संक्रमितको स्याहारमा समस्या
- काठमाडौँको कुनै अस्पतालमा एक जना वृद्ध बिरामी भई उपचारका लागि भर्ना भए । तर तीन दिनसम्म पनि उनको स्याहारका लागि या उनको बारेमा चासो राख्दै कोही पनि आफन्त आएनन् । बरु एउटा परेवा हरेक दिन ती वृद्ध भएको कोठामा आई केही समय बसेर फर्कने गर्यो ।
- दोलखाका एक जना नजिकैका व्यक्ति कोरोनाबाट संक्रमित भए । उनको परिवारको अन्य सदस्यसमेत संक्रमित भएकोले अस्पतालमा ती व्यक्ति लगायत परिवारका अन्य सदस्यलाई समेत आवश्यक देखरेखको समस्या भयो । यस्तो अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अन्य संक्रमितहरू नै एक अर्कोको सहयोगी बन्नेपर्ने अवस्था बन्यो ।
संक्रमितले भोग्नुपरेको समस्याका यी केही उदाहरण मात्र हुन् । अहिले देशभर संक्रमितहरूको देखरेखमा समस्या हुने गरेको घटना प्रशस्तै छन् । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितसँगको निकटताले तुरुन्तै रोग सर्ने खतरा रहेकाले पनि अहिले संक्रमित बिरामीले सहयोगी पाउन नसक्ने अवस्था बनेको हो ।
लक्षण नदेखिएको वा स्वास्थ्य समस्या सामान्य मात्र भएको संक्रमित बिरामीले त आफ्नो स्याहार आफैँ गर्न सक्छन् । गम्भीर लक्षणसहित अस्पतालमा उपचाररत भर्ना भएका बिरामीहरूलाई भने हरेक कुरामा समस्या हुने गरेको छ ।
संक्रमणको यो महामारीमा संघीय, प्रदेश र स्थानीय सरकार बढी जिम्मेवार बन्नुपर्छ । तर यी तीनै तहका सरकारले सामान्य औपचारिकताबाहेक संक्रमितको देखरेखमा कुनै चासो देखाएको पाइँदैन । संक्रमण नियन्त्रण र न्यूनीकरणका लागि संक्रमणको चेन ब्रेक, प्रभावकारी उपचार पद्धति, भ्याक्सिनको प्रयोग र संक्रमितको स्याहार महत्वपूर्ण हुन्छ ।
संघीय, प्रदेश र स्थानीय सरकारले संक्रमणको चेन ब्रेकका लागि लक डाउन, निषेधाज्ञा, पालिका तथा वडा तह सिल गर्ने जस्ता काम गर्दै आएका छन् । संक्रमणको चेन ब्रेकमा बन्दाबन्दीको यो सूत्र विश्वकै प्रभावकारी र एकमात्र महत्वपूर्ण सूत्र बनेको छ । नेपालमा पनि बन्दाबन्दिले सकारात्मक परिणाम दिएको छ ।
संक्रमणको चेन ब्रेकका लागि कुनै पनि समुदायमा अन्यत्रबाट आएका नागरिकलाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा राख्ने गरिन्छ । १४ दिनको बसाइपछि उनीहरूको स्वाब परीक्षण गरी संक्रमण भए नभएको यकिन भएपछि मात्र समुदायमा पठाइन्छ । अहिले देशका हरेक पालिकाले क्वारेन्टिन निर्माण त गरेका छन् तर त्यसको पूर्ण व्यवस्थापन भने हुन सकेको देखिँदैन ।
स्थानीय सरकारले निर्माण गरेको त्यस्तो क्वारेन्टिनमा आवश्यक स्वास्थ्य सामग्री, खेलकुदका सामग्री, शैक्षिक सामग्री, केही संख्यामा स्वास्थ्यकर्मी र सहयोगीको समेत व्यवस्थापन आवश्यक हुन्छ । केही केही ठाउँमा रहेको क्वारेन्टिनमा एक जनामात्र बस्नु परेको, कतै अत्यधिक संख्यामा बस्नुपर्ने भएकोले शौचालय, बाथरुमको समस्या परेको, कतै क्वारेन्टिनमा रहेका मानिस भागेको घटना पनि छन् । यसो हुनुको मुख्य कारण क्वारेन्टिनको उचित व्यवस्थापन नहुनु नै हो ।
केही समस्यासहित संक्रमणको चेन ब्रेकमा प्रभावकारी काम देखिए पनि उपचार, भ्याक्सिनको पर्याप्तता र संक्रमितको स्याहारमा भने उल्लेख्य काम हुन सकेको देखिँदैन । सरकारले संक्रमितको उपचारका लागि अस्पताललाई मापदण्डअनुसार दुरुस्त राख्न नसक्दा धेरैले भेन्टिलेटर, आईसीयू बेड र अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको तीतो यर्थाथ हाम्रो सामु छ ।
संघीय, प्रदेश र स्थानीय सरकारले अस्पताल व्यवस्थापनका लागि प्रयत्न गरेको भएपनि दक्ष जनशक्ति अभाव, भएको स्वास्थ्य क्षेत्रको जनशक्ति परिचालनमा आर्थिक समस्या, प्रविधिको समस्या आदिले अवरोध गरेको देखिन्छ । भ्याक्सिनका लागि सरकारले प्रयत्न गरेको भएपनि विश्व बजारमा देखिएको अभावकै कारण पर्याप्त भ्याक्सिन उपलब्ध हुन सकिरहेको छैन ।
फेरि पनि सरकारले सबै नागरिकलाई भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारी तथा निजी अस्पतालले केही सुधारका प्रयत्न गरेका छन् । सरकारले अस्पताल सञ्चालन सम्बन्धी नीतिलाई कडाइ गर्यो भने उपचार सेवामा देखिएको समस्या पनि धेरै हदसम्म समाधान हुने छ ।
अहिलेको महत्वपूर्ण चुनौती भनेको संक्रमितको स्याहारमा परिवारको सहभागिता असहज र सरकारको व्यवस्थापन शून्य हुनु हो । संक्रमितको स्याहारमा परिवारका सदस्यको सहभागिता असहज हुनुको कारण भनेको स्वास्थ्य सुरक्षाको समस्या हुनु हो । यस्तो अवस्थामा विशेषगरी स्थानीय सरकारले संक्रमितको परिवारलाई संक्रमणबाट सुरक्षित हुने तरिका बारे जानकारी दिने र सुरक्षित रहने स्वास्थ्य सामग्री वितरण गर्नुपर्छ ।
दोस्रो संघीय, प्रदेश या स्थानीय सरकार मध्य कसैले प्रत्येक अस्पतालमा संक्रमितको स्याहार गर्न स्वास्थ्यकर्मीसमेत सहभागी हुने गरी एउटा विशेष टिम बनाउनु पर्छ । उक्त टिमले अस्पताल आउने संक्रमित बिरामीलाई रेस्क्यू गर्ने, विभिन्न प्रकारको स्वास्थ्य जाँचमा सहयोग पुर्याउने र अस्पतालमा उपचाररत रहेको समय निरन्तर सबै प्रकारको सेवा प्रदान गर्नु पर्छ ।
यसरी उपचारका लागि अस्पताल आउने हरेक संक्रमितलाई अस्पतालकै टिमबाट उपचार सेवासँगै परिवारबाट प्राप्त हुने अन्य सेवासमेत दिन सकिएको खण्डमा उनीहरूले आफूलाई थप सुरक्षित र पारिवारिक वातावरणमा रहेको महसुस गर्न सक्छन् । र यो सेवा हरेक संक्रमितलाई छिट्टै जाति हुनका लागि महत्वपूर्ण साबित हुनेछ ।
संक्रमितहरू होम आइसोलेसनमा रहेको बेला पनि स्थानीय सरकारले नियमित रूपमा उनीहरूको अनुगमन गर्ने, घरमै उपचार सेवा र स्वास्थ्य सामग्री वितरण गर्ने तथा पौष्टिक आहार वितरण गर्ने काम गर्यो भने उनीहरूले दरिलो अभिभावक रहेको अनुभुति गर्न सक्ने छन् । यसले हरेक संक्रमितलाई उच्च मनोबलका साथ कोरोना महामारीमाथि विजय प्राप्त गर्न सहयोग पुग्ने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया