विचार

ओलीलाई स्वेच्छाचारी बनाउनेहरू...

विनोद भण्डारी |
जेठ १४, २०७८ शुक्रबार १५:३८ बजे

इतिहास साक्षी छ, तानाशाहहरू हिंसा वा शक्तिको सहाराले मात्र उदाउँदैनन् । लोकतान्त्रिक विधि वा जनमतबाटै कतिपय सत्तामा पुग्छन् र त्यही विधिलाई कुल्चँदै स्वेच्छाचारी बन्छन् । प्रधानमन्त्री ओली जननिर्वाचित नेता भएकाले इतिहासतिर भेटिने कठोर तानाशाहजस्तो दुरुस्तै नभए पनि त्यस प्रवृत्तिका बाछिटाहरूले भिजेका छन् भन्न सकिने ठाउँ उनी आफैँले सृजना गरे । 

संसद्को पटकपटक विघटन, राजनीतिक लाभ लिन अध्यादेशको गलत प्रयोग, महामारीबारे लादिएको आफ्नै ‘थ्योरी’ र पछिल्लो समय राष्ट्रपतिमार्फत गरिएको संविधान र कानुनी प्रावधानहरूको उल्लंघनको शृंखलालाई हेर्दा उनमा स्वेच्छाचारी प्रवृत्ति हाबी भएको सहजै अनुमान गर्न सकिन्छ । ओलीलाई विधि बिर्संदै तानाशाही पथमा अगाडि बढ्न सघाउने आफ्नै हठी स्वभावबाहेक अरु धेरै ‘क्याटलिस्टहरू’ पनि जिम्मेवार छन् ।


कार्यकर्ता
ओलीमा भएको वाक्पटुताले कार्यकर्ताहरूलाई उनीतिर आकर्षित गर्न जबर्जस्त भूमिका खेल्यो । सयौँलाई आफ्ना कुरामा सहमत बनाउन सक्ने वाक् क्षमतालाई एक कुशल नेतामा हुनुपर्ने सुन्दर गुण मानिन्छ । ओली यसमा अब्बल पहिलेदेखि नै थिए, साथमा थियो अलिकति छुच्चोपना र ठट्टा मिसिएको फरक शैली । तर तत्कालका आवश्यकता पन्छाएर भावी योजनाबारे एकोहोरो वर्णन र तथ्यहीन निष्कर्षहरू बोल्दा समेत उनको यही फरक शैलीकै कारण कार्यकर्ताहरूले वाहवाही गर्न बिर्सेनन् । राम्रा कुरा भनिरहँदा ताली बज्नु ठीकै थियो तर उनका हरेक वाक्यमा तालीको वर्षा हुँदै गयो, चाहे ती अव्यावहारिक वा अप्रमाणित किन नहुन् । यस्तो वाहवाही भएपछि ओली थप हौसिए । वाहवाहीको सिलसिला रोकिएन ।

केही उदाहरण 
प्रधानमन्त्रीले पानीजहाजको कुरा गरे । कार्यकर्ताहरू खाल्टाखुल्टी भएको सडकबाट घन्टौँ यात्रा गर्दै ओलीको कार्यक्रममा आएर ताली बजाए । ओलीले काठमाडौँमा धुलो–धुवाँ छैन भने । तर सडकमा मास्क लगाएर भए पनि उनीहरूले त्यस्तो त होइन है भन्न सकेनन् । ओलीले भारतले आफूलाई अपदस्थ गर्न लाग्यो भने । कार्यकर्ताहरूले उनीजस्तो राष्ट्रवादीले भनेपछि पक्कै हो भने । 

भारतकै एक पत्रकारलाई बोलाएर प्रश्न सोध्न लगाएर लामो प्रवचन दिए । कार्यकर्ताहरूले ‘क्याबात’ नभन्ने कुरै भएन । पूर्ण योजनाविनै सयौँ परियोजना उद्घाटन गरे । कोरोनाको त्रासबीच उनीहरूले सामाजिक सञ्जालमा ‘देख्यौ त ओलीको विकास ?’ भनेर लेखे । ओलीले हाच्छिउँ गरेर कोरोना भगाइदिनुपर्छ भने । उनीहरूले ओलीले भनेपछि गलत त हुनै सक्दैन भन्ठानेर केही बोलेनन् । 

ओलीले नेपालीको इम्युनिटी बलियो छ भने । उनीहरूले बढ्दै गइरहेको कारोनाको त्रासबीच ‘आइ लभ यू ओली बा’ भनेर र्याली निकाले । 

ओलीले बेसार–पानी र तातो पानी सबैभन्दा ठीक हो भने । उनीहरूले डाक्टरको सुझावअनुसार स्यानिटाइजर किनेर घरमा ल्याए तर यस्तो कुरा तिमीले भन्ने होइन, डाक्टरहरूलाई छाडिदेऊ भन्ने हिम्मत गरेनन् । ओलीले नेपालीको इम्युनिटी बलियो छ भने । उनीहरूले बढ्दै गइरहेको कारोनाको त्रासबीच ‘आइ लभ यू ओली बा’ भनेर र्ली‍या निकाले । 

खाँचो अक्सिजन, भेन्टिलेर, आईसीयू र अस्पतालको बेडको थियो । ओलीले सम्मेलन केन्द्र उद्घाटन गरे । उनीहरूले ‘विकासको पर्याय हुन् ओली, देख्यौ त’ भने । 
वास्तवमा ओलीलाई स्वेच्छाचारी बन्न उक्साउने तिनै ‘उनीहरू’ पनि हुन् । ‘उनीहरू’ अर्थात् भक्तिभावले भरिएका कार्यकर्ता । त्यस्तै समर्थकहरू अन्य दलमा पनि नभएको चाहिँ होइन । 

कोरोनाको संक्रमण जोखिम उच्च रहेकै बेला प्रधानमन्त्रीले सीएनएनलाई दिएको अन्तर्वार्तामा भन्छन्, ‘नेपालमा कोरोना महामारी नियन्त्रणमै छ ।’ केही दिनपछि बेलायतको ‘गार्डियन’ पत्रिकामा लामो लेख उनैले छपाउँछन्, जसमार्फत नेपालमा संक्रमण रोक्न र त्यसबाट जोगिन अन्तर्राष्ट्रिय सहयोगको याचना गर्छन् । उनी बारम्बार असंगत कुरा गर्छन् तर कार्यकर्ताहरू साइबर सेनाका रूपमा हरेक नमिल्दो कुराको पनि बचाउ गर्न पहिले नै तयारी अवस्थामा तैनाथ भइहाल्छन् । 

चाप्लुसीमा चुर्लम्म डुब्नेहरू
सोर्स लगाएर नियुक्ति खाने वा जागिर खाने गलत थिति धरै अगाडिदेखिको हो, जसलाई हरेक राजनीतिक दलले आफू सरकारमा हुँदा पदको दुरुपयोग गरेर मलजल गरे । कार्यकर्ताहरू भोलि मेरो नेताले मलाई जागिर लगाइदिन्छ भनी आफ्नो नेतालाई प्रश्न गर्न आँट गरेनन् । अर्थात् आफ्नो विवेक बिर्सेर नेताको बचाउमा लागे । यही प्रवृत्तिले कुनै पनि मन्त्री वा प्रधानमन्त्रीलाई म जे गर्दैछु ठीकै गर्दैछु भन्ने भ्रम उत्पन्न गरायो । ओली स्वेच्छाचारी बन्नुमा नेकपा एमालेभित्रको ओली समूहलाई समर्थन गर्ने कतिपय त्यस्तै कार्यकर्ताहरू पनि उत्तिकै जिम्मेवार छन् ।  

एक उदाहरण 
सामाजिक सञ्जालमा लेखिराख्ने एक यस्ता व्यक्ति थिए जसले नेकपा एमालेभित्र पनि ओलीको हरेक बोलीलाई प्रचार मात्र गर्दैनथे, त्यसलाई पुष्टि गर्न अशिष्ट चित्र वा शब्दहरूको सहायता लिन्थे । ओली प्रधानमन्त्री बनिसकेपछि उनले ओलीका विवादास्पद अभिव्यक्ति वा कदमलाई यसरी बचाउ गर्थे कि मानौँ उनी भगवान् हुन्, जसका हरेक वचन अमृतसमान शिरोधार्य गर्नुपर्छ । 

परिणामस्वरूप उनलाई नेपाल रेलवेको महाप्रबन्धक जस्तो गरिमामय पद बक्सिस मिल्यो । अहिले एउटा सम्मानित सरकारी पदमा बहाल रहँदासमेत फेसबुकमा ती क्रियाकलाप हेर्न सकिन्छ, जहाँ उनी फरक मत राख्ने हरेक व्यक्तिलाई कमेन्ट गर्न नसक्ने बनाएर एकोहोरो ओलीको देवत्वकरणमा चुर्लम्म डुबेका छन् । कार्यकर्ता हुँदा र सरकारी पदमा रहँदा भूमिका र अनुशासन फरक हुन्छन् भन्ने सामान्य कुराको समेत हेक्का राखेका छैनन्, उनले । यस्तो प्रवृत्तिले ओलीलाई तथ्यहीन कुरा गर्न उक्साउने नै भयो, किनकि त्यसको बचाउ गरिदिने बफादारहरू प्रशस्त छन् । यसै पनि त्यो नियुक्ति कुनै राजनीतिक दलभित्र सक्रियरूपमा नलागेका सचेत र इमानदार युवाप्रतिको धोका थियो जसले पहुँच र चाप्लुसीको आवश्यकतालाई महत्व दिने गलत सन्देश दिन्छ । 

सल्लाहकार र निकटस्थ नेताहरू 
अहिले प्रधानमन्त्रीका सबैजसो सल्लाहकारहरूको उपदेयतामा शंका गर्ने ठाउँ छ । किनभने, प्रधानमन्त्रीलाई कुनै किसिमको सल्लाहको जरुरत नै छैन । उनी त सर्वज्ञानी छन् । राजनीतिमा, कानुनमा, अर्थशास्त्रमा, इतिहासमा, चिकित्साशास्त्रमा, कोरोनामा र कोरोनाको उपचारमा पनि । 

सल्लाहकारहरूले या त ओलीको अहंका अगाडि फरक मत राख्नै सकेनन् या त सल्लाहकारसँग ओलीले सल्लाह माग्न कहिल्यै आवश्यक ठानेनन् । के मैले भनिरहेको कुरा जनस्तरमा गाउँ–गाउँमा भइराखेको छ ? के मैले बोलिरहेका कुरा तथ्यमा आधारित छन् ? के मैले फरक मतलाई पनि बुझिरहेको छु ? यी एक कुशल राजनीतिज्ञले आत्मसमीक्षा गर्दै आफैँलाई सोध्नुपर्ने प्रश्न हुन् । तर ओलीमा यो कुराको अभाव देखियो । यस्तो स्थितिमै सल्लाहकारको महत्व हुने हो जसले सही सूचना, तथ्य र जनभावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने हो । तर सायद सल्लाहकारको सुझाव पनि सुन्न नचाहने प्रधानमन्त्रीको आत्मविश्वासले क्रमशः अहंको रूप लिन थाल्यो । 

कोरोनाको पहिलो महामारीका बेला अव्यवस्थित क्वारेन्टिन र अपर्याप्त टेस्ट भएको भनी व्यापक जनगुनासो बढिरहेको अवस्थामा प्रधानमन्त्रीले असान्दर्भिक अध्यादेश ल्याएर राजनीतिक खेल खेल्न खोजे । जसको विरोध त्यति बेला आफ्नै निकटका नेताहरूबाट भएको हुन्थ्यो भने उनी अलि संवेदनशील हुन सक्थे । प्रधानमन्त्री संवेदनशील नहुन उनका सहयात्री मन्त्री वा उनका गुटका नजिकका नेताहरू पनि उस्तै जिम्मेवार छन् । किनभने ओलीको अगाडि प्रश्न गर्ने वा फरक मत राख्ने काम छेउछाउकाले नगर्दा उनलाई जे भनिरहेको वा गरिरहेको छु, ठीकै गरिरहेको छु भन्ने लाग्दै गयो । 

विपक्षी दल र पार्टीभित्रकै असन्तुष्ट नेताहरू
सिद्धान्ततः सरकारका गलत क्रियाकलापलाई लगाम लगाउन महत्वपूर्ण भूमिका विपक्षी दलको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यसमा त अक्षम साबित भयो नै, आफ्नै दलभित्र पनि प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा मतैक्य बनाउन सकेन । 

त्यसैगरी प्रधानमन्त्रीको पार्टी तत्कालीन नेकपाका असन्तुष्ट नेताहरू माधव नेपाल र प्रचण्डका असन्तुष्टि वा स्वार्थले प्रधानमन्त्रीलाई थप यो अवस्थासम्म ल्याइपुर्याउन बलियो भूमिका खेल्यो नै । त्यसबाहेक कोरोना कहरका बेला सरकार उथलपुथलको असान्दर्भिक खेलमा उनीहरूको योगदान पनि उत्तिकै घृणित रह्यो । 
(लेखक काठमाडौँ इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ विभागका प्रमुख हुन् ।)


Author

विनोद भण्डारी

भण्‍डारी काठमाडौँ इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ विभागका प्रमुख हुन् ।


थप समाचार
x