विचार

के हामी स्वास्थ्यकर्मी कुटपिटकै लायक हौँ ?

सुदन अधिकारी |
जेठ १४, २०७८ शुक्रबार १७:१४ बजे

अहिले रातको १२ बज्दै छ । सामान्यतया म यतिबेला घुरिरहेको हुन्थेँ । आज, सुत्नुअघि एकचोटि सञ्जाल खोल्छु भनेको त, म अहिलेसम्म पनि सञ्जाल चलाइरहेको छु ।
आजको रात म आनन्दले सुत्न सक्दिनँ भन्ने अहिल्यै थाह छ । त्यसैले म मनको बह पोख्न लागिरहेको छु ।

‘भेरी अस्पतालमा कोभिड उपचाररत बिरामीको मृत्यु भएको निहुँमा स्वास्थ्यकर्मीमाथि हातपात : नर्सले दुई तला माथिबाट हाम फालेर ज्यान बचाइन् ।’समाचार पढेपछि अनि भिडियो हेरेपछि मनमा औडाह भएको छ ।


अनि, हेरिरहेछु । दिनभरि अस्पतालमा उपचार गरेर अहिले सुत्ने तरखरमा रहेका सिनियर डाक्टरहरूको निराशा । अनि, घटना सार्वजनिक भएपछि उत्पन्न भएका प्रतिक्रिया ।
मनमा एकोहोरो प्रश्न आइरहेछ–के नेपालका स्वास्थ्यकर्मी यस्तै दुर्व्‍यवहारका लागि लायक हुन् त ?
एकैछिन रोकिनु न । केहीबेर सोच्नु ।

प्रश्न दोहोर्‍याउँछु–के नेपाली स्वास्थ्यकर्मी यसैका लागि लायक हुन् त ? जवाफ आफैँसँग राख्नु !
म अहिले चाहिँ पाँच महिने छोरीलाई कोभिड संक्रमण हुँदासमेत भेट्न नगई अस्पतालमा बसेर अरु कोभिड बिरामीको उपचारमा दिनरात खटिएका वीरगन्जका एक डाक्टरले भेरी घटनापछि लेखेको प्रतिक्रिया सुनाउँछु, ‘पाँच महिने छोरीलाई कोरोना लाग्दा पनि साथ नबसी दिनरात सेवामा बस्दा यस्तो उपहार पाइयो । धिक्कार छ ।’
सोच्न सक्नुहुन्छ ? यी डाक्टर कुन हदसम्म गुज्रिए होला ?

प्रश्न उही दोहोरिन्छ-के यी डाक्टर जस्ता सयौँ डाक्टर यस्तै कुटाइ अनि दुव्र्यवहारका लायक हुन् त ?
अहिले यो पढिरहँदा तपाईंलाई पक्कै लागिरहेको होला– एक दुई जनाले गरेको दुर्व्‍यवहार लिएर समग्र समाजलाई शंका गर्न पाइन्छ ? पाइन्न । यो उत्तरका लागि सोच्नैपर्दैन ।

भेरीको यो घटनापछि अधिकांशले लेखे, ‘यस्तो समयमा यसरी खटिरहेका स्वास्थ्यकर्मीमाथि हातपात उचित होइन ।’
‘यस्तो बेला ?’
यो भनेको के हो ?

केही अघिसम्म ‘हजुर त भगवान्’ भन्नेहरू अलिकति तल–माथि हुनेबित्तिकै ‘ज्यानमारा’ भनिहाल्छन् । 

तपाईंको सहानुभूतिमा त सिधै ‘अरु बेला त जायज’ भन्ने सन्देश गएन र ?
यस्तै सन्देश लेख्नेहरूबाट फेरि अर्को कुनै दिन डाक्टरमाथि दुर्व्‍यवहार हुनेछ अनि फेरि हिजो भेरीमा कुट्नेले भन्नेछ, ‘यस्तो बेला यस्तो गर्नु गलत हो ।’
नपत्याए, घटनाको समाचारसँगै आएका प्रतिक्रिया पढ्नु न है ! 
कि, तपाईं स्वयंले नै यस्तो लेख्नुभएको थियो !
थियो/छ/हुनेछ भने चाहिँ अग्रिम धन्यवाद !
०००
डाक्टर किन कुटिन्छन् नेपालमा पटकपटक ?
किन पटकपटक गाली–दुर्व्‍वहार सहनुपर्छ डाक्टरले ?
नेपाल मात्र होइन संसारभर नै अस्पताल भनेको जुन कुनै बेला हिंसा हुन सक्ने ठाउँ हो । तर, अन्यत्रतिर यस्ता समाचार त्यति सुनिन्न । प्रत्यक्ष ज्यानसँग सरोकार राख्ने भएकाले अलिकति यताउता हुनेबित्तिकै अरु सबै कुरालाई ‘सेकेन्डरी’ बनाएर आफ्ना अगाडि भएको डाक्टरले नै सक्दो प्रयास गरेन वा लापरबाही गर्यो भन्ने सोच नेपाली समाजमा व्याप्त छ । केही अघिसम्म ‘हजुर त भगवान् हो’ भन्नेहरू अलिकति तल–माथि हुनेबित्तिकै ‘ज्यानमारा’ भनिहाल्छन् । आक्रोशित हुनु–गाली गर्नु स्वाभाविकझैँ लागे पनि हातपातमै उत्रिनु हिंस्रक सोचको नतिजा हो । सम्पूर्ण व्यवस्थापन–पद्धतिको आक्रोश निर्बल स्वास्थ्यकर्मीमाथि पोखेर आफ्नो कुण्ठा शान्त पारे असफल प्रयास पनि हो ।

नेपालमा कार्यक्षेत्रमा रहेका स्वास्थ्यकर्मीको सुरक्षाका निम्ति सरकारले केही पहलकदमी लिएकै छैन । आफ्नो ज्यानलाई जोखिममा राखेर लगातार दुई दिनसम्म उपचारमा खटिनेहरूलाइ पिट्ने अनि दुव्र्यवहार गर्नेजस्ता आपराधिक कार्य भए पनि ‘प्रशासनको रोहवरमा’ घटना मिलाइन्छ । 

अझ कतिपय सन्दर्भमा त काम गरिरहेको डाक्टरलाई बिनाकुनै पूर्वजानकारी पक्राउ गरेर ‘गल्ती भएछ’ भनेर छोडिदिने दुःखद् प्रचलन नेपालमै कायम छ । …Jail without bail (धरौटीविनाको काराबास) भन्ने नारा उठाउन थालेको पनि वर्षौं भइसक्यो । एउटा ‘पाठ सिकाउने’ खालको ट्रेन्ड बनाउन सरकारले चाहेकै छैन किनकि डाक्टरहरूलाई हातपात गर्ने अधिकांश घटनामा राजनीतिक पार्टीका बफादार कार्यकर्ता प्रत्यक्ष जिम्मेवार हुने गर्छन् ।

सबैभन्दा दुःखद् पक्ष के छ भने डाक्टरहरूमा एकता भन्ने चिज अलिकति पनि छैन । आफूलाई नपर्दासम्म चुपचाप बसिदिने अजिबको प्रवृत्ति डाक्टरमाझ छ । नेतृत्व तहमा बसेका डाक्टरहरू दबाबका कार्यक्रम ल्याउनुपर्नेमा कुनै पार्टीको ‘हनुमान’झैँ बनेर ‘लाभको पद’ खान पाइहालिन्छ कि भनेर ढुकेर बस्ने विरोधाभास चरित्रले समस्या समाधान भन्दा धेरै पर छ । केही कठोर कदम नचालेसम्म अवस्था अझै चिन्ताजनक हुने वर्तमान धरातलीय यथार्थ देख्दादेख्दै मेडिकल नेतृत्व ‘प्रशासनको रोहबरमा’ हुने सहमतिलाई स्वागत गर्दै बस्नु समग्र चिकित्सा क्षेत्रकै लागि विडम्बना हो ।

विराट मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि हातपात भएको हप्ता दिन नबित्दै मध्यरातमा भेरीमा भएको घटनाले समग्र  स्वास्थ्यक्षेत्रको वर्तमान तस्बिर बोल्छ । हिजो भेरीमा घटनापश्चात् भागदौड भई अस्तव्यस्त भएपछि उपचाररत अन्य दुई बिरामीको ज्यान गुमाउनुपरेको दुःखद् खबरसँगै हप्ता पहिले विराट मेडिकल कलेजमा एक सिकिस्त डाक्टरले नै यस्तै घटनापछि ज्यान गुमाउनुपरेको यथार्थ देख्दा प्रस्ट भन्न सकिन्छ-नेपाली समाज चेत्दैन ।
समाजमा डाक्टरबारे अनेकौँ भ्रम छन् !

कोभिड संक्रमितको उपचारमा दिन–रात खटिएका वीरगन्जका एक डाक्टरले भेरी घटनापछि लेखे : ‘पाँच महिने छोरीलाई कोरोना लाग्दा पनि साथ नबसी दिन–रात सेवामा बस्दा यस्तो उपहार पाइयो । धिक्कार छ ।’

‘डाक्टर भगवान् हुन्’ भन्ने भ्रम परिस्थितिजन्य अवस्था नबुझेर निस्कने वा अत्यन्तै पीडादायी अवस्थामा आशाका रूपमा मानिने विम्ब हो ।
‘बिरामीले तिर्ने सबै पैसा डाक्टरको खल्तीमा जाने हो’ भन्ने भ्रम सबैभन्दा दुःखद् भ्रम हो, हाम्रो समाजको । किनकि, उनीहरूलाई चौबीसै घन्टा प्रत्यक्ष निगरानी गर्ने डाक्टर–नर्समध्ये अधिकांशको तलब २०–४० हजारसम्म मात्र हुन्छ, अपवादबाहेक ।
‘डाक्टरहरू दुर्गममा कामै गर्दैनन्’ समाजको साझा न्यारेटिभ  ।

तर, चार वर्ष भइसक्दा पनि लोक सेवा नखोली कुनै सुरक्षाको प्रबन्ध नमिलाई आफ्नो ज्यानको जोखिम लिएर केही हजारको लागि कोही किन दुर्गम जान्छ ?
केही पहिले उपचारमा लापरबाही गरेको भन्दै कार्यरत डाक्टरलाई  दोलखामा सबैको अघिल्तिर कान समातेर माफी माग्न लगाइएको घटना जो कोही स्वास्थ्यकर्मीलाई दुर्गम जानुअघि जिस्काउँछ ।

दुर्गममा हुने अन्य सरोकारवाला निकायले चाहिँ डाक्टरलाई काम गर्ने वातावरण बनाउनुको साटो असुरक्षित महसुस गराइरहने अनि उल्टो किन सेवा गरेन भनेर एकोहोरो खेदिरहने ?

कस्तो विरोधाभाष ! किन विरोधाभाष !
‘...जटिल शल्यक्रिया गरेर मृत्युबाट बचाएका डाक्टरलाई धन्यवाद भन्नसमेत अप्ठेरो मानिन्छ, किन ?’ पहिले स्वास्थ्यकर्मीमाथि भएको हातपातको सन्दर्भमा लेखेको यो ट्विटको सान्दर्भिकता कहिले सकिएला ? 

वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रामेश कोइरालाले कार्यकारी प्रधानमन्त्री केपी ओलीलाई गरेको आग्रह : ‘यस पालि चाहिँ स्वास्थ्यकर्मीका लागि दियो बाल्न अनुरोध गर्नुभन्दा पनि अस्पतालको हाताभित्र हुने तोडफोड अनि हातपातलाई गैरजमानती हिरासत हुने फौजदारी मुद्दाको ऐन लाइदिनोस् न प्लिज । दियो हामी नै बालौँला । आसिक पनि दिऔँला !’

नेपालमा कार्यरत सबै स्वास्थ्यकर्मीको समान धारणा अनि माग पनि ठ्याक्कै यही हो ।
(लेखक चितवन मेडिकल कलेजका इन्टर्न हुन् ।)

यो पनि 

फ्रन्टलाइनर स्वास्थ्यकर्मी लेख्छन्– हामी पनि प्रधानमन्त्री, मन्त्री, सांसदजस्ता हुन्थ्यौँ भने...

 


Author

थप समाचार
x