विचार

लोकतन्त्र, राजा महेन्द्र र मेरो अज्ञानता

नारायण प्रसाद मिश्र |
भदौ १५, २०८० शुक्रवार २१:२७ बजे

अनुभवले मानिसलाई बुद्धिमान बनाउँछ, अभ्यासले मानिसलाई निपुण बनाउँछ भन्ने कुरा मान्छेहरूले प्राय: भन्ने गरेको कुरा हामी सुन्छौँ । हामी केटाकेटी हुँदा साधारणत: यो कुरामा हाम्रो राम्रो ध्यान जाँदैन र  यो कुरा हामी कमै बुझ्छौं । जवान छँदा पनि यसमा हाम्रो उतिको ध्यान जाँदैन । हामीलाई लाग्दछ कि हामी पुरापुर  बुद्धिमान छौं र जीवनको बारेमा धेरै कुरा हामी जान्दछौं । हामी सबैको हुर्कने, बढ्ने र जीवन बिताउने तरिका यही हो । हामी जन्मले सबै कुरा सिक्दैनौँ, जान्दैनौँ । यही क्रममा जब हाम्रो शारीरिक विकास हुँदै जान्छ सोही किसिमले  हाम्रो वल, बुद्धि, विवेक पनि बढ्दै जान्छ ।  हाम्रो बितेको जीवनलाई फर्केर हेरी जब यसबारे हामी गम्भीरतापूर्वक सोच्छौँ अनि हामी यी सबै कुरा महसुस गर्छौं । यसबाहेक, जव हामी कुनै पनि कुराको कुनै पनि राजनैतिक धार्मिक वा अन्य कुरा सम्बन्धी सिद्धान्तको अन्धविश्वासी वा पिछलग्गु नभई पवित्र आत्मा र स्वतन्त्र विवेकले अन्तस्करणलाई साक्षी राखी विचार गर्छौ त्यो बेला हामीलाई बढी सत्यको बोध हुँदै जान्छ ।      

यस सन्दर्भमा, म सधैं १९६० को राजा महेन्द्रको शाही कदमको बारेमा रहेका मेरो नकारात्मक विचारहरू सम्झने प्रयास गर्छु । सन १९५९ मा जब हामी कहाँ देशको पहिलो आम चुनाव भयो, म त्रिचन्द्र कलेज, काठमाडौंको विद्यार्थी थिएँ । नेपाली कांग्रेस पार्टीका सर्वोच्च नेता श्री विशेश्वरप्रसाद कोइरालालाई भक्तपुरमा चुनावी अभियानको क्रममा बोल्न आउँदा मैले देखेको थिएँ । सो कार्यक्रम मैले अध्ययन गरेको श्री पद्म हाई स्कूलको हातामा भएको थियो । उहाँ हेर्दा पनि राम्रो,फुर्तिलो, आकर्षिलो, मृदुभाषी, राम्रो व्यक्तित्व भएको एक सम्मानित नेता हुनुहुन्थ्यो । त्यो बेला उहाँले प्रजातन्त्र, लोकतन्त्रको महत्त्व र जनताको हितका लागि गरिन पर्ने महत्वपूर्ण कामहरू बारे आफ्नो पार्टीको धारणा  राम्रोसँग प्रस्तुत गर्नु भएको थियो ।  उहाँको भाषणबाट म प्रभावित भएको थिएँ । फेब्रुअरी १८ देखि अप्रिल १९५९ सम्म भएको निर्वाचनमा संसदको तल्लो सदन प्रतिनिधिसभाका १०९ सिटमध्ये ७४ सिट जितेर २७ मे १ ९ ५ ९ मा उनी देशको प्रधानमन्त्री बने । उनले सरकार गठन गरेकोमा म खुसी भएको थिएँ र अब देशको विकास हुने आशा गरेको थिएँ । उनको भाषणको प्रस्तुतिमा पनि देश विकासको राम्रो चित्र थियो ।


प्रधानमन्त्री कोइराला सबै कुराको हिसाबले राम्रो भए पनि जनताले चाहेअनुसार उनको सरकारले नतिजा दिन सकेन । उनको शासनकालमा अन्य धेरै नकारात्मक कुराहरू भन्दा पनि मेरो विचारमा उच्च शिखरमा नातावाद, कृपावाद र पक्षपात हाबी हुन गयो । आम जनताको सट्टा पार्टीका नेता, अनुयायी, आफन्त र साथीहरू मात्र लाभान्वित भए । उनीहरूको दबदबा असहय देखियो । सबै सुख सुविधा पार्टीका नेता र कार्यकर्ताहरूको लागि मात्र हुन गयो । जुन हामी आजकल हाम्रो मुलुकमा देख्छौं । शासन प्रशासनमा पुगेका कांग्रेस कम्युनिष्ट पार्टीका नेताहरूबाट भोगिरहेका छौँ । साधारण जनताको अधिकार कहीँ पनि स्थापित नभएको, सबै कुरा शासनमा पुगेका दलहरूका नेता कार्यकर्ताहरूको मात्र हुन गएको महसुस गरिरहेका छौँ । उ बेला यसरी नै जनताको आशा निराशामा परिणत भएको थियो । त्यो पार्टी प्रणालीको विशेषता, आवश्यक खराबी हुन सक्छ, किनभने हाम्रो जस्तो विकासोन्मुख देशमा पार्टीले पार्टी सञ्चालन गर्न आफ्ना अनुयायी र नजिकका आफन्तहरूको स्वार्थमा बढी ध्यान दिनु पर्छ । अन्यथा, आफ्नो र आफ्नो नातागोताको स्वार्थ मात्र हेर्ने हाम्रो जस्तो मुलुकको समाज र संस्कारमा  कुनै पनि व्यक्ति, व्यक्तिगत फाइदा बिना पार्टीका समर्पित अनुयायी वा कार्यकर्ता हुँदैनन् । मनपर्ने पार्टीको सदस्य, नेता, कार्यकर्ता बनी आफूलाई मन पर्ने राजनीतिक दर्शनको लागि विकसित देशहरूमा जस्तै स्वेच्छाले सेवा गर्ने कमै  हुन्छन् । आर्थिक लाभ, उच्च पद, जागिर, व्यापार व्यवसायमा फायदा आदि, इत्यादिको आशामा तिनीहरू पार्टीका  सिपाही बन्छन् । त्यसको कारणले गर्दा, बीपीले बाध्यताले नातावाद कृपावाद र पक्षपात विरुद्ध आफ्नो आँखा बन्द गर्नुपरेको होला भन्ने मलाई लाग्छ । यही कारणले बहुसंख्यक जनता बीपीको कांग्रेसी सरकारसित  खुसी थिएनन् । 

अर्कोतर्फ, चुनाव हारेका अन्य दलका  नेताहरू - टङ्क प्रसाद आचार्य (नेपाल प्रजा परिषद्), डा के.आई. सिंह (संयुक्त प्रजातंत्र पार्टी), डा डिल्लीरमण रेग्मी (नेपाली राष्ट्रिय कांग्रेस), भद्रकाली मिश्र (नेपाल प्रजा परिषद, (मिश्र), रंगनाथ शर्मा (लोकतान्त्रिक महासभा), डा केशर जंग रायमाझी (नेपाल कम्युनिष्ट पार्टी)), वेदाननन्द झा (तराई कांग्रेस), रणधिर सुब्बा (गोरखा परिषद) ले सरकार विरुद्ध निकै आवाज उठाइरहेका थिए । देश राम्रो अवस्थामा थिएन ।  राजा महेन्द्रले १५ डिसेम्बर १ ९ ६० का दिन निर्वाचित सरकारबाट देशको हितभन्दा अहित भइरहेको कुराहरूको विवरण र विभिन्न आरोप, आक्षेप साथ   आफ्नो असाधारण अधिकार प्रयोग गरेर शाही अधिकार प्रयोग गरी संसद विघटन गरे । उनले देखाएको देशको खराब अवस्था लगभग देशको वर्तमान अवस्था जस्तै थियो । त्यो दिनको उनको तलको भाषण पढेर यो कुरा तुलना गर्न सकिन्छ ।

उ बेला म एक भर्खरको जवान र त्यो समयमा रहेको संसदीय व्यवस्था र प्रजातन्त्रको दृढ प्रेमी थिएँ । म  एक प्रजातन्त्रवादी थिएँ । जनताको मतले विजय भएका उ बेलाका बहुदलीय नेताहरूमा मेरो ठूलो विश्वास र सम्मान थियो । जनताबाट निर्वार्चित नेताहरूमा मेरो ठूलो श्रद्धा थियो । त्यस मध्य पनि निर्वाचित सरकारमा मेरो ठूलो आस्था र विश्वास थियो । अर्कोतर्फ  उ बेलाको मेरो विचार अनुसार,, राजा र रानी, कुनै किसिमको दुःख बिना आधार चयन हुने वंशानुगत आसीन हुने व्यक्ति थिए । त्यस कारण  तिनीहरू मेरो मनपर्ने पदवीका थिएनन् ।   हामीले सानो काम पाउनको लागि पनि  योग्यता, दक्षता,सीप, कला भएर पनि धेरै दुःख मेहेनत गरी प्रतियोगितामा भाग लिई उतीर्ण भई हामी सफल हुन पर्ने अर्को तिर राजा रानी वा यिनका नातेदारहरू जन्मजात उच्च सर्वोच्च पद मान सम्मानमा पुग्ने, रहने भन्ने कुरा कसरी न्यायोचित हुन्छ भन्ने विद्रोही चित नबुझ्दो भावना  मेरो साधारण समझमा रहेको थियो ।

हाम्रो जस्तो दुई भिन्ना भिन्नै राजनैतिक व्यवस्था भएका विश्वका दुई ठूला राष्ट्रहरू  बीच रहेको हाम्रो मुलुकमा राजनैतिक रङ्ग र विचारबाट अलग तटस्थ निष्पक्ष राज संस्थाको महत्व छ भन्ने कुरा मेरो बुद्धिमा बसिसकेको थिएन । धेरै धर्म, भाषा, जातजाति, संस्कार भएको हाम्रो जस्तो मुलुकमा एकता कायम गरी राज्यसत्ता. चलाउन एकताको प्रतीकको रूपमा राज संस्थाको उपयोगिता छ भन्ने कुरा पनि मेरो बुद्धिको बाहिरनै थियो । सबैको विश्वास जिती राष्ट्रलाई अघि बढाउन नेतृत्व दिन सक्ने भारतको महात्मा गांधी, पाकिस्तानको महमद अलि जिन्हा, चीनको माउत्सेतुङ वा अफ्रिकाको नेल्सन मण्डेला जस्तो राष्ट्रिय नेता भइनसकेको हाम्रो देशमा परम्परागत व्यवस्था अनुसार रही आएको आदर, आस्था र शक्तिको संस्था, राज संस्थाको उपायदेयतामा मेरो ध्यान गएको पनि थिएन । एकातिर बढी अशिक्षित समाज, अर्को तिर सरकार चलाउने दायित्वमा पुगेपछि पार्टी र पार्टीका कार्यकर्ता मात्र होइन,  समस्त जनताको हित हेर्ने नेता र सरकारको संस्कार बसिनसकेको हाम्रो जस्तो देशमा पार्टीबाट निर्वाचित राष्ट्रपति भन्दा परम्परागत राजसंस्थाबाट निस्पक्ष भूमिका अपेक्षा गर्न सक्ने विचार पनि ममा थिएन । अर्थात् मेरो अनुभव र विचार पाको भइसकेको थिएन । मैले जीवनमा  धेरै कुराहरू सिक्न, हासिल गर्न र अनुभव गर्न बाँकी थियो । यी विचारहरूको आधारमा, मैले राजा महेन्द्रको शाही कदम पनि हेरें र उनले आफ्नो इच्छा पूरा गर्न आफूलाई अझ शक्तिशाली बनाउन  त्यो कदम चालेको हो भन्ने कुरानै मेरो मनमा गयो । संसद विघटन र निर्वाचित सरकार अपदस्थ गर्न परेकाको जेजस्तो कारणहरू राजाले भाषणमा देखाए पनि त्यो त्यस्तो होइन होला भन्ने मैले सोचेको थिएँ ।

केही समयपछि राजाले निर्दलीय पञ्चायत व्यवस्था ल्याए । र विद्यमान राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाए । साथै, उनले देशको विकास र कल्याणका लागि राम्रो योजना र कार्यक्रम, धेरै उद्योग स्थापना, सडक र पूर्वाधार निर्माण, भूमि सुधार प्रणाली आदिको साथ साथै धेरै काम गरे र देखिने गरी, धेरैको जीवनमा राम्रो प्रभाव पार्ने गरी देशको विकास गरे । उनको काम र योगदान प्रशंसनीय थियो । तर पनि एक राजनैतिक शास्त्रको विद्यार्थीको नाता र ज्ञानले, राजनैतिक दल बिना प्रजातन्र नहुने मेरो अपरिपक्व धारणाले उनले ल्याएको प्रजातात्रिक पन्चायत व्यवस्थामा   राजनीतिक दलको अभाव भएकोले मैले यसलाई प्रजातान्त्रिक व्यवस्था भनी स्वीकार्न सकिँन । मैले यस्तो विचार राखी मैले आफूलाई पूर्ण रूपमा बुद्धिमानी सम्झेको थिएँ । किनभने त्यसबेला मेरो सोच र ज्ञानको सीमा यो नै थियो । कुनै दलको सदस्य र राजनीतिमा म नभएर पनि यै मेरो बुद्धि र विचारले राजा महेन्द्रको प्रशंसनीय योगदान र उपलब्धिहरू हेर्नको निमित्त मेरो आँखा बन्द भएको थियो । 

राष्ट्रपति लिन्डन बी जोन्सन र संयुक्त राज्य अमेरिकाका लेडी बर्ड जोन्सनसँग राजा महेन्द्र र रानी रत्न 

म राजनीतिक व्यक्ति होइन । पञ्चायत राजनीतिको लागि मैले कहिल्यै कुनै किसिमको  काम गरेको थिइँन । छैन । पन्चायत वा पन्चहरूसित मेरो कुनै सम्बन्ध र संलग्नता थिएन । जीवनमा कहिल्यै म राजनीतिमा लागेको छैन । निर्दल वा बहुदल कुनै पनि राजनीतिक दलहरूमा म सामेल भइन र भएको छैन । मैले मेरो जागिरे कामको जीवनकालमा पाँच वर्ष सरकारी कार्यालयहरूमा र बाँकी सम्पूर्ण जीवन त्रिभुवन विश्वविद्यालयमा बिताएँ । हामी दुवै शुद्ध पवित्र जागिरे व्यक्तिहरू थियौँ । राजनीति हाम्रो सरोकारको विषय थिएन । मेरी श्रीमती र म, दुवै राष्ट्रका समर्पित नागरिक थियौं । सन् १ ९९ ० को आन्दोलनपछि पञ्चायत व्यवस्थाको पतन पछि म त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयको प्रमुख थिएँ । मेरी श्रीमती शान्ति मिश्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्रमुख थिइन् । हामी इमान्दारीपूर्वक आफ्नो काममा दत्तचित्त भई मुलुक र जनता सर्वोपरी राखी सेवा कार्यमा लागेका  थियौँ ।

यही बेला गिरिजाप्रसाद कोइराला, बहुदलीय लोकतन्त्र नेपालको निर्वाचित प्रधानमन्त्री बने । उनले आफ्नो ठान्ने आसेपासेहरू मध्यबाट आफ्नो अघोषित कार्यकर्ता, दल समर्थक केदार भक्त माथेमालाई उपकुलपति नियुक्त गरे । उनले नियुक्त गरेका उपकूलपति माथेमाले हामीलाई विश्वविद्यालयबाट बाहिर धकेले  र २०४९ साल भाद्र १ गते हामी दुवैले विश्वविद्यालयमा हाम्रो जागिर गुमायौं जसरी हजारौं सरकारी कर्मचारीहरूले त्यस समयमा गुनाएका  थिए । हामीले नयाँ लोकतन्त्रको यो तीतो स्वाद अनुभव गर्यौं । यो सरकारले राजा महेन्द्रले स्थापना गरेका धेरै उद्योगहरू पनि बन्द गरी बिक्री गरी खायो । अहिले हामीले विगत ३२ वर्षदेखि बहुदलीय लोकतन्त्रको अनुभव गरिरहेका छौं । यो अनुभवबाट  संसदीय व्यवस्था र राजनीतिक दल प्रणाली मात्र लोकतन्त्रको कसी होइन भन्ने कुरा अहिले हामीलाई स्पष्ट भएको छ । राजनीतिक दल र संसदीय व्यवस्था भन्दा बढी समानता र न्याय नै लोकतत्रको संस्कृति हो र हुनपर्ने हो भन्ने कुरा पनि स्पष्ट भएको छ । यदि राजतन्त्रात्मक पद्धति र प्रणालीमा पनि न्याय र समानता समावेश र सुरक्षित  छ त्यो नै माथि हामीले भोगेको बिना दोष जागिर गुमाएको गिरिजा र केदार भक्तको नाम मात्रको लोकतन्त्र भन्दा उत्कृष्ट लोकतन्त्र हुन सक्ने कुरा अनुभव भएको छ । त्यसैगरी, राजा र रानीहरू पनि संवैधानिक रूपमा लोकतन्त्रात्मक प्रणाली र नियम कानून र संस्कृतिमा बाँधिएका  छन् भने वर्तमान दलहरूद्वारा समर्थित र निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिहरू भन्दा बढी लोकतान्त्रिक हुन सक्छन् र मुलुकको लागि बढी उपयोगी हुन सक्छन् भन्ने ज्ञान पलाएको छ ।  नेपालको १९६० भन्दा पहिलेको राजनीतिक इतिहास, पञ्चायत व्यवस्थाको अवधि, र वर्तमान बहुदलीय प्रणालीको मेरो ८२ वर्षको जीवनको भोगाइ र अनुभवबाट मलाई आज यो ज्ञान पलाएको हो ।   । मेरो जीवनभरको अनुभवबाट मलाई आज यस्तो लागेको छ । मेरो अनुभवको कमी र अज्ञानताको कमजोरीले राजा महेन्द्रबाट भए गरेका अविस्मरणीय प्रशंसनीय सत्कार्यहरू  मैले देख्न नसकेको र बुझन नसकेको आज मलाई महसुस हुन्छ ।  अहिले आई मलाई लाग्छ कि त्यो मेरो अनुभव र ज्ञानको कमजोरी थियो जुन मसँग त्यो समयमा मेरो जवानी मात्र मसँग थियो ।  अर्को शब्दमा, त्यो मेरो उमेर र समयको कमजोरी थियो । अभ्यासले मानिसलाई निपुण बनाउँछ, अनुभवले मानिसलाई बुद्धिमानी बनाउँछ भन्ने अंग्रेजी कहावत र भनाइको  वास्तविक  अर्थ अहिले मात्र मैले राम्रो बुझेको  मलाई अनुभव भएको छ । यसै सिलसिलामा छोटो जीवन लिई आएका हामी जस्ता मनुष्यले संसारमा जीवन यापनको लागि आफ्नो अनुभवले उमेर ढल्दै पछि पछि मात्र अनुभव र ज्ञान सिक्दै जानु भन्दा अरु अरुको ज्ञान र अनुभवबाट सिक्न सके बढी फाइदा हुने रहेछ ।  

 [email protected]

 


Author

थप समाचार
x