विचार

नेपालमा बाढी व्यवस्थापनसँग जोडिएको विकास

गोविन्द शर्मा पोखरेल |
जेठ १६, २०८० मंगलबार १३:१८ बजे

हालको वस्तुस्थितिः

नेपाल एउटा जलपीडित देश हो । यहाँ बर्सातको चार महिना बाढीले सताउँछ भने बाँकी आठ महिना खडेरीले पिरोल्छ । यहाँको पहाडी क्षेत्रमा बाढीका साथसाथै पहिरो, हिम पहिरो र भल पहिरोले बितन्डा मच्चाउँछ भने तराई क्षेत्रमा बाढी, कटान र जलमग्नताले उग्र रुप लिन्छ । यस्तो बाढी नेपालको तराई हुँदै भारत प्रवेश गर्छ र अझ उग्र रुप लिन्छ । केही भारतीयहरू यसलाई नेपालले पठाएको बाढीको संज्ञा दिन्छन् तर नेपालीहरू यस्तो अज्ञानताबारे खास बहस गर्दैनन् । किनभने नेपालमा त्यस्तो बाढी पठाउने वा बनाउने केही संयन्त्र नै छैनन् । बाढी बर्षातको समयमा प्राकृतिक रुपमा उत्पन्न हुन्छन् र प्राकृतिक रुपमा नै विचरण गर्छन् ।


नेपालमा सालाखाला बार्षिक ३६२.२ घन किलोमिटर पानी उपलब्ध हुन्छ, यसमध्ये करिब ३४९.३६ घन किलोमिटर पानी बर्षातबाट प्राप्त हुन्छ । त्यसैले नेपालमा बार्षिक सालाखाला २,३६८.८९ मिलिमिटर पानी पर्दछ । यो परिमाण विभिन्न भौगोलिक क्षेत्रमा फरक-फरक हुन्छ । योमध्ये नेपालमा बर्षातको समयमा कारिब ८३ प्रतिशत अर्थात करिब १९६६.१८ मिलिमिटर पानी पर्दछ भने बाँकी करिब ४२०.७१ मिलिमिटर पानी हिउँदका ८ महिनामा पर्दछ । त्यसैले नेपालमा विभिन्न मौसममा पानीको उपलब्धतामा ठूलो असमानता छ । तर पानीको आवश्यकता बर्षातको समयमा भन्दा त्यो बाहेकका आठ महिनामा ज्यादा हुन्छ ।

यसरी, मुख्यतया वर्षातमा आएको भल बाढीलाई जलश्रोतमा गणना गरेर काठमाडौंका ठूला-ठूला पाँचतारे होटलहरूमा नेपाल जलश्रोतमा धनी भएको गीत गाउँदै गर्दा नेपालका अन्यत्र पहाड तथा तराईमा नेपालीहरू तपाईँको जलश्रोतको सिकार भइरहेका हुन्छन् । तर हामी आफूलाई अझै पनि जलश्रोतमा धनी नै सम्झन्छौ र त्यहीअनुसारका आफूलाई मर्का पर्ने नीति बनाउँछौ, आफ्नै खुट्टामा आफै हिर्काउँछौ । कठै बिचरा नेपाली !

हालसालै गरिएका अध्ययनहरूले नेपालबाट भारतमा वर्षातको समयमा करिब १२४.४० घनकिलोमिटर (घकि) र सालाखाला बार्षिक १८३.७२ घकि पानी बगेर जाने गर्दछ । बर्षातमा भारत पसेको भलपानीले अत्यधिक क्षति गर्दछ र धेरै मानिसको ज्यानसमेत लिन्छ । बाढी नियन्त्रणका नाममा गरिने खर्चले बाढीको प्रकोप अझ बढेको बिज्ञहरूको भनाई छ ।

यी त भए साधारण वा औसत बाढीका कुरा । तर यस्ता साधारण बाढीबाहेक पनि अति असामान्य तर क्षणिक रुपमा आउने अति भीषण बाढीहरू केही समयको अन्तरालमा आउँछन् र तिनीहरूले आफ्नो प्रभाव क्षेत्रमा असाधारण विपदको स्थिति पैदा गर्छन् । त्यस्ता बिकराल बाढीहरूमा सप्तकोशीमा आएको १९५४, १९६८ का बाढी अथवा बागमतीमा आएको १९९३ को बाढीलाई लिन सकिन्छ । मौसम परिवर्तनका कारण हाम्रो हिमाली क्षेत्रमा यस्ता विकराल बाढीहरूमा बढोत्तरी हुन सक्ने कुरामा बिज्ञहरू एकमत छन् । २००८ मा सप्तकोशीको बाँध फुट्नाले आएको तुलनात्माक रुपमा सानो बाढीले मच्चाएको बिनाशलाई सम्झने हो भने माथि उल्लिखित असामान्य बाढीले ल्याउन सक्ने विनाशको कल्पनासमेत गर्न सकिन्न ।

एकातिर बाढीको त्यस्तो त्रास छ भने यही क्षेत्रमा वर्षातका ४ महिना बाहेकका ८ महिनामा हुने सुख्खा तथा खडेरीका कारण लाखौ हेक्टर जमिनमा खेती गर्न असम्भव हुन्छ । यसैका कारण भूमिगत जलश्रोतका भण्डारहरूमा भएको लामो समयदेखिको अति दोहनका कारण आएको कमीले अब सो दोहन कायम राख्न असम्भव भएको बिज्ञहरूको राय छ । फलस्वरुप, लाखौं मानिस गरिबी र भुखमरीका चपेटामा पर्दछन् । वर्षातको समयमा पनि समय समयमा हुने खडेरीका कारण यस क्षेत्रका बासिन्दा गरिबी तथा भुखमरी भोग्न बाध्य छन । यसका कारण यस क्षेत्रमा व्यापक गरिबी छ भने सीमान्तकृत वर्गका लागि यो समस्या अझ बिकराल छ ।

के उपाय गर्ने?

माथि उल्लेख गरिएको परिदृश्यले यस क्षेत्रमा पानीको उपलब्धतामा व्यापक मौसमी असमानता भएको प्रष्ट हुन्छ । यस्तो स्थिति नेपालको तराई तथा नेपालसँग सिमाना जोडिएका उत्तर भारतका बिहार, पश्चिम बंगाल तथा उत्तर प्रदेश राज्यहरूमा विध्यमान भएको कुरा सरकारी तथ्यांकहरूले देखाउँछन् । तर यस समस्याको समाधान पानीको उचित व्यवस्थापनले मात्र सम्भव भएको बिज्ञहरू बताउँछन् ।

भलबाढीलाई जलश्रोतमा परिणत गर्ने एउटै मात्र उपाय भनेको वर्षातको त्यस्तो भलबाढीको पानीलाई उपयुक्त स्थानमा रोक्ने, संचित गर्ने र भलबाढी सकिएपछि नियन्त्रित रुपमा आवश्यकताअनुसार बग्न दिने । यसै विषयमा भारतमा र नेपालमा धेरै अध्ययनहरू सम्पन्न भएका छन् तर प्रायजसो अध्ययनले गोलमटोल नतिजा देखाएका छन् । यस्तो गोलमटोल नतिजाका पछाडि व्यवस्थापन पक्ष मूल कारण भएको देखिन्छ । तर हालसालै यस लेखकले गरेको अध्ययनले एकदमै पृथक चित्र देखाएको छ ।

नेपालका पहाडी क्षेत्रका उपयुक्त केही स्थानमा उच्चबाँध, केही होचा जमिनहरू तथा अन्य उपयुक्त स्थानहरूमा सकेसम्म ज्यादा बाढीको पानी जम्मा गर्ने, संचित गर्ने र आवश्यकता अनुसार पूर्ण नियन्त्रित रुपमा खर्च गरी व्यवस्थापन गर्दा नेपालबाट बाढीका रुपमा बगेर जाने पूरै १२४.४ घकि तथा हिउँदमा बग्ने ५९.३२ घकि गरी जम्मा १८३.७२ घकि पानीलाई पूर्ण व्यवस्थित गर्न सकिन्छ । यसो गर्दा धरान उपमहानगरपालिका लगायत अन्य ठाउंमा खानेपानी, नेपालको तराईका सम्पूर्ण खेतीयोग्य जमिन (करिब ११,५०० वर्ग किलोमिटर) तथा भारतको करिब २१६,३७५ वर्गकिलोमिटर क्षेत्रफलमा बर्षातको समयमा लगायत वर्षैभरि खेती तथा दुवै देशमा अन्य घरायसी र औध्योगिक प्रयोगका लागि पानी पर्याप्त हुने देखिन्छ । यसको साथै नेपालमा करिब १ लाख गिगावाटआवर तथा भारतमा थप केही विद्युत उत्पादन गर्न सकिन्छ । यस बाहेक, यस्तो व्यवस्थाबाट निम्न बमोजिमका फाइदाहरू हुन सक्छन् :

वार्षिक मुनाफाको हिसाब किताब (अरब अमेरिकी डलरमा)

क्र. सं.

फाईदाको विवरण

नेपाललाई हुने फाईदा

भारतलाई हुने फाईदा

कृषि

२.४०

४४.२३

बाढी नियन्त्रण

०.२०

३.५०

जग्गा रिक्लेमेशन

०.०२

५.६३

जलविद्युत उत्पादन

५.४०

०.००

जल यातायात र पारबहन

०.५०

०.५०

मत्स्यपालन

०.५०

०.५०

अन्य उध्योग

०.१५

०.३०

पर्यापर्यटन

०.२०

०.२०

 

जम्मा वार्षिक नाफा

९.५५

५४.८६

यसरी यस परियोजनाबाट सोझो हिसाब गर्दा भारतलाई कूल फाईदाको ८५.१७ प्रतिशत र नेपाललाई बाँकी १४.८३ प्रतिशत फाइदा हुने देखिन्छ । यस विवरणमा बाढीबाट साल बसाली रुपमा भारतमा हुने गरेको मानवीय क्षति तथा बाढीका कारण हुने व्यापक मानसिक तनाव र असुविधाको आर्थिक मूल्यांकन गर्न असम्भव भएकाले समावेश गरिएको छैन । तर, यस परियोजनासँग सम्बन्धित सम्पूर्ण प्राय नकारात्मक प्रभावहरू नेपालमा नै केन्द्रित हुने तथा मुनाफाको अधिकांश भाग भारतमा मात्र पर्ने भएकाले यो पारियोजना नेपालका लागि आकर्षक मानिदैन । यस परियोजनालाई नेपालको लागि थप आकर्षक बनाउन नेपालले प्राप्त गर्ने मुनाफामा व्यापक वृद्धि गरिनु जरुरी छ ।

लगानी तथा फाइदाका पक्षहरू

यस परियोजना संचालनका लागि विभिन्न ४ विकल्पहरू परिकल्पना गरिएका छन् ।

-कोशी नदी र सो नदीको प्रभाव क्षेत्र भित्रको नेपाल र भारतको भूगोल (१)

-नेपालको मेची नदीदेखि गण्डकी नदीसम्मको क्षेत्र र सोसँग जोडिएको भारतको भूगोल (२)

-नेपालको गण्डकी नदीदेखि पश्चिम महाकाली नदीसम्मको क्षेत्र र सोसँग जोडिएको भारतको भूगोल (३)

-पूरै नेपाल र नेपालको दक्षिणतर्फको भारतीय भूगोल (४)

यस्ता चार विकल्पहरूको लागत-मुनाफाको तुलनात्मक विश्लेषण (अरब अमेरिकी डलरमा) निम्न बमोजिम छः

क्र.सं.

विकल्प

लागत

जम्मा फाइदा

भारतलाई फाइदा

नेपाललाई फाइदा

१९.०६

२०.७६

१६.३६

४.४०

६४.८८

३७.७५

३२.४८

५.२७

६९.५०

२९.३१

२५.६७

३.६४

११५.२७

५८.७६

४९.२३

९.५३

सर्सर्ती हेर्दा सबै चार विकल्पहरू आर्थिक रुपले आकर्षक देखिन्छन् तर सबै विकल्प उत्तिकै आकर्षक भने कदापि छैनन् । माथि उल्लिखित सबै विकल्पहरूमा मानवीय क्षति समाविष्ट भएको कारणले कुनै विकल्पलाई रोज्ने अथवा कुनैलाई छोड्ने अथवा विकल्पहरूलाई प्राथमिकीकरण गर्ने कार्य सहज छैन ।

निश्कर्ष

नेपालमा बाढी व्यवस्थापनले नेपाल र उत्तरी भारतका बिहार, बंगाल र उत्तर प्रदेशमा बाढी नियन्त्रण मात्र नभई सो क्षेत्रको समुचित आर्थिक बिकासमा सहयोगी हुने देखिन्छ । सर्सर्ती हेर्दा यस्तो परियोजना नबनाएकै कारण यो क्षेत्रमा बर्सेनि मानवीयलगायतका आर्थिक क्षतिहरूमा व्यापकता भएको निश्कर्ष निकाल्न सकिन्छ । असाधारण बाढीहरूसमेत कुनै पनि समयमा आउन सक्ने सम्भावना भएका कारण यी बाढी नियन्त्रणका कार्यहरू अविलम्व गर्न ढिलाई गर्न नहुने यो आलेखले देखाउँछ । साथै, यस्ता परियोजनाहरूलाई जलविध्युतसँग मात्र जोडेर अझ ढिलाई गर्दा घातक हुन सक्ने छ ।

लेखक नेपाल पानी सदुपयोग फाउन्डेशन, काठमाडौंमा आवद्ध छन् ।


Author

थप समाचार
x