विचार

मार्क्स जप्‍नुस् या मास्क लाउनुस्, मानवताविरुद्धको अनुहार छोपेर छोपिन्‍न !

दिपेश घिमिरे |
बैशाख २६, २०७८ ७:३३ बजे

राज्यको प्रकृति कस्तो हुन्छ भन्‍ने सम्बन्धमा कार्ल माक्र्सले निकै लामो व्याख्या गरेका छन् । मार्क्स भन्छन्, ‘राज्य एउटा यस्तो संस्था हो, जहाँ शासक वर्ग आफ्ना साझा हित र स्वार्थका लागि पुँजीपतिहरूको स्वार्थअनुरूप काम गर्दछन् । नागरिक समाज पनि पुँजीपति वर्गले पूर्ण नियन्त्रण गर्दछ । राज्य र यसका संयन्त्रहरू धनी पुँजीपति वर्गको स्वार्थलाई पूरा गर्न र गरिब वर्गमाथि शोषण गर्न सदैव तम्तयार रहेका हुन्छन् ।’ मार्क्सको थप धारणा छ, ‘राज्य भनेको त्यस्तो संस्था हो जसले शासक वर्गको प्रभुत्व कायम गर्न, विद्यमान सम्पत्ति सम्बन्धलाई जोगाउन र अन्य निम्‍न वर्गलाई अधीनमा राखी शोषण गर्न समाजका अन्य विशिष्ट निकायलाई आधार उपलब्ध गराउँछ ।’
 
मार्क्सवादीहरू राज्यको यही प्रकृतिलाई चिर्न र गरिब, विपन्‍न तथा निम्‍न वर्गको हितका खातिर राजनीति गरेको दलिल पेस गर्दछन् । यही दलिल पेस गर्दै नेपालका वर्तमान शासक सत्तारोहण गरेका हुन् । गरिब बस्तीमा पुगेर गरिबको हितका लागि काम गर्छु र गरिबको स्वार्थ केन्द्रमा राखेर नीति बनाउँछु भन्दै गरिब र निम्‍नवर्गीय व्यक्तिको मतबाट सत्तारोहण गरेका हुन् । सत्तारोहणसँगै कम्युनिस्टको बर्को ओढेका सर्वहारा वर्गका कथित नेताको व्यवहार कसरी बदलिएको छ भन्ने हालसालैका केही उदाहरण काफी छन् । धेरै लामो इतिहास पढ्नै पर्दैन ।

यतिबेला देश कोरोना भाइरसले आक्रान्त छ । हरेक दिन नौ हजारभन्दा बढी मानिस संक्रमित भइरहेका छन् । सामान्य अक्सिजनको अभावमा गरिब नागरिकले ज्यान गुमाइरहेका छन् । कोरोनाको कहरमा सामान्य स्वास्थ्य सेवासमेत नपाएर नागरिक अस्पताल तथा स्वास्थ्य संस्थाको आँगनमा छट्पटाइरहेका छन् । तर, सरकार ती गरिब वर्गका लागि आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सामान्य कामसमेत गर्दैन । देखेको नदेख्यै गर्छ । सरकार संविधानमा उल्लेख भएको स्वास्थ्यको हक रद्दीको टोकरीमा फालेर मन्त्रालय र विभागका वातानुकूलित कोठाबाट आफ्नो जीउज्यानको सुरक्षा आफैँ गर्नु भन्दै फरमान जारी गर्दछ । 


सरकारको यत्तिको साथ पाएपछि निजी अस्पतालहरू कोभिडका बिरामीका लागि दैनिक ५० हजार रुपैयाँसम्मको ‘मेनु’ सार्वजनिक गर्छन् । सरकार निजी अस्पताललाई नै सहयोग पुग्‍नेगरी निजी अस्पतालको सम्बन्धमा मिडियाले प्रोपोगान्डा गर्‍यो भन्‍ने अभिव्यक्ति दिइरहन्छ । पुँजीपति तथा दलालको हितमा काम गर्न दिनरात लागि पर्छ । सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटर भोलि कथित भीआईपीलाई चाहिन्छ भनेर आज खाली राख्‍न सरकार उद्दत छ । 
 
कोभिडको खोप खरिद प्रकरण यतिबेला चर्चामा छ । राजनीतिकर्मी, प्रहरी, सेना, स्वास्थ्यकर्मी, मन्त्री, कर्मचारी, पत्रकार, व्यापारी, पहुँचवाला व्यक्ति सबैले सरकारी अनुदानमा आएको निःशुल्क खोप लगाए । गरिब विपन्‍न र पहुँच नभएका र दुर्गम गाउँमा बस्‍ने जनताको अनुदानको निःशुल्क खोपमा पहुँच नै भएन । अब उनीहरूले खोप लगाउने बेलामा राज्यले खोप दलालको हातमा सुम्पिँदै छ । जम्मा ४७२ रुपैयाँ पर्ने कोरोनाको खोपलाई त्यसको चार गुणा बढी मूल्यमा बजारमा बेच्‍न पाउनेगरी सरकारले स्वीकृति दियो । 

गरिब तथा विपन्‍न वर्गका नागरिक दुई डोज खोप लगाउनका लागि कम्तीमा चार हजार रुपैयाँ तिर्न बाध्य हुँदै छन् । पशुपतिनाथमा सुनको जलारी र ठोरीमा राम सीताको मन्दिर बनाउन करोडौँ खर्च गर्नसक्ने सरकार गरिब जनतालाई बाँच्‍न पाउने आधारभूत स्वास्थ्य सेवासमेत दिन तयार छैन । खोपमा भइरहेका कमिसनखोरका समाचारहरू आइरहँदा स्वास्थ्यमन्त्री मात्र होइन स्वयं प्रधानमन्त्री चुपचाप त्यसैलाई सदर गर्छन् । यसले हाम्रा शासकको नियत छरपष्ट भएको छ । 

कोरोनाको नाममा कालोबजारी कोरोनाभन्दा डरलाग्दो गरी बढेको छ । करिब ३० हजार पर्ने रेम्डेसिभिर एक लाख २० हजारसम्म सात सय पर्ने अक्सिमिटर तीन हजार रुपैयाँमा खुलमखुला बिक्री भइरहेको समाचार सार्वजनिक भइरहेका छन् । नागरिक आफ्नो र आफन्तको ज्यान बचिहाल्छ कि भनेर घरखेत नै बन्धकीमा राखेर भए पनि कालोबजारीमा सामग्री खरिद गर्न विवश छन् । सरकार निषेधाज्ञा र लकडाउन गरिदिएर सत्ताको लुछाचुडीमा अहोरात्र खटेको छ । 

‘मार्क्सले भनेजस्तै हाम्रा सत्ताधारीहरू पुँजीपतिको स्वार्थलाई परिपूर्ति गर्दै गरिबमाथि शोषण गर्न दिनरात लागिपरेका छन् । सत्ता स्वार्थका लागि नागरिकको हत्या गरिरहेका छन् । यो मानवताविरुद्धको अपराध हो ।’ 

पछिल्लो हप्ताको मात्रै राष्ट्रपति, प्रधानमन्त्री, अन्य मन्त्री तथा राजनीतिक दलका नेताहरूको प्राथमिकता हेर्‍यो भने जनता केन्द्रित राजनीति गर्छु भन्दै गरिरहेको छलकपट आमनागरिकसमक्ष सम्हाल्नै नसक्ने गरी नांगिएको छ । गरिब, विपन्न तथा निम्नवर्गका नागरिक यी नेताहरूलाई निर्वाचनको दिन मात्रै चाहिन्छ । एक थाल भात, एक कचौरा मासु र २० पेजको उडन्ते हावादारी घोषणापत्रको बलमा निरक्षर नागरिकको भोट किन्न सकिन्छ भने पाँच वर्ष ती जनतालाई किन वास्ता गर्छन् र ? 
 
यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भइसकेको छ । भारतसँग हप्तामा दुई उडान हुन्छ । उडानमा आएका उच्चवर्गीय व्यक्ति, पुँजीपति, तथा दूतावासका भीआईपीले क्वारेन्टाइन बस्नुपर्दैन । तर, त्यही जहाजबाट ७२ घण्टाभित्रको कोरोना नेगेटिभको रिपोर्ट लिएर आएका गरिबका छोराछोरीले होटल क्‍वारेन्टिनमा बस्‍नुपर्ने नियम बनाइएको छ । धनीमानी र कथित भीआईपीहरू सीधै आफूले चाहेको स्थानमा जान र घुमफिर गर्न स्वतन्त्र छन् । नागरिक सामान्य उपचार पाउन नसकेर अस्पतालको गेटमा मृत्युवरण गरिरहेका छन् । 

सरकार स्रोतसाधनको अभाव देखाउँदै निजी अस्पताल गएर उपचार गर्न सुझाइरहेको छ । त्यही सरकारका मन्त्री हेलिकप्टरमा उम्मेदवारी दर्ता गर्न आउजाउ गर्छन् । अनि आफ्नो जितले मात्र गरिब विपन्‍नको अधिकार सुनिश्‍चित हुने भाषण ठोकिरहेका छन् । हिजो उनले जितिरहँदा र आज सत्तामा बसिरहँदा नागरिकले के राहत पाए भन्‍ने प्रश्‍न चिच्याएर सोधिरहेका नागरिकलाई उनको कुनै जवाफ छैन । 
   
सरकारले नागरिकलाई घरभित्र थुनेको छ । बाहिर सत्ताधारीहरू निर्बाध लेनदेनका लागि बार्गेनिङ गर्न स्वतन्त्र बनेका छन् । यस्तो विपद्को समयमा सबैतिरबाट दलालले नागरिकमाथि शोषण गरिरहेका छन् । कालोबजारी मौलाएको छ । तर, सरकार सामान्य अनुगमनसमेत गर्ने जिम्मेवारी पूरा गर्दैन । कोभिडले सार्वजनिक यातायात मात्र होइन प्लेनसमेत बन्द छन् । 

यही बेला दुर्गम गाउँका बिरामी उपचारका लागि कि त हेलिकप्टर चार्टड गर्नुपर्ने या मृत्युलाई स्वीकार्नुपर्ने अवस्थामा पिल्सिएका छन् । यस्तो विषम परिस्थितिमा नागरिकको स्वास्थ्यलाई बेवास्ता गर्ने सरकारले यस्ता अत्यावश्यक सेवाबारे अनुगमनको दायित्वसमेत वहन गर्दैन । सरकारले कुनै अनुगमन नगरी आँखा चिम्लिदिँदा निजी अस्पताल मनलाग्दी रकम उठाइरहेका छन् । 

कम्युनिस्टको बर्को ओढेका सर्वहारा वर्गका कथित नेताको व्यवहार कसरी बदलिएको छ भन्‍ने हालसालैका केही उदाहरण काफी छन् । धेरै लामो इतिहास पढ्नै पर्दैन ।

व्यापारीले मनलाग्दी रकम लिएर स्वास्थ्य सामग्री बिक्री गरिरहेका छन् । हेलिकप्टर कम्पनीहरू मनलाग्दी रकम लिएर चार्टड फ्‍लाइट गरिरहेका छन् । व्यापारी मनलाग्दी रकम लिएर आधारभूत खाद्यान्‍न बिक्री गरिरहेका छन् । दिनदिनै डरलाग्दो दरमा नागरिक मृत्युवरण गरिरहेका छन् तर राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरू सत्ताको जोडघटाउ गर्दै क्याल्कुलेटर दबाउन व्यस्त छन् । 

देश कोरोनाको कहरमा जलिरहेछ, नागरिक छट्पटाइरहेका छन्, कोलाहल र अनिश्‍चयको बादल गाउँगाउँमा घुमिरहेको छ, सरकार सत्ताको बासुरी बजाउँदै पुँजीपति पोस्न उद्दत छ । गरिब बिहान बेलुका हातमुख जोर्न नपाएर भोकभोकै छन् । आफ्ना बालबच्चाका लागि चारा खोज्‍न निस्किएका नागरिकलाई निमर्म लाठी बर्साउन सक्रिय छ । 

यो सबै अवस्थालाई हेर्दा सहजै भन्‍न सकिन्छ, ‘मार्क्सले भनेजस्तै हाम्रा सत्ताधारीहरू पुँजीपतिको स्वार्थलाई परिपूर्ति गर्दै गरिबमाथि शोषण गर्न दिनरात लागिपरेका छन् । सत्ता स्वार्थका लागि नागरिकको हत्या गरिरहेका छन् । यो मानवताविरुद्धको अपराध हो ।’ यी अपराधीहरुको मास्क अर्थात् मुकुण्डो थुतौँ, यिनको सक्कली अनुहार चिनौँ र माफी नदिऔँ । 

dipesh.ghimire33@gmail.com



Author

थप समाचार