टिप्पणी
‘ओलिगार्की’को अवसान : आलोचकलाई अरिंगाल, राज्यका अंगलाई औजार !
०७४ को चुनावताका दाहाल महान्, सत्तारुढ भएसँगै किनारा लगाउँदै ‘ज्यानमारा’मा परिणत गर्न समेत उद्यत भए ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः दुई तिहाइ नजिकको सरकारबाट ९३ मतमा परिणत हुँदै कामचलाउमा झरेका छन् । संसद्बाट विश्वासको मत लिन असफल मात्र भएका छैनन् कि आफ्नै पार्टी एमालेलाई ‘विग्रह’को भूँमरीमा होमेका छन् । उनको नियमित वाक्यांश थियो, ‘दुई तिहाइको मतको सरकार ।’ त्यो मत आफू एक्लैले पाएको हो भन्ने प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन् । त्यही मतको उन्मादमा ‘म नै राज्य हुँ’ भन्ने चरित्र प्रदर्शन गरे ।
अब आजको संसदीय मत परिणामसँगै उनको त्यो दम्भ सकिएको छ । हो, यतिबेला उनी आफ्नै दल एमालेसमेत 'मिलाउन’ असफल भएपछि उनको सरकार गिर्न पुगेको हो । यो हबिगतमा आइपुग्नुको मूल कारण हो, ‘दम्भी र आफू मात्रै ठीक भन्ने स्वभाव ।’ संसदीय संख्यामा उनी ३४ प्रतिशतभन्दा तल झरेका छन् । आफूलाई संविधान-कानुनभन्दा माथि सोच्ने शासक बन्न खोज्ने ध्याउन्नले अन्ततः उनलाई ३४ प्रतिशतमा झर्नुले सफल शासक मान्न सकिँदैन । अर्थात्, असफल नै हुन् ।
ओलीको शैली हेर्ने हो भने उनी ‘उपयोगवादी सिद्धान्त’मा माहिर खेलाडी बनेको चाहिँ सत्य हो । किनभने उनी ‘प्रचण्ड’लाई सत्ता–भर्याङको रूपमा ‘उपयोग’ गर्न सफल भएकै हुन् । तर, उनले ‘उपयोग’ गरेपछि रछ्यानमै फाल्ने शैली अन्ततः उनकै लागि हानिकारक बन्यो ।
उनको असफलतासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० भित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरिसकेकी छन् । उनी ३४ प्रतिशतमा खुम्चिए लगत्तै राष्ट्रपति कार्यालयले सोमबार साँझ ३० बैशाख साँझ ९ बजेसम्म बहुमत पुर्याएर आउन दलहरूलाई आग्रह गरेको हो । प्रधानमन्त्री ओलीले विश्वासकाे मत प्रप्त गर्न नसकेपछि राष्ट्रपतिले बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी हुन् ।
०७४ फागुन ३ का दिन ओली १ सय ७४ सांसदको मतको दाबी राष्ट्रपति कहाँ गएका थिए, त्यो मतसँगै उनी प्रधानमन्त्री घोषित हुँदै शपथ लिए । त्यतिबेला एमाले-माओवादी केन्द्र एकीकृत भइसकेका थिएनन् । यद्यपि २०७४ मंसिर १० र २१ को संसदीय चुनावमा गठबन्धनमा होमिएका थिए । त्यो क्रममा ओलीले माओवादी र तिनका नेताको गुणगान गाउन कुनै कसर बाँकी राखेनन् ।
हुनत त्यसअघि ओली माओवादीको अति आलोचक नेतामा स्थापित थिए । सत्तामै पुग्नकै खातिर माओवादीसँग आश्चर्यजनक तवरले गला जोडेका थिए । त्यो गठबन्धनले दुवै दललाई अधिक लाभ दियो, जसको असर अरु दललाई पर्यो ।
त्यतिखेर एमालेको १२१ र माओवादीको ५३ मत थियो । त्यही दिन उनको उद्घोष थियो, 'विकास र समृद्धि’को बीउ रोपेँ । हुन पनि धेरैलाई लागेको थियो, त्यो तहको मत दिएर कम्युनिस्टलाई सत्तामा पुर्याउँदा मुलुकमा ‘कायापलट’ हुन्छ । र, मुलुकमा स्थिर शासन पद्धति बस्नेछ, विगतको विसंगति दोहोरिने छैन ।
सरकार बनेको तीन महिना नपुग्दै ०७५ जेठ २ एमाले-माओवादी केन्द्रबीच एकीकरण भएपछि १७४ सिटको 'नेकपा’ बन्यो । अझ ०७५ जेठ १४ मा कम्युनिस्टहरू सहकार्य गर्न संघीय समाजवादी फोरम १६ सिटसहित प्रवेश गर्यो । त्यसपछि १९० सिटसहितको मुलुकको इतिहासकै शक्तिशाली प्रधानमन्त्री बने, ओली ।
तर, बिस्तारै ओलीको शासकीय चरित्र बदलिँदै गयो । त्यसपछि उनले आफ्नै समकालीन नेता र माओवादीका नेतालाई हियाउन थाले ।
अनि मुलुकमा विधिसम्मत शासन र विकासका कामभन्दा ‘उट्पट्याङ’ गफमा मोहित हुन पुगे । त्यही ‘उट्पट्याङ’ क्रियाकलाप प्रचार गर्न सिंगो राज्य संयन्त्रको दुरुपयोग गरियो । मन्त्रीहरूकै अनुभव सुन्ने हो भने ओलीले शासकीय कुरा आफ्नै गफाडी गन्थनमै धेरै समय खर्च गर्थे ।
प्रधानमन्त्री ओलीले विश्वासकाे मत प्रप्त गर्न नसकेपछि राष्ट्रपतिले बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी छन् ।
उनी बहुमतसहितको प्रधानमन्त्री धेरै काम गर्न अवसर मिलेको थियो । ओलीले कामको जग हाल्ने र पछि दाहालले पूर्णता दिने गरी मुलुकमा ‘आलो-पालो कम्युनिस्ट प्रधानमन्त्री’को सैद्धान्तिक सहमति बनेको थियो । तर, न त्यो सहमति कामयवी बन्यो, न नेकपालाई मिलाउँदै अघि बढ्न ओली सफल भए । अनि ओली इतिहासमा असफल प्रधानमन्त्रीका रूपमा दरिएका छन् । अब ओलीका कुनै पनि ‘कुतर्क’ले त्यो असफलता ढाकिनेछैन ।
‘कांग्रेसले काम गर्न दिँदैन’ भन्ने सन्देश जाला भनी प्रमुख प्रतिपक्ष कांग्रेसले ओलीको काममा विरलै मात्र अवरोध गर्यो। उल्टै सत्तापक्षसँग मिलेको प्रतिपक्ष भन्ने ‘अभियोग कांग्रेस’माथि लाग्यो । दम्भी ओली सरकारलाई कसैले छुने सवाल रहेन । ओली कार्यकालमा होली वाइन, भेनेजुयला, अनावश्यक विदेश भ्रमणदेखि दिक्क र पट्यारलाग्दो भाषणमा मात्रै रम्नुपर्ने परिस्थिति पैदा भयो ।
हुनत नेपाल तर्फ पनि छिमकबाट उच्चस्तरको भ्रमण पनि भए । कारण थियो यहाँ राजनीतिक स्थयीत्व हुने भयो र सहकार्य जम्ने छ । तर, त्यस्ता भ्रमण गफ दिनका लागि र फोटोमा हेर्न मात्र हुने भए । भ्रमणलाई ओलीले क्यास गर्न सकेनन् । सरकार गफमा रम्न थाल्यो ।
त्यसअतिरिक्त भ्रष्टाचार काण्ड त उल्लेख गरेर साध्य छैन । ती भ्रष्टाचार काण्डको छानबिन गर्ने अख्तियारमा ‘औजार’हरू भर्ती गरे । त्यसो त, अख्तियार मात्र होइन, राज्यका सम्पूर्ण अंगमा भूमिगत भर्तीको दुष्चक्र मञ्चन भयो, जसको मार मुलुकले दीर्घकालसम्म चुकाउनुपर्नेछ । उनले आफ्नो विरोध गर्ने रचनात्मक र तथ्यपरक आलोचना गर्नेलाई भित्तामा पुर्याउँदै गए ।
यहाँसम्म ‘अरिंगाल’ शब्दकै उत्पत्तिकर्ता बने, लोकतान्त्रिक कालखण्डमा । उनले त्यो अरिंगाल पछिल्लो समयमा ‘साइबर अपराधी’मा परिणत भयो । जसले सभ्य समाजमै नदेखिएको र नसुनिएको गाली-गलौजका भाषाले सामाजिक सन्जाल र सिंगो मुलुकलाई रंग्यायो, प्रविधिकै बदनाम गर्ने गरी ।
०७७ पुस ५ मा ओली प्रतिनिधि सभा विघटन गरेपछि माओवादी समूह थप असन्तुष्ट बन्न पुगेको हो । सर्वाेच्च अदालतका दुई न्यायाधीशले ०७७ फागुन २३ मा एमाले-माओवादी केन्द्रको एकतालाई वैधानिकता नदिई पूर्ववत् अवस्थामा फर्काइदिए । फागुन २३ न्यायिक आदेशलाई अनेकन् दाउपेचकै कोणबाट व्याख्या गरिँदैछ । अझ त्यो आदेशमा संलग्न न्यायाधीशका दाजु लोक सेवा आयोगको अध्यक्षमा नियुक्त भएपछि त्यो शंकाले मैदान प्राप्त गरेको छ ।
हुन पनि सुरुवाती चरणमा उनी उपचारका क्रममा लामो समय विदेशमा पनि रहे । त्यो स्वभाविक पनि थियो । त्यसपछि नागरिकको करको दोहोन गर्दै चाहिँदो/नचाहिँदो भ्रमणमा रमे । मुलुकलाई सुनिने र देखिने बनाउने भन्दै हिँडे । गैरआवासीय नेपाली संघले गर्ने सामान्य भेलालाई पनि मुलुकको प्रतिष्ठा जोडिएको भन्दै प्रधानमन्त्री पुग्न थाले ।
विदेशी भूमिमा सडक पेटीमा उभिएर ‘बाइट’ दिँदै अन्तर्वार्ता भन्दै प्रचार गर्न थालियो । भ्रमण पनि कम्युनिस्ट शासक भएका मुलुकमा बढी बाक्लिन थाल्यो भने कम्युनिस्टहरूले प्रशिक्षणसमेत दिन थाले । ठूला भ्रमण हुँदा राष्ट्र या सरकार प्रमुखलाई समेत नभेटी त्यो मुलुकबाट लज्जित भएर फर्कने कार्य समेत गरे ।
जसले मुलुकलाई देखिने र सुनिने होइन, कूटनीतिक ओजलाई धुमिल्याउने काम गरे । आफ्नो ‘किचन क्याबिनेट’ बनाउने र त्यसमै रम्न पनि थाले ।
उनमा अनौठो शैली देखियो— गाली-गलौजयुक्त व्यंग्य गर्नमै उनको शासकीय समय खर्च भयो । यहाँसम्म कि एउटा ‘यु-ट्युबर’ले कति बेला भिडियो पोस्ट गर्छ भन्नेसम्मको चियोचर्चामा लाग्दै तिनकै आलोचनामा समेत समय खर्चिएको मुलुकको बिर्सेको छैन ।
आमतह र मिडियामा आएका उनका कमी-कमजोरी तथ्यपरक ढंगले लेख्दा वा बोल्दा विरोध गरेको ठान्दै सिध्याउनसमेत पछि परेनन् । उनले अघिल्लो कार्यकालमा गरेका कामको जस लिनुपर्ने स्थानमा त्यो हैसियत समेत गुमाए ।
‘टेलिप्रम्ट’ प्रविधिको प्रयोग गरी धारा-प्रवाह भाषण गर्ने कलामा पनि उनी थप पोख्त देखिए । हुन त, उनी वाकपटुता भएकै व्यक्ति हुन् । ‘डेसिमल’सहितको तथ्यांक धाराप्रवाह हुँदा भने धेरैले प्रश्न गरेका थिए । त्यो तहसम्म छक्याउने नीति लिएका उनले अन्य तहमा के गरेनन् होला र ? आफ्नै क्रियाकलापका कारण तल झर्न थालेका ओली तीन वर्ष नपुग्दै संसद् नै भंग गर्ने तहमा पुगे ।
राष्ट्रपतिको साथ लिएर संसद् भंग गरेका ओलीलाई अदालतले जवाफ दियो । त्यो कदम संवैधानिक ठहरिएन । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतो अदालतले उल्टाइदियो । तर पनि ओलीको दम्भ घटेन । किनकि त्यसको केही समयमा अदाललते दलसम्बन्धी छिनोफानो गर्दै एमाले र माओवादीलाई दुई दलमा छुट्याइदियो । जसले गर्दा पुनः ओली पार्टीमा बलियो भएझैँ देखियो ।
नैतिकताको आधारमा राजीनामा दिएर हिँड्नुपर्नेमा आफू नभए मुलुक डुब्ने जस्ता ‘मिथ’ सुनाउँदै उनले आफूलाई अघि बढाए । केही पद र राप पाएकाहरू उनीसँग रमे । कोही कटु आलोचक पनि पदको लोभमा उनकै फेरो समाउन पुगे । अनि जहिले जो शक्तिमा रहन्छ, त्यसपछि लाग्ने बिचौलियाहरूकै गफमा पनि ओली रमे ।
०७६ पुस ८ मा सरकारी-विच्छेद गर्दै ओलीसँग टाढिएका उपेन्द्र यादव पछिल्लो समय ओलीको कटु आलोचक बने । उनले ओलीले मुलुक डुबाउन लागेको समेत बताए । जसपाभित्रको कम्युनिस्ट भन्ने छवि बनाएका उनी बिच्किएपछि ओली साँच्चै असहजमा पर्ने थिए ।
विश्वबाट कम्युनिस्ट हराउँदै गएको बखत नेपालमा त्यसरी कम्युनिस्ट जगजगी भएपछि विश्वकै ध्यान खिचिएको थियो । हुन पनि एक ठाउँमा उभिँदाका बखत माओवादी ‘जनयुद्ध’लाई पनि आफ्नै ‘युद्ध’जस्तै ठानेका थिए, ओलीजनहरूले । यतिखेर माओवादीलाई ‘ज्यानमारा’ कित्तामा उभिनेहरूकै लेखाइ-बोलाइ तिनकै सामाजिक सन्जालमा आर्काइभ मेटिएको छैन भने हुनुपर्छ, ‘दाहाल (प्रचण्ड) महान् नेता ।’
ओलीलाई थाहा नभएको होइन कि ‘जनयुद्ध’मा देशभरि ४ सय ९० जना एमालेका ‘होनाहार नेता-कार्यकर्ता’ले ज्यान गुमाएका थिए । त्यस्तो तथ्य हुँदाहुँदै ओलीले मधूर शैलीमा दाहालसँग गला जोेडेका थिए, दुई ‘पाइलट’का रोचक कथा सुनाएका थिए । कुनै कारण र जोडबलले केही महिना शासनमा रहे पनि तत्कालिन हैसियत उनमा हुनेछैन ।
०७४ को चुनावी गठबन्धनपछि अखबारका पानाहरूमा ओली र दाहालका गला जोडेका भरिला-हँसिला अनुहारले भरिएका थिए । त्यतिखेर पुष्पकमल दाहाल महान्, सत्तारुढ भएसँगै किनारा लगाउँदै ‘ज्यानमारा’मा परिणत गर्न उद्यत भए । उनको शैली हेर्ने हो भने उनी ‘उपयोगवादी सिद्धान्त’मा माहिर खेलाडी बनेको चाहिँ सत्य हो । किनभने उनी ‘प्रचण्ड’लाई सत्ता-भर्याङको रूपमा ‘उपयोग’ गर्न सफल भएकै हुन् । तर, उनले ‘उपयोग’ गरेपछि रछ्यानमै फाल्ने शैली अन्ततः उनकै लागि हानिकारक बन्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया