विचार

विद्यार्थी संगठनमाथि तेर्सिएको औचित्यको प्रश्न

दिपेन्द्रकुमार बीसी ‘दिपु’ |
चैत १८, २०७९ शनिबार ७:२६ बजे

जब देशमा निर्वाचन समय हुन्छ तब सहरूमा बस्ने नेतागणहरूको गाउँघरमा बाक्लै चहलपहल हुन्छ । हो त्यसरी नै विश्वविद्यालय तथा क्याम्पसमा स्ववियु निर्वाचन हुँदाको बखत क्याम्पसको गेट अगाडि उभिएर नमस्ते गर्ने विद्यार्थी नेताहरूको लस्कर र चहलपहल बाक्लो नै हुन्छ ।

जस्तै कि पानी पर्दा ओतको निम्ति ओढार पसेका बाख्रा पानी बिदाउँन साथ चरनलाई छाछिटान भएर निस्कने गरेझैं कलेजमा विद्यार्थीहरू समस्यामा रहँदा  ओत लागेका विद्यार्थी नेताहरू स्ववियु निर्वाचन हुँदा क्याम्पस अगाडि बाक्लो उपस्थितिमा रहेका हुन्छन्।


अन्य दिनमा क्याम्पस नजिक रहेका होटल, नास्तापसल, क्यान्टिन,रेस्टुरेन्ट पछाडि  चिया, चुरोटका साथ मा..मा  र मु... मु शब्द प्रयोग गर्दै गफिएका विद्यार्थी संगठनका जमातहरू त्यसै होटल, क्यान्टिन तथा चिया पसल अगाडि उम्मेदवारको रौनकका साथ सुकिलो मुकिलो भएर चिया पिउँदै बसेका हुन्छन् । तर आज स्वयं तपाई  विद्यार्थीहरूकै तारिफ गर्दै, चिल्लो र चिप्लो घसी बोल्दै बसेका छन् भने हो त्यो समय स्ववियु निर्वाचनको समय हो ।

मैले क्याम्पस आन्दोलनको समयमा क्याम्पसको शिशा फुटाएको छु । ताला लगाएर पठनपाठन बन्द नै गरि माग पुरा गराएको छु । मैले प्रशासन, उपप्राध्यापक, कर्मचारीलाई थरकाएर ,कुटेर, कालो मोसो दलेर भएपनि काम गराएको छु । कयौंपटक त हिरूासत नै परेको छु । विद्यार्थीकै हकहितको निम्ति ८/१० बर्षदेखि क्याम्पसमै झुलिएको छु भनेर गर्वका साथ भाषणका भाषण, कुराकानी गर्दै भोट मागिरहेका तथा परिचय गरिरहेका छ्न् भने ती मान्छे नै यो देशका राजनीतिक दलका भातृसंगठन विद्यार्थी संगठनका नेताकार्यकर्ताहरू हुन । तिनै नेताकार्यकर्ताहरू आफ्नो संगठनबाट स्ववियुका उम्मेदवार भएर कतिले विजय हासिल गरेका छ्न भने कतिले पराजय भोगिसकेका छन् ।

त्रिविका केही आंगिक क्याम्पसमा विद्यार्थी संगठनहरूकै लफडाको कारण स्ववियु निर्वाचन हुन नसकेतापनि अधिकांश  क्याम्पसहरूमा स्ववियु निर्वाचन सम्पन्न भैसकेको छ । सुदूर– पश्चिम विश्वविद्यालयको केही आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन भैसकेको छ भने केही क्याम्पसमा यही  चैत्र २१ गते हुँदैछ ।  त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका अधिकांश आंगिक क्याम्पसमा स्ववियु निर्वाचन भैसकेको छ भने  केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन चैत्र ३ गते तोकेतापनि  उच्च–अदालत  सुर्खेतमा परेको मु.सो.मका विद्यार्थीहरूको रिटको  कारण  स्थगित भएको छ ।

देशभरका जति  क्याम्पसमा स्ववियु निर्वाचन भए ती क्याम्पसहरूमा विगतका दिनमा जे जसरी स्ववियुलाई मतदान गर्न विद्यार्थीहरू उत्सुक हुन्थे आजको दिनमा त्यस्तो उत्सुकता देख्न पाइएन । मतदानमा पनि करिब ४०–५०% प्रतिशत मात्र  मत खस्यो । माउ पार्टीबाट आजित रहेका जनमानस तिनका भातृसंगठनप्रति उत्तिकै आजित हुनु र नैराश्यता हुनु स्वभाविक पनि हो ।

 विद्यार्थी संगठनहरू र तिनको आन्दोलन  रचनात्मक तथा  सृजनात्मक हुन नसक्दा अस्तित्व बचाउको अवस्थामा छन् । स्ववियु निर्वाचनलाई पनि मुल्यांकन गरी हेर्ने हो भने अस्तित्व जोगाउन र संगठनको बिऊ राखी प्रशासनलाई रवाफदवाफमा पारेर  स्वार्थको सम्झौता गर्ने पेसालाई निरन्तरता दिनलाई भए पनि आफ्नो  एजेन्डा तथा राजनीतिक कार्यदिशा नमिल्ने संगठनसँग गठबन्धन गरेर  स्ववियु चुनाव  लडनुपर्ने परिस्थितिमा धेरै संगठन रहे । त्यसैले गठबन्धन पनि  गरे ।

कतिपय क्याम्पसमा स्ववियु लडने उम्मेदवार छनोट गर्दा अस्तित्व जोगाउन पैसा भन्दा नि  विद्यार्थीहरू बीच घुलमिल भएको लोकप्रिय व्यक्ति उठाउनुपर्ने पनि भयो । जसमा संगठनको नाम गौण र व्यक्तिको नामलाई हाइलाईट गर्नुपर्ने अवस्था रहयो । विद्यार्थीहरू बीच विद्यार्थी नेताहरू चुनावी प्रचारलाई पुग्दा पार्टी र संगठनको नाम खुलेर भन्न नसक्ने गरी विद्यार्थी संगठनहरू विश्वविद्यालयमा धरमराएका छन् ।

यही नै विश्वविद्यालयमा  विद्यार्थी  संगठनहरूको औचित्य माथिको मौन तथा गहन प्रश्न हो ।  विद्यार्थी सर्कलले व्यक्ति  रुचाउने तर संगठन र पार्टी बिल्कुल नरुचाउने अवस्था देख्दा देशका राजनीतिक दलहरू र तिनका राजनीतिक संगठनहरू एजेन्डागत रूपमा , आन्दोलनगत तथा  कार्यशैलीगत रूपमा, सत्ता समर्थन र कार्यक्रमको शैलीबाट धेरैनै मात्रामा पतन भएका र समयमै रुपान्तरित हुनुपर्ने हुन्छ । विद्यार्थी संगठनहरूको विश्वविद्यालयमा विद्यार्थी आन्दोलनको नाममा ताला लगाउने र ढुंगा हान्ने कार्यबाहेकको औचित्य के भन्ने प्रश्नले चौतर्फी घेरिरहेको छ ।

ट्यापेटपरे,ठेक्कादार, खुकुरी भिडेर विद्यार्थी  तर्साउने जमात संगठनमा संगठित गरेर कुस्ती खेल्ने कि ? तास खेलाउने कि ? स्ववियु निर्वाचन लडाएर विद्यार्थी आन्दोलनलाई  हाँक्ने हो एकपटक विद्यार्थी संगठनहरूले सोच्नु जरुरी छ ।  जुन दिनदेखि क्याम्पसमा तल्लो तहका विद्यार्थी नेताकार्यकर्ताहरूलाई एउटा एजेन्डामा आन्दोलन गर्न उचाल्ने, नाराजुलुस, तालाबन्दी गर्न लगाउने माथिल्लो तहका  टाउके नेताहरू क्याम्पस र प्रशासनसँग वार्ता बसेर सेटिङ हान्ने, आफुलाई पास गराउने, गर्लफ्रेन्डलाई पास गराउने, श्रीमतीलाई जागिर माग्ने,  पैसा माग्ने जस्ता हर्कतहरू  विद्यार्थी आन्दोलनको नाममा गर्न थाले त्यस दिनदेखि विद्यार्थी आन्दोलन धरासायी हुँदै गयो । आन्दोलन जति चर्को भयो  त्यति चर्को सेटिङ गर्ने ।  जति सेटिङहरू बढदै गए क्याम्पस, प्रशासन र विश्वविद्यालयका पदाधिकारीहरूको विद्यार्थी संगठन  र तिनको आन्दोलन प्रतिको विश्वास र सम्मान घटदै गयो । जसले गर्दा विद्यार्थी संगठनमा विद्यार्थीहरूको आबद्धता हुने दर पनि घटदै गयो ।

राणाशासन, पञ्चायत, राजतन्त्र जस्ता कुर शासक र व्यवस्था  विरुद्ध डटेर लडदै आएका नेपालका विद्यार्थी संगठनहरूको ऐतिहासिक  विद्यार्थी आन्दोलनको गाथा अबका नयाँ पुस्तामा बताउँदा पनि सजिलै बिश्वास गरिदिने अवस्थामा वर्तमान अवस्थाको विद्यार्थी आन्दोलनको चित्र र स्वरूप छैन । रचनात्मक प्रतिपक्षी भएर विद्यार्थी आन्दोलन हाँक्दै तानाशाही व्यवस्था विरुद्ध लडदै आएका विद्यार्थीहरू व्यवस्थाको रुपान्तरणसँगै आफूलाई नयाँरूपमा समय सापेक्ष एजेन्डागत रूपमा रुपान्तरण  गर्न सकेनन् तर स्वार्थगत लालसामा भने अविरल लागिरहे । माउ पार्टीका नेताहरूको चाकरीमा विलिन भए । सांसद, मन्त्रीहरूको स्वकीय सचिव हुने कुरामा लालायित भए । जसले गर्दा क्रियाशील विद्यार्थी आन्दोलनको धारमा खिया लाग्न पुग्यो ।  सत्ताको स्वाद लिएर, सत्तामै टाँसी सत्ताकै विरुद्ध लडने नैतिकता विद्यार्थी नेताहरूमा रहेन । नुनको सोझो गर्नुबाहेक केही विकल्पदेखिरहेका छैनन् ।

जब विद्यार्थी राजनीतिको सफलता भनेको स्वकीय सचिव बन्नु , राजनीतिक नियुक्ति प्राप्ति गर्नु  मात्र हो भन्ने विषयलाई प्राथमिकतामा लिन थालियो  तब विद्यार्थी संगठन र तिनको आन्दोलनको औचित्य सकिँदै गयो । त्यही विद्यार्थी नेता जो विद्यार्थी संगठनको एकातिर नेता पनि रहिरूहने अनि अर्कोतिर सोहि अध्यन तथा संगठित विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको स्वकीय सचिव पनि भएर बस्ने परिपाटी हुन थाल्यो त्यस दिनदेखि विद्यार्थी आन्दोलन फेरि नजागिने गरी खस्कँदै गयो।

स्वार्थ र सत्ताको लालचले रचनात्मक, क्रान्तिकारी विद्यार्थी नेताभन्दा चाकर र मनस्थितिगत दास समर्थक जन्माउने प्रयास हुनथाल्यो । अहिले स्ववियु जस्तो  मिनि संसदको प्रतिस्पर्धाको ऐतिहासिक गरिमा बोकेको संस्थामा  विद्यार्थी नेताले चिया, चुरोट, रक्सी, बाइकको तेल, फेसबुकमा जन्मदिनको शुभकामना दिएको आधारले भोट  पाउने अवस्था सृजना हुन जान्छ भने विद्यार्थी संगठनहरू र विद्यार्थीहरूको यस्तो राजनीतिक चेतना, आचरण तथा अभ्यासले विद्यार्थी आन्दोलन जोगिन बिल्कुल सक्दैन् ।

एक पुरुष विद्यार्थी नेताले बरु त्यति धेरै गर्लफ्रेन्ड बनाउन सक्छ जति ऊ आबद्ध संगठित विद्यार्थी संगठनको नयाँ सदस्य बनाउन सक्दैन । एक महिला विद्यार्थी नेतृले बरु त्यति धेरै बिमा कम्पनिको बिमा बनाउनलाई मान्छे कन्भिस गर्नसक्छ जति उ आफू आबद्ध विद्यार्थी संगठनमा नयाँ सगंठित सदस्य बनाउन सक्दैन। किनकि विद्यार्थी आन्दोलनमा नयाँ विद्यार्थीहरूलाई आकर्षित गर्ने कुनै आधार छैन। विद्यार्थी राजनीतिको नाममा सृजनशील उमेर बिताएको विद्यार्थीकालको संघर्ष कर्कलाको पातमा अढिएको पानीको हालत सरी छ ।

विद्यार्थी संगठनले पार्टीगत राजनीतिमा पाइला चाल्न र सत्तामा पुग्नलाई राजनीति गरेता पनि पार्टीभित्र निर्णायक अधिकार प्राप्त गर्न समयमै नपाउने । अनि कहिँकतै सत्ताको लाभमा पुग्दा कि त विद्यार्थी राजनीतिबाट बिदाइ हुनुपर्ने  कि त सत्ताको लाभ त्याग्नुपर्ने हो। तर दुईटा डुंगामा खुट्टा टिकेर यात्रामा लम्बिँदा दुर्घटना नपर्ने कुरा पनि रहेन । त्यसैले  विश्वविद्यालय र क्याम्पसमा विद्यार्थी संगठनहरू दुर्घटनामा परेका छन् । अस्तित्वको पालुवा  हालेर पलाउने वा सुकेर सकिने औचित्य समाप्तिको दोसाँधमा छन् । तिनको औचित्यको अर्थ बचाइदिने अन्तिम र शक्तिशाली अस्त्र भनेको अब मात्र रचनात्मक तथा सृजनात्मक स्ववियु मात्र हो ।

विद्यार्थी संगठनको औचित्य र अस्तित्व  जिवित राख्न विद्यार्थी आन्दोलनलाई  जिवित राख्नुपर्छ, विद्यार्थी आन्दोलन जिवित राख्न विद्यार्थी आन्दोलनको एजेन्डा समयानुकूलको उठान हुनुपर्छ, एजेन्डा जिवित हुन संगठनमा त्यसरी सोच्ने सृजनशील व्यक्तिहरू संगठित हुनुपर्छ, सृजनशील व्यक्ति संगठित गर्न प्रशिक्षण र अध्यन हुनुपर्छ । अध्यनलाई  प्रथामिकता दिन नियमित क्याम्पस आउने, समयनुकुल बहस, प्रशिक्षण  र समीक्षा गर्ने गर्नुपर्छ ।

ट्यापेटपरे, ठेकदार, लडाकु जमात संगठनमा संगठित गरेर कुस्ती खेल्ने कि तास खेलाउने ? वा स्ववियु निर्वाचन लडाएर विद्यार्थी आन्दोलनलाई हाँक्ने हो ? विद्यार्थी संगठनले सोच्नु जरुरी छ ।

त्यो अवसर जुराउन संगठन वा क्याम्पसमा स्ववियु जस्ता संस्था सक्रिय हुनुपर्छ । स्ववियु सक्रिय र रचनात्मक राख्न विद्यार्थी संगठनहरूले राम्रा उम्मेदवार चुनावमा उठाउने र विद्यार्थीहरूले त्यस्ता उम्मेदवार   जिताउनुपर्छ । तर मुख्य समस्या नै विद्यार्थी संगठनमा पछिल्लो समय राम्रा क्षमतावान मान्छेहरू संगठित हुन चाँहदैनन् । राजनीतिप्रति चाँसो नै छैन चासो हुनेमा पनि वितृष्णा बढी छ । बरु स्वतन्त्र उम्मेदवार बन्न तयार छन् तर राजनीतिक दलको ट्याग लिएर मैदानमा उभिन तयार छैनन् । स्ववियु जितुन वा नजित्नु तर अधिकांस क्याम्पसमा स्वतन्त्र उम्मेदवार भएर धेरै विद्यार्थीहरू चुनाव लडन अग्रसर पनि रहे । यो प्रस्थिति सृजित हुनमा माउ पार्टीहरू राजनैतिक तथा वैचारिक  सिद्धान्तबाट विचलित हुनु नै हो ।

माउ पार्टी नै सैद्धान्तिक रूपमा यसरी कमसल छन भने त्यसको भातृसंगठन सैद्धान्तिक रूपमा बलियो हुन कदापि सक्दैनन् । स्वार्थको निम्ति मान्छेको भिड अर्थात्  राजनीतिक भाषामा शक्ति  प्रदशन गरेर फाइदा बटुल्ने कार्यबाहेक अरु केही हुँदैन ।  संगठनमा लागेर माक्र्स, लेनिन, पुष्पलाल, मदन, मनमोहन  बिपी, गणेशमानको ऐतिहासिक पृष्ठभूमि नचिन्ने जथ्थाले  विश्वविद्यालय तथा क्याम्पसको समस्या पहिचान गर्न सक्छन् र स्ववियु जितेर समाधान गर्न सक्छन् भनी रतिभर विश्वास गर्न पनि सकिँदैन। त्यसैले पैसाको खर्च कसले कति गर्न सक्छ भनेर पार्टीकै सिकोको आधारमा विद्यार्थी संगठनहरूमा पनि स्ववियुको टिकट दिने प्रचलनले लोकतान्त्रिक मूल्य, निर्वाचन प्रणाली र स्ववियु संस्था माथि नै अविश्वास बढेको छ ।

नवनिर्वाचित स्ववियुले विद्यार्थीहरूको मुद्दामा काम गर्न सकेन भने, विश्वविद्यालय तथा क्याम्पसको बेथितिको विरुद्ध बोलेन भने, क्याम्पसमा रहेको सेवासुविधाको अभावपूर्तिलाई खबरदारी र समवन्य गर्न सकेन भने, विद्यार्थीहरूलाई प्राविधिक तथा  वैज्ञानैकि ढंगले गुणस्तरीय शिक्षा सेवा प्रवाहमा वकालत गरेन भने, विद्यार्थीहरूको समस्याको साथमा रहेन भने, सृजनशील अतिरिक्त क्रियाकलाप गराउन सकेन भने विद्यार्थी संगठनको औचित्यको प्रश्नसँगै स्ववियुको औचित्यको प्रश्नहरू बढी उठनेछ्न् ।

ठेक्कापट्टा खोज्ने, क्याम्पसको भवन तथा भौतिक संरचना निर्माणमा कमिसन, पुस्तकालय व्यवस्थापन निर्माणमा कमिसन, होस्टेल फि व्यवस्थापनमा कमिसन, स्ववियु कोषको बजेट मार्फत गरिने कार्यक्रममा कमिसन खोज्ने तथा लिने हो र यस्तै भ्रष्ट प्रवृतिलाई अंगाली स्ववियु चल्ने हो भने विश्वविद्यालय बिग्रदै जान्छ ।  देशनै भ्रष्टिकरणको डंगुरमा फस्छ । अहिलेको विद्यार्थी आन्दोलन, विश्वविद्यालयको शिक्षा, राज्यका निकाय, सरकारको हालत देख्दा सकारात्मक संकेत पनि छैन् । यस्तो कार्यले विद्यार्थी  संगठनहरूको औचित्य पुष्टिको कार्यभार लिएको स्ववियु संस्था पनि विश्वसनीय हुन सक्दैन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा  माओवादी निकट अखिल (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, जनमोर्चा निकट अखिल छैटौं, नेकपा विप्लव निकट अखिल  (क्रान्तिकारी)  जस्ताहरूको राजनीतिक दलका विद्यार्थी संगठनहरूले आफ्नो अस्तित्व सैद्धान्तिक रूपमा बचाउन राजनीतिक कार्यदिशा रुपान्तरिणत गरी सृजनाशिल हुनुपर्छ ।

विद्यार्थी संगठनका उम्मेदवारहरूले जितेको स्ववियुले  स्वयं विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको औचित्य बचाउने कार्यभार बोकेको हुँदा  राम्रा काम गर्नपर्ने नै हुन्छ । नत्र नसके आउने दिनमा विश्वविद्यालय तथा क्याम्पसको शिक्षा सुधारकै निम्ति  राजनीतिक दलका विद्यार्थी  संगठनहरू संगठित गर्न  बन्द गराएर शिक्षा क्षेत्रहरू चलाउने मार्गमा जानुपर्ने स्थितिको बहसले स्थान पाउँछ । कलेजहरूलाई स्वायत्त  बनाई, विद्यार्थी संगठनमुक्त गराई स्ववियुको जस्तै छुट्टै विद्यार्थी काउन्सिल खडा गरी चलाउँदा कलेजहरूले शैक्षिक क्षेत्रमा राम्रो सफलता हासिल गरेका तथ्य र यथार्थगत उदाहरूणहरू थुप्रै हुँदा यस किसिमको बहसले चर्को रुप लिनेवाला नै छ समयमै संगठनहरू रुपान्तरित र सुदृढ हुनुपर्छ ।

बीसीको अरु लेख


Author

दिपेन्द्रकुमार बीसी ‘दिपु’

दिपेन्द्र मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल बीएएलएल्बी तेस्रो सेमेस्टरका विद्यार्थी हुन् ।


थप समाचार
x