विचार

के पुरुषलाई मात्रै फाइदा गर्ने विवाह मान्छेको हितमा छ ?

आहुति |
फागुन २७, २०७९ शनिबार ७:६ बजे

नेपालमा महिलासम्बन्धी बहस धेरै कमजोर थियो, छ । संख्यामा गन्ती गर्ने हो भने, एउटा ‘नारी’ भन्ने पत्रिका निस्किदो रहेछ । त्यसले प्रसस्त गहना र फेसनको प्रचार गर्दो रहेछ । कुन चाहिँ राम्री केटी हो, चिन भनेर फोटो छाप्दो रहेछ । सबैभन्दा सुन्दर गीत लेखेँ भन्ने गीतकारहरूले पनि महिलाकै बारेमा लेखेका छन् । होनाहार प्रेमीहरूले पनि सबैभन्दा बढी प्रेम महिलाहरूलाई नै गरेँ भनेका छन् । तर, उनीहरूको मुक्तिको सन्दर्भमा छलफल चलाउने काम भएको छैन ।

हामी जुन मुक्ति खोजिरहेका छौँ, त्यो कुनै पाठ्यक्रममा छैन । मैले पढ्दा ‘भिनाजुको स्विटर’ पढेको थिएँ । अहिले कोही ‘मैले नजन्माएको छोरो’ पढ्दै होला । तर, त्यहाँ कहिले पनि ‘सिटीहलको बूढो ज्यामी’ पढाइएन । विश्वविद्यालयले कहिले पनि विद्यार्थीलाई विद्रोहको पाठ्यक्रम पढाएन । हामी त विवाहको विपरित सम्बन्ध विच्छेद भनेर पढाउँछौँ । तर, विवाहको विपरित सम्बन्ध विच्छेद होइन । किनभने, सम्बन्ध विच्छेदपछि फेरि विवाह हुन्छ ।


महिला पुरुष सँगै बस्नु विवाह होइन । महिला पुरुष त एक लाख वर्षदेखि सँगै बसिरहेका छन् । बच्चा जन्माइरहेका छन् । परिवार बनाइरहेका छन् । हरारीको किताब मात्रै पढ्ने हो भने पनि ७५ वर्षदेखि महिला पुरुष सँगै छन् । तर, विवाह भएपछि मात्रै परिवार बन्छ भन्ने कुरा कहाँबाट आयो ? कुन समाजशास्त्रले भन्यो ? विवाह भनेको परिवार निर्माण गर्नु होइन । बच्चा जन्माउनु होइन । विवाह भनेको निश्चित धार्मिक, आर्थिक, राजनीतिक र सामाजिक नियमले बन्धनमा राख्ने संस्था हो । पुरानो इतिहास खोतलेर हेर्ने हो भने, विवाह संस्था जन्मिन थालेको आठ हजार वर्ष भयो ।

हिन्दु समाजमा तीन कारण विवाह गरिन्छ । त्यो उनीहरूकै शास्त्रमा उल्लेख छ । पहिलो, धर्म कमाउन । दोस्रो, पुत्र लाभ गर्न  । तेस्रो, यौनेच्छा पूरा गर्न । इस्लाममा परिवार निर्माण गर्न, सन्तान उत्पादन गर्न र यौनका निम्ति विवाह गरिन्छ । त्यस्तै, इसाइमा यौन सम्बन्ध पहिलो प्राथमिकतामा आउँछ । त्यसपछि परिवारको स्थापना, सन्तान उत्पादन र इश्वरसँग सम्बन्ध राख्न विवाह गरिन्छ । जनजातिको विवाह प्रणालीमा भने यौन, सन्तान उत्पादन र आर्थिक जीवनमा सहयोग गर्नका लागि विवाह गरिन्छ ।

इस्लाममा बाहेक सम्बन्ध विच्छेद गर्ने अधिकार महिलालाई छैन । इस्लाममा ‘तलाक’को मतलब बाँधिएको पशुलाई दाम्लो चुँडाएर छाडिदिनु हो । महिलालाई पुरुषले किलामा बाँधेको छ, पशुसरह । त्यसलाई किलाबाट फुकाइदिनुलाई तलाक भनेको हो । जनजाति समुदायमा पनि सम्बन्ध विच्छेदको अधिकार त छ, तर त्यहाँ सम्बन्ध विच्छेद गर्दा जारी तिर्नुपर्छ । यी सबै प्रचलित विवाह प्रणाली हेर्दा पितृसत्तात्मक समाज बनिसकेपछिका विवाह प्रणालीहरू अहिलेसम्म कायम छन् । यी सबै विवाह प्रणालीको उद्देश्य महिलालाई बन्धनमा राख्नु हो ।

विवाहले महिलाहरूको जीवन आठ हजार वर्षदेखि ध्वस्त बनाएको छ ।

धेरैको प्रश्न छ, विवाह नभएको भए के हुन्थ्यो ? विवाह नभएको भए विवाह नगर्ने समाज हुन्थ्यो । विवाह विशुद्ध मानव निर्मित अवधारणा हो । विवाह नभएको भए के हुन्थ्यो भनेर आतंकित गर्नु जरुरी छैन । विवाह संस्था किन सुरु भयो त्यहाँबाट बहस सुरु गर्नुपर्छ । लुइस मोर्गनले ‘एन्सेन्ट सोसाइटी’ किताब लेख्नुभन्दा पहिला मानव समाजबारे थाहा थिएन । त्यसैमा आधारित भएर एंगेल्सले व्याख्या अगाडि सारे । त्यसपछि मानिसहरूलाई थाहा भयो, विवाह नभएको समाज पनि थियो । त्यो आदिम समाज थियो । जहाँ निजी सम्पत्ति थिएन ।  मानिसहरू एउटै हजुरआमाको खलकमा परिवार बनाएर बस्थे । 

त्यो पनि परिवार नै थियो । त्यहाँ यौन सम्बन्ध पनि थियो । बच्चाहरू पनि जन्मिन्थे । तर, जब निजी सम्पत्तिमाथि पुरुषले कब्जा जमायो, त्यो सम्पत्ति आफूजस्तै पुरुषको नाममा हस्तान्तरण गर्न उसलाई निजी श्रीमती चाहियो । आफ्नी हजुरआमा खलककी महिला श्रीमती नबन्ने भएपछि अर्को कुल र बस्तीकी महिलालाई लुटेर ल्याउनुपर्ने भयो । त्यतिबेला लुटेर ल्याइएका माहिला दासी हुन्थे । ती महिलालाई कुट्दै, बाँध्दै, यातना दिएर श्रीमती बनाइएको हो । यो सामान्य कुरा होइन । यो भयानक वर्ग संघर्षको कुरा हो । लडाइँको कुरा हो ।

सैयौँ वर्षसम्म यो अभ्यास चलाएपछि संस्कार बन्न थाल्यो । महिलाहरू यसैमा अभ्यस्त हुन थाले । त्यसलाई ठीक बनाउन शास्त्रहरू जोड्न थालियो । महिलाहरूलाई तिमीहरूको यो हालत ईश्वर र पूर्व जन्मको कारणले भएको भन्न थालियो । तिमीहरू ‘पापी’ भएकाले यस्तो भएको भनियो । तिमीहरूले सेवा गर्‍यौ भने सुख पाउँछौँ भनियो । विवाह नगरे ‘नर्क’मा गइन्छ भन्ने चेतनाको विकास गरियो । त्यसैले, विशुद्ध बलात्कारबाट सिर्जना भएको संस्था हो विवाह । कुनै पनि समाजशास्त्रीले भन्न सक्दैन, विवाह प्रेमपूर्वक सुरु भएको हो । 

हिन्दुशास्त्रमा बाल विवाह गर्न पाइन्छ तर विधुवाले गर्न पाइँदैन । विधुवाले सात्विक भोजन गर्नुपर्ने नियम छ, ताकि उसमा कुनै उत्तेजना नआओस् । त्यसमा पनि गडबड गर्लान् भनेर सती पठाउन थालियो । के मात्रै गरिएन । अनि त्यो विवाह संस्था कसरी पवित्र ? 

युवाहरूलाई यो कुरा बुझाइदिनुपर्छ कि यौन सम्बन्ध राख्नु, बच्चा जन्माउनु, सँगै बस्नु विवाह होइन । विवाहले महिलालाई पुरुषको अधिनमा बस्न बाध्य बनाएको छ । त्यसको उन्नत अवधारणा के जन्मियो भने, एकजना उदार लेखकले लेखिदिए– हरेक सफल पुरुषका पछाडि एक महिला हुन्छे । लेख्नेलाई त्यो बेला लाज लागेन । अब त्यो सुन्न हामीलाई लाज लाग्नुपर्छ । एक महान पुरुषको पछाडि महिला हुन्छे  । तर, त्यो महिलाको नाम के हो कसैलाई थाहा छैन । बाबुराम भट्टराईको एउटा लेख पढेको थिएँ । त्यसमा लेखिएको थियो, मानव जीवनका प्रगतिमा फड्को हान्नका निम्ति विवाह संस्थाले काम गरेको छ । कुरो सही हो । तर, कसको प्रगति ? पुरुषको । के पुरुषलाई मात्रै फाइदा गर्ने विवाह संस्था मानव जातिको हितमा छ ? 

आज वैज्ञानिक, प्रोफेसर, नेता अधिकांश पुरुष छन् । यो यही विवाह संस्थाले जन्माएको हो । जसले महिलालाई अगाडि बढ्न दिँदै दिएन । विवाहले महिलाहरूको जीवन आठ हजार वर्षदेखि ध्वस्त बनाएको छ । महिला र पुरुष सँगै बसेर ध्वस्त भएको होइन । विवाह संस्थाले ध्वस्त बनाएको हो । कसरी ? महिलालाई सम्पत्तिमा समान अधिकार राख्न दिएन ।

बच्चाहरूको सम्पूर्ण जिम्मेवारी महिलामा थोपरियो । विवाह पुत्र लाभ वा पुरुष उत्पादनका निम्ति भन्ने अवधारणा निर्माण गर्‍यो । पुरुषलाई परिवारको नाइके बनाइयो । महिलाहरूको जीवन तहसनहस भयो । यो कुरा स्वीकार गर्नुपर्छ । विवाहले महिलालाई बन्धनमा राख्ने काम मात्रै गरेन । समाजका सबै विकृतिलाई विवाह भन्ने संस्थामार्फत जोगाएर पनि राख्यो । 

संसारमा अपवादहरू छन् । अपवादलाई केन्द्रीय विषय बनाएर छलफल गर्नु हुँदैन । हुम्लामा भएको बहुपति प्रथा, जो पुरानो समाजको अवशेष हो त्यसलाई केन्द्रमा ल्याएर छलफल गरेर हाम्रो समस्या समाधान हुँदैन । सय घरमा एउटा घर असाध्यै प्रेमपूर्वक चलेको छ भन्दैमा ९९ घरमा कुटाइ खाएका महिलाको कुरा पछि गराँैला भनेर हुन्छ ?

मानिसहरूको एउटा सिद्धान्त छ, विगतमा जे खराब काम भए त्यो त्यतिबेलाको आवश्यकताका कारण भयो भनी अनुमोदन गर्ने । इतिहासमा यो जस्तो डरलाग्दो तर्क केही पनि छैन । यति भनिसकेपछि इतिहासमा भएका सबै काम ठीक भन्नुपर्ने हुन्छ । आवश्यकताकै कारणले भएको हो होला । तर, कसको आवश्यकता ? त्यतिबेलाको पितृसत्तावादी पुरुषको आवश्यकताले धेरै कुरा जन्मिएको हो । 

त्यतिबेलाको पुरुषको आवश्यकताले जन्मिएको कुरालाई अहिले ठीक भन्न मिल्छ । त्यतिबेला किलियोपेट्राको आवश्यकताले जन्मिएको लिपिप्स्टक अहिलेका महिलाको आवश्यकता हुनुपर्छ ? त्यो त त्यतिबेलाको उसको आवश्यकता थियो । अहिले त व्यापारीको आवश्यकता हो । हिजो भएको हुनाले ठीक थियो भन्ने विश्लेषण गलत हो । हिजो भएको हुनाले ठीक हो भन्ने दृष्टिकोण मान्ने हो भने अंग्रेजले इण्डियामा आक्रमण गरेको पनि ठीक थियो ।

सय घरमा एउटा घर असाध्यै प्रेमपूर्वक चलेको छ भन्दैमा ९९ घरमा कुटाइ खाएका महिलाको कुरा पछि गरौँला भनेर हुँदैन ।

हिटलरले ६० लाख मान्छे मार्नु पनि ठीक थियो । त्यो त्यति बेलाको आवश्यकता थियो ठीक थियो भन्न मिल्छ ? त्यसैले, विवाह त्यतिबेलाको उत्पीडनकारी पितृसत्तावादी पुरुषको आवश्यकता थियो । तर, मानिसहरू इतिहासको यसरी व्याख्या गर्छन् कि त्यो केही नभएको भए केही पनि हुँदैनथ्यो जसरी । अहिले पनि अफ्रिकामा कैयौँ आदिवासी समुदाय छन्, जहाँ हाम्रो जस्तो विवाह गर्ने समाज छैन । के उनीहरू बाँचेका छैनन् ?

अहिलेको नेपाली समाजको विवाहले पितृसत्तालाई निरन्तरता दिइरहेको छ । विवाहको नाममा महिला पुरुषको किनबेच भएको छ । महिलाको हकमा लाखौँको सुन लगाइदिन्छन् । सबैभन्दा राम्रो बुटिकमा लगेर लेहेंगा किनिदिन्छन् । पुरुषले पनि ढाकाको दौरा, सुरुवाल, टोपी लगाउन थालेको छ । तर, जज्ञेमा बस्नुभन्दा पहिला उनीहरूको कतिमा खरिद बिक्री भएको हो, त्यतातिर युवाहरूको ध्यान जानुपर्छ । विवाहको नाममा अहिले मानिसहरूको व्यापार भइरहेको छ ।

हाम्रो जस्तो समाजमा विवाह संस्थाले जात व्यवस्थालाई निरन्तरता दिइरहेको छ । यो धेरै डरलाग्दो कुरा हो । नेपालको पुँजीपतिले बुहारी खोज्नुपर्‍यो भने पैसा मात्र खोज्दैन, जात खोज्छ । त्यसैले, यो विवाह संस्था भत्किनुपर्छ । बलात्कारबाट सुरु भएको विवाह संस्थाको दलदलमा जसरी छिरियो, त्यसैगरी निस्किन्छु भन्न सकिँदैन । किनकि, योसँग संस्कार, सम्बन्ध र मानिसहरूको मानसिकता जोडिएको छ । विवाह संस्था अन्त्य गर्ने भन्नाले महिला पुरुष सँगै नबस्ने, बच्चा नजन्माउने, बच्चालाई माया नगर्ने भनेको होइन ।

विवाह संस्थाबाट निस्किनुपर्छ भनेको धार्मिक बन्धनबाट मुक्त हुनुपर्छ भनेको हो । आर्थिक वर्गीय सम्बन्ध र खराब संस्कारबाट मुक्त हुनुपर्छ भनेको हो । त्यसपछिको सम्बन्ध विवाह हुँदैन, सहजीवन हुन्छ । त्यसलाई जे नाम दिए पनि हुन्छ । त्यो बन्धनबाट मुक्त भएका महिला पुरुष सात जुनी सँगै बसुन् वा सात दिन त्यो उनीहरूकै कुरा हो । तर, उनीहरूको सम्बन्धमा धर्म, वर्ग र पितृसत्ता अन्त्य हुनुपर्‍यो । 

यसो हुँदा विवाह भन्ने संस्था स्वतः अन्त्य हुन्छ । मानिसहरूले अझै प्रेमपूर्ण परिवार बनाउँछन् । योभन्दा सुखी जीवन बिताउँछन् । उनीहरू अझ प्रेम गर्न लायक हुन्छन् । आजभन्दा स्वतन्त्र मानिसहरूले आविष्कार पनि सुन्दर गर्छन् । 

(वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले मंगलबार ‘अपराजिता पारिजात’ पत्रिकाले आयोजना गरेको कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश ।)

र, यो पनि


Author

आहुति

आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव हुन् ।


थप समाचार
x