विचार

त्यो हत्याकाण्ड सम्झिँदा

शुभाषचन्द्र पोख्रेल |
जेठ १९, २०७८ बुधबार ७:१४ बजे

२०५८ जेठ १९ शुक्रबार । ‘दरबार हत्याकाण्ड’को त्यो त्रासदीपूर्ण रात । तत्कालीन राजा वीरेन्द्र शाह र उनका परिवारको अन्त्य । त्यो हत्याकाण्ड नेपालको निकट इतिहासमा सम्भवतः सबैभन्दा बीभत्स र रहस्यमय घटना ।

दरबार हत्याकाण्ड हुँदा तपाईं कति वर्ष ?
यदि तपाईं पाँच वर्षभन्दा कम उमेरको हुनुहुन्थ्यो भने जेठ १९ को त्रासदी तपाईंका लागि विस्मृत घटना हो । तपाईं पाँचदेखि माथि दस वर्ष बीचको हो भने घटनाको धुमिल स्मृति घुमेको हुनुपर्छ । दसदेखि पन्ध्र वर्षबीचको हो भने तपाईंलाई लगभग त्यो समयको मोटामोटी सिलसिला याद छ । पन्ध्र वर्षभन्दा माथि हुनुहुन्थ्यो भने त तपाईं उक्त घटनालाई आफ्नो विवेकले बुझ्‍न, सम्झन र लेख्‍न सक्ने हुनुहुन्छ ।


समयको कुरा गर्ने हो भने दरबार हत्याकाण्डको जम्मा बीस वर्ष मात्र न हो । इतिहास उधिन्‍नेहरूका लागि बीस वर्ष छोटो लाग्न सक्छ तर इतिहास बनेको कुनै घटना भोग्नेहरूका लागि बीस वर्ष निकै लामो हो । दरबार हत्याकाण्डपछि जन्मिएको एउटा तप्का अहिले बीस वर्षे युवा वयको प्रतिनिधित्व गर्ने जमात बनेको छ ।

यो पुस्ताले सन्‍निकट इतिहासको त्यो रहस्यमय घटनालाई कसरी बुझ्दो हो ? के उक्त घटनाको सही दस्तावेज निर्माण भएको छ ? तत्कालीन राज्य प्रमुखका रूपमा रहेका राजा र उनको सँगोल परिवार सिध्याउने त्यो कटु घटनाको दस्तावेज राज्यसँग हुने नै भयो ।

दरबार संहार र दस्तावेजको कुरा गर्दा तत्कालीन दरबार सैनिक सचिव विवेककुमार शाहले लेखेको ‘मैले देखेको दरबार’ र राजा वीरेन्द्रका चिफ एडिसी सुन्दरप्रताप रानाले लेखेको ‘दरबारको दुःखान्त’ नामक संस्मरण पनि चर्चामा आएकै हुन तर ती संस्मरणले घटनाको यथार्थ र गहिराइ छुन सके कि सकेनन् भन्‍ने कुरा अलग हो !

खैर, यो आलेखमा त्यतातिर घोत्लिनु वा खोतल्नु यो ‘निम्छरो’ कलमको चेष्टा पटक्कै होइन । प्रसंगवश केही जिज्ञासा आई नै हालेछन् भने पनि यो आलेखको बिट मार्दासम्म ती कुरा जोडौँला । खासमा यो आलेखको उठान चाहिँ त्यो समयको सम्झना र त्रासदीको पुनः स्मरण गर्नु हो !

मौन आक्रोश, मौखिक समाचार
समयकै कुरा गर्दा त जम्मा जम्मी बीस वर्ष अघिको कुरा न हो । तर आजको समाचार सुविधा, पहुँच र सामाजिक सञ्जालको जालोमा जेलिएको यो आजको समाजको दाँजोमा दुई दशकअघिको समय पनि ‘दुर्गम’ ठहरिने रहेछ । मोबाइल फोन सुरु भएको ०५६/५७ सालतिर हो क्यारे, आम रूपमा मोबाइल त ‘विलासी’ र दुर्लभ चिज थियो ।

टेलिभिजनमा एनटिभी नै ‘नाइके’ थियो । समाचारमा पत्रिका र एफएम रेडियोकै दबदबा थियो । जेठ बीस गते शनिबारको बिहानी, जे जति सञ्चार माध्यम छन् ती माध्यमबाट भन्दा सहरको चोक चोकमा मान्छेको कानेखुसीमार्फत सिर्जित समाचार ‘माउथ टु माउथ’ फैलिएको थियो । त्यो दिन सायद राष्ट्रिय समाचारपत्र दैनिकमा आयो क्यारे दरबार काण्डको समाचार । अरू पत्रिकाहारूले छाप्‍न भ्याएनन् वा सकेनन्, कुन्‍नि ?

तपाईंलाई थाहा छ ?
बरु मुखामुख बनेका अफवाह ‘समाचार’ले सहर तातेको थियो । 
- ‘दरबारभित्र पचासौं सेना पनि मारिएका छन् रे ।’
- ‘सुन्दरीजलको पानी ट्यांकमा विष मिसाइएको छ रे ।’
- ‘डिडिसीको दूधमा विष मिसाइएको छ रे’ !
यस्तै रेरेका अफवाह !
हामी त्यति बेला स्वयम्भू, कारखाना चोक बस्थ्यौँ ।

मलाई याद छ, बिहान निकै बेरसम्म डिडिसीको स्वयम्भू बुथबाट दूधका प्याकेट उठेनन् । राजनीतिज्ञ एवम पूर्वमन्त्री राधाकृष्ण मैनाली प्रातःभ्रमणबाट फर्किंदा अफवाहको गाइगुइँले दूध नबिकेको चाल पाएछन् । अनि उनैले यस्तो बेलामा ध्यान मोड्न यस्ता अफवाह चलिरहन्छ भन्दै भटाभट आफ्नो हिस्साको दूध उठाएपछि अरूले पनि किन्‍न थाले ।

जेठ २० गते बिहान दस बजेसम्म त सहरको चोकचोकमा संशयसहितको ‘मौन आक्रोश’ उर्लिएको थियो । देशमा कुनै विपद्, विस्मय वा अप्रत्याशित घटना हुँदा आम जनता सुसूचित हुने भनेको राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट नै हो । गाम्भीर्यका हिसाबले दरबार हत्याकाण्डपछि रेडियो, टेलिभिजनले घण्टा घण्टामा बुलेटिन फुक्नुपर्ने हो । पत्रिकाहरूले बिहान, मध्याह्न र सन्ध्याकालीनका लागि पूरक प्रकाशन गर्नुपर्ने खालको थियो । तर देशमा ‘हेड अफ द स्टेट’को रहस्यमय हत्याको खबर दिइराख्नुको सट्टा सरकार नियन्त्रित राष्ट्रिय सञ्चार माध्यममा ‘शोकधून’ ज्यादा बज्यो भने निजी सञ्चार माध्यम पनि सुरु सुरुमा ‘फुकी-फुकी’ हिँडे ।

'मखमली’सुखमा हुर्के पनि शववस्त्र साझा !
स्वयम्भू, कारखाना चोकमा मेरो ठूलो दाइको कपडा पसल थियो । २० गतेको मध्याह्नतिर सेनाको एउटा सानो टोली आए अनि कात्रोका लागि कोरा कपडा, रामनामी, पहेँलो वस्त्रलगायत सामग्री किने, साथै खटका लागि हरियो बाँसको बन्दोबस्तीबारे पनि उनीहरूबीच कुरा भयो । सैनिक अस्पताल छाउनी र स्वयम्भू चोकको दूरी नजिकै पर्यो । त्यसैले होला सैनिकले पायकको सामान्य पसलबाट शवयात्राका लागि सामग्री जुटाए । राजपरिवारको त्यो बीभत्स हत्याको सनसनीपूर्ण खबर, अन्योल, आक्रोश अफवाहले सहर तातेको त्यो अवस्थामा सामान्य खुद्रा पसलबाट किनिएको ‘कात्रो’मा दिवंगत राजा-रानी बेरिनुपर्ने यथार्थले यस्तो दर्शन दिन्थ्यो कि, जीवन, भोगाइ, सुखसयल र मान-सम्मान व्यक्तिअनुसार फरक भए पनि मृत्युपछिको यात्रा सबैको साझा रहेछ ।

जीवनको अन्तिम यात्रामा राजा वीरेन्द्रको शवलाइ छोप्न पर्याप्त रामनामी समेत नपुगेर निराजनको हिस्सा तानेर वीरेन्द्रलाई ओढाएको कुरा र वीरेन्द्रका एडीसी सुन्दरप्रताप रानाले आफ्नो पुस्तकमा उल्लेख गरेका नै छन् । राजा-रानी बितेको खबर त खरबारीको डढेलोझैँ फैलिएको थियो । सेनाले शवयात्राका लागि सामग्री बटुलेको देखेपछि के गरौँ के गरौँ जस्तो भयो ।

चोक-चोकमा उत्सुकता र आक्रोश मिश्रित भिड थियो । तैपनि केटौले उत्सुकताले छाउनी अस्पताल जान खोज्यो । दाइहरूसँग कुरा गर्यो भने जान नदिने पक्का थियो । त्यसैले भाञ्जा पदम र म जोडी बाँधेर छाउनी अस्पतालको गेटैनिर पुग्यौँ ! मान्छे त छाउनी अस्पतालको दायाँबायाँ खचाखच ।

यम बरालको उल्टो टिसर्ट र गिरिजा लक्षित ढुंगा प्रहार !
हामी छाउनी अस्पतालको गेट नजिकै थियौँ, दायाँ-बायाँ सर्वसाधारण खचाखच, अस्पतालबाट राजारानीको शव नहिँडाल्दासम्म चाहेर पनि भिड छिचोलेर घर फर्कने उपाय थिएन । तसर्थ हामी कुरिरह्यौँ । स्वतःस्फूर्त जम्मा भएको भिडभित्र स्वतःस्फूर्त झुण्ड थिए । अन्यमनस्क तरिकाले उभिइरहँदा केही बेरपछि देखेँ, हाम्रो छेउमा गायक यम बराल पनि रहेछन् । यसो हेर्दा यम बराल त उल्टो टिसर्टमा छन् ।

अलि बेर नियालेर हेरेँ, चर्चित गायक । बेहोसीमा उल्टै टिसर्ट लगाएर आएका हुन् वा कतै यो पनि फेसन पो हो कि ? अहँ, मनले मानेन, टिसर्ट त उल्टै हो । अनि यसो बरालको कान नजिक मुख पुर्याएर भनेँ, ‘दाइ तपाईंको टिसर्ट उल्टो होइन र ?’ 

यसो हेरे अनि त झसंग भए । हतार हतारमा के के भएछ हौ भने । हामी मामा-भान्जा र अरू दुई चार जनाले गोलो भकारी बनाएर यम बराललाई घेर्यौ अनि उनले टिसर्ट सुल्टो पारे । जेठको गर्मी र लामो दिन, तैपनि सर्वसाधारण टसमस नगरी अस्पताल बाहिर थिए, बेलुका पख वीरेन्द्र, ऐश्वर्य लगायतहरू सदस्यको शवयात्रा सुरु भयो । अस्पतालबाट शव निकालेर किम्डोल, डल्लु, शोभा भगवती हुँदै पशुपति लैजान सुरु गरेपछि जम्मा भएको भिड पनि सोही दिशामा मोडिएर ‘मलामी’मा परिणत भयो !

शवको खट बोकेका सैनिक ब्राह्मणहरू, सरकारको तर्फबाट शवयात्रीका रूपमा सामेल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, अन्य उच्च पदस्थ र सेनाका हाकिमदेखि जवानसम्मको पहिलो पंक्तिको लस्कर अनि पछिपछि जनसाधारणको लहर थियो । शवयात्राले चार सय मिटर पनि पार गर्न नपाउँदै कुनै घरको छतबाट हो वा सडक छेउको डिकबाट कसैले प्रधानमन्त्रीको गाडीमा ताकेर ढुङ्गा इँट्टा प्रहार गरेछन् । त्यो तनावले गर्दा ‘भीआईपी’ जोगाउन सेना चनाखो हुनुपर्‍यो, एकछिन ठप्प भएर सेनाले दायाँबायाँ राइफल सोझ्याउँदा त भिड तर्सिएर फनक्कै विपरीत दिशामा फर्कियो । जता जाँदै छौँ, उतैबाट एक्कासि भिडको मुस्लो फर्किंदा ज्यान चेपुवामा परेको त्यो घटना सम्झिँदा अहिले पनि जिरिङ्ग हुन्छ ।

केही ‘रहस्य’का कुरा
जेठ १९, शुक्रबारे दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, तीनजना छोराछोरी दीपेन्द्र, श्रुति र निराजन अनि अरू थप पाँच जना शाही नातेदार गरी जम्मा दश जनाको ज्यान गयो । र उक्त हत्याकाण्डको मतियार युवराज दीपेन्द्र हुन भनी मान्‍नुपरेको छ ।

उक्त शाही संहारबाट मुमा बडामहारानी रत्न, कोमल शाह, पारस, हिमानी, कुमार गोरख शमशेर, केतकी चेष्टर, प्रेरणा, शीताष्मा, दिलाशा, पूजा, राजीव शाही लगायतका निकटतम शाही नातेदार ‘भाग्यवश’ कोही घाइते मात्र भए त कोही सकुशल बाँच्‍न सफल भए । घटनाका प्रत्यक्षदर्शी जो जो थिए अहिलेसम्म सबैको एउटै कुरा बाहिर आएको छ, ‘दीपेन्द्रको सनकले हत्याकाण्ड मच्चियो !’ दीपेन्द्रको प्रेम प्रसंग र विवाहको कुरामा पारिवारिक बेमेल हुँदा इगो उत्पन्‍न भई त्यो हदसम्मको नरसंहार भएको कुरा बाहिर आयो ।

सत्ता आकांक्षा, व्यक्तित्वको टकराव, अहंकार, महत्वाकांक्षा र शक्तिको उन्मादका कारण पारिवारिक कलह र नरसंहार हुने गरेको इतिहास प्रशस्तै छन् । नेपालकै सन्दर्भमा पनि ‘कोतपर्व’को कटु इतिहास पढ्न त हामी बाध्य छौँ नै । दीपेन्द्रसँग संगत गरेका मान्छे, समकक्षी, उनको सुरक्षामा नजिकबाट सामेल भएका व्यक्तिहरूको कुरा पत्याउने हो भने दीपेन्द्र निकै ‘सन्की’ थिए ।

होला, दरबार हत्याकाण्ड दीपेन्द्रको सनककै कारण भए होला । तर केही सरल र सामान्य जिज्ञासा भने आज पनि जीवित छन् ! दसौँ जनालाई एकै चिहान बनाउने गरी भएको उक्त नरसंहारका लागि दीपेन्द्रलाई व्यक्तिगत वा शासकीय रूपमा उच्काउने अरू कुनै तत्वको हात थियो कि ?

विज्ञानको एउटा मान्यता छ नि, ‘नाइट्रोजन ग्यास आफू बल्दैन तर बल्न प्रेरित गर्छ ।’ के दीपेन्द्रमार्फत दरबारमा हत्याकाण्डरूपी ‘ज्वाला’ दन्काउन नाइट्रोजन ग्यासलेझैँ उत्प्रेरकको काम गर्ने तत्वहरू कोही थियो ? यस कोणबाट गहिरो अनुसन्धान नहुँदा हत्याकाण्डमा सधैँ एउटा ‘रहस्य’को पर्दा लागिरह्यो !

शक्तिशाली फौजको घेराभित्र रहेको दरबार, राजपरिवारका प्रत्येक व्यक्तिपिच्छे अलग-अलग सुरक्षा बन्दोबस्ती तैपनि त्यत्रो संहार हुँदा ‘डिफेन्स’ शून्य अवस्था । दरबार सैनिक सचिवालय र सुरक्षाका सन्दर्भमा दरबारको छत्रछायाँमै हुर्केका र नेपाली सेनाको सेनापतिसमेत बनेका रुकमाङ्गत कटवालले आफ्नो आत्मकथामा लेखेका छन् ‘औपचारिक दृष्टिले दुवै सेना एउटै देखिए पनि खासमा दुइटा हो ।’

के साँच्चै दरबार सचिवालय र एडीसी खटनपटनमा सैनिक नेतृत्वको भूमिका छायाँमा थियो ? तत्कालीन सेनापति प्रज्ज्वल शमशेर जबराले यस विषयमा खास केही लेखेको/बोलेको थाहा छैन ! पछि मैले आफ्नो पत्रकारिताको दौरान दरबार निकट उच्च कर्मचारी र सैनिक नेतृत्वसँग औपचारिक/अनौपचारिक कुरा गर्ने मौका मिल्दा मैले दरबार संहार बारे ‘प्रसेप्सन’ जान्‍न खोजेको थिएँ । तर सुनिए पढिएका भन्दा फरक खास कुरा सुन्‍न पाइएन/सकिएन ।

हुन त नेपालको शासकीय स्वरूपमा राजतन्त्र इतिहास बनिसकेको छ । यस सन्दर्भमा तत्कालीन राजा वीरेन्द्र र उनका परिवारको बीभत्स अन्त्यको नमीठो इतिहास कोट्याउनु व्यर्थ लाग्न सक्छ । तैपनि त्यो नमीठो घटनाको ‘कालो इतिहास’ हामीले चाहेर पनि मेटाउन त सक्दैनौँ ।

‘भवितव्य’ त भयो भयो, हुने हार दैव नटार । राष्ट्रप्रमुख र उनका सगोल परिवारको हत्या जस्तो त्यति ठूलो भवितव्यपछि राज्यको तर्फबाट के गतिलो गरी घटनाको जाँचबुझ भयो त ? प्रश्न गर्ने प्रशस्त ठाउँ छोडेर घटनाको दस्तावेज तयार पारिएको छ ।

के दरबार एउटा मात्र सुरक्षा संरचना (दरबार सैनिक सचिवालय) मा निर्भर थियो ?

सेनाका कतिपय हाकिमले अड्कल काटेझैँ के दीपेन्द्रले ‘उन्मुक्त र लापरवाह’ शैलीको जीवन अँगाल्नुमा उनका ‘दौँतरी’खालका अंगरक्षकको पनि हात छ ?

राजपरिवारको बाहिर देखिने औपचारिक जीवन र वैयक्तिक जीवनमा के आकाश-जमिनको फरक थियो ?

भइगो यस्ता हाइपोथेटिकल प्रश्न यही छोडौँ !

घटनापछिका केही सन्देहात्मक परिघटनाहरूको कुरा गरौँ !

दरबार संहारको जानकारी पाउनासाथ देशको कार्यकारी प्रमुख, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गोलीकाण्ड भएको त्रिभुवन सदनको अवलोकन गर्न चाहेका थिए रे, तर उनी घटनाको जानकारी मंगल सदनमै लिएर फर्किनुपर्यो ।

त्यत्रो जघन्य घटनापछि राजपरिवार कसैको पनि पोस्टमार्टम नगरिनुमा मुमा बडामहारानीको ‘भावनात्मक आग्रह’ मात्र हो वा हरू केही ?

रक्षा विज्ञ, अपराध शास्त्र र विधिविज्ञान प्रयोगशालाको उपयोगबाट घटनाको गहन अनुसन्धान हुनुपर्ने थियोे । तर राजनीतिक चरित्रका पात्रमार्फत तयार पारिएको जाँचबुझ प्रतिवेदनले गर्दा ‘कन्स्पिरेसी थ्योरी’मा ज्यादा बहकिने नेपाली चरित्रलाई झन् मलजल गर्‍यो ।

दरबार हत्याकाण्डको मूल कारण के थियो ? पारिवारिक विग्रहको विष्फोटक रूप थियोे या त्यो बेला गिरिजाप्रसाद कोइरालाले भनेझैँ कुनै ‘ग्य्रान्ड डिजाइन’ ?
यी सबै उपशङ्काहरू अहिलेसम्म इतिहासकै गर्तमा गुम्सिएका छन् ।

अझ खुलस्त भन्‍नुपर्दा दरबार संहारपछि राजगद्दीमा बस्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले आक्षेप र आशंकाको सुइरो ज्यादा सहनुपर्यो । जन-आकांक्षाका खातिरविना रक्तपात र भलाद्मी तरिकाले गद्दी त्याग गर्न सक्ने ज्ञानेन्द्रले गद्दीकै लागि ‘रक्तपात’को षड्यन्त्रमा सामेल भए होलान् भनी कसरी विश्वास गर्ने ?

पूर्वराजा ज्ञानेन्द्रलाई बारम्बार लाग्दो हो ‘अनुसन्धानका सबै उपाय अवलम्बन गरेको भए सायद यति सारो अबगालबाट त बचिन्थ्यो होला ।’

अब विगतप्रति पछुतो गरेर के काम ! इतिहासबारे दुई भनाइ जोडेर आलेखको बिट मारौँ ।

कार्ल माक्र्सले भनेका छन् नि, ‘इतिहास दोहोरिन्छ ः पहिलोपटक वियोगान्तका रूपमा र दोस्रोपटक प्रहसनका रूपमा ।’

अनि विन्स्टन चर्चिलको भनाइ छ नि : ‘हिस्ट्री इज रिटन बाई द भिक्टर्स ।’ अझ यसको नेपाली भावको कुरा गरौँ, ‘इतिहास चढ्न सक्नेको घोडा हो ।’

कुनै बखतको घटना विशेष नै त इतिहास बन्‍ने हो !

त्यसैले इतिहास ‘प्रहसन’ पनि नबनोस् र चढ्न सक्नेको ‘घोडा’ पनि नबनोस् !

दिवंगत राजा वीरेन्द्र र परिवारप्रति सम्झना र श्रद्धाञ्जली !
twitter @Sshuva


Author

शुभाषचन्द्र पोख्रेल

पोख्रेल स्वतन्त्र पत्रकार हुन् ।


थप समाचार
x