अँध्याराको काम...
केपी शर्मा ओलीले गरेरै देखाए । पहिले नै भनेका थिए, ‘प्रतिनिधि सभा पुनःस्थापना हुँदैन । भयो भने म फेरि विघटन गर्छु ।’ र, हिजो शुक्रबारको मध्यरातमा गरे पनि । उनको तागत हिन्दीको एउटा उखानसँग मिल्दोजुल्दो देखियो । त्यो उखान हो, ‘जब सैंया भये कोतवाल तो डर काहे का ।’
अब यो करिब करिब उघ्रिसकेको छ । छ्यांग हुन मात्र बाँकी छ । हिजो सत्ता पल्टाउनेले नै आज यो खेल खेलिरहेका छन् । भएको यति मात्र हो, यतिखेर पात्र मात्र बदलिएका हुन् । एउटा पात्रको उपयोगिता सकियो । त्यसैले ऊ निरीह बनेको छ । अर्को बलवान । जुँगा मुसार्नुपर्ने या कुम हल्लाउनुपर्ने कुनै कुरा छैन ।
लेखकले आफ्नो प्लटअनुसार, कहिले कुन शब्द त, कहिले कुन शब्द प्रयोग गर्छन् । शब्दहरू जस्तै अभिव्यक्त हुनुपर्ने नियति बनेको छ, यिनीहरूको । कारण हो लोभ र दुर्बलता । तर हाम्रो अगाडि यी ‘माथबरी’ छन् । गाउँले भाषामा त्यस्तो मान्छेलाई ‘माथबरी’ भनिन्छ, जसले काम गरेर देखाउन सक्छ । काम गर्न सक्नेको नै खोजी हुने हो, अर्थात्, ‘माथबरी’को । ओली ‘माथबरी’ पात्र बनेका छन्, अहिले ।
यो क्रम जारी छ । र, चलिरहने देखिन्छ । त्यति बेलासम्म यो चलिरहन्छ, जबसम्म ओली ‘माथबरी’ बनिरहन सक्छन् । ‘माथबरी’ कसरी बन्ने ? यो प्रश्नको उत्तर ठ्याक्कै पाउन गाह्रो छ । किनकि शक्ति जहिले पनि गतिशील हुन्छ, परिवर्तित भइरहेको हुन्छ । जसले गर्दा ‘उपयोग आवश्यकता’ पनि बदलिइरहेको हुन्छ, विश्वको, क्षेत्रको, देशको र पात्रको ।
यही कारण हो हाम्रा राजनीतिक पात्रहरू त्यस्तो उपयोगिता देखाउने अवसर पाउन प्रतिस्पर्धा गरिरहेका छन् । यसै क्रममा दास मानसिकता जताततै पोखिएका छ । कुनै नौलो कुरो होइन यो । सधैँ पोखिएरै आएको हो । उपयोगिता सकिएपछि यो मानसिकताले मात्र पनि पुग्दैन । यहाँनेर हो गिरिजाबाबु नेपालको पहिलो राष्ट्रपति बन्न नसकेको । यो कुरा रातको जुन पोखिएको अनुहारमा देखिन्छ । त्यसैगरी दिउँसो पानी पोखिएको अनुहारमा पनि देखिन्छ । यी दुवै खाले सधैँ देखिएका अनुहारहरू घुमिरहेका छन्- शीतल निवासमा, बालुवाटारमा, सुविधा सम्पन्न बैठकहरूमा, रिसोर्ट या मध्यरातको चियामा ।
कहिलेकाहीँ चियाको कपमा आएको तुफानले पनि तुफानी रात ल्याउन सक्छ जब तीन ग्रह एउटै कक्षमा बस्छन् । ग्रहहरूले एकले अर्कोलाई कसरी हेरेका छन् त्यो महत्त्वपूर्ण हुन्छ । तर स्वामी ग्रह कहाँ बस्छ, त्यो निर्णायक हुन्छ । नेपालको राजनीतिमा तीन ग्रह नै पर्याप्त छन् । बीपी कोइरालाले एक पटक मसँग राजनीति यसरी अर्थ्याएका थिए- हेर, नेपालको राजनीतिलाई एउटा ट्रयाङ्गलबाट बुझ्नुपर्छ ।
ट्रयाङ्गलको एउटा बिन्दूमा हामी छौँ (नेपाली जनता), दोस्रोमा राजा छन् र तेस्रो बिन्दुमा विदेशी शक्ति छन् । राजालाई जबर्जस्ती हटाएपछि खाली भएको बिन्दूमा अहिलेको को छ ? सायद, त्यो पनि अर्को विदेशीले लागिसके । आजको छलफलमा यसको अन्तरसम्बन्ध, विश्लेषण, व्याख्या र खोज तर्फ नलागौँ । लागौँ मध्यावधि चुनावतिर ।
चुनाव होला या नहोला । यदि भयो भने कस्तो चुनाव हुने ? ओलीको यतिसम्मको हर्कत देखेका जो कोहीलाई पनि उनको भनाइमा, विश्वास गर्ने ठाउँ कम छ । चुनावबारे पनि उनले त त्यसरी नै बोल्नेछन् जसरी शीतल निवासमा आफ्नो प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नु भन्दा अगाडि बालुवाटार पत्रकार सम्मेलनमा बोलेका थिए, मार्गप्रशस्त गरेको छु नयाँ प्रधानमन्त्रीका लागि । प्रतिप्रश्न गर्दै उत्तर दिए, कोही आए त ? आए स्वागत गर्नेछु । तर देउवाले प्रधानमन्त्रीको दाबीका लागि १३६ भए पुग्नेमा १४९ सांसद संख्या पुर्याएको सुइको पाउनेबित्तिकै उनी मन्त्रणाका लागि शीतल निवास हान्निएका थिए ।
अब आफू प्रधानमन्त्री हुन सक्ने स्थिति नदेख्नेबित्तिकै मध्यरातमा मध्यावधि चुनावको घोषणा गराए । यो गैरसंवैधानिक छ । यस्तो अवस्थामा, यसरी मध्यावधि घोषणा गर्ने गराउने अधिकार प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई छैन । निष्पक्ष हुनुपर्ने राष्ट्रपति प्रधानमन्त्रीसँग संगठित भएको कुरा अब घाम जत्तिकै छर्लंग छ ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई कुरेको र त्यसैगरी राष्ट्रपतिले प्रधानमन्त्रीलाई कुरेको अवस्था रह्यो शुक्रबारको रात । ५ बजे बन्द हुने राष्ट्रपति कार्यालय मध्यरातसम्म खोलियो केवल मन्त्रिपरिषद्को निर्णयका लागि । मध्यरातमा मन्त्रिपरिषद्ले निर्णय गर्यो । त्यो निर्णय पर्खेर बसेकी राष्ट्रपतिले अनि संसद् विघटन र मध्यावधि चुनावको घोषणा गरिन्, आइतबारको बिहानको एक बजे । यो अत्यन्त ‘समन्वयात्मक निर्णय’ हो । निश्चित रूपमा मिलेमतोको निर्णय हो । यो असंवैधानिक र गर्नु नहुने काम हो भनेर दुवैलाई जानकारी छ । तर दुवै मिलेर ‘अवैधानिक प्रधानमन्त्रीको असंवैधानिक’ काम फत्ते गरेका छन् ।
जबर्जस्ती गर्ने मान्छेसँग के लाग्छ ? कवि भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बनेका यी ‘वीर भएका बुद्धुलाई, बुद्धु भएका वीरलाई’ के भन्ने ? मूर्खसँग दैव पनि डराउँछ । हो, घोषणा गराउनुअघि दिउँसो पत्रकार सम्मेलनमा बोले जस्तै गरी फेरि बोल्नेछन् ओलीले, ‘चुनावमा जाने त अवसर हो । स्वतन्त्र निर्वाचन आयोग छ । म आफैँ लोकतन्त्रका लागि लडेको मान्छे । निष्पक्षतका लागि सरकार प्रतिबद्ध छ । त्यसैले स्वच्छ र धाँधलीरहित चुनाव हुने कुरामा शङ्का गर्नुपर्ने कुनै ठाउँ नै छैन ।’
सबैले भाग लिएर चुनाव सम्पन्न भएको अवस्था बन्यो भने र उनले जिते भने त लोकतन्त्रको विजय भएको र संविधान सुरक्षित भएको घोषणा गर्लान् । उनी हारे भने अनि के हुने ? फेरि यस्तै खाले अनिष्ट अवतरण हुने बोलियो अनुमान गर्न सकिन्छ । ‘सिस्टम’ बलियो भएर मात्र हो, नत्र अमेरिकामा ट्रम्प हट्ने थिएनन् । तर त्यहाँ पनि धेरैले सोचेजस्तो ‘सिस्टम’ अझ त्यति बलियो रहेनछ ।
चुनाव हारेपछि र सबै कानुनी युद्ध पनि हारेपछि ट्रम्पले अझ सक्कली स्वरूप देखाए आफ्नो ‘कल्ट’ राजनीतिको । योजनाबद्ध रूपमा आफ्ना समर्थकहरू जम्मा पारे । भीडलाई अझ उत्तेजित पार्दै भने, ‘जाऊ तिमीहरू म त्यहाँ हुनेछु ।’
यसरी स्वतन्त्रता र प्रजातन्त्रको विम्ब भनेको क्यापिटल हिलको संसद् भवनमा आक्रमण गर्न लगाए । र, सत्ता नै खोस्ने प्रयास गरे अर्को चुनावका लागि । तर सफल भएनन् र सत्ताबाट विधिवत् हटे । सिस्टमले बचायो । तर सिस्टमले उनलाई महाभियोग लगाउन सकेन ।
र, अझै उनी फ्लोरिडाको मारालगो रिसोर्टमा बसेर कुनै पदमा नभएर पानी पार्टी हाँकिरहेका छन् । अब्राह्म लिंकन, जसले १८६१ को गृहयुद्धबाट अमेरिकालाई टुक्रिनबाट जोगाए । उनले स्थापना गरेको रिपब्लिकन पार्टी एउटा व्यक्तिको सनकमा चलिरहेको छ । नेतृत्व पंक्तिमा बसेकाहरूलाई उनले सातो उडाएर राखेका छन् ।
यो अँध्याराको काम, खोलाको गीत भएको छ । यो नेपाली उखानको अर्थ हो- व्यर्थ । म त भन्छु व्यर्थ मात्र होइन, अनर्थ हो । अचानाको चोट खुकुरीले जान्दैन । यस्तै अनर्थ गर्नसक्ने नै ‘माथबारी’ पात्र बनेका छन्, यहाँ जसरी ओली बनेका छन् ।
‘कल्ट’ राजनीतिको यस्तो स्वरूप बन्न सक्छ, विश्वको बलियो ‘सिस्टम’ भएको शक्तिशाली मुलुकमा पनि जहाँ बाहिरी प्रभाव केही छ भने सतही मात्र छ । हामीकहाँ त निर्णायक मात्र होइन, अर्थ-राजनीतिलाई भेदन नै गरिसकेको छ बाहिरबाट । ओली आफ्नै पाराको ‘कल्ट’ राजनीतिमा छन् । उनको यो मोह सुरुदेखिकै हो ।
झलनाथ खनालसँग पार्टी अध्यक्षमा हार्दा उनले सार्वजनिक रूपमा बोलेको यो कुरामा ठम्याउन सकिन्छ, ‘मलाई केही छैन । तर एमाले र मुलुकले एउटा सक्षम नेतृत्व पाउने अवसर गुमायो ।’ त्यो मोह हुर्किंदै ‘एमाले भनेकै ओली र ओली भनेकै एमाले’ बनेको अवस्था छ । र, उनको अहिलेको प्रयास जुन देखिएको छ त्यो ओली भनेकै नेपाल र नेपाल भनेकै ओली भन्नेतिर केन्द्रित छ ।
यो उद्गम भएको छ, त्यही मोहबाट । प्रधानमन्त्री बन्ने केवल म मात्र हुँ अरू होइन भन्ने मानसिकताबाट निसृत जालझेल, धूत्र्याइँ, फट्याइँ र बेइमानीको परिणति बनेर यो दोस्रो पटकको मध्यावधि चुनाव आएको छ । र, यस क्रममा संविधान छलनी मात्र होइन प्रायः मृत्युवरण गराएको छ । दुई छिमेकी राष्ट्रबीच ‘पिङ खेलेर’ सत्ता राजनीति गर्दैआएका ओलीले भारतसँगको दाउपेचको प्रतिफल बनेर निस्केको चुच्चे नक्साको कारण भारतलाई यो संविधान जसरी पनि फाल्नु परेको छ ।
राजावादीहरूको बुझाइमा यो संविधान फाल्ने जिम्मा ओलीले पाएका छन् । जसले जे भनून्, एउटा कुरा चाहिँ निश्चित हो । त्यो हो, राजतन्त्र फालेको नेपाली जनताले नभएर विदेशी गठबन्धनको प्रयासले हो । गिरिजाबाबुलाई राष्ट्राध्यक्षको जिम्मेवारी लिने कुनै अधिकार नै थिएन । जबर्जस्ती गरे उनले जसरी ओलीले गरेका छन् । यो संविधान फालिएर फेरि राजा आए भने सेन्ट्रल स्टेजमा आउन सकिन्छ कि भन्ने सपना बोकेका छन् पूर्वपञ्चहरूले । ओली भन्थे नि एक पटक- मैले सपना देख्न पाउनुपर्छ । २० संसद् संख्याको भरमा दुई पटक एमाले-कांग्रेसको घोडा चढेर सरकारको नेतृत्व गरेको उनीहरूले कसरी बिर्सन सक्छन् र ? आ-आफ्नो सपना सबैले देखून् तर यतिखेर भने सबैले मुलुकको सपनामा देख्नुपर्ने बेला आएको छ ।
मुलुक अत्यन्त कमजोर अवस्थामा छ । राष्ट्रपतिको कोठामा राखेको करोडौँको गलैँचामा यो देखिँदैन । न देखिन्छ, राष्ट्रपति सवारी हुँदा बजेका साइरन र खाली सडकमा दौडेका चिल्ला गाडीहरू लर्कोमा । नवउपनिवेशवादी अर्थतन्त्रमा रूपान्तरित हुँदै जाँदा ‘रेमिट्यान्स’को पैसामा आयात बढाएर त्यसबाट प्राप्त राजस्वबाट सरकार चलेको छ ।
मैले यसलाई ‘सुकुलगुन्डा अर्थतन्त्र’ भन्ने गरेको छु । जे÷जति संस्थागत तागत थियो त्यो ओलीको आफूमुखी पार्दै लगेर आफ्नो प्रभाव जमाउने प्रयासले गर्दा ध्वस्त भएको छ । समग्रमा भन्नुपर्दा हाम्रो मुलुक नाजुक अवस्थामा छ अहिले । अबको राजनीति भनेको नेपाली नागरिकता कसले कति बढी भारतीयहरूका लागि बाँड्न सक्छ त्यसैमा अडेको छ ।
अहिलेको यो नाटकमा लैनचौर, बालुवाटार र शीतल निवासबीचको समन्वय महन्थ ठाकुर र राजेन्द्र महतोले गरिरहेका छन् । बाँकी सब तपसिल ठानिएको छ । कोरोना भइरसले टिक्न ‘म्युटेसन’ गरेर स्वरूप बदले जस्तो ओली टिक्न जुनसुकै स्वरूप बदल्न र जेसुकै कर्म गर्न पनि तयार छन् । असन्तुलनका लहर अझ बढ्दै जाने देखिन्छ । मुलुक यसरी अझ असन्तुलित हुँदै गएमा टुटफुट हुन सक्छ । व्यक्ति लहड परिपूर्ति गर्ने क्रममा असन्तुलित हुँदै जाँदा टुटफुट भएका मुलुकहरू विश्व इतिहासमा थुप्रै छन् ।
कोभिडले आक्रान्त छ मुलुक । लकडाउनमा थुनिएका छन् जनता । वृद्धहरूलाई दोस्रो खोपसम्म दिलाउन सक्दैन यो सरकार । दिन्छ गफ र राजनीति मात्र । अक्सिजन दिएन । नेपालीहरू मरिरहेका छन् । तर ‘संविधानमाथि प्रधानमन्त्री र राष्ट्रपतिको जालसाजी’को परिणति बनेर आयो यो मध्यावधि चुनाव ।
त्यसैले यो अँध्याराको काम, खोलाको गीत भएको छ । यो नेपाली उखानको अर्थ हो- व्यर्थ । म त भन्छु व्यर्थ मात्र होइन, अनर्थ हो । अचानाको चोट खुकुरीले जान्दैन । यस्तै अनर्थ गर्नसक्ने नै ‘माथबारी’ पात्र बनेका छन्, यहाँ जसरी ओली बनेका छन् ।
यस्तो पात्र को स्वार्थको प्रवाह र अन्तको स्वार्थ, जुन साउने खोलाको भेल जस्तो भएर आएको छ, यी दुई मिलेर बनेको दोभानमा फोहोरको डुंगुर र भंगालाहरू अनवरत निस्किरहेका देखिन्छन् । यसले नेपाली जनताको बाँच्ने आधार र यस मुलुकको संवेदनशीलता ध्वस्त पार्ने कुरामा कुनै शंका छैन । प्रधानमन्त्री र राष्ट्रपति मिलेमा जे पनि गर्न सकिने अत्यन्त असुरक्षित अवस्था बनेको छ अहिले नेपालमा । यो कुनै पनि हालतमा रोकिनुपर्छ ।
त्यसैले -
नेपालीहरूको अब उठ्ने बेला हो मुलुक जोगाउन !
जाग्ने बेला हो राष्ट्र बचाउन !!
असङ्गठित आवाजहरू आगोको मुस्लो बनेर निस्किने बेला हो नेपाल, हाम्रो साझा चोकको सुरक्षा गर्न !!!
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया