विचार

त्रेता र कलिका दुई रामचन्द्र : १४ वर्षको वनबासपछिको सुखद राजयोग

जीवन कुँवर |
फागुन २५, २०७९ बिहीबार १७:२९ बजे

नाम मात्र होइन राज सुख भोग गर्ने ‘भाग्य’ पनि उस्तै उस्तै भएको भन्दै त्रेतायुगका रामचन्द्र र नेपाल देशका कलियुगी रामचन्द्र पौडेलको भागभोगको यदाकदा तुलना हुने गरेको छ ।  मान्छेका दुःख र संकटको उदाहरण दिनुपर्दा सज्जनहरू त्रेता युगका रामचन्द्रको उदाहरण दिन्छन् । किनकि अयोध्याको राजा बन्ने समयमा उनले वनबास जानु परेको थियो । 

यता नेपालमा पनि राजनीतिका दुःखको कुरा गर्नुपर्यो भने पनि धेरैको मनमा कांग्रेस नेता रामचन्द्र पौडेल आउँछन् जसले प्रधानमन्त्री बन्ने लोभमा ‘ग्रीक मिथ’को पात्र सिसिफसझैँ १७ पटकसम्म प्रधानमन्त्री बन्ने व्यर्थ प्रयास गरेका थिए । तर १४ वर्षको वनबास सकेर राम सत्तामा फर्किए र अयोध्यामा सानदार ‘रामराज्य’ चलाए । यता कांग्रेस नेता रामचन्द्रले पनि ठ्याक्कै १४ वर्ष नै जेल जीवन बिताएको इतिहास छ र लगभग उही अवस्थामा राष्ट्रपतिको रुपमा सत्तारोहण पनि भएको छ । तर धेरैलाई उत्सुकता छ, उनले संकटकालीन नेपालमा ‘रामराज्य’ चलाउँछन् कि ‘रावणराज्य’?    


०००

त्रेतायुगका राम‍ अर्थात रामचन्द्र‍ले आफ्‍नो जीवनमा अनेक आरोह अवरोह भोगे । रामको विषयमा तुलसीदासले भक्ति काव्य श्री रामचरितमानसको रचना मात्रै गरेका छैनन्, महर्षि वाल्मिकीले रचेको संस्कृत महाकाव्य ‘रामायण’मा उनको जीवनकाल र पराक्रमबारे पनि लेखिएको छ ।

अयोध्याको राजा दशरथ र रानी कौशल्याका ज्येष्ठ पुत्र रामलाई उत्तर भारत र नेपालमा श्रद्धाका साथ पुजिन्छ । विष्णुको १० अवतारहरूमध्ये एक अवतार मानिने रामलाई हिन्दुत्ववादीहरूले आदर्श पुरुषको रुपमा हेर्छन् । 

हिन्दू धर्म मान्‍ने जो कोहीलाई रामबारे धेरै थाहा छ । रामायणमा मात्रै होइन नेपालीको महान चाडको दसैँलाई नै रामले रावणमाथि विजय प्राप्त गरेको दिनको रुपमा मनाउने प्रचलन छ । 

भगवान विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम (१२ कला), लक्ष्मण (२ कला), भरत र शत्रुघन क्रमशः एक एक कलामा विभाजित गरेर चार वटा पुत्रको रूपमा जन्म लिएको रामायणमा उल्लेख छ । रामायणका अनुसार रामलाई रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि अलग अलग नामले चिनिने गरिन्छ ।

दशरथका तीन पत्नीहरू थिए, कौशल्या, सुमित्रा र कैकयी । कौशल्याको कोखबाट जन्मिएका हुन् राम । रामायणका अनुसार कैकयीले राजा दशरथलाई स्वर्गको युद्धमा ठूलो सहयोग गरेकी थिइन् । आफूलाई ठूलो सहयोग गरेपछि दशरथले कैकयीलाई भनेका थिए– दुई वटा वर माग्नु म दिन्छु । दशरथले त्यसो भनेपछि कैकयीले भनिन्– आवश्‍यक परेको बेलामा म आफैँ मागौँला । 

एक दिन दशरथले मन्त्रीगण, गुरु बशिष्ठ र भद्र भलाद्मीसँग रामलाई अयोध्याको राजपाठ सुम्पिने कुरा राखे । राजा दशरथको उक्त कुरा कसैले काट्ने कुरै भएन, सबैले समर्थन जनाए । रामलाई राज्याभिषेकको तयारी गरियो । त्यति मात्रै होइन्  राम राजा हुने भएपछि जनताहरू खुसी भए । सारा सहर उल्लासमा डुब्यो ।

तर रामलाई राजा बनाउने कुरामा रामकी सौतेनी आमा कैकयी बाधक बनिन् । कैकयीकी दासी मन्थराले कैकयीलाई थाँती रहेको वर माग्ने समय आएको बताउँदै यही वरको रुपमा रामलाई वनबास र छोरा भरतलाई राजा बनाउने सल्लाह दिइन् । कैकेयीले सोही अनुसार गरिन् । उनले राजा दशरथसँग भरतलाई राजा बनाउनुपर्ने र रामलाई १४ वर्षको लागि वनबासमा पठाउनुपर्ने वर मागिन् । वचनमा हारेका राजा दशरथले मुटु मिचेर कैकेयीको माग स्वीकार गरे । राम वनबास गए । भरत राजा भए । यसपछिको कथा हरकोहीलाई थाहा छ । रावण वध गरेर फर्केपछि राम राजा भए र उनको शासन प्रणालीलाई रामराज्यको रुपमा चर्चा गर्ने गरिएको छ । यहाँ छोटकरीमा पाठकलाई रामकथा श्रवण गराउनुको उद्देश्य हो, कलियुगका रामचन्द्रको पनि कथा श्रवण गराउनु जो भर्खरै देशको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन् ।

रामचन्द्रको राजनीति

राष्ट्रपतिमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २००१ असोज २९ गते तनहुँको बाहुनपोखरा (हाल व्यास नगरपालिका बेलथुम्की)मा जन्मिएका हुन् । पिता दुर्गाप्रसाद र माता ऋषिमायाको कोखबाट जन्मिएका पौडेल मध्यमवर्गीय किसान परिवारमा हुर्किएका हुन् । हाल भने पौडेल काठमाडौँको बालाजुस्थित बोहोराटारमा बस्छन् ।

नन्दीरात्रि माविबाट एसएलसी दिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र शास्त्री (संस्कृत साहित्य) उत्तिर्ण गरेका छन् । उनी नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष पनि भएका थिए । हिमालयन छात्र संघ (पोखरामा), २०१६ आवद्ध  भएका उनी पोखरा विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दैगर्दा २०१७ साल जेठ÷असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएका थिए ।

पौडेल २०१७ पुस १ गते जननिर्वाचित संसद्‌ भङ्ग गरी प्रधानमन्त्री बीपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए ।

रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष भएका पौडेलले जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराएर स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरेका थिए । २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९/०२० सालमा उपत्यका आन्दोलनमा गिरफतार भएका थिए । २०२०/०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पनि उनी गिरफ्तार भएका थिए ।

गण्डकी छात्र संघको संस्थापक अध्यक्ष २०२३, सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित २०२३, प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव २०२४, नेपाल विद्यार्थी संघको संस्थापक सदस्य २०२७ (संघको स्थापनामा मुख्य भूमिका निर्वाह), नेपाली कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६), जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली कांग्रेस तनहुँ समितिको संयोजक २०३७, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख २०४०, नेपाली कांग्रेस केन्द्रीय सदस्य २०४३, नेपाली कांग्रेस केन्द्रीय महामन्त्री (२०६२-२०६४), नेपाली कांग्रेस केन्द्रीय उपसभापति (२०६७–२०७२) र नेपाली कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यवाहक सभापति २०७२, (नेपाली कांग्रेस केन्दीय सदस्य, २०४३ देखि निरन्तर केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय कार्यवाहक सभापति (२०७२) भई केन्द्रीय नेतृत्वमा सक्रिय उनी कार्यवाहक सभापति भएर पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराएका थिए । उनी २०७२ देखि कांग्रेसको वरिष्ठ नेता रहँदै आएका छन् ।
    
१४ वर्ष बढी जेल जीवन

पौडेलले राजनीतिक जीवनमा २०१८ सालदेखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन बिताएका छन् । भरतपुर कब्जा गर्ने नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा पौडेल विसं. २०१८ मा काठमाडौँबाट गिरफ्तार भएर पहिलो पटक करिब एक महिना हिरासतको सजाय भोगेका थिए । २०२१ सालमा विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी भएका थिए ।

डिआईजी काण्डमा गिरफ्तार भएर नख्खु जेलमा रहँदा पहिलो पटक २०२३ सालमा पौडेलको गिरिजाप्रसाद कोइरालासँग भेट भएको थियो । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना (पोखरामा ९ महिना र काठमाडौँमा ६ महिना) हिरासतमा राखिएको थियो ।

२०२५-२०२६ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौँमा जेलमा राखियो । २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडौँमा ३ महिना हिरासत राखिएको थियो ।

२०२५ सालमा बीपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि पौडेललाई भेट्न सेन्ट्रल जेल गएका थिए । बीपीले अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न पौडेललाई प्रेरणा दिएका थिए । त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट थियो । त्यस बखतमा बीपीले पौडेलसँगै जेलमा रहेका कम्युनिस्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटेका थिए ।  

रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ सालमा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी बनाइएको पौडेललाई नेपाली कांग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भन्दै २०३४ सालमा गिरफ्तार गरेर १० महिना हिरासत राखिएको थियो । उक्त सम्मलेलनद्वारा कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनःस्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो । 

२०३६–२०३७ को जनमत संग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहको अवस्थामा गिरफ्तार गरेर ६ महिना हिरासत राखिएको थियो भने पञ्चायती व्यवस्थाअर्न्तगत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा कांग्रसेको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ परेर ६ महिना हिरासत बसेका थिए ।

२०४२ सालमा पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली कांग्रेसले गरेको सत्याग्रह सफल बनाउन सक्रिय रहेको आरोपमा पक्राउ गरी उनलाई ९ महिना हिरासतमा राखिएको थियो । पौडेल २०४५ सालमा २०४६ सालको जनआन्दोलनमा कांग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा ३ महिना हिरासत बसेका थिए ।

२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्थापनार्थ तत्कालिन धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन  विस्तार र आन्दोलनको तयारीको सिलसिलामा  गिरफ्तार गरी बागलुङ जेलमा ५ महिना हिरासत बसे । २०५९ सालमा शाही कदमपछि करिब एक वर्ष नजरबन्द र हिरासत बसेका थिए । दोस्रो जनआन्दोलन २०६२/२०६३ का दौरानमा पटक–पटक गिरफ्तार र गृहबन्दीमा राखिएको थियो ।

छवि त्यागी, अवसर भने रोजी रोजी 

पौडेललाई कांग्रेसभित्र कतिपयले त्यागी नेताको उपमा दिने गरेका छन् । तर विगतका केही वर्ष लाभका पदमा बस्न नपाएका भए पनि विगतमा उनले रोजेका र चाहेका पद लिएका दृष्टान्त प्रशस्त छन् ।  उनी ६ पटक मन्त्री र एक पटक सभामुख भइसकेका छन् ।

पौडेल २०४८ सालमा तनहुँ– १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । यसपछि पौडेल पालैसँग तनहुँ– २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित २०५१, तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित २०५६, तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित २०६४, तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित २०७० र तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित २०७९ मा निर्वाचित भएका छन् । पौडेल २०७४ को संसदीय निर्वाचनमा भने पराजय भोगेका थिए ।

२०४८ जेठ १५ देखि २०५१ सम्म पहिलो पटक स्थानीय विकास मन्त्री नियुक्त पौडेल २०४९ साउन देखि २०५१, प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । यसैगरी पौडेल २०५१ पुस २ गते, उपप्रधान तथा सूचना-सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री २०५६, उपप्रधान तथा गृहमन्त्री २०५६/२०५८, शान्ति समितिको संयोजक (२०६१/२०६२), शान्ति तथा पुनःनिर्माण मन्त्री २०६३/२०६४, नेपाली कांग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता  २०६४/२०७० सालमा भएका थिए ।

प्रधानमन्त्रीमा १७ पटक हार

२०६७ असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिए । करिब सात महिनासम्म नयाँ सरकार गठन हुन सकेन । २०६७ साउन ५ गतेदेखि पुस २८ गतेसम्म भएको प्रधानमन्त्रीको निर्वाचन भइरह्यो । कांग्रेसबाट रामचन्द्र पौडेल, तत्कालीन एकीकृत माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेबाट झलनाथ खनाल प्रधानमन्त्रीको उम्मेदवार थिए । सात पटकसम्म यी जनाबीच प्रतिस्पर्धा भयो । तर संवैधानिक प्रावधानअनुसार मत संख्या कसैले पुर्‍याउन सकेनन् ।

आठौँ पटकको निर्वाचनमा प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिरिए । तत्कालीन एकीकृत माओवादीले खनाललाई सहयोग गर्ने भयो । अब प्रधानमन्त्रीको प्रतिस्पर्धामा पौडेल र खनाल बाँकी भए । यो बीचमा पौडेल १६ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरिरहे । तर उनले जित्‍न सकेनन् । त्यसपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरिएको थियो । नियमावली परिवर्तन गरिएपछि भएको प्रधानमन्त्रीको निर्वाचनमा पौडेललाई हराउँदै २०६७ माघमा एमालेका खनाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । पौडेलको राजनीतिक जीवनमा लागेको यो एउटा कालो धब्बा हो ।

पौडेलको १० पुस्तक प्रकाशित

नेपाली कांग्रेसको सक्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषि क्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद र अभिशप्त इतिहास  (माघ १९ को काण्डपछि) पुस्तक प्रकाशित छन् ।

पौडेलले मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कार पाएका छन् । महेन्द्र विक्रम शाह पुरस्कार (महेन्द्र विक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्) पनि पाएका छन् । पछिल्लो सन् २०२० मा जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान पाएका थिए ।

राजनीतिक रुपमा बेदाग मानिएका पौडेल राजनीतिका सुरुवाती दिनमा बिपी कोइरालासँग नजिक थिए भने उनको निधनपछि गिरिजाप्रसाद कोइरालासँग । गिरिजाको उत्तराधिकारी सुशील कोइरालाको निधनपछि नेपाली कांग्रेसमा पार्टी र सत्ता दुवैको बागडोर शेरबहादुर देउवा खेमामा गयो ।

देउवासँग खासै मिलेको नदेखिने रामचन्द्र पौडेल पछिल्लो महाधिवेशनमा सभापतिको दाबेदारी दिँदादिँदै अन्तिममा शेरबहादुरलाई सघाउने निर्णयमा पुगेका थिए । पौडेल, देउवालाई पार्टी सभापति बनाउने सक्रिय भइरहँदा नै उनलाई राष्ट्रपति पदको आश्वासन दिइएको चर्चा चलेको थियो ।

नभन्दै चुनावपछि गठबन्धन भत्किएर माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एमालेको सहयोगमा सरकार बनाउने निर्णय गरेको केही घण्टा रामचन्द्र पौडेलले देउवाको राजनीतिक शैलीलाई लिएर तिक्तता प्रकट गरेका थिए । तर वचनमा प्रतिबद्ध रहँदै देउवाले यो पटक पौडेललाई कांग्रेसको साझा उम्मेदवार बनाउँदै जितको माला पहिर्‍याउन सफल भएका छन् ।
 


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x