विचार

उपचारमा सहयोग गरिदिनुस्

गुनको बदला गणित अनुसन्धानको व्यावहारिक प्रयोगको गोरेटो कोरेर तिर्नेछु

प्रा. डा. उर्मिला प्याकुरेल |
फागुन २४, २०७९ बुधबार १८:५८ बजे

धेरै सम्भावना बोकेका युवा देशमा केही हुन्न भनेर विदेशिँदा मलाई भने देशमा नै केही गर्न मन लागेको थियो । म युवापुस्ताका लागि एउटा सन्देश छोड्न चाहन्थेँ कि नेपालमा पनि धेरै सम्भावना छन् र झन् बढी नै छन् । हामीले धेरै गर्नु छ । आफ्नो उद्देश्य पुरा गर्न मैले निकै सङ्घर्ष गरेँ र जस्तो सुकै अपठ्यारा परिस्थितिसँग पनि नडराई अघि बढिरहेँ । आठ वर्ष पूरा हुँदा एक कक्षामा भर्ना भएकी मैले २९ वर्षकी हुँदा गणित विषयमा मास्टर्स डिग्री गरेँ । ३१ वर्षमा उप-प्राध्यापक, ३९ वर्षमा सह-प्राध्यापक र ४१ वर्षमा नेपालमा नै गणित विषयकी कान्छी प्राध्यापक भएँ । यी सबै खुल्ला प्रतिस्पर्धाका प्राप्ति थिए । ३५ वर्षमा मैँले त्रिभुवन विश्वविद्यालयबाट नै गणित विषयमा पिएचडी सकेँ ।

तर आफ्नो अनुसन्धानमार्फत नेपाललाई, त्रिविलाई संसारमा चिनाउने मेरो सपना, म जस्तै युवालाई नेपालबाट नै अनुसन्धान गरेर अगाडि बढ्न प्रोत्साहन गर्ने मेरो सपनामा अलिकति बादल लगाउँदै क्यान्सर भयो मलाई । हुनत मैले मेरो जीवनको सङ्घर्षमा क्यान्सरभन्दा पनि जटिल समस्याहरुसँग लडेकी छु । यो त मेरो शरीरभित्र उब्जिएको हो र यसलाई म सजिलै परास्त गरिहाल्छु भनेर कति पनि डराइन । सात वर्षदेखि निरन्तर लडिरहेकी छु । मैले अनुसन्धान गर्न छोडेँ भने, काम गर्न छोडेँ भने क्यान्सरले मलाई झन् सताउँछ भन्ने लाग्थ्यो । त्यसैले मेरो शरीरलाई पो क्यान्सर भएको छ, मलाई त भएको छैन भन्दै घाइते शरीरलाई फकाउँदै, माया गर्दै अनुसन्धानको काम गरि नै रहेँ ! यो यात्रा सजिलो छँदै थिएन, मेरो शरीरसँगै मलाई माया गर्ने धेरैको साथले आजसम्म सफल भएकी छु । पटक-पटक अनुसन्धानको फेलोसिप दिएर अहिलेसम्म सहयोग गरिदिने जर्मनीको हुम्बोल्डट फाउन्डेसन निकै प्रिय सहयात्री बन्यो जसबाट जर्मनीमा र नेपालमा गरेर साढे चार करोड नेपाली रुपियाँभन्दा बढीको उपचार गर्न सकेँ ।


म सिन्धुपाल्चोक जिल्लाको विकट गाउँ कालिकाकी एउटा किसान परिवारकी छोरी हुँ । मेरो सरकारी तलबले खान र कोठा भाडा तिर्न राम्रैसँग पुग्छ । तर मेरो उपचारको लागि पैसा थिएन । तर मेरो अनुसन्धानको कारण अहिलेसम्म अरूलाई खासै भार नपारी उपचार पनि सम्भव बनाएँ । मलाई क्यान्सर भएपछि साथीभाइ, परिवार, अफिस, परिवार सबैतिरका सहयोगी मनले सहयोगका लागि अनुरोध गर्नुपर्छ भनिरहनु भयो । तर मैँले आफूले गर्न सकुन्जेल, धान्न सकुन्जेल म आफैँ गर्छु भनेर पर्खन अनुरोध गरिरहेँ । आफूले काम गरेर, आफ्नै पौरखमा आफ्नो उपचार गर्नु मेरो लागि छुट्टै सुन्तुष्टि थियो, त्यसबाट  छुट्टै उर्जा आउँथ्यो, मलाई सक्रिय बनाउँथ्यो र क्यान्सरसँग लड्न ठूलो हिम्मत थियो त्यो जसका कारणा आजसम्म म सफल पनि भएँ ।

तर अब स्तन, डिम्बाशय, कलेजो हुँदै फोक्सोमा पनि प्रभाव बढाउन थाल्यो क्यान्सरले ! किमोथेरापीलाई नटेर्ने भयो । डाक्टरका अनुसार अब एउटै मात्र उपाय इम्युनोथेरापी उपचार रहेको छ जुन प्रत्येक तीन हप्तामा लगाउनु पर्छ तर असाध्य महँगो, सोच्न पनि नसकिने, एक साइकलको चार लाख रूपियाँ पर्ने रहेछ । मसँग यतिबेला कुनै फेलोसिप हुन्थ्यो भने त्यो पनि असम्भव थिएन तर अहिले मसँग त्यो किन्न सक्ने कुनै हैसियत छैन ।

यस अवस्थामा म यस्तो दोबाटोमा छु एउटामा लाग्दा अब क्यान्सरको अगाडि घुँडा टेक्नुपर्ने हुन्छ । अर्को बाटो क्यान्सरलाई घुँडा टेकाउने हुन्छ त्यसका लागि मैले सहयोगी मनहरुलाई गुहार्नु पर्ने हुन्छ । यो छ वर्षको यात्रामा कयौँ पटक आँखा अगाडि मृत्युलाई महसुस गरेकी म तपाइँहरूको सानो सहयोग भए पनि आफ्नो उद्देश्य सम्झेर, मलाई हेरिरहेका, पछ्याइरहेका युवापुस्ताका लागि म हिम्मत बन्नुपर्छ भन्दै सोच्दै जुरुक्क उठ्थेँ ।

मेरो दश वर्षदेखिको एउटा सपना काठमाडौँको ट्राफिक जामलाई वैज्ञानिक व्यवस्थापन गर्ने जुन अनुसन्धानको क्षेत्र हो । यसका लागि कयौँ युवा अनुसन्धानकर्तालाई उर्जा दिनु छ र साँच्चै गरेर देखाउनु छ मैले । मेरो जीवनको यो सायद अन्तिम उद्देश्य पनि हो । यो नहेरी म कसरी हारौँ भन्दै मैँले आफूलाई हार्न दिइनँ । कतिपटक त डाक्टरले माया मारिसक्दा पनि म आत्तिन्नथेँ सब ठिक हुन्छ भन्दै उठ्थेँ । मैले नेपालका लागि, गणितका लागि, केही गरौँ भन्ने सम्पूर्ण युवा पुस्ताका लागि अझै धेरै गर्नुछ । सम्पूर्ण क्यान्सर रोगीका लागि अझै हिम्मत बन्नु छ ।

तर यतिबेला चाहिँ अलि कमजोर महसुस गरेकी छु, उपचार त छ अगाडि । त्यसले राम्रो गर्छ भन्ने विश्वास पनि छ तर फेरि पनि त्यो धान्ने पैसा छैन । त्यसैले अलि निराश भएकी छु र यो लामो क्यान्सर यात्रामा नै पहिलो पटक मभित्रको थोरै उर्जा कमजोर भएको छ । ४२ वर्षको उमेरमा, काम काम गर्ने मुख्य समयमा नै हारेर जीवन छोड्नु पर्ने त होइन भनेर अलकति डर पनि लाग्न थालेको छ ।

उपचार नै नभएको भए त मलाई कुनै असन्तुष्टि हुने थिएन किनकि मैले गर्ने धेरै काम गरेको छु र सन्तुष्ट पनि छु जे गर्न सकेँ त्यसमा ! केही उपाय नलागे पछि हाँसी-हाँसी मृत्युलाई स्वीकार्नुको के नै विकल्प हुन्छ र ! मलाई कति पनि गुनासो हुने थिएन, म हाँसेर नै मर्ने थिएँ र मेरो मृत्युमा कसैलाई एक थोपा आँसु खसाल्न दिने थिइनँ किनकि मैँले एउटा सफल जीवन बाँचिसकेकी छु ।

उपचार हुँदा-हुँदै पैसाको अभावमा जीवन छोड्नु पर्दा चाहिँ कतै नेपालमा नै बसेर केही गरेर देखाउँछु भन्नु नै गल्ती थियो कि भन्ने पनि लागेको छ । म यो छ वर्षको यात्रामा हरेक कठिन परिस्थितिमा लड्दै काम गरिरहनुको उद्देश्य यो पनि थियो कि मेरो देशको युवा पुस्तामा निराशापूर्ण सन्देश दिन चाहन्न थिएँ म ।

कम्तीमा भुटान अथवा श्रीलङ्कामा जस्तो गतिलो इन्सुरेन्स पोलिसि सरकारको भइदिएको भए आज मेरो यो दिन आउने थिएन न म नेपालमा नै बस्नु गलत थियो कि भनेर सोच्न थाल्थेँ । तर जे भए पनि मेरो मातृभूमि मेरा लागि महान् छ । नेपाली र नेपाललाई माया गर्ने मनहरूबाट म फेरि एक पटक क्यान्सरसँग सामना गर्न तपाइँहरूसँग गुहार माग्दैछु । सकेको सहयोग गरिदिन नेपाल सरकार, सङ्घ संस्था र व्यक्तिसँग याचना गर्दछु । गुनको बदला देशमा नै मैले सकेको काम गरेर गणित अनुसन्धानको व्यावहारिक प्रयोगको एउटा गोरेटो मात्र कोरेर भए पनि तिर्नेछु ।

याे पनि ...

कान्छी प्राध्यापक डा. उर्मिलाको अपिल : जीवन रक्षा गरिदिनूहोस्​


Author

थप समाचार
x