विचार

उसै पनि सुनसान गाउँ, त्यसमा सन्‍नाटा थपिएको छ

विपिन आचार्य |
जेठ ६, २०७८ बिहिवार १७:२२ बजे

गाउँभरिको उच्च आसनमा भएकाले नै होला, सायद हाम्रो घरलाई ‘टाकुरा’ भन्छन् । कहिलेदेखि हामी टाकुरे कहलियौँ । मलाई थाहा छैन । तर हामी सानैदेखि यस्तो सुन्‍नमा अभ्यस्त भयौँ । कोभिड-१९ को दोस्रो प्रकोपले पुच्छर निमोठेपछि म फेरि कर्मथलो घोराही दाङबाट टाकुरे घर सल्यान खलंगा आइपुगेको छु ।

पोहोर साल कोभिडको पहिलो संस्करणमा पनि यसै गरिएको थियो । आमा भन्‍नुहुन्छ- छोरो घर आउन कि त दसैँ आउन पर्यो कि त यो कोर्नाको दशा । टाकुरामा उभिएर वरिपरिका घर नियाल्छु ।


सबैतिर सुनसान छ । यो ‘सुनसान’ त सामान्य बेलाको मेरो गाउँको हुलिया भयो । यो असामान्य बेला गाउँमा सुनसान मात्र छैन, सन्‍नाटा छ । गाउँमा युवा छैनन् भन्‍ने त सुनिँदै आएको हो । यहाँ पनि त्यही हो । गाउँमा युवा हुनु र नहुनुले के अर्थ राख्छ, त्यो म यो टाकुरामा बसेर देख्दै छु ।

भर्खरै पानी परेको हुँदा मकै छर्ने तयारीमा बारीमा मलका थुप्रा देखिन्छन् । रुख-बिरुवामा नयाँ पालुवा पलाउँदैछन् । पानी परेपछिको आकाश गाढा नीलो छ । प्रकृति जुर्मुराउँदो छ, तर मान्छे ओइलाउँदै छन् ।

टाढैबाट छिमेकी बराल दाइलाई नमस्कार गर्छु । उसो त आमा–बुवालाई समेत नमस्कारैले काम चलाइयो । बिरामी बराल दाइलाई टाढैबाट सोध्छु- के छ दाजु हालखबर ? ‘के हुनु यो बुढेसकालमा अपराधी जसरी समाजमा नाकमुख छोपेर हिँड्नुपर्ने भयो ।’ उहाँ स्वाँस्वाँ गर्दै यसो भन्‍नुहुन्छ । भाउजू पनि बिरामी हुनुहुन्छ । हाम्रो घरमा जस्तै उहाँको घरमा पनि उही बूढाबूढी मात्र । पकाई खान गाह्रो छ, लालाबाला कसरी स्याहार्नु !

सात दशकको उकालो लाग्दै गरेका बराल दाइलाई नाकमुख छोपिने गरी कसिलो गरी मास्क लगाएको साह्रै असुहाउँदो देखिएको छ । बाटो छेउमा छ मेरो घर । फाट्टफुट्ट हिँड्नेका बरु गोडामा जुत्ता-चप्पल छैन, मास्क छ । उनीहरु धेरैजसो बिरामी छन् । भर्खरै आमाले भन्‍नुभो- गाउँभरि सबैलाई ज्वरो, रुघा, काँसो (खोकी) छ । आँगनको डिलमा बसेर म नजर डुलाउँछु ।

सधैँ गुलजार हुने जोगीमरी पीपल चौतारोमा कोही देखिँदैनन् । गाउँको पूर्वस्कुल (गाउँको द्वारिका प्रावि बन्द भयो । बन्द भयो भन्नु पनि के, हामी सबैको लापरबाहीस्वरूप स्कुल बन्द गरियो ।) पार्देडाँरामा पनि कोही देखिँदैनन् । ‘बुरानाउला’ पँधेरो पनि बिरानो भएछ । पहिला यही एउटा पन्यारो (पँधेरो) थियो, गाउँदेखि खलंगा बजार हुँदै जिल्ला प्रहरी कार्यालयसम्मको जलाधार । घर-घरमा धारा जोडिएपछि उसै पनि यसको सम्भार थिएन । गाउँमा बाटो त चाहिन्छ नै, तर बाटो बनाउने नाममा जथाभावी डोजर चलाउँदा कति पुराना पँधेरा, चौपारी पुरिएको छ । सम्भार गर्नुपर्ने प्रकृति उल्टै संहार गरिरहेछौँ हामी ।

रमाउन सके मन बहलाउने कुरा पनि छन् । मेरो घरको आँगनमै जुरेलीको गुँड छ । गुँडमा अण्डा छन् । आँगनको डिलमा विचरण गर्दै जुरेली चरीको जोडी र अर्को नाउँ थाहा नभएको चरी आइरहेका छन् । चराचुरुंगीका लागि सधैँ केही न केही चारो यही बान्‍नो (पर्खाल) मा छोडिदिन्छौँ । चराचुरुंगी आउँछन् । खान्छन् । नाच्छन् । सामान्य तर यस्तो उत्कृष्ट जीवनलीला देख्दा लोभ मात्र हैन, ईर्ष्या नै लाग्छ । अनि हामी यो महामारीमा हामी मर्नदेखि डराइरहेछौँ अनि यस्ता अबोध चराचुरुंगी मारिदिन्छौँ । 

घरनेरको बाटोमा तल हिँडिरहेकी भरार्नी भाउजूलाई सोधेँ— ‘के छ भाउजू हालखबर ?’ लामो सुस्केरा हाल्दै भाउजू भन्छिन्, ‘काल पर्ख्यो बस्यो । मान्छेसँग मान्छे डराउनुपर्नी, के जमाना आयो बाबू यस्तो ?’

भरार्नी भाउजू लामो समयदेखि घरमा एक्लै बस्छिन् । बुढ्यौलीले छोएको उहिल्यै हो, उनी आफ्नो काम सब आफैँ गर्छिन् । उनको शरीर गलेको छ, शारीरिक सक्रियता भने कति कति !

मध्याह्नपछिको चर्को घाम बिस्तारै ओरालो लाग्दै छ । अब चिया समय भयो । सुठो, टिम्मुर, मरिच, जस्मिनलगायत दसथरी घरेलु जडिबुटी मिश्रित चिया । चिया पिउँदै गर्दा याद आयो— गाउँको सबैभन्दा बूढो पुरुष हुनुहुन्छ, मोख्या (मुखिया) दाजु ।

उमेरले ८० कटे पनि म उहाँलाई दाइ भन्छु । किनकि उमेरमा आफूभन्दा साना मेरो बुवालाई उहाँ काकाजी भन्‍नुहुन्छ, बुवाले भतिज । उहाँ गाउँमा बुवाको मन मिल्ने गठ्ठी (साथी) । उहाँ दैनिकजस्तो हाम्रो घर आइरहनुहुन्थ्यो । निकै आत्मीय र हार्दिक हुन्थ्यो, उहाँसँगको ‘टफ टक’ । पुराना पुराना गीत पनि सुनाउने, हँसाउने उहाँको शैली पनि बडो रोचक लाग्छ, मलाई ।

तर उहाँ यता नआउनु भएको २१ दिन भयो । कारण स्पष्ट छ, कोभिड आतंक । चियाको अन्तिम घुट्को सुर्क्याउँदै बुवाले भन्‍नुभो, ‘हेर केटा, यो पोहोरको कोरोना अनि अहिले टेलिभिजनले भन्‍ने गरेको नयाँ भेरियन्टको कोरोना, यी सबै मानिसले प्रकृतिलाई चिथोर्दाका परिणाम हुन् ।’

यो बुढेसकालमा अपराधी जसरी नाकमुख छोपेर हिँड्नुपर्ने भयो !

इन्टरनेटको पहुँच नभएका बुवासँग आधुनिक सूचनाका स्रोत सीमित छन् । सहरतिर गएका बेला पत्रिका पढ्न पाउनुहुन्छ । अनि घरमा चाहिँ रेडियो र टेलिभिजन । अनि पुराना केही सीमित पुस्तक । घरमा पनि पुस्तकमा घोरिनु उहाँको शैली छ ।

सत्तरी वसन्त पार गरेका बुवाले यसो भन्‍नुका आधार के होलान्, मलाई जान्‍ने हुटहुटी भयो । सोधेँ, ‘कसरी बुवा ?’उहाँ भन्‍नुहुन्छ, ‘धरतीमा रहेका प्राणीहरूमा मानिस सबैभन्दा बुद्धिमान् प्राणी हो, तर सबैभन्दा अविवेकी प्राणी पनि हो । मान्छेले विवेक पुर्याउँथ्यो भने सायद अहिलेको यो अवस्था आउँदैनथ्यो कि ?’ ‘कसरी ?’ मेरो जिज्ञासा ।

उहाँ भन्‍नुहुन्छ, ‘आजभन्दा १०/१२ वर्षअगाडिसम्म गाउँमा सबैका घरमा गाई-भैँसी हुन्थे । गोरसको हर्ज (खाँचो) हुन्‍न्‍थ्यो । गोरस त के गोबर नै पाइन छोड्यो अब गाउँमा । अहिले गाई-भैँसी पाल्ने घर शून्य छन् । बरु टोलैपिच्छे ब्रोइलर कुखुराका फार्म छन् । पछिल्लो केही वर्षदेखि सुनिँदै आएका रोग इबोला, सार्स, बर्डफ्लु, स्वाइन फ्लुहरू जनावरसँग मानिसको अति निकटता र सम्बन्धले नै निम्त्याएको हो । 

पृथ्वी सबै प्राणीको साझा थलो भन्‍ने हामीले बिर्सियौँ । हाम्रा गाईलाई मानिसलाई जस्तो सयौँ थरी रोग लागेको सुनिँदैन । ऊ पनि त प्राणी हो । उसले आफूलाई लागेको रोग अभिव्यक्त गर्न सकेन रे, लौ ठीकै छ । केही रोग हामीले थाहै पाएनौँ । तर, उसको व्यवहार–हाउभाउमा हामीले देख्‍न सक्छौँ होला । जनावरलाई जस्तो हामीलाई सयौँ रोगको डर छैन, किनकि उसको जीवन पद्धति प्राकृतिक छ । 

विज्ञानको विकासले मानव स्वास्थ्यमा थुप्रै सकारात्मक परिवर्तन देखापरेका छन् । तर शिक्षा-विज्ञानको विकासले हाम्रो जीवनशैली प्राकृतिक हुनुपर्नेमा झनै अप्राकृतिक र अमानवीय हुँदै गयो । आज कोभिडविरुद्धको खोप लगायौँ । लगाउनैपर्छ तर हाम्रो जीवनशैली यस्तै हिंस्रक, जे पनि मांसहार, असन्तुलित हुने हो भने आउने दिनमा यस्ता भाइरस कति आउलान् ? शरीरमा कतिवटा खोप खोप्‍ने ?’

बुवाले यसो भनेपछि घरमा एक्लै धुमधुम्ती बसेको मैले पनि केही सोचेँ । आखिर मान्छेले खोजेको खुसी हैन र ? असीमित चाहनाको पछि कुदेर कहाँसम्म पुग्‍ने ? सरकारले सार्वजनिक स्थानमा धूमपानलाई दण्डनीय मानेको छ । तर, सार्वजनिक स्थान मन्दिरमा लाखौँ जनावरको खुल्लमखुला घाँटी रेटिन्छ । के हत्या धूमपानभन्दा सानो अपराध हो ?

मैले केही तथ्यांक खोजेँ । तिनलाई आफ्नै शैलीमा यसरी लेखेँ—
१) पृथ्वीको कुल खेतीयोग्य जमिनको २६ प्रतिशत मासु प्रयोजनका लागि दाना उत्पादनमा प्रयोग हुन्छ ।
२) सन् १९६० को तुलनामा सन् २०२१ मा मासुखपत  ६०० प्रतिशतले बढेर  ३५० मिलियन टन पुगेको छ । जब कि यही अवधिमा जनसंख्या भने २६६ प्रतिशतले मात्र बढेको छ ।
३) सन् २०५० सम्ममा समुद्रमा समुद्री जीवहरूको तुलनामा प्लास्टिकको मात्रा बढी हुनेछ ।
र अन्त्यमा, म शाकाहारी हुँ । मेरो परिवारका चार जनाबाहेक ८ जना शाकाहारी हुन् । भवतु सब्ब मंगलम् ।
 


Author

विपिन आचार्य

व्यवस्थापनमा स्‍नातकोत्तर आचार्य दाङमा उद्यम गर्छन् ।


थप समाचार
x