विचार

फेसबुकका पोस्ट हेरेर कोभिड संक्रमणबाट जोगिन एन्टिबायोटिक खाँदै हुनुहुन्छ ?

डा.अनुप बास्तोला |
बैशाख २१, २०७८ मंगलबार १९:३ बजे

सामाजिक सञ्‍जालमा ‘कोभिड ट्याब्लेट’ भनेर एन्टिबायोटिक औषधिहरू लेखिएको फोटो अहिले जताततै फैलिएको छ । मानिसहरूमा दिनप्रतिदिन कोभिड-१९ संक्रमणको डर बढिरहेको छ । ती औषधि खायो भने निको भइएला भनेर धेरैले खाएको पनि पाइएको छ ।

तर, हामीले यो बिर्सिनु हुँदैन कि कोभिड-१९ भाइरल संक्रमण हो । यो भाइरसको कारणले हुन्छ । भाइरलले केही व्यक्तिलाई ज्वरो आउने, खोकी लाग्ने अथवा कसैमा लक्षण नै नदेखिन पनि सक्छ । संक्रमण भएका तर, लक्षण नभएका बिरामीले  कुनै औषधि खानु पर्दैन । घरमा आइसोलेट भएर बस्‍ने, आफ्नो दैनिकी र खानपानमा ध्यान दिए हुन्छ । सामान्य लक्षण देखिएका व्यक्तिहरूले भने लक्षणअनुसारको औषधि खानुपर्छ, त्यो पनि चिकित्सकको परामर्शमा । 


पीसीआर पोजेटिभ देखियो तर, लक्षण नदेखिए के गर्ने ? भन्‍ने प्रश्‍न हाम्रो मनमा उब्जिन सक्छ । पोजेटिभ आएको केसमा पनि लक्षण छैन भने औषधि खाइरहनु जरुरी छैन । कसैको शरीर दुख्‍ने छ भने हामीले उसको लक्षण हेरेर औषधि दिन्छौँ । ज्वरो आएको छ भने ज्वरो घटाउन पारासिटामोल छौँ । खोकी छ भने त्यहीअनुसारको औषधि दिन्छौ । कोभिडको उपचार गर्दा स्वास्थ्यकर्मीले लक्षण हेरेर औषधि दिन्छ । त्यसैले जुनसुकै औषधि पनि स्वास्थ्यकर्मीको सुझावमा मात्र खानुपर्छ ।

कोभिड भाइरल रोग भएकाले यसमा भाइरलले जुन खालको समस्या निम्त्याउँछ, त्यो अनुसारको उपचार दिने हो । भाइरसको कारणले हुने रोगमा एन्टिब्याक्टेरिएल औषधिको कुनै आवश्यकता छैन । 
एन्टिबायोटिकको प्रयोग कतिबेला गर्ने ?

–बिरामीको प्रकृति हेरेर 
–उसको रगत, एक्स-रेको जाँच गरेर, रिपोर्ट हेरेर 
–चिकित्सकले सल्लाह अनुसार  

बिना चिकित्सकको सल्लाह एन्टिबायोटिक औषधि खादा त्यसले फाइदाभन्दा धेरै बेफाइदा गर्छ । भाइरल रोगमा एन्टिब्याक्टेरियल औषधि प्रयोग गर्दा साइड इफेक्ट देखिन सक्छ । कसैलाई डायरिया गर्छ, कसैलाई ग्यास्ट्राइटिज गराउँछ । त्यसले कोभिडलाई कमजोर होइन, झन् बलियो बनाउँछ । 

एन्टि ब्याक्टेरिएल औषधिले ब्याक्टेरिएल डिजिजमा मात्र काम गर्छ । यसको भूमिका भाइरल रोगसँग छैन । तर, चिकित्सकले जाँच गरेर उसमा भाइरस मात्र नभएर ब्याक्टेरिया पनि देखियो भने उसको अवस्था हेरेर कुन ब्याक्टेरियल औषधि चढाउने निर्णय गर्छ । एन्टिब्याक्टेरियल औषधि चलाउनुपर्ने अवस्था आएपछि मात्रै डाक्टरले चलाउँछ । एन्टिबायोटिक चलाउने जिम्मा चिकित्सकको हो ।

त्यस्तै, सप्लिमेन्ट भनेर भिटामिन, क्याल्सियम चक्कीहरू खाएको पाइएको छ । यी सप्लिमेन्टले केही सहयोग गर्ला तर, यो आफैमा कोभिडको औषधि भने होइन । म खाएका मानिसहरू पनि बिरामी भएका छन् । त्यो सप्लिमेन्टलले केही सहयोग गर्ला तर, यसैलाई कोभिडको औषधि भने मान्नु हुँदैन । अहिलेसम्म कोभिडको कुनै पनि औषधि पत्ता लागिसकेको छैन । त्यसैले, मनलाग्दी औषधि खादैमा सक्रमणबाट जोगिएला भन्‍ने भ्रम आजैबाट त्यागौँ ।

(सरुवा रोग विशेषज्ञ डा. बास्तोलासँग सृजना खड्काले गरेको कुराकानीमा आधारित । )


 


Author

थप समाचार
x