विचार

हामीलाई जसले जतिबेला पनि पढ् मात्र भन्छन्

संस्कृति सुवेदी |
जेठ ५, २०७८ ७:४९ बजे

बाल्यकाल भनेको आफू सानो हुँदाको समय हो । प्रत्येक व्यक्तिको आआफ्नै बाल्यकाल हुन्छ । हुन त बाल्यकालीन समय भन्‍नासाथ समस्यासँग परिचित नहुने, दुःख भनेको के हो थाहा नहुने र सुखै सुखको रमणीय परिवेशमा व्यतीत भएको समयलाई बुझाउँछ । तर सबैको बाल्यकाल सुखद् र रमणीय हुँदैन । एउटा बालकको जीवन उसको पारिवारिक परिवेशमा भर पर्छ । कसैको बाल्यकाल लोभलाग्दो, सुखद र खुसीयालीमै बितेको हुन्छ भने कसैको बाल्यकाल संघर्ष नै संघर्षमा बितेको हुन्छ ।

मेरो बाल्यकाल भने मध्यम नै थियो भन्‍ने लाग्छ तर पनि पहिलो सन्तान भएकाले हो वा छोरी भएकाले हो, घरमा बाबामामुसँग मलाई दिने समय खासै नहुने वा भनौँ प्राथमिकतामा म पहिलो कहिल्यै भइनँ जस्तो लाग्छ । त्यसमा पनि बाबाले सानोमा मलाई गर्नुभएको व्यवहार अहिले जस्तो लाग्छ । उहाँको काखमा बसेर मैले कुनै कुरा सिकेको याद छैन । खाली मेरो रिजल्ट बिग्रेपछि भाटा खाएको याद छ । हुन त उहाँको उद्देश्य गलत थिएन होला तर तरिका पक्कै गलत रहेछ, जुन अहिले बुझ्दै छु ।


मामुलाई म जन्मिनुअघिबाटै जागिर खानैपर्ने दबाब रहेछ । जागिर गर्न उहाँलाई अहिले जस्तो सहज पक्कै थिएन । घर-परिवारका कुनै सदस्यले पनि पढ्नुपर्छ, जागिर गर्नुपर्छ भनेर उहाँलाई वातावरण सहज बनाउनुको साटो गालीगलौज गर्ने, रिसाएर बोल्ने वा नबोल्ने अनि भए नभएका कुरा सुनाएर तनाव दिनेसम्मको काम भएछ । बिहे गरेपछि त घर पो सम्हाल्ने हो । बुहारी भएर घरमै बस्ने हो । घरका सदस्यहरूको मन जित्ने हो, उहाँहरूलाई खुसी राख्ने हो भन्‍ने मानसिकता थियो र धेरै पछिसम्म पनि घरको उहाँप्रतिको त्यो व्यवहार कायमै थियो रे । अहिलेजस्तो ट्युसन क्लास थिएन । बाबाको सहयोगमा र आफ्नो लगनशीलता अनि अथक परिश्रमले होला, उहाँले म जन्मिएको केही वर्षमा नै लोकसेवा आायोगको प्रतिस्पर्धामा सफल भएर निजामती जागिर सुरु गर्नुभयो । उहाँले कहिलेकाहीँ प्रसंगमा मलाई सुनाउनुभएको हो, यी कुरा । 

मामुले कुनै कुराको परवाह नगरी जागिर गर्नैपर्ने बाध्यता भएकाले आफ्नो सजिलो होस् भनेर मामाघर नजिक डेरा गरेर बस्नुभएको कुरा पनि मामुले धेरैचोटि भन्‍नुभएको छ । मलाई चेतना भएदेखि म मामाघरमै हुर्केको भन्दा पनि फरक पर्दैन । मामाघरको बुवाममीको काखमा म हुर्कें । हुन त घरमा पनि बाबा परिवारको जेठो सन्तान हुनाले म नै पहिलो बच्चा थिएँ तर त्यहाँ पहिलो बच्चा भएर पाउनुपर्ने माया, ममता र स्नेह सानो छँदा खासै महसुस गरिनँ ।

मामाघरमा म दोस्रो बच्चा थिएँ । मामाघरमा ठूलो मामुको छोरी (दिदी) म भन्दा पहिला नै जन्मिनुभएको थियो । तर मलाई मामाघरमा कहिल्यै मायाममताको कमी महसुस भएन । मामाघरको बुबाममीले त मलाई धेरै स्याहार गर्नुभयो । मामु अफिस जाँदा होस् वा मामु बिरामी पर्दा होस् वा मामु अफिसको कामले बाहिर जाँदा होस्, म मामाघरमै बस्‍ने हो । 

आफू र आफैँले बाँचेका सबै अनुभूति समयसँगै धमिलिँदै जाँदा, हामी र हामी हुर्किएको समाज कति धेरै टाढा पुगिसकेको हुन्छ, त्यो महसुस गर्न पनि हामीसँग समय छैन । हाम्रो परिवार र शिक्षा प्रणालीले पनि त्यो सोच्‍न नसक्दा, आउने समाजबाट हामी थाहै नपाई अलग्गिसकेको पत्तै नहुने रहेछ ।

म सानो हुँदा कुनै पनि मामाहरूको बिहे भएको थिएन । उहाँहरू मलाई खुबै माया गर्नुहुन्थ्यो । ठूलो मामा त्यतिबेला काठमाडौँमा बस्नुहुन्थ्यो । कहिलेकाहीँ दसैँमा घर आउँदा उहाँले मलाई धेरै माया र हेरविचार गर्नुभएको र बोकेर डुलाउनुभएको याद आउँछ । 

सबै बच्चाहरूलाई उहाँले गर्ने समान माया अचम्मलाग्दो छ । उहाँले कहिल्यै आफ्नो र अर्को भनेर भेदभाव गर्नुहुन्‍न र मायामा देखावटीपन पनि छैन । उहाँको त्यो बानी मलाई सबभन्दा मनपर्छ । मामुलाई पनि सानोमा ममी (हजुरआमा) लाई फुर्सद नहुँदा वा भाइ सानो भएकाले उहाँले नै माया गरेर हुर्काउनुभएको रे । 

सानोमामाले पनि माया त गर्नुहुन्थ्यो तर उहाँलाई धेरै जिस्कनुपर्ने, बच्चाहरू जिस्क्याइरहनुपर्ने कहिलेकाहीँ त दिक्क हुनेगरी जिस्कनुपर्ने । हामी सबैलाई उहाँले फरक फरक नामले बोलाउनुहुन्छ । वास्तविक नामभन्दा अर्कै नाम राखेर बोलाउँदा उहाँलाई रमाइलो लाग्ने रहेछ । हामी पनि बानी परिसकेको हुनाले सामान्य लाग्थ्यो र अहिले पनि सामान्य नै लाग्छ । 

उहाँले मलाई सानैदेखि पाण्डा वा भकारी आदि नामले बोलाउनुहुन्थ्यो । भाइलाई दिल वा दिला । मामाको छोरा (मेरो भाइ) लाई टिम अनि ठूलोमामुको छोरा (मेरो भाइ) लाई चाहिँ टुकु, कुसु अनि दिदीलाई चाहिँ ठूलो भनेर सबैलाई फरक नाम दिनुभएको छ । अहिले पनि उहाँले सबैलाई यही नामले बोलाउनुहुन्छ । तर हामीलाई नराम्रो लाग्दैन । बरु वास्तविक नामले बोलाउँदा नौलो र माया नगरेजस्तो पो लाग्छ । 

मेरो बाल्यकालको अधिकांश र स्वर्णिम पलहरू मामाघरको सेरोफेरोमा बितेकाले अहिले पनि मामाघर साह्रै प्यारो लाग्छ । मामाघरको बुवाममीको काखमा म हुर्कें । हिजोआज अरुले आफ्ना बच्चालाई गरेको व्यवहार देख्दा लाग्छ, पढेर मात्र चेतनाको स्तर विकास हुने होइन रहेछ । 

सुरुमा मामुको जागिर सुरु भएपछि मलाई जागिर त कुनै खानेकुरा होला भन्‍ने लाग्थ्यो र म सोध्थेँ- मामु, त्यहाँ गएर के खाएर आउनुहुन्छ ? म पनि खान जान्छु भनेर जिद्दी गर्थें । हिँड्ने बेलामा रोइकराई गर्थें । अनि केही नलागेपछि मलाई पनि ल्याइदिनुस् है भन्थेँ । एकदिन मामुले अफिसबाट फर्किंदा मेरा लागि समोसा लिएर आउनुभयो । अब मलाई पुगिहाल्यो र मैले सोधेँ, ‘मामु यही हो जागिर भनेको ?’ मामुले पनि ‘हो’ भनिदिनुभयो । 
मैले अलि निकै ठूलो भएपछि मात्र जागिर भनेको समोसा होइन रहेछ भन्‍ने बुझेँ । 

मलाइ सानोमा स्कुल जान खासै मन पर्दैनथ्यो । स्कुल जान मन लागेन भने मामाघरबाट जाने भन्थेँ अनि उता गएपछि फेरि बाबासँगै जाने भनेर फर्केर आउँथेँ । यसरी घुमिरहन्थेँ र अरुलाई पनि घुमाउँथेँ । यसरी कहिलेकाहीँ दुःख दिन्थेँ । 

मामुको जागिर सुरु भएपछि मलाई जागिर त कुनै खाने कुरा होला भन्‍ने लाग्थ्यो । सोध्थेँ- मामु, त्यहाँ गएर के खाएर आउनुहुन्छ ? निकै ठूलो भएपछि मात्र जागिर भनेको ‘समोसा’ होइन रहेछ भन्‍ने बुझेँ । 

स्कुलमा साइनिनमुन एकेडेमी मेरो पहिलो स्कुल हो । त्यसबेला मलाई स्कुलमा पवित्रा मिस भए मात्र बस्न मन लाग्थ्यो नभए अरूसँग रमाउँदिनथेँ । अरु सर-मिसहरू भएको बेला र उहाँ नहुँदा मलाई नरमाइलो लाग्थ्यो । म उहाँको हात समाउँदै उहाँ जता जानुहुन्छ, त्यतै जान्थेँ । हुन पनि मलाई उहाँले साह्रै माया र हेरविचार गर्नुहुन्थ्यो । स्कुलको सुरुका दिनमा उहाँको त्यो स्नेह म कहिल्यै पनि बिर्सन सक्दिनँ । उहाँपछि म पुनम म्यामसँग रमाउँथेँ । उहाँले पनि मलाई अति नै माया गर्नुहुन्थ्यो । 

मेरो दोस्रो स्कुल भगवती इङलिस बोर्डिङ स्कुल हो । त्यहाँ म लगभग दुई वर्ष जति पढेँ । बाबामामुको सरुवा जिल्ला बाहिर भएकाले हामीले भगवती स्कुल पनि छोड्नुपर्यो । त्यहाँको अन्जना कार्की म्याम, राजेश क्षेत्री सर, कपिल बराल, सन्तोष श्रेष्ठ, शिव कार्की र ललिता घिमिरे म्यामलगायत अर्चना लामा, आज्ञा कार्की, सुष्मा, कृषा, आरती, निश्चला, अञ्जली जस्ता साथीहरू अहिले पनि सम्झिरहन्छु । बाबामामुको अफिस परिवर्तन भएपछि हाम्रो पनि स्कुल परिवर्तन हुन्थयो । हामी सानो हुँदा मामुले अलि दुःख गर्नुपर्यो । बच्चा तयार पार्ने, खाना बनाउने, खुवाउने, स्कुल पुर्याउने अनि बल्ल आफू तयार भएर घरको काम सकेर मात्र अफिस जानुहुन्थ्यो । बाबालाई अफिसको कामले बिहानै घरबाट निस्कनुहुन्थ्यो । 

म जन्मेको ५ वर्षपछि भाइ जन्म्यो । भाइ जन्मेर हस्पिटलबाट घर ल्याउँदा म सुतिरहेकी थिएँ । अचानक भाई लिएर बाबामामु आउँदा म खुसी होऊँ वा दुःखी आफैँलाई अन्योल भएको थियो या भनौँ खुसीले उफ्रौँ कि नाचौँ जस्तो लागेको थियो । ऊ घर आएदेखि घरको माहोल नै फेरिएको थियो । 

घरमा खुसीको बहार नै आएजस्तो । मलाई ऊसँगै सुत्न मन लाग्थ्यो । उसको सानो हातहरू समाउन मन लाग्थ्यो । तर मामुले सुत्न दिनुहुन्‍नथ्यो किनकि मैले भाइलाई किच्छु भनेर । भाइ सानो हुँदा सानो अंकल पनि हामीसँगै बस्नुहुन्थ्यो । उहाँले पनि हामीलाई माया गर्नुहुन्थ्यो । मामुले नभ्याउँदा खाना खुवाउनुहुन्थ्यो र दालभात मुछेर गोलो पारेर डल्लो माम भन्दै खुवाएको आजै जस्तो लाग्छ । 

अंकलले पनि भाइलाई अलि बढी माया गर्नुभएजस्तो लाग्थ्यो मलाई । कहिलेकाहीँ भाइलाई मात्र बाइकमा घुमाउन लैजानुहुन्थ्यो । त्यति बेला मलाई साह्रै नराम्रो लाग्थ्यो, तर म यो भाव व्यक्त गर्न सक्दिनथेँ । म सानो छँदा मामाघरको बुवाममीसँगै धेरै समय बस्थेँ । यत्तिसम्म कि स्कुलबाट फर्केपछि पनि म खाजा खानासाथ उतै पुगिहाल्थेँ । यसकारण पनि मामुलाई अलि सुविस्ता थियो । किनकि बच्चा स्कुलबाट फर्किंदा उहाँले घर आइसक्नुपथ्र्यो । मामाघर नजिक भएपछि कोठामा मामु नआउन्जेल म मामाघरै बस्थेँ ।

यतिसम्म कि बुवाममीले करेसाबारीमा काम गर्दा पनि मलाई बोकेरै गर्नुहुन्थ्यो । दिसापिसाब गराउने, खुवाउने, पियाउनेदेखि नुहाइदिने र बिरामी हुँदा सेकताप गर्ने सबै ममीले गर्नुहुन्थ्यो । बुवाले पनि ममीलाई मलाई हेर्न सहयोग गर्नुहुन्थ्यो । म कहिलेकाहीँ समयमा घर नआउँदा बुवाममी धेरै चिन्तित हुनुहुन्थ्यो र आफैँ खोज्न निस्कनुहुन्थ्यो । हाम्रो बसाइ नजिक पसल थियो । एउटा पूर्ण मामाको र अर्को सानो साहुजीको । म सानो साहुजीको पसलबाट उधारोमा चकलेट खान्थेँ । धेरैमा बाबाले तिरिदिनुहुन्थ्यो । 

मैले कलम, पेनसिल, कपी हराउँदा घरमा आएर भन्‍न डर लाग्थ्यो र बुवालाई (मावलको हजुरबुबा) सुटुक्क सुनाउँथेँ । उहाँले मलाई पसलबाट किनेर ल्याइदिनुहुन्थ्यो । कतिपटक त मामुलाई पनि थाहै हुँदैनथ्यो । अरुलाई त थाहा हुने कुरै भएन । अलि ठूलो भएपछि ठूलोमामुको छोरी (दिदी) मेरो साथी हुनुभयो । हामीबीच उमेरको अन्तर धेरै नभएकाले होला हामी साथी भएको । हामी खुबै खेल्थ्यौँ । कहिलेकाहीँ हामी झगडा पनि गर्थ्यौँ । तर छिट्टै मिली पनि हाल्थ्यौँ । 

घर पछाडि गएर हामी पिकनिक खान्थ्यौँ । मावलको घरमा डेरा गरेर बस्ने एकजना अंकलको छोरी (कृतिका दिदी) पनि हामीसँग खेल्नुहुन्थ्यो । हामीले एकपटक ढुंगाको गट्टा बनाएर खेल्थ्यौँ । त्यही क्रममा एकदिन दिदी र मैले राम्रा-राम्रा ढुंगा चाहिँ अरूले नदेखून् र सुरक्षित रहोस् भनेर कुनामा लगेर लुकायौँ । तर धेरैपछि त्यो ढुंगा राखेको ठाउँमा नदेख्दा मलाई कति धेरै पीडा भएको थियो । साह्रै पीर लागेको थियो । बाल्यकालका ती कुराहरूले अहिले मलाई धेरै खुसी तुल्याउँछ । कुनै कुराले दुःखी पनि बनाउँछ । 

बच्चा थिएँ तर त्यहाँ पहिलो बच्चा भएर पाउनुपर्ने माया, ममता र स्नेह सानो छँदा खासै महसुस गरिनँ ।

हाम्रो बसाइ नजिक कालीमाई मन्दिर थियो । मेरो खेल्ने समय धेरै जति मन्दिरमै बित्थ्यो । फराकिलो र सुन्दर वातावरण भएकाले पनि त्यहाँ खेल्नलाई मलाई मज्जा लाग्थ्यो । कहिले दिदीसँग, कहिले अरु कुनै साथीसँग मन्दिरमै खेल्थेँ । पछि भाइ अलि ठूलो भएपछि भाइ र म भएर खेल्थ्यौँ । स्कुलमा क्याप्टेन राख्‍ने चलन थियो । एकदिन शिक्षक नभएको समयमा मैले मे आइ गो टु ट्वाइलेट भनेर क्याप्टेनलाई सोधेँ तर उसले नो मात्र भनिरह्यो । 

धेरैचोटि सोध्दा पनि जान नदिएकाले मलाई पेट दुखिसकेको थियो । पछि स्कुल छुटेर घर जाने बेलामा घर जानै सकिनँ र बाटोमै दुबोमा ढलेँ । त्यस्तैमा एकजना मामा (सुवास रायमाझी) आएर कसकी छोरी हौ भन्‍नुभयो, मैले मामुको नाम भनेँ र उहाँले हतार-हतार आफ्नो कारमा राखेर मलाई मेरो घरसम्म पुर्याइदिनुभयो । उहाँले मलाई अप्ठ्यारो परेको बेलामा गर्नुभएको त्यो सहयोग मेरा लागि अमूल्य थियो र म त्यो कहिल्यै पनि बिर्सनेछैन ।

मलाई सानैदेखि नाच्‍न मन पर्थ्यो । मामाघरको बुवाममीसँग एकादशीको कीर्तनमा जान्थेँ अनि सबै जनाले भजन गाउँदा म नाच्थेँ । त्यहाँका बुवाआमाले कहिलेकाहीँ मलाई पैसा पनि दिनुहुन्थ्यो अनि म खुसी हुन्थेँ । कहिलेकाहीँ स्कुलको प्रोगाम हुँदा पनि नाच्थेँ र त्यतिबेला साथीहरूको माझमा नाच्‍न पाउँदाको खुसी म वर्णन गर्नै सक्दिनँ । म नाच्‍नैका लागि जन्मेको जस्तो लाग्थ्यो । बाल्यकालको त्यो स्वर्णिम पलहरूसँग रमाउँदा रमाउँदै कहिले यत्ति ठूली भएँ मलाई पत्तै भएन । अहिले त्यति बेलाको सम्झनाको स्मृतिले मेरो मनै फुरुङ्ग हुन्छ ।

हामीलाई जसले जतिबेला पनि पढ् मात्र भन्छन् । आफू र आफैँले बाँचेका सबै अनुभूति समयसँगै धमिलिँदै जाँदा, हामी र हामी हुर्किएको समाज कति धेरै टाढा पुगिसकेको हुन्छ, त्यो महसुस गर्न पनि हामीसँग समय छैन । हाम्रो परिवार र शिक्षा प्रणालीले पनि त्यो सोच्‍न नसक्दा, आउने समाजबाट हामी थाहै नपाई अलग्गिसकेको पत्तै नहुने रहेछ । अहिले म एसईईको तयारी गर्दै छु । समय नियन्त्रणबाहिर छ, जसले गर्दा मेरो भविष्य नियन्त्रणबाहिर छ । तर यो समयले, मलाई आफू, आफ्नो परिवार, देश, काल परिस्थिति, मानवता र जीवनको क्षणभंगुरताको कति सजिलै बोध गराएको छ । मलाई राजनीतिक चेत गराएको छ । सामाजिक चेतना बढाएको छ । जीवनको मूल्य र मान्यताको धारिलो रूपसँग साक्षात्कार गराएको छ । कोभिडले हामीबाट धेरै चिज खोस्यो र केही सिकायो पनि । 

निलो आकाशमा, कालो बादल माडारिएको यो समयमा, मलाई प्रकृति, परिवार र पर्यावरण, जीवन जिउन यी तीनवटा ‘प’को अर्थ र मूल्यको बोध भएको छ । त्यसैको अनुभूतिले आज जीवनमा पहिलोपल्ट आफ्नो स्मृतिको ‘खुत्रुके’लाई बेस्सरी हल्लाएर, छनछन गर्र्दै बज्ने सिक्कासँगै, सम्बन्ध र संस्मरणको आवाजमा छमीछमी नाच्‍न मन लाग्यो । (सुवेदी हिमालय बोर्डिङ स्कुल कोटेश्वरमा कक्षा १० मा अध्ययनरत छिन् ।)



Author

संस्कृति सुवेदी

(सुवेदी हिमालय बोर्डिङ स्कुल कोटेश्वरमा कक्षा १० मा अध्ययनरत छिन् ।)


थप समाचार