विचार

नारीवादले बिराएको बाटो

कञ्चन के बस्नेत​ |
फागुन २८, २०७९ आइतबार १७:३३ बजे

विश्वमा आएका अनेकन राजनीतिक तथा सामाजिक सुधारका आन्दोलमा नारीवादी आन्दोलन पनि अग्रपंक्तिमा नै आउँछ । कुनै बेला छिटफुट रूपमा मात्र सुनिने रीवाद अहिलेको समयमा भने सडक देखि संसद ढाक्न सफल भएको छ । हुन पनि असमानता र अन्यायका अनेकन तह छिचोल्दै जाने हो भने सबैभन्दा प्राथमिक असमानताको रूपमा लैङ्गिक असमानतालाई लिन सकिन्छ ।

नारीवादलाई साधारण भाषामा बुझ्दा समाजमा राजनीतिक, सामाजिक, आर्थिक, वैयक्तिक पक्षहरूमा लैङ्गिक समानताको विषय उठान गर्ने विचारधारा हो । यसले  स्थापित पितृसत्तात्मक समाजिक संरचना र त्यसबाट तोकिएका सांस्कृतिक मूल्यको विरुद्धमा बोल्छ । तर नारीवादी लहर विश्वमा चलेको धेरै राजनीतिक लहरहरूबाट अछुतो रहन सकेको छैन । त्यसैले वैचारिक आस्थाअनुसार नारीवादको आआफ्ना परिभाषा छन् ।


संसारमा नारीवादले फर्स्ट, सेकेण्ड, थर्डहुँदै फोर्थ वेभ आइसक्दा हाम्रोतिर भने यो विषयले त्यतिसारो फडको मार्न सकेको छैन । यहाँसम्म कि नेपालमा त खुलेर ' म नारीवादी हुँ भन्न पनि धेरैजसोको आँट  हुँदैन । यस पङ्क्तिकारले कहीँ एउटा दृष्टान्त पढेको थियो कि श्रीमतीको नारीवादी रुझान श्रीमानले नारीवाद रोज्ने वा घर छोड्ने विकल्प श्रीमतीसमक्ष राखिदिएका थिए । यस्तो अवस्थामा भए पनि आस्ते आस्ते पारामा  नेपालमा पितृसत्ताको विरोधमा आवाज उठ्न थालेका छन् । यसप्रति पंक्तिकारको एकदम सकारात्मक दृष्टिकोण छ ।

तर आजसम्म अधिकांश मानिसहरूले बुझेको नारीवाद विद्रोहको परिधि छिचोलेर जान सकेको छैन / नारीवाद केवल विद्रोहमा मात्र सीमित भएको छ । सीधा भन्नु पर्दा, पितृसत्ताको जबरजस्त आलोचक हुनुभन्दा पर नारीवादी आन्दोलनले त्यस्तो उल्लेखनीय केही गर्न सकेको छैन । यस्तो भन्नुको अर्थ विद्रोहलाई अवमूल्यन गरेको भन्ने चाहिँ कदापि हैन । हरेक विद्रोहको उर्जाले एउटा निश्चित दिशा पक्डिन सक्यो भने मात्र गन्तव्य भेटाउन सकिन्छ हैन भने विद्रोह केवल विद्रोहमा सीमित भएर विलय हुन सक्छ। त्यस अर्थमा नारीवादको स्पष्ट दिशा हुन जरूरी छ ।

बहुसंख्यक मानिसहरूले बुझेको नारीवाद भनेको पुरुषविरोधी भावनामात्र हो । यस्तो मानिसहरूको नजरमा नारीवादभित्र पुरुष अटाउन सक्दैन अर्थात् नारीवाद भनेको महिलासँग मात्र सम्बन्धित विषय हो । यो कुनै लिङ्ग विशेषको विषय नभएर सबै मानवजातिको साझा विषय हो भन्ने फराकिलो दृष्टिकोण कमैमा मात्र पाइन्छ । महिलालाई समस्या हुनु भनेको सम्पूर्ण विश्वलाई नै समस्या हुनु हो, यो वैश्विक समस्या हो । सङ्कीर्ण र साँघुरो विचारले नारीवादी आन्दोलन अतिवादको भूमरीमा फस्न जान्छ, नारीवाद बाटोमा लैङ्गिक द्वन्द्व बाटोमा हिँड्न थाल्छ । त्यही भएर होला, आजभोलि हरेक महिला पुरुषभन्दा विशिष्ट हुन खोज्ने र पुरुषहरु महिलालाई अझ तल खसाल्न खोज्ने गरिरहेको देखिन्छ ।

पुरूष जातिले महिलालाई युगौंदेखि अन्याय, शोषण र विभेदको घातक चक्रमा पिसिरह्यो भनेर त्यस कुराप्रति बदलाको भावना लिएर, इतिहासमा पुरुषले देखाएका अमानुषिक क्रियाकलापहरूको पुनरावृत्तिद्वारा मातृसत्ता स्थापना गर्नुपर्छ भन्ने अभिष्ट लिएर प्रदर्शन गरिने भावनात्मक विद्रोह नारीवाद हुन सक्दैन् । त्यसरी बुझिएको नारीवादको चरित्र पितृसत्ताभन्दा फरक हुँदैन ।

आफ्नो आमा, दिदीबहिनी, श्रीमती र छोरीहरुप्रति गरिएको लैङ्गिक विभेद देखेर पनि त्यसको प्रतिकार गर्न नसक्ने पुरूष पनि पितृसत्ताका सिकार हुन् ।

त्यसमाथि आजभोलि नारीवादी बहसहरूमा प्रजनन र यौन जस्ता विषयमा अतिवादी दृष्टिकोण राख्ने गरेको पाइन्छ। प्रजनन र यौनको प्राकृतिक नियमभन्दा बाहिर रहेर पुरुषहरूको आवश्यकतामाथि प्रश्न उठाउने गरेको पाइन्छ, जुन कुरा नारीवादको विषयमा नै पर्दैन । नारीवाद भनेको सच्चा मानवतावादी विचार हो, यसले सहअस्तित्वलाई कहिल्यै पनि नकार्न सक्दैन ।

एउटा कुरा सम्झिन जरूरी छ, पितृसत्ताले महिलालाई मात्र हैन पुरुषलाई पनि अधिनमा राखेको छ । मलाई लाग्छ, नारीवादी हुन चाहेर पनि हुन नसकेका अधिकांश पुरूष समेत पितृसत्ताका सिकार हुन् । आफ्नो आमा, दिदीबहिनी, श्रीमती र छोरीहरुप्रति गरिएको लैङ्गिक विभेद देखेर पनि त्यसको प्रतिकार गर्न नसक्ने पुरूषहरुलाई पितृसत्ताले नमिठोसँग निमोठेको भन्न मिल्छ ।

नारीवादको बारेमा पर्याप्त अध्ययन नहुँदा हामीले यसलाई साहित्य तथा कला पक्षमा राम्रो स्थान दिन सकेको छैनौं । त्यसमाथि एकाध बाहेक भएका साहित्य, कला र सङ्गीतलाई पनि नारीवादी दृष्टिकोणबाट विवेचना गर्न सकेका छैनौं । वास्तवमा पितृसत्ताले निर्माण गरेका अनेकन मान्यताहरूको प्रतिविम्बन हाम्रो साहित्य, सङ्गीत र कलाहरुमा स्पष्टसँग देख्न सकिन्छ । अनि तिनै प्रतिविम्बनको माध्यमद्वारा नारीहरू विस्तारै विस्तारै आफैँ शोषण स्वीकार गरिरहेका हुन्छन् , आफूमाथि भएको विभेदमाथि प्रश्न नगर्ने प्रवृत्ति विकास गरिरहेका हुन्छन् ।

कुनै  पनि विचार, अवधारणा जनमानसमा स्थापित गर्नका लागि शक्तिले मिडिया, स्कुल, पाठयक्रम लगायतका विविध संस्थाहरूमा कब्जा गर्दछ । हामीले पढ्ने गरेका किताब, अखबार, अझ अहिले आएर सामाजिक सञ्जालहरू जहाँ आफ्नो पूर्वाग्रह पुष्टि गर्नका लागि अनेकौं कुतर्कहरू भेट्न सकिन्छ । गीत संगीत आदिलाई नियाल्दा देखिने पुरुषकेन्द्रित सूचना, विचारको बिगबिगी देखिन्छ । मिडिया, साहित्य, कला लगायतका क्षेत्रमा पनि महिलाको उपस्थिति तुलनात्मक रूपमा धेरै कम छ ।

त्यसमाथि आजभोलि एउटा तर्क धेरै सुन्न पाइन्छ - महिला प्रतिनिधित्व र सहभागिता बढेको छ, प्रशस्त अधिकार दिएको छ । तर यो तर्कको वास्तविकता भने भयावह छ । हामी जुन सहभागिता र प्रतिनिधित्वको कुरा गरिरहेको छौँ, वास्तवमा त्यो अन्तर्यमा एकदमै खोक्रो छ । जहाँ जहाँ महिलाको सहभागिता देखिएको छ, त्यहाँ टोकेनिजम  देखिएको छ अर्थात् बाहिरी आवरणमा महिला प्रतिनिधि गरेजस्तो देखाउने तर सम्पूर्ण शासन पुरुषहरुको हातबाट संचालित हुने क्रियाकलाप देखिएको छ।

नेपालमा देखिएका हरेक आंदोलनहरू एक हिसाबमा दिशाहीन भएको देखिन्छ । जुन तह तप्काको नेतृत्व गरेर अगाडि बढेको नेतृत्वलाई सत्ताले उक्त नेतृत्वलाई आफूभित्र अटाउनका लागि स्पेस रचना गरिरहेको हुन्छ, दायरा फराकिलो परिरहेको हुन्छ । अनि उक्त नेतृत्व सत्तामा पुग्दासम्म उसलाई सत्ताको चरित्रले छुन थालिहाल्छ । नारीवादी आन्दोलन पनि त्यो अवस्थामा नपुग्ला भन्न सकिँदैन। नारीवादी आन्दोलन पितृसत्ताको विरोध गर्दा गर्दै पितृसत्तालाई पोषण गरिरहेको सत्ताको आश्रयमा पुगेर विसर्जन हुने अवस्थामा नपुगोस् ।

यस प्रसङ्गमा सिमोन दि बोउभरको कथन याद आउन जान्छ । पुरुषहरुको हातबाट सत्ता प्राप्त गर्नु मात्र काफी छैन, गाँठी कुरा त सत्ताको परीभाषा बदल्नुमा छ । त्यसैले नारीवादको वास्तविक अर्थ बुझ्न, बुझाउन विलम्ब गर्नु हुँदैन, हैन भने नारीवाद भनिएको विषयले पनि पितृसत्ताको चरित्र देखाउन धेरै बेर लगाउन सक्दैन ।

 


Author

थप समाचार
x