विचार

नागरिकका अपेक्षा पूरा गर्न सक्ने नेता कांग्रेसमा छैनन् ?

खगेन्द्र कर्ण |
जेठ २, २०८० मगलवार १६:२८ बजे

नीति,नेतृत्व र कार्यक्रम समयको माग अनुसार परिवर्तन भएन भने त्यो राजनीति दलको पतन हुन्छ । राजनीतिक दल नीति कम्प्युटरको सफ्टवेयर जस्तै हुन्छ । समयानुकूल यसका नीति र कार्यक्रम परिवर्तन भएन भने यो विचारधारको हिसाबले जिर्ण अवस्थामा पुग्छ। विश्वका धेरै मुलुकमा परिवर्तनको नेतृत्व गरेका दलले आफ्नो नीति र कार्यक्रमलाई परिस्कृत गर्न नसक्दा आफ्नो भूगोलबाटै बिलिन भएका छन् । चाइनको "कोमिङताङ" पार्टीको इतिहास कसैसँग लुकेको छैन । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारत जहाँ भारतीय काङ्ग्रेसले ब्रिटिस उपनिवेशी शासन विरुद्ध वर्षौ लडे । भारतलाई स्वतन्त्रता प्रदान गर्न प्रमुख भुमिका निर्वाह गरे । लोकतन्त्रलाई संस्थागत गरे । अर्थतन्त्रको जग बलियो बनाउन भूमिका खेले ।

राजनीतिको विश्व मञ्चमा भारतको उपस्थितिलाई बलियो गरि प्रस्तुत गरे । आज के छ त्यो पार्टीको अवस्था ? किन भारतमा आज त्यत्रो इतिहास बोकेको पार्टीलाई जनताले तृस्कृत गर्दैछन ? जवाहरलाल नेहरु जस्ता महान नेताका पार्टीले उनका एजेन्डा बिकाउन खोज्दा किन बिक्नै छोडयो ? जवाहरलालले भारतको लोकतन्त्र र समृद्धिको जग बसालेका होइन ? इन्दिराले सिक्किम भारतमा विलय गराएर भारतीयहरूको राष्ट्रवादको नारालाई सार्थक तुल्याइनन् ? पाकिस्तानलाई दुई टुक्रा बनाएर बङलादेश बनाएको कुनै भारतीय नागरिकसँग लुकेको बिषय हो ? तर किन आज भारतको काङ्ग्रेस कमजोर हुँदैछ ? भारतीय काङ्ग्रेसले यी सबै उपलब्धिका बीच धेरै लामो समय शासन नगरेको होइन । तर जनताका अपेक्षाहरु बढ्दै गए । एउटा महान दार्शनिकको भनाइ छ "तिमीले गरेका कार्यहरूको महत्व त्यो बेलासम्म मात्रै हुन्छ जुन बेलासम्म अर्को पुस्ताले त्योभन्दा उत्कृष्ट खोज्दैन ।" जनताले त्यो भन्दा उत्कृष्ट खोज्न थाल्यो भने आफूमा परिवर्तन गर्नु आवश्यक हुन्छ । भारतका काङ्ग्रेसले आफ्नो नीति कार्यक्रम र नेतृत्व चयन गर्ने प्रक्रियामा परिवर्तन गर्न सकेन । आमा सोनिया र छोरा राहुलले आफ्नो वरिपरि पार्टीलाई घुमाए । उनीहरुलाई जनताले फनफनी घुमाए । अहिले भारतको २-४ राज्यमा यो पार्टी सीमित भएको छ  । काङ्ग्रेस आइको शासनमा भ्रष्टाचारका धेरै काण्डहरु बाहिर आए । जस्तो कि २ जी  र ३ जी घोटाल । यी भ्रष्टाचारहरुको सत्य र तथ्य छानबिन होस् भन्ने जनताका अपेक्षा थिए । तर सोनियाले आफ्ना वरिपरिका मान्छेलाई बचाउने प्रयास गरिन् । अन्ना हजारेले भ्रष्टाचार विरुद्ध अनसन सुरु गरेका थिए । धेरै लामो समय त्यो अनसन चलेको थियो ।


जनलोकपाल बिल बनाउने सहमतिमा गएर यो टुङिएको थियो । भ्रष्टाचारबाट वाक्कदिक्क भएका भारतका जनताले दिल्लीको चुनावमा आम जनता पार्टीको पक्षमा जनमत प्रकट गरे ।  काङ्ग्रेसको शासन ढल्ने सुरुवात दिल्लीबाटै भएको थियो । सफल र कुसल मुख्यमन्त्री शिला दीक्षितका कार्यहरु ओझेलमा पर्यो । यही भ्रष्टाचारको नारा बीच सन २०१४ बिजेपीको उदय भयो । नरेन्द्र मोदीले आफ्नो प्रत्येक चुनावी भाषणमा काङ्ग्रेसको शासनकालमा भएको भ्रष्ट्राचारलाई मुख्य मुद्दा बनाएका थिए । भारतमा बिजेपीको उदय हुनुमा त्यहाँका काङ्ग्रेस नेतृत्वको अकर्मण्यता प्रमुख कारण थियो ।  कुनै पनि पार्टीलाई समाप्त पार्नु छ भने त्यो पार्टीका उच्च पदमा बसेका नेताहरुलाई कमीसन खाने तौर तरिका र कार्यकर्ता पोस्ने गुण सिकाइदिनु पर्छ । उसले आफ्नै कार्यकर्तालाई भरणपोषण गर्दै देश दोहनतर्फ उन्मुख हुन थाल्छ  । उसको बुझाइ हुन्छ कार्यकर्ता भए मात्रै चुनाव जित्न सकिन्छ । लोकतन्त्रमा वास्तविकता यो तर्क भन्दा धेरै टाढा हुन्छ । चुनाव जित्न आम नागरिकको सेवा र सुविधा बढाउने काम गर्नु पर्ने हुन्छ ।

भारतीय काङ्ग्रेसका नेताहरूले चुनाव जित्नका लागि गरेका अनेक काण्डले यत्रो इतिहास बोकेको पार्टीलाई कुनै बेला दुई सिट जितेका बिजेपीले विस्थापित गरिदिए । त्यो पनि ५ बर्षको लागि मात्रै होइन । अहिले त दसौ बर्षमा प्रवेश गरेको छ । अवस्य पनि कर्नाटकको चुनाव जितेर भारतीय काङ्ग्रेसलाई राहत भने भएको छ । पुनः जीवन प्राप्त गर्ने र सुध्रिने मौका प्राप्त भएको छ । यिनका नेता राहुल गान्धी भारतको गाउँ बस्तीमा आफ्ना एजेन्डा पुर्याउन मिहनेत गरेको देखिन्छ ।  

नेपालमा प्रजातान्त्रिक शासनको अभ्यास २००७ साल देखि नै सुरुवात भएको थियो । पहिलो निर्वाचन २०१५ सालमा काङ्ग्रेसले दुई तिहाई बहुमत सहित शासन सतामा पुगेका थिए । विपी कोइराला जो अदभूत प्रतिभाका धनी थिए । एक प्रखर समाजवादी आचरण भएको प्रधानमन्त्री नेपालले पाएको थियो । यिनको कार्यकालमा अनेकौ विकास निर्माणका कामहरु प्रराम्भ भएको थियो । कांङ्ग्रेसले अहिलेसम्म भजाएर खाएको यिनै नेता हुन ।

वर्तमान काङ्ग्रेसका नेतृत्वका करण अब बिपि पनि काङ्ग्रेसको "एसेट" रहन सकेन । विपीको नीति, कार्यक्रम र नेतृत्व गर्ने शैलीभन्दा विपरीत अहिलेका नेतृत्व छन् । काङ्ग्रेसको यसपछि आउने नेतृत्व पनि शेरबहादुर देउवाभन्दा भिन्न छैन । नागरिकको अपेक्षालाई पूरा गर्न सक्ने ल्याकत भएको नेतृत्वको काङ्ग्रेसमा छैन ।  जसको ज्वलन्त उदाहरण अहिले भएको शरणार्थी प्रकरणलाई लिन सकिन्छ । शरणार्थी प्रकरण देशको राष्ट्रियतासँग जोडिएको छ । काङ्ग्रेसको मुलमन्त्र नै राष्ट्रियता बलियो बनाउने हो । तर नेपालीलाई भुटानी बनाउने गिरोहमा काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री मन्त्री बालकृष्ण खाण नै मुछिएका छन । प्रहरी हिरासतमा छन् ।  पार्टी नेतृत्वचाहिँ बालकृष्ण खाणले अनुसन्धानमा सहयोग गर्दै छन् भनेर अप्रत्यक्ष रुपमा उनको बचाउ गर्दै छन् । के यो आम नागरिकको अपेक्षा हो ? लोकतन्त्रमा नेतृत्व जनताद्वारा निर्देशित हुनुपर्छ । जनताका भावनाबाट प्रेरित हुनुपर्छ । नेपाली काङ्ग्रेसको नेतृत्व जनताको भावनाको प्रतिनिधित्व गरेको हो कि कुनै दलाल बिचौलियाको?

आम जनताको प्रश्न यो हो । नेपाली काङ्ग्रेसको एउटा मतदाता र यो पार्टीको महाधिवेशन प्रतिनिधि भएकोले नेपाली काङ्ग्रेस विपीको विचारमा फर्किनु पर्छ भन्ने अपेक्षा राख्नु कुनै अपराध गर्नु होइन । प्रसंगवश भन्नै पर्छ विपी प्रधानमन्त्री भएको बेला सामान्य लेनदेनमा उनका स्वकीय सचिवको नाम आउँदा उनले भनेका थिए "भो अब तिमी मेरोमा बस्नु पर्दैन ।"  राजनीतिक दलका नेताका चरित्र सफा हुनुपर्छ । यदि पैसा नै कमाउने हो भने अनेक पेसा छन बजारमा । राजनीति यस्तो कठिन सेवा हो जहाँ तपाईले लगाएको लुगाको मूल्य र स्रोत पनि जनतालाई भन्न सक्नु पर्छ । अहिलेका राजनीतिक दलका नेता भनाउँदाहरू कुनै व्यापार र ब्यवसाय नगरी काठमाडौंमा करौडौको महल र गाडी चढ्ने भएका छन । दलको टिकट बितरण्को मुख्य आधार आर्थिक क्षमताबाट मापन हुन्छ । प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका नेताहरूका सिद्धान्त भुलेका छन । वर्षेनि विपी सङ्ग्रहालय र बाडे गाउँमा किसुनजीको सालिकमा माल्या अर्पण गरेर कमाउ धन्दाका दिनचर्या सुरुवात गर्छन् ।

 


Author

खगेन्द्र कर्ण

(पूर्वाञ्‍चल विश्‍वविद्यालयका नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष कर्ण सिभिल इन्जिनियर हुन् ।)


थप समाचार
x