विचार

मदन-विद्या विवाहको अन्तर्कथा

अशोक राई उद्घोषक, माधव नेपाल अध्यक्ष, ईश्वर पोखरेल प्रमुख अतिथि

रमेश रुछेन राई |
जेठ ३, २०७८ सोमबार १५:५३ बजे

तस्बिरः मदन भण्डारी स्मृति प्रतिष्ठान

मदन भण्डारी र विद्या पाण्डेको विवाह आजको मितिमा भइरहेको हुन्थ्यो भने बेहुला–बेहुली बसेको मण्डपको कुनै कुनोमा सायद यस्तै लेखिएको हुन्थ्यो—मदन वेड्स विद्या । 

तर, २०३९ को बन्द पञ्चायती राजनीतिको छायाँमा कट्टर कम्युनिस्ट कार्यकर्ताले बिहे गर्दा विवाह स्थलमा के लेखिएको थियो होला ? साँच्चै हामी सबैको अनुमान जस्तै लेखिएको थियो–क्रान्तिकारी विवाह कार्यक्रम । 


भूमिगत अवस्थाको क्रान्तिकारी विवाह आजको पुस्तालाई दन्त्यकथाको प्लट जस्तै लाग्न सक्छ । आजको पुस्तालाई एकजोडा कम्युनिस्ट कार्यकर्ता मदन र विद्याको बिहेबारे जानकारी दिन यो छोटो लेख तयार गरिएको हो । 

विवाह कार्यक्रम बेलुका करिब आठ बजेतिर सुरु भयो । बिहे कार्यक्रम स्थलको एकातिर पाँचजना प्राधिकार (माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ) को तस्बिर झुण्ड्याइएको थियो । तस्बिरसँगै हसियाँ हथौडा अंकित कम्युनिस्ट पार्टीको झण्डा थियो । यी दुवैको तलतिर सुनौलो रङमा ‘क्रान्तिकारी विवाह’ लेखिएको ब्यानर थियो । कोठामा मधुरो बत्ती बलिरहेथ्यो ।

विवाहको सन्दर्भ यसरी सुरु हुन्छ : 
बि.के. र सिर्जना देवकोटा विराटनगरै बस्थे । उनीहरूको डेरा पार्टीको हेडक्वार्टर जस्तै थियो । सबै ठूला नेताहरू भेटिन्थे । २०३९ वैशाख १० गते सिर्जनाको जेठो छोराको न्वारान थियो । धेरै माले नेताहरू आएका थिए । सीपी र माधव ९ गते नै पुगेका थिए । भोलिपल्ट बिहानै मदन पनि पुगे । अलिपछि विद्या आइन् । खानपिन चल्यो । सबै जना बच्चाको नाम जुराउन लागे । पण्डितले एउटा नाम राखिदिएको भए पनि माधवले ‘निर्मल’ नाम राखिदिए । सबैले समर्थन गरे ।
नेताहरू सधैँ बेलुका छलफलमा बस्थे । त्यो दिन दिउँसै छलफल भयो । छलफलका क्रममा निकै बेरसम्म गुनगुन आवाज आइरह्यो । सीपी बोल्थे, घरिघरि विद्याको आवाज आउँथ्यो । मदन बोल्थे । माधव पनि बोल्थे । सिर्जनाले स्वर चिने पनि विषय के थियो ? ठम्याउन चाहिँ सकिनन् ।  

दिउँसोको तीन बजेतिर सीपी बाहिर निस्के । सीपीले पचास रुपियाँ दिएर बि.के. देवकोटालाई भने-आज दुईओटा महत्वपूर्ण काम भए । भान्जाको न्वारान पनि गरियो, विद्या र मदन कमरेडको बिहेको फैसला भयो । विवाह निश्चित भयो । पार्टीले अनुमति दियो । चियापानको व्यवस्था गरौँ । बि.के. र सिर्जनाले बल्ल थाहा पाए । त्यो बैठक त मदन र विद्याको बिहे टुङ्ग्याउनलाई रहेछ ।

सबै नेता छुट्टिएर आ–आफ्नो कार्यक्षेत्रमा फर्किए । एकदिन डिल्ली मैनालीले बि.के.लाई एउटा जानकारी गराए । पार्टीले मदन र विद्याको बिहे पनि बि.के./सिर्जनाकै सेल्टरमा गर्ने निधो गरेको छ । कमरेडहरू तयारी अवस्थामा रहनु होला ।

२०३९ साउन २४ गते विवाह हुने पक्का भयो । यहीअनुसार तयारीमा जुटे । लगभग १५० रुपियाँको विवाह बजेट थियो । पार्टीको निर्देशनअनुसार विवाह व्यवस्थापन समितिले सामान्य खानपानको व्यवस्था गरेको थियो । 

विवाह कार्यक्रम बेलुका करिब आठ बजेतिर सुरु भयो । बिहे कार्यक्रम स्थलको एकातिर पाँचजना प्राधिकार (माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ) को तस्बिर झुण्ड्याइएको थियो । तस्बिरसँगै हसियाँ हथौडा अंकित कम्युनिस्ट पार्टीको झण्डा थियो । यी दुवैको तलतिर सुनौलो रङमा ‘क्रान्तिकारी विवाह’ लेखिएको ब्यानर थियो । कोठामा मधुरो बत्ती बलिरहेथ्यो ।

विवाह स्थलबाहिरको सुरक्षा जिम्मा कमरेड गगनले लिएका थिए । उनी बाहिरै थिए । भित्र भने विवाह कार्यक्रमले औपचारिक रूप लियो । अशोक राईले उद्घोषण गरे । पार्टी पोलिटब्युरो सदस्य माधव नेपाल विवाह कार्यक्रमका अध्यक्ष थिए । केन्द्रीय सदस्य ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाइयो । मोरङ पार्टी प्रमुख दर्शन, सुनसरीका राजेश बान्तवा, डिल्ली मैनाली, मदनको परिवारबाट भाइ प्रेम र बहिनी गीता तथा अन्य गरी जम्मा १७ जना सहभागी भएका थिए ।

उद्घोषकले क्रान्तिकारी विवाहबारे विचार राख्न सबैलाई आग्रह गरे । यही मेसोमा सबैले शुभकामना पनि दिए । कार्यक्रमका अध्यक्षले सिन्दुरपोते गर्न आग्रह गरे । सिन्दुरपोते र माला लगाइदिने कार्य सम्पन्न भयो । दुलहा र दुलहीले बोल्ने क्रममा क्रान्ति र विवाहको आदर्शलाई निर्वाह गर्ने प्रतिज्ञा गरे । अध्यक्षले विवाह सम्पन्न भएको घोषणा गरे । त्यसपछि खानपिन सुरु भयो । 

खानपिन सकिँदा बिहानको करिब तीन बजेको थियो । कोही आराम गर्न लागे । कोही भने कार्यक्षेत्र फर्कने भए । 
मदन विद्याको बिहे सजिलै जुरेको थिएन । बिहेको खास कथा बेग्लै थियो ।  

कथा यसरी सुरु भएको थियो :
विद्या र मदनको भेट सबभन्दा पहिले भोजपुरमा भयो । सबै भेट संयोग नै मान्ने हो भने विद्या–मदनको भेट पनि संयोग नै थियो । विद्या भोजपुरमा कलेज पढ्थिन् । सदरमुकामै । मदन पार्टी कामले भोजपुर सदरमुकाम पुगेका थिए । साथमा पार्टीका मित्र अशोक राई पनि थिए । 

विद्या र एकजना महिला साथी टुँडिखेलको बाटो भएर कतै जाँदै थिए । बाटोमा दुई अपरिचित भेट भयो । विद्याका लागि अपरिचित । तर, विद्याका साथीले अशोकलाई चिन्थे । उनीहरूले कुराकानी गरे । खासमा विद्याका साथी मालेकै सेल्टरसँग जोडिएका थिए । अशोकसँग आउने नयाँ मान्छे पार्टीका कोही हुनुपर्छ भन्ने अनुमान गरे । अशोक र अपरिचित व्यक्ति जुन सेल्टरमा पुगे । विद्या र साथी पनि त्यहीँ पुगे । 

कालो कालो वर्णको । ह्याट जस्तै पाराको टोपी लगाएको । लामो लामो जुँगा भएको । झट्ट हेर्दा फोर्समा काम गर्ने जस्तो । सामान्य मान्छेलाई यस्तै लाग्न सक्थ्यो । तर, अशोकसँग आउने पक्कै पार्टीको मान्छे हुनुपर्छ । विद्याहरूले अनुमान लगाए ।

त्यो भेटमा सामान्य कुराकानी र चिनजान भयो । नयाँ मान्छेको नाम सागर रहेछ । भोजपुरेहरूले मदनलाई सागर भनेर चिने । अशोक र सागर विद्याको डेरामा बिहानको सबेरै भेट्न पुगे । करिब डेढ घण्टा लामो राजनीति र पार्टीको कुरा गरे । अनि भुइँमा उज्यालो नखस्तै हिँडिहाले । सागरले पहिलो भोजपुर भ्रमणमा विद्यासँग दुई पटक भेटे । विशुद्ध पार्टी कामका लागि ।

दोस्रो पटक मदन २०३७ फागुनमा फेरि भोजपुर पुगे । फागुन २१ गते पार्टीले सहिद दिवस मनाउने गथ्र्यो । त्यही कार्यक्रमका लागि भोजपुर आएका थिए । मदनले जुँगा पनि काटेछन् । अलि मोटाए जस्तो । पहिले भेटेका कार्यकर्ताका लागि पनि नयाँ लुक्स । पहिलेभन्दा बिल्कुल फरक भएर आए । कार्यक्रम चाहिँ सदरमुकामभन्दा पर छिनामखु गाउँमा राखिएको थियो । हेमराज राईको घरमा । 

कार्यक्रम सकेर अशोक र मदन सदरमुकाम भएर फर्किए । विद्याको डेरामा पसे । त्यहाँ पनि पार्टीकै कुरा भयो । भोजपुरको भेट पार्टी काममै सीमित भयो ।
मोरङको बाहुनी भन्ने ठाउँमा विद्याको बुवाले केही जग्गा किनेका थिए । बुवाको मृत्युपछि विद्याको परिवार त्यहीँ बस्न थालेका थिए । परिवारको एकजना सदस्य मात्रै पहाडमा थिए । विद्या कलेजको पढाइले पहाडमै अडेकी थिइन् । मधेस झर्नु त छँदै थियो । 

विद्या मधेस र पहाड, उकालो ओरालो गरिरहन्थिन् । अब औपचारिक रूपमै पढाइको अवधि पनि सकियो । प्रवीणता प्रमाण–पत्र तहको । त्यस उसो मधेसमै बस्ने भइन् । घरमा पुरानै विषय तर नयाँ ढंगले फेरि प्रवेश पायो । विद्याको बिहे ।

विद्यासँग दुई उपाय थिए । परिवारले भनेकै ठाउँमा बिहे गर्ने एउटा उपाय थियो । यसो गर्दा पार्टीको सम्पर्क छोड्नुपथ्र्यो । त्यो अभियानलाई बिदा गर्नुपथ्र्यो । यो सुरक्षित र सजिलो उपाय । अर्को पनि उपाय थियो । पार्टीलाई सूचना दिने । तर, पार्टीका सबै भूमिगत नेता–कार्यकर्तासँग नजिकको सम्पर्क र सम्बन्ध पनि थिएन । पार्टीभित्रै बिहेको सम्भावना कमजोर थियो । तैपनि विद्याले पार्टीमा सूचना गरिन् । 

पार्टीको कार्यकर्ता व्यवस्थापन नीतिबारे थाहा थिएन । तर, महिला कार्यकर्तालाई जोगाएर राख्नुपर्छ भन्ने छलफल ग्गर्‍यो या कुनै सोचका आधारमा निर्णय गर्‍यो । बिहेको सूचनालाई सकारात्मक रूपमा लियो । र, पहिलो प्रस्ताव आयो । मदनको नाममा ।

पढाइको औपचारिक कोर्स पूरा भएपछि विद्या विराटनगर झरिन् । पार्टीबाट प्रस्ताव भएकै थियो । त्यहाँ मदनसँग भेट भयो । कुराकानी भयो । विद्याको अन्तर्मनमा कतै परिवारको स्वीकृतिमै बिहे गर्नुपर्छ भन्ने थियो । त्यो भेटमा यै कुरा राखिन् । तर, यस्तो बिहेलाई परिवारले स्वीकार गर्दैन कि ? भन्ने भएपछि विषयले विश्राम पायो । सहमतिमै कुरा अगाडि नबढाउने भए । कुराकानी रोकिएपछि दोस्रो व्यक्तिको प्रस्ताव पनि आएन । समय पनि रोकिएन । ढिलै सही समय अघि बढिरह्यो ।

सात–आठ महिना बितिसकेको थियो । यही बेला मदनलाई पार्टीका तफबाट एउटा चिठी आयो । चिठीको व्यहोरा थियो–बिहेवारी जस्तो महत्वको विषयलाई एकैचोटि प्रस्ताव गर्ने र हुन्छ या हुँदैनमा निर्णय गरेर टुङ्ग्याउने होइन । यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ । पुनर्विचार गर्नुहोला । मदनले के सोचे कुन्नि ? फेरि विद्यासँग दोस्रो चरणको कुराकानी अघि बढ्यो । 

विद्या पनि बिल्कुल तनावमा थिइन् । घरमा नातेदारले प्रस्ताव ल्याइरहने । घरै जान मुस्किल । सेल्टर र पार्टी काममै व्यस्त हुन्थिन् । उनले पनि निर्णय गर्ने अवस्था बन्दै थियो । परिवारले भनेको, आमाले भनेको ठाउँमा बिहे गर्ने हो भने उद्देश्य बनाएर हिँडेको अभियान नै छाड्नुपर्ने भयो । गृहस्थीमा बित्ने भो बाँकी दिन । पार्टीको प्रस्ताव मानेर जाँदा आफ्नो अभियानले निरन्तरता पाउन सक्थ्यो । धमिलो धमिलो गरी विद्याको विवेक खुल्यो । उनले ठीकै छ, हुन्छ भन्ने संकेत गरिन् । 

ल, अब हुन्छ भन्ने निधो भयो । त्यसपछि पार्टी प्रक्रिया आदि इत्यादिले केही महिना बितेर गयो । दुवैले पार्टीलाई चिठी लेखे । पार्टीमा छलफल चल्यो । प्रक्रिया पूरा गरेर पार्टीले स्वीकृति दियो । मिति र आयोजक पनि तोकिदियो । 
२०३९ साउन २४ गते । आयोजक : नेकपा माले कोशी क्षेत्रीय कमिटी ।

(अध्येता राईको ‘श्वेतशार्दूल : मदन भण्डारीको जीवन’ पुस्तक प्रकाशोन्मुख छ । मार्टिन चौतारीमार्फत थुप्रै सामाजिक शोधलेख लेखेका राई चार वर्षदेखि गृहजिल्ला इलाममा समाज–स्वयं–सेवा गरिरहेका छन् ।)


Author

थप समाचार
x