधान र मुख्यसमेत) चाहिँ घाउमा मल्हम लगाउनु त कता कता, नुनचुक छर्किरहनुभएको छ ।

राजनीतिबाट, दलहरूबाट, सरकारहरूबाट, राज्यबाट धेरै आदर्श अपेक्षा गर्नुहुन्न, थाहा छ मलाई पनि । तर, के यत्रो महामरक कोभिडका बेला भीड गर्नुहुन्न भन्ने अपेक्षा गर्नु पनि हुन्न ? भाइरस फैलाएबापत भीडका वरिष्ठहरुलाई कारबाही हुनुपर्ने हो, उल्टै वाहवाही छ । यस्तो महामारीमा कुर्सीका खातिर मारकाटमै उत्रिने तपाईंहरू कसरी ‘जनप्रतिनिधि’ ? ‘प्रतिनिधि’ भनिमाग्नलाई त ‘प्रतिनिधित्व’ पनि चाहिँदो हो नि, नेपालको कुन कुनामा यस्ता विवेकहराम जनता–मतदाता छन् र, तपाईं जन‘प्रतिनिधि’ हुनुभयो ? बिक्रीका राखिएका यी महँगा तर सस्ता माल–सामानलाई जनप्रतिनिधि भन्नु जनको गम्भीर अपमान हो । 

०००
यो स्वास्थ्यसंकटको समय मात्र होइन, मानव अस्तित्वमै याँमानको प्रश्नचिह्न (?) लागेको समय हो । के तपाईंहरूको आँखाले यो ठूलो प्रश्नचिह्न (?) लाई पनि आफ्नो हँसिया मात्र देखिरहेको हो ? छ भने झन्डाबाट हथौडा झिक्नुस् अनि आफ्नै टाउकोमा बजार्नुस् । कोभिडले स्वाद त खोस्थ्यो, तपाईंहरूको गिदी नै खोसिसकेको हुन सक्छ ।  

नेपालगन्जलगायत देशैभरि भाइरस, भोकप्यासको चरम भय छ । घरमा भटाभट लास परिरहेको अवस्था छ । १०–१० वर्षमा गरिने जनगणना रोकेर मृत्युगणना सुरु गरिएको छ । अस्पतालहरूबाट सास फर्किरहेको छैन, लास निस्किरहेको छ । स्वास्थ्यकर्मीहरू चरम अभाव र उग्र तनावमा काम गरिरहेका छन् । यिनीहरू पनि मान्छे हुन्, कतिन्जेल उभिन सक्छन् साथ, सहयोग, उत्पे्ररणा, व्यवस्थापनविना ? 

सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीसँग अलिकति लाज पनि लाग्दैन मान्ने–समान्नेज्यू ? के यो संकट सामना गर्ने ठेक्का उहाँहरूको मात्र हो ? स्वास्थ्यकर्मीको साधक बन्नुपर्ने तपाईंहरू भीडको भेडो बनेर बिरामीहरू थपेको थप्यै गर्दिनी ? दुई मिनेट दूरीको मापदण्ड पालना गरेर कसरी कुर्सी–कुस्ती खेल्न सकिँदो रहेछ, हेप्नी ?

स्थानीय सरकारहरू हायलकायल छन् । गाउँ–नगर सरकारहरू कोभिड सामना गर्न गच्छेअनुसार भिडिरहेका छन् । अनि तपाईं प्रदेश र संघका सांसदहरू, मन्त्रीहरू (प्रधान र मुख्यसमेत) चाहिँ घाउमा मल्हम लगाउनु त कता कता, नुनचुक छर्किरहनुभएको छ । यो बिल्कुल ठीक भइरहेको छैन, नेताजी । तपाईंहरूका कुकृत्यको एकएक हिसाब राखिनेछ । 

सत्तापक्ष जति स्खलित छ, प्रतिपक्ष उति नै पतित । केपी ओली जति दम्भी र मैँमत्त छन्, प्रचण्डहरू उत्ति नै लोभी र भ्रष्ट । माधव–झलनाथहरूले राम्रो काम गर् भनेर केपीलाई न कहिल्यै दबाब दिएको देखियो, न उनीहरूको ग्याङका मन्त्रीले ‘वाह’ भन्नलायक केही गतिलो काम गरे । काम पूरा गर्ने समय पाएनन् रे, ठीक छ । तर, न योजना देखियो, न केही ठोस सुरुवात । ओलीतिर औँला सोझ्याउने नैतिक बल छैन उनीहरूसँग । 

सँघारमा यस्तो संकट आइपुगेका बेला एक साता पनि युद्धविराम गर्न नमिल्ने यो के उपध्रो हो ? लासैलासमाथि उडिरहेका यी गिद्ध हुन् कि नेताहरू ?

देउवाको त के कुरा गर्नु उनी बूढानीलकण्ठमा लम्पसार सुतेका मूर्ति हुन् । देउवा र मूर्तिबीच एउटै फरक छ । मूर्ति आफू उत्तानो परेका छन्, देउवाले देश उत्तानो पारे । विपक्षमा रहेका दल यति निरीह र भागबन्डे भएको मैले लोकतान्त्रिक व्यवस्था भएका अन्य मुलुकमा देखेको छैन र देख्नु पनि नपरोस् ।  

अहिले दुनियाँभरका मान्छेको मुख्य कार्यभार सास जोगाउनु छ । तर, यहाँ चाहिँ कुर्सी जोगाउनु, कुर्सी फुटाउनु, कुर्सी खोस्नु, कुर्सी माग्नु, कुर्सी दान गर्नु । यस्तो लाग्छ, हाम्रा नेताजीहरु चितामा हैन, कुर्सीमा सुतेर जल्न पाउँदा मात्र स्वर्ग पुग्नेछन् । (माक्र्सवादविरोधी स्वर्ग र नर्कको रौंचिरा छोडिदिनुस् यहाँ रिस उठेको बेला ।)
मुख्यमन्त्री फेर्नु, प्रदेश प्रमुख फेर्नु, संसद् हत्या गर्नु, सांसद अपहरण गर्नु, संविधान च्यात्नु, भागबन्डा मिलाउनु, कमिसन उठाउनु, एमसीसीलाई ‘खाली सीसी’ जत्रो डेसिबलमा उग्रविरोध वा उग्रसमर्थनमा चिच्याउनु तर सामुन्नेमा आएको महाकाल कोभिड चैँ नदेख्नु है ! 

केपी कम्पनीलाई यही बेला सब फेर्नु छ, सिवाय देशको मुहार । पीके–पार्टीलाई सब लुट्नु छ, सिवाय भ्रष्ट ठेकेदार–तस्करको सम्पत्ति । देउवालाई प्रमुख प्रतिपक्षीकै रूपमा सरकार चलाउनु धेरै नै हाइसन्चो छ । 

बुझेर बुझिनसक्नु छ, ‘नेपालको महाभारत’ । नेपालका नेताहरूले कृत्रिम समस्या खडा गर्न यति जानेका छन् कि व्यापारीहरूले कृत्रिम अभाव सृजना गर्न नेताहरूबाट तालिम लिऊन् ।  कृत्रिम समस्या सृजना गर्ने अनि समस्या मिलाइम् भनेर स्याबासी बटुल्ने । सोझो, क्षमाशील, विनम्र, गरिब जनतो नेताहरूका सब कुकृत्य भुल्न विवश छन् । परिणाम, आज एउटा सिनेमामा मरेको भिलेन भोलि नै अर्काे सिनेमामा खेलिरहेको हुन्छ । मलाई त्यो देख्दा अचम्म लाग्थ्यो र लाग्छ । तर, शासन व्यवस्था भन्नु त्यस्तै केवल एक सिनेमा अनि नेता भन्नु केवल एक अभिनेता रहेछ ।

 
बाँचेकाहरूले सास फेर्न सकिरहेका छैनन् । परिवारका सब सदस्य शव बन्ने दिन आइसक्दा कोही अभिभावक कसरी महाभोज गर्न सक्छ ? परिवारको अभिभावकको आवरण ओढेर सबै सदस्यको कमाइ करका रूपमा आफू लुट्ने अनि परिवार आपत्मा परेका बेला झनै विपत् थप्ने यस्ता छद्म अभिभावक हुनुभन्दा टुहुरै हुन जाती भन्छु म ।   

भन्नुहोला— मै हुँ भन्ने ठूलाठूला धनीमानी देशले पनि क्षति भोगे । हामीलाई मात्र किन गाली ? 
किनकि तपाईं सम्माने–मान्नेज्यू गालीकै योग्य हुनुहुन्छ । गाली खाने योग्यता तपाईंमा प्रशस्त छन्, जस्तो कि :

— जनस्वास्थ्यमा गम्भीर खेलबाड गर्नुभयो ।
— स्वास्थ्य निःशुल्क, सुलभ र राज्यको हुनुपर्छ भन्ने कम्युनिस्ट–कखरालाई पोलेर खानुभयो ।
— समाजवादउन्मुख संविधान च्यातेर चंगा बनाउनुभयो । मौलिक हकहरु लेख्नुभयो तर देख्नुभएन । 
— भीड गर्नुभयो, भ्रम फैलाउनुभयो, भ्रष्टाचारको सिँढी चढ्नुभयो । 
— भ्युटावर बनाउनुभयो, सरकारी अस्पताल बनाउनुभएन । अब धरहराबाट लास गन्ने ?
— यतिबेला महामारी अकस्मात् आएको थिएन, रमिते बन्नुभयो । 
— स्वास्थ्य सामग्री ठेक्कामा कमिसन खानुभयो । कात्रो र मास्कमा पनि खल्ती सिलाउनुभयो । 
— नागरिक मरिरहँदा तपाईंले सांसद अपरहणदेखि पार्टी फुटाउने, संसद् फुटाउने, संविधान फुटाउनेजस्ता अनेक समस्या स्वसृजना गर्नुभयो ।  
— राजनीतिजीवीहरुले सत्तालाई जिम्मेवार हुन हैन कि उल्टै भ्रष्ट, गैरजिम्मेवार बन्न प्रेरित गर्नुभयो । भागबन्डाभन्दा अर्काे शब्द तपाईंको शब्दकोशमा छैन । 
— आमाबाको शव आँगनमा छ, तपाईं स्वाँठ पुत्रत्रय केपी–पीके–माकुने एक मिनेट मौनधारणसमेत नगरी पेवा खान लडिरहनुभयो । देखावटी र बनावटी नै सही, तपाईंहरूमा कर्तव्यको क पनि देखिएन, जिम्मेवारीबोधको ज पनि देखिएन, दायित्वको द पनि देखिएन । आफू जसको कमाइबाट पालित, पोषित, संरक्षित र जीवित हुनुहुन्छ, तिनीहरू शोकाकुल भइरहँदा कुर्सीकै प्यासमा काकाकुल भइरहने तपाईंहरू ! आफूमा विवेक र इमान बाँकी रहेको प्रमाणसहित जनता–जनार्दनको अदालतमा तीन दिनभित्र हाजिर हुनुहोला । 

(छोरोलाई सुसु गराउन उठाउनुपथ्र्याे मैले । यो लेख्न व्यस्त भएँ । ३ः४४ भइसकेछ । मुतको न्यानोपछि छोरो चलमलायो । बल्ल चाल पाएँ मैले । म थाङ्नो फर्नतिर लागेँ अब, थाङ्नाहरु फेर्नुको विकल्प छैन । अब केही बेरमा यहाँहरू सबै ब्युँझनुहोला, म चाहिँ सुतेँ । याद राख्नुस्, उज्यालो ब्युँझिनेका लागि मात्र आउँछ । हस्त, धन्यवाद ।) 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x