टिप्पणी
ओलीको विकल्प शेरबहादुर कि महन्थ ?
भित्रीभन्दा बाह्य शक्तिको ‘सिग्नल’ खोज्दै कांग्रेस
काठमाडौँ : यतिखेर जनता समाजवादी पार्टी (जसपा) नेपाली राजनीतिको निर्णायक खेलाडी बन्न पुगेको छ, २०५१-२०५५ को त्रिशंकुकालमा राष्ट्रिय प्रजातन्त्र पार्टी जसरी नै । लगभग उस्तै राजनीतिक मैदान यतिखेर देखिन्छ । केपी शर्मा ओलीले विश्वासको मत नपाए पनि उनलाई सत्ताबाट बाहिर राख्न जसपाको निर्णय अन्तिम हुनेछ । यद्यपि जसपा यतिबेला दुई धारमा विभक्त छ । दुई धारमा विभाजित भएकै कारण नयाँ सरकार गठनमा समस्या सिर्जना भएको हो । पदीय हिसाबले औलीलाई फाइदा पुग्नेछ, राप्रपालाई जसरी नै ।
उतिखेर, राप्रपाको एउटा धार (सूर्यबहादुर थापा) कांग्रेससँग अघि बढ्न चाहन्थ्यो भने अर्काे धार (लोकेन्द्रबहादुर चन्द) एमालेसँग । राप्रपाको सहयोगबेगर सरकार बन्न नसक्ने स्थितिसँगै एमालेले चन्द र कांग्रेसले थापालाई प्रधानमन्त्री बनाएकै हुन् । अर्थात्, राप्रपाको दुवै धार तत्कालका निम्ति लाभान्वित भयो, तर दीर्घकालमा पार्टीको अस्तित्व खिइँदै गयो ।
ठ्याक्कै स्थिति त्यस्तै छ । फरक यत्ति मात्र हो, त्यतिखेर एमालेभित्र असन्तुष्ट समूह जन्मिएको थिएन । तर, राप्रपालाई बोकेपछिको परिणाम २०५४ मा एमालेभित्र वामदेव गौतम शक्तिशाली बन्न पुगे । त्यो विद्रोहसँगै नयाँ दल बन्न पुग्यो । यतिखेर जसपाका अध्यक्ष उपेन्द्र यादव लगातार नयाँ सरकारको पक्षमा ‘लबिइङ’मा छन् । उनको समूहको मत निर्णायक हुन सक्दैन ।
ओलीले संसद्मा विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन बिहीबार साँझ ९ बजेसम्मको समय दिएकी छन् । त्यो समय सीमामा कसैले दाबी नगरेमा उनले ठूलो दलको हैसियतमा ७६ (३) अनुरूप ओलीलाई पुनः अल्पमतको प्रधानमन्त्री नियुक्त गर्ने छिन् । उनले समय थप्ने लक्षण देखिँदैन । उनी त्यो समय-सीमा कुर्दैैछिन् ।
यदि बहुमत पुर्याए पनि अर्को ‘गेम’ शीतल-निवासले खेल्न सक्ने आँकलन पनि राजनीतिक दलमा नभएको होइन । ओलीलाई सत्तामा राख्न अन्तिमसम्म पनि शीतल-निवासले कुनै कसर बाँकी राख्दैन, त्यो सबैले बुझेको तथ्य हो । हुन पनि भण्डारीले समग्र मुलुकको राष्ट्रपति बन्नुभन्दा ओलीको संरक्षकमा मात्रै आफूलाई सीमित राख्दै आएकी छन् ।
उनी एमालेभित्रको पनि ओली गुटको संरक्षकझैँ देखिएकी छन् । यो अवस्थामा उनले समय थप्छिन् र अझै मौका दिन्छिन् भन्ने कल्पना गर्न सकिन्न । उता विपक्षी गठबन्धनले महन्थ ठाकुरलाई नमनाएसम्म अन्य जुनसुकै प्रकारको बल गरे पनि नयाँ प्रधानमन्त्री पाउने सम्भावना न्यून छ ।
देउवाले किन दिएनन् चासो ?
संसदीय गणितका खेलाडी कांग्रेस सभापति शेरबहादुर देउवालले पछिल्लो परिस्थिति ‘राम्रै’सँग बुझेका छन् । सायद, त्यसैले होला उनी ‘कतै’ धाएका छैनन् । जे जति बैठक गरे, त्यो आफ्नै निवासमा बोलाएर गरिरहेका छन् । ‘पाए ठीकै छ, दौडेर मात्र हुन्न’ भन्ने नीतिमा देउवा देखिन्छन् ।
पदाधिकारी बैठकमा देउवाको कुरा सुन्दा त नयाँ सरकार बन्ने लक्षण नदेखिएको पदाधिकारीहरू बताउँछन् । किनकि देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपाका यादव-डा. बाबुराम भट्टराईबीच कुराकानी भएको त महिनौँ भइसकेको छ, निष्कर्ष आउँदैन । अब तिनले जसपाकै ठाकुरलाई मनाउन सकेमात्र निकास आउने देखिन्छ ।
ठाकुर कांग्रेस ‘स्कुलिङ’कै पात्र हुन् । देउवा र ठाकुरले कांग्रेसकै निम्ति लामो समय खर्चेका थिए । उनी सधैँभरि कम्युनिस्ट विरोधी धारबाटै हुर्केका हुन् । अर्थात्, ठाकुर पनि कांग्रेस र प्रजातन्त्रकै निम्ति यौवन सकेका राजनीतिक पात्र हुन् । त्यसो हुँदा ठाकुरलाई मनाउन सक्ने नेता देउवा मात्र हुन् । अन्यले ठाकुरलाई मनाउन सक्दैनन्, न त यादव र भट्टराईले उनलाई पार्टीमा कारबाही गरी अघि बढ्न सक्छन् ।
राजनीतिको हलो ठाकुरसँगै अड्किएको छ । त्यही बीचमा ओलीले मज्जाले खेल्न पाएका हुन् । दुई तिहाइको शक्तिशालीबाट ३४ प्रतिशतको मतमा खस्दा पनि ओलीले मुलुकमा शासन गर्न पाउनु भनेको नेताहरूको अन्य शक्ति मुलुकको ‘सिग्नल’ पर्खनु पनि हो । देउवाले नयाँ सरकार बनाउन गाह्रो छ भन्न थालेका छन् । उनी आफू निकटलाई ‘वारि-पारि’को धारणा सोध्ने गर्छन् । चुच्चे नक्सा पारित गरेपछि दक्षिणी छिमेकी रिसाएको जानकारी देउवाले पाएका थिए ।
छिमेक वा नेपालको राजनीतिमा प्रभाव राख्ने शक्ति राष्ट्रले देउवाप्रति चासो नदेखाएको अनुभवसँगै प्रधानमन्त्रीका निम्ति देउवा हतारिन नचाहेको देखिन्छ । उनले सिधा नभने पनि ठाकुरलाई बाह्य शक्तिले ओलीसँग मिलाएको विश्लेषण गरेको देखिन्छ ।
उनको निकटता भारतीय राजदूतसँग नभएको पनि होइन । तर, त्यसतर्फ उनले खासै चासो देखाएका छैनन् । देउवा पुत्र र राजदूत पुत्र एकै ठाँउमा पढ्थे अभिभावकको नाताले पनि राजदूत हुनु १३/१४ वर्षअघि देखिकै सम्बन्ध थियो । हुनत, देउवा राजदूतकै भर पर्ने नेता होइनन् । उनले राजदूत भेटेको समेत अन्यले जस्तो बाहिर छताछुल्ल पार्दैनन् ।
‘सरकार निर्माणमा देखाएको सुस्तताप्रति’का टिप्पणीहरूसँग देउवा बारबार भन्ने गर्छन्, ‘मलाई खै त नेपालमा प्रभाव राख्नेहरूले कुरा राखेको ? एक पटक रिसाइसके पटक-पटक चित्त दुखाउने काम के गर्नु ? महाधिवेशन गरेर फेरि सभापति बन्नु छ । आफैँ प्रधानमन्त्री हुने भए ठीक छ । तर अर्काका लागि लड्नु भन्दा चुप लाग्नु नै ठीकै छ ।’
महन्थ नै निर्णायक
ठाकुरसहितका १५ सांसदले प्रमुख प्रतिपक्ष नेतृत्वमा हुने नयाँ सरकार गठनको पक्षमा नउभिने जनाएसँगै वैकल्पिक सरकार गठनको सम्भावना कमजोर बन्न पुगेको हो । हुन त, देउवाले आफ्नै नेतृत्वमा संयुक्त सरकार गठनको पहल गर्ने दोहोर्याएका छन् ।
उनलाई कुनै शक्तिको ‘ढाडस’ मिल्नेबित्तिकै देउवा अघि बढ्नेछन् । अन्यथा, देउवाले खासै चासो नदेखाउने स्थिति छ । पार्टीभित्रको दबाब थेग्न गाह्रो भएर मात्र देउवा संयुक्त सरकार गठनको पक्षमा औपचारिकताका निम्ति आफैँ अग्रसर भएको देखिन्छ ।
कांग्रेसको गत चैत २१ गतेको केन्द्रीय समिति निर्णयअनुसार ओली नेतृत्व सरकारको विकल्प दिन संसद्मा रहेका अन्य दलसँग छलफल अघि बढाउने निर्णय गरेको थियो । तीन दिनअघि पनि संसदीय दलले त्यही निर्णय गरेको थियो । तर पनि देउवा खासै उत्साही नभएको देखिन्छ ।
मुखमा आएको प्रधानमन्त्री पद पनि महन्थलाई मनाउन देउवा नलाग्नु कारण पनि यही हो । नयाँ सरकारको पक्षमा देउवा नजानु र ठाकुरलाई मनाउन नखोज्नुले यो स्पष्ट हुन्छ । राजनीतिक परिस्थिति र संसदीय संख्याको विश्लेषण गर्दा राष्ट्रपतिले दिएको समय-सीमाभित्र कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गर्न सहज छैन भन्ने निचोड छ ।
देउवा आफू नभए महन्थ ?
ठाकुरसहित सिंगो जनता समाजवादी पार्टीलाई नयाँ सरकारमा सहभागी गराउन प्रयास गर्ने भनिए पनि गहन रूपमै कांग्रेस यसमा लागेको देखिँदैन । किनकि कांग्रेस नेतृत्वको समीकरणभन्दा पनि बाह्यको बुझाइ र ‘सिग्नल’ पर्खेको छ ।
आज साँझसम्म ‘सिग्नल’ आएमा देउवाले ओलीलाई बिदाइ गर्नेछन् । अन्यथा, देउवाले निष्क्रिय प्रतिपक्षी नेता भएर बस्ने निश्चित छ । एमालेभित्र त्यति असन्तुष्टि हुँदाहुँदै पनि देउवाले तिनीहरूसँग राजनीतिक सहकार्यका निम्ति खुलेर अग्रसर हुन नसक्नुको कारण चाहिँ अनौठो छ ।
एमालेको असन्तुष्ट समूहले, देउवाले ‘दह्रो खुट्टा टेक्न’ नसकेको टिप्पणी गर्दै आएको छ । उता माधवकुमार नेपालसहित एमालेका असन्तुष्ट पक्षका सांसदले प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेको भए ओली सरकारको विकल्प खोज्न सहज हुने कांग्रेस विश्लेषण थियो । असन्तुष्ट पक्षका नेताले प्रतिनिधि सभा सदस्यबाट राजीनामा नगरेपछि ठाकुरले पनि खेल्ने मौका पाएका हुन् ।
‘खनाल-नेपाल समूहले राजीनामा गर्नुभएन । हामीसँग भएको संख्याले अर्को सरकार गठन सहज छैन,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसका एक नेताले भने, ‘अब, महन्थसँग छलफल गर्ने हो । सिंगो जसपा नभई हुन्न । महन्थलाई मिलाउन नसके यादवसँग जति गफिए पनि सम्भव छैन ।’ तीन दलको संसदीय दलको आधिकारिक पत्रबाहेक अन्य विकल्पबाट बहुमत पुर्याएर गए पनि राष्ट्रपतिले मान्ने देखिँदैन । त्यसका लागि महन्थ फकाउनुबाहेक अन्य विकल्प छैन ।
अर्को विकल्पमा जाँदा महन्थलाई सरकारको नेतृत्व दिएर ओलीलाई विस्थापित गर्ने स्थान रहन्छ । तर, त्यो किन गर्ने भन्नेमा देउवा पक्षधरको धारणा छ । देउवाले अन्त्यसम्म आफ्ना लागि गर्छन् तर सकेनन् भनेमात्र महन्थलाई समर्थन गर्ने हो । महन्थ नेतृत्वमा जाने अवस्था आएको खण्डमा यादव र डा. भट्टराईले पनि खेल्नेछन् ।
यादव-भट्टराई महन्थलाई प्रधानमन्त्री हुन दिने पक्षमा छैनन् । तर यो अवस्थामा देउवाले आफूलाई साँच्चै अब्बल राजनीतिज्ञ कहलाउने हो भने आफू नभए पनि महन्थलाई नेतृत्व दिएर भए पनि ओलीको विकल्प खोज्नैपर्छ । अन्यथा, यही सरकार अझै केही समय रहने हो भने संविधान असफल भएको साक्षी बस्नुबाहेक देउवाका अर्को पाटो देखिँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया