विचार

आउनुस्, सबै मिली ‘पागल’ गोविन्द केसीलाई फेरि गाली गरौँ

मधुसूदन सुवेदी |
जेठ २, २०७८ आइतबार ६:५९ बजे

सत्ता-शक्ति भएका व्यक्तिले जे जस्तो स्वास्थ्य सेवा-सुविधा पाउँछन्, आममान्छेले पनि त्यस्तै पाउनुपर्छ भन्ने समाजवादी मुद्दा उठाउँदा ‘वर्ग शत्रु’झैँ गाली र अपमान भोगेका डाक्टर गोविन्द केसीलाई सबै मिलेर गाली गरौँ, पागल करार गरौँ र समाजवादको स्थापना गरौँ । 

‘सबै नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्‍चितताका लागि पटकपटक आमरण अनशन गर्ने केसीले कोरोनाबाट बच्‍न पीसीआर टेस्ट सुलभ तुल्याउने, सर्जिकल मास्क र स्यानिटाइजरको व्यवस्थाबारे माग राखे । स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकार व्यवहारमा लागू गर्न राज्यले स्वास्थ्य क्षेत्रमा लगानी गरी क्षेत्रीय असन्तुलन घटाउनुपर्ने माग राखे । कुशासनको खरो विरोध गरे । 


सत्तामा हुँदा सिन्को नभाँच्‍ने, बाहिर हुँदा बकबक 

नेपालको राजनीति विचित्रको छ । पार्टीहरूका घोषणापत्रमा ठूला-ठूला अक्षरमा सामाजिक न्याय, समानता र आर्थिक विकासबारे लेखिएको हुन्छ । नेताहरूले भाषणमा राष्ट्रियता, समाजवाद, लोकतन्त्रको दुहाइ दिन्छन् । तर, व्यवहारमा भने ठीक उल्टो गर्छन् । जनताले पनि परम्परागत शक्तिभन्दा आन्दोलनबाट स्थापित शक्ति/पार्टीबाट बढी अपेक्षा गर्छन् । तर, उनीहरूको कार्यशैलीमा खास अन्तर नहुँदा उनीहरूमा निराशा पैदा हुन्छ । महामारीका बेला आममानिस आधारभूत स्वास्थ्य सेवा, अक्सिजन नपाएर मर्न बाध्य भइरहेका बेलासमेत हामीले बाँच्न प्रयत्न मात्र हैन, खबरदारीसमेत गर्नुपर्छ । 

ताप्लेजुङ घर भएकी महिलालाई कोरोना भाइरसको संक्रमणका कारण यही वैशाख २३ गते अक्सिजन दिइरहिएको थियो । उनका श्रीमान् दीपक थेबेलाई समेत कोरोना पुष्टि भएपछि उनीहरू सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा सुधार नभएपछि महिलाको ३० वैशाख राति निधन भयो । श्रीमतीको निधन भएको २४ घण्टा नबित्दै दीपकले समेत यो संसार छोडे । 

उनीहरूकी छ वर्षकी सानी छोरी छिन् । आमाबुबाको माया पाउने समयमा उनीहरूले नै छाडेर गएपछि उनको स्थिति कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । डब्लूएचओले भनिसकेको छ, ‘कोरोनाबाट ग्रस्त नेपाललाई आपत्कालीन सहयोगको खाँचो छ र पछिल्लो समय अक्सिजन अभाव भएको भन्दै नेपालका अस्पतालहरूले कोरोना संक्रमितलाई भर्ना लिन मानिरहेका छैनन् ।’

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले ११ मे २०२१ मा आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, ‘प्रिय बुहारी निर्मला वैद्यको कोभिडका कारण आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु । केही दिनदेखि नै अस्पतालहरूको ढोका ढकढक्याउँदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेडसमेत पाइएन, आईसीयू र भेन्टिलेटर त परको कुरा । पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आईसीयू खोज्‍न लाग्यौँ । केही दिनपछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आईसीयूमा राख्‍न सक्यौँ । 

तर, तिमीलाई बचाउन सकिएन बुहारी ! हार्दिक श्रद्धाञ्जलि ! निर्मलाको श्रीमान्, राजनीतिक एवं सामाजिक व्यक्तित्व, भतिजो विकल श्रेष्ठ आफैँ पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन् । उनलाई पनि आईसीयू चाहिएको अवस्थामा कहाँ पाइने हो, ठेगान छैन । विकलको स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त सबै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु । बुहारी निर्मला त अहिलेको हाम्रो हालतको एक दृष्टान्त मात्र हुन् । यसरी नै समयमा उपचार पाउन नसकेर कैयौँको दिनदिनै ज्यान गइरहेको छ । म आफैँले पनि अरू धेरै कोभिड संक्रमितका लागि बेड र आईसीयू खोजेको छु तर पाइराखेको छैन । महामारीका बेलामा स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन सक्दैन ।’

राज्य सत्तामा बसेकाले डा. केसीलाई ‘प्रायोजित भीडको उक्साहटमा लागेका व्यक्ति’, ‘एमाले विरोधी’, ‘कांग्रेसको मान्छे’, ‘लहडी’, ‘पागल’, केही भन्‍न बाँकी राखेनन् ।

यो खबर सुनेर धेरैले उहाँको फेसबुकमार्फत लेखे, ‘दुःखद खबर..., मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि साथै परिवारजनमा हार्दिक समवेदना; विकलजीको शीघ्र स्वास्थलाभको कामना ।’ ‘मृतकप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारमा भावपूर्ण समवेदना । बिरामी विकल सरको शीघ्र स्वास्थ्य लाभको कामना । यसका साथै निकम्मा, लाचार, किंकर्तविमूढ हजुरलगायत सम्पूर्ण पार्टीका राष्ट्रिय नेताहरूलाई धारेहात... ।’ ‘दुःखद हार्दिक समवेदना । डाक्टर गोविन्द केसीलाई पटकपटक गरिएको अपमानको पीडा देश र जनताले दशकौँसम्म भोग्नुपर्ने भयो ।’ ‘हार्दिक श्रद्धाञ्जलि तर हाम्रो व्यवस्थाको कारण हुने यही हो ।’ ‘तपाईंहरू पद, पैसा र पावर भएकाका लागि त देशमा यो हालत छ भने हामीजस्तो सामान्य नागरिकले कसरी उपचार पाउने ?’ ‘दुःखद खबर, हार्दिक श्रद्धान्जलि... ।’ ‘तपाईंहरूको अवस्था त त्यस्तो छ भने हामी साधारण जनताको अवस्था के भा छ होला एकपटक सोच्नु त कमरेड ।’ ‘नेताज्यू तपाईंहरू जस्ताले यस्तो निरीह कुरा गर्नुहुन्छ भने साधारण जनताले के भन्ने होला ? हार्दिक श्रद्वासुमन ।’
  
‘दिवंगत निर्मला वैद्यप्रति हार्दिक श्रद्धाञ्जलि ! नारायणकाजीजी तपाईंजस्तो व्यक्तित्वलाई अस्पतालमा बेड पाउन सम्भव नभएपछि सोच्नुहोस्, सर्वसाधारणको के हाल होला ? यो महामारीको सन्त्रासबाट मुलुकलाई मुक्त पार्न नेतृत्व गर्नुहोस् ।’ ‘सर्वप्रथम दुःखका साथ श्रद्धाञ्जलि व्यक्त गर्न बाध्य छौँ । यस्ता घटनाको सम्पूर्ण दोषको भागीदार तपाईंहरू हुनुपर्नेछ । हामीसँग पर्याप्त समय हुँदाहुँदै पूर्वतयारीमा नजुट्नु एकदमै ठूलो कमजोरी र जनताप्रतिको घात भएको ठहर छ । तपाईंहरू पहुँच पुगेकालाई यो समस्या भए तलका गरिब जनताले कहिले उत्तरदायी राज्यको अनुभूति गर्ने ?’

‘हरेक तहका सरकारको १० प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन गरे यो कोकोहोलो हुने थिएन । पार्टीले अभियान स्पष्ट रूपमा किन चलाएन स्वास्थ्य र शिक्षामा मूल रूपमा अभियान कहीँ पनि देखिएन, यसको नियति हो यो ।’ ‘अत्यन्त दुःखद र लाजमर्दो खबर ! मृतकप्रति हार्दिक श्रद्धाञ्जलि, उहाँको वैकुण्ठ बास होस् । हाम्रो देशको मुख्य र महान् नेताज्यू, बुहारीको त देशको राजधानी जस्तो मुटुमा रहेर पनि अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटर खोज्दाखोज्दै अकालमा मृत्युवरण गरेको खबर लेख्दा हजुरको हात कामेन महान् नेताज्यू ? अझ पनि हजुरहरूको चेत आएको छैन ।’

समग्रमा प्रतिक्रिया लेख्‍ने मानिसहरूले एकातिर दुःखद् खबरप्रति शोक, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि, परिवारजनमा समवेदना व्यक्त गरेका छन् भने अर्कोतर्फ यो स्थिति सिर्जना हुनुमा राज्य सञ्‍चालनमा पटक-पटक अवसर र पार्टीको प्रमुख जिम्मेवारीसमेत वहन गरिसकेको व्यक्तिले यस्तो लेख्दा आक्रोशसमेत पोखेका छन् । छ हजार तीन सयभन्दा बढी व्यक्तिले समवेदना दिएका छन् ।
 
उनै नेता नारायणकाजी श्रेष्ठले १३ मे २०२१ मा आफ्नो फेसबुक पेजमार्फत लेख्नुभयो, ‘यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो । आईसीयू र भेन्टिलेटरको कुरा छाडौँ, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दाहेर्दै मरिरहेका छन् । उपचारमा खटिएका चिकित्सक एवं नर्सहरू त्यो दृश्य टुलुटुलु हेर्नुपरेकामा रुँदै कराइरहेका छन् । राजधानीका कतिपय ठूला अस्पतालले भर्ना भई उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् । 

बुटवललगायतका अस्पतालहरूले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनुभएका ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ । यसरी गर्नसक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार ? यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको असाधारण नमुनायोग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ–आफ्नो ठाउँबाट जे जे गर्न सकिन्छ, सबै लागौँ ।’

गोविन्द केसीका माग के थिए त ? 

चिकित्सा शिक्षा सुधारका लागि आफ्नो ज्यान खतरामा राख्दै अभियन्ता प्रा.डा. गोविन्द केसीले नौ वर्षदेखि उठाउँदै आएका मुख्य मागहरूमा ‘विश्‍वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्ति गर्ने कानुनी व्यवस्था गरियोस् ।’
 
के यी माग गलत थिए/छन् ? किन जिम्मेवार पार्टीहरूले यी मागलाई बेवास्ता गरे ? राजनीतिक खिचातानी, पदाधिकारी नियुक्तिमा चलखेल, निजी मेडिकल कलेजको सम्बन्धन र कोटामा अनियमितता, परीक्षामा विवादजस्ता बेथिति रोक्ने जिम्मेवारी राज्यको हो, राजनीतिक पार्टीहरूको हो । 

तर, उनले उठाएका महत्वपूर्ण विषय असल शासनका लागि अपरिहार्य हुँदाहुँदै व्यवहारमा लागू गर्ने कुरा त के, सुन्‍ने काम पनि भएन । त्यसको प्रतिफल नेपालका विश्वविद्यालयहरू राजनीतिक भर्ती केन्द्र बनेका छन् । १९औँ अनशनमा डा. केसीको माग थियो, ‘मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीका लागिसमेत उचित उपचारको व्यवस्था गरियोस् ।’
 
जनताप्रति उत्तरदायी सरकार भएको देशमा सरकारको पहिलो जिम्मेवारी नै जनतालाई महामारीबाट बचाउनु, सुरक्षित अनभूति दिलाउनु हो । लकडाउनका बाबजुद पनि संक्रमण दर कम नहुनुको कारण परीक्षणको दायरा कम हुनु तथा भेटिएका संक्रमितको प्रभावकारी कन्टयाक्ट ट्रेसिङ र आइसोलेसनका लागि न्यूनतम व्यवस्थापन नहुनु हो । 

यथार्थमा उनले संविधानको प्रस्तावनामा लेखिएको तर व्याख्या नगरिएको शब्द ‘समाजवाद’को सामाजिक आयामलाई बुझ्‍ने भाषामा बुझाउने र त्यसलाई कार्यान्वयनमा लैजाने बाटोबारे आफ्ना माग राखेका हुन् ।

डा केसीको अर्को माग कोभिड र ननकोभिड बिरामीको उपचारको सहज व्यवस्था होस् भन्‍ने थियो । नेपालमा कोभिड देखिएपछि सबैभन्दा बढी अन्य रोगका बिरामी प्रभावित भएका छन् । मुटुसम्बन्धी समस्या भएका, दम, बाथ तथा अन्य दीर्घरोगी तथा अपांगता भएका व्यक्तिहरूले नियमित उपचार र औषधि पाउन सकेका छैनन् । गर्भवतीहरू अस्पताल पुग्न नपाउँदा अकालमा बच्चा र आमाको ज्यान गएको छ । सामाजिक लाञ्छनाबाट बच्न कतिपय व्यक्तिहरू कोरोना लागे पनि टेस्ट नगराई घरमा बसेका छन् । 

डा. केसीको अर्को महत्वपूर्ण माग, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गरियोस् । गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गरियोस् । प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्’ भन्‍ने थियो ।
 
यी माग पूरा गर्दा स्वास्थ्य सेवा क्षेत्रमा रहेको प्रादेशिक/क्षेत्रीय असमानता कम गर्न मद्दत पुग्थ्यो । सत्याग्रहीको अनशनबाट आत्तिएको सरकारले सहमति त गर्‍यो तर कार्यान्वयन गर्ने रुचि देखाएन । त्यसपछिका अनशनमा पनि यो माग दोहो¥याए । फेरि सहमति भयो तर कार्यान्वयन भएन । सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्दा मेडिकल डाक्टरको उपलब्धता, गरिब जनतालाई अस्पतालको पहुँच, प्रयोगशालाको व्यवस्था हुँदा बिरामीलाई धेरै सहज हुन्छ । आज सम्पन्नहरूले आफ्ना बिरामीलाई हेलिकप्टरबाट काठमाडौँमा ल्याउनुपर्ने थिएन । गरिबको पनि नजिकको अस्पतालमा कोरोनाको उपचार हुन सक्थ्यो र धेरैको ज्यान बचाउन सकिन्थ्यो । 

यो लेखकको संयोजकत्वमा दुई वर्ष पहिले नै डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा स्थलगत भ्रमण गरी सम्भावित ठाउँको पहिचान गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रिपोर्ट बुझाइसकेको हो तर राज्यले यी विषयमा चासो दिएको छैन । 

राज्य सत्तामा बसेकाले डा. केसीलाई ‘प्रायोजित भीडको उक्साहटमा लागेका व्यक्ति’, ‘एमाले विरोधी’, ‘कांग्रेसको मान्छे’, ‘लहडी’, ‘पागल’ भन्दै दुत्कारे तर उनका माग बुझ्ने प्रयास गरेनन् । यथार्थमा उनले संविधानको प्रस्तावनामा लेखिएको तर व्याख्या नगरिएको शब्द ‘समाजवाद’को सामाजिक आयामलाई बुझ्ने भाषामा बुझाउने र त्यसलाई कार्यान्वयनमा लैजाने बाटोबारे आफ्ना माग राखेका हुन् । 

तर, आज मुलुक कोरोनाको कहरले आक्रान्त हुँदा डा. केसीले त्यस्ता माग किन राखे होलान् भन्ने ‘थाहा पाएर पनि थाहा नपाएजस्तो गर्ने’ पार्टीका नेता, कार्यकर्ता र ‘तथाकथित बुद्धिजीवी’ लाभको पदको आशमा केसीलाई गालीगलौज गर्न छोडेका छैनन् । 

अन्त्यमा,

हिजोआज, पत्रपत्रिका र सामाजिक सञ्जाल तपाईं–हामीले सबैभन्दा पढ्ने खबर, ‘माफ गर..., हामीले अनेकौँ प्रयत्न गर्दा पनि तिम्रा लागि अक्सिजन, आईसीयू मिलाउन सकेनौँ ।’ ‘तिम्रो यो खालको मृत्युको खबरले मेरो मानसपटलमा गहिरो चोट दिएको छ । परिस्थितिका अगाडि आफूलाई निरीह महसुस गरिरहेको छु ।’ ‘तिमीसँग माफी चाहन्छु । धेरैधेरै श्रद्धाञ्जलि छ, तिमी र तिम्रो परिवार निरीह बन्नुपर्ने यो स्वास्थ्य प्रणाली र संवेदनाहीन नेतृत्वलाई कहिल्यै माफी गर्नेछैन ।’
 
डा. केसीका मागप्रति विमति जनाउन पाइन्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको यही हो । तर, केसीको निष्ठा, समर्पणसँगै उनको निजी जीवनका आयामहरूबारे भद्दा र स्तरहीन वाणीले सत्ताको चाकडी हुँदैन । राज्य सञ्चालनमा बसेकाहरूलाई हेक्का होस्, तिम्रो विवेकको परीक्षा डा. केसीले लिइरहेका छन् । 

(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य विभागका प्रमुख प्राध्यापक सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् । उनको लेखनरसहलेखनमा ‘स्टेट, सोसाइटी एन्ड हेल्थ इन नेपाल’, ‘द स्टेट अफ सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी स् टिचिङ एन्ड रिसर्च इन नेपाल’ जस्ता पुस्तक प्रकाशित छन् ।)


Author

मधुसूदन सुवेदी

सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् ।


थप समाचार
x