आर्काइभबाट, दरबार हत्याकाण्ड
‘राजदरबार हत्याकाण्डको सत्य-तथ्य किन बाहिर आउँदैन ?’
आज जेठ १९, २० वर्ष पहिले राजा वीरेन्द्रलगायतको हत्या भएको दिन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, पूर्व अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । त्यो हत्याकाण्ड अझै रहस्यमम छ । उच्च सुरक्षा घेरामा रहेका राजपरिवारको हत्या हुनु आफैँमा आश्चर्यजनक घटना बनेको छ ।
हत्या भएको २० वर्षसम्म कसले, किन हत्या गर्यो त्यस घटनाको उजागर हुन सकेको छैन । वीरेन्द्र जीवित छँदा मुलुकमा प्रजातन्त्र थियो । बिस्तारै प्रजातन्त्र धर्मराउन सुरु गरेको थियो । वीरेन्द्रको वंशनाश भएको करिब चार वर्षपछि मुलुकमा गणतन्त्रको अभ्युदय भयो । यतिखेर मुलुकमा सदाका लागि राजतन्त्र अन्त्य भइसकेको छ । जनताले चुनेका प्रतिनिधिको सरकार छ । तर यतिका वर्ष बित्दा पनि वीरेन्द्रको हत्यारा पत्ता लाग्न सकेको छैन ।
वीरेन्द्र राजाको समीपमा रहेर काम गरेका र राजसंस्था हुँदा तीन पटकसम्म मन्त्री बनिसकेका पूर्व गृहमन्त्री निरन्जन थापासँग इकागजले राजा वीरेन्द्र र गणतन्त्र आएपछि मुलुकले फड्को मार्यो कि धिमे गतिमा चलिरहेको छ भनी प्रश्न गरेको थियो । उनी पञ्चायती व्यवस्थाको उत्तराद्र्धमा शक्तिशाली गृह–राज्यमन्त्री थिए । वीरेन्द्रको हत्या भएको दुई वर्षपछि कानुनमन्त्री समेत बनेका थिए ।
उनै थापासँग गरिएको कुराकानी, उनकै भाकामा:
राजा वीरेन्द्र प्रजातन्त्रमा आस्था राख्ने व्यक्ति थिए । जनताको भावना राजाभन्दा माथि हुनुपर्छ भनिरहेका थिए । शासकले सदा जनताको पाइलामा हिँड्न सके मात्र उनीहरूका वेदना थाहा पाउन सकिन्छ भन्थे । जनता रहेपछि मात्र राजा भइन्छ भन्ने सोच राखिरहनु हुन्थ्यो । जनताको भावना र मागअनुरूप २०३६ सालमा जनमत संग्रह भएको थियो । जनमत पनि जनभावना अनुरूप भएको थियो । राम्रो काम गरेको हुनाले त्यहीँ जनमत संग्रहमा निर्दलीय व्यवस्थाले विजय हासिल गरेको थियो ।
जनमत संग्रहपछि नेपालका राजनीतिक वृत्तमा रहेका व्यक्तिले विदेशीको (भारतीय) सहारा लिएका थिए । जनमत संग्रहपछि नेपली राजनीति आकाशमा विदेशीको कालो बादल मडारिन सुरु गरेको थियो । नेपाली राजनीतिलाई बलियो बनाउन भन्दा पनि राजतन्त्रको अन्त्य गर्न सबै एकसाथ लाग्न थालिसकेका थिए । विभिन्न बहानामा राजनीतिक अस्थिरता पैदा गरी जनतालाई दुःख दिने काम भइरह्यो । जनमत संग्रहपछि नेपालमा शान्तिको वातावरण खल्बलिँदै गइरहेको थियो । अराजनीतिक व्यवस्था झांगिदै जाँदा पनि उनले देश विकासको सपना देख्न छाडेका थिएनन् ।
पाँच विकास क्षेत्रको अवधारणा ल्याए । उनले विकासमा समानता र सन्तुलन हुनुपर्छ भन्ने मान्यता राखेका थिए । प्रत्येक वर्ष एउटा विकास क्षेत्रको भ्रमणमा निस्कने गर्थे । एक महिना विकास क्षेत्रमा बस्ने गरेका थिए । जनताको कुरा सुन्थे । विकासको अवस्था कस्तो छ भनी आम मानिसलाई उनले सुन्ने गर्दथे । वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र मुलुकको घोषणा गर्न प्रस्ताव गर्दा सबै विदेशीले सहमति जनाएका थिए । उनले यस्तो प्रस्ताव गर्दा विदेश नीति पनि धेरै राम्रो थियो भनेर बुझ्दा पनि फरक पर्दैन । नेपाललाई विदेशसम्म चिनाउन ठूलो योगदान छ ।
राजनीतिमा युवालाई अगाडि ल्याउनुपर्छ भनिरहनुहुन्थ्यो । जनतालाई अगाडि बढाउनुपर्छ भनिरहने त्यसका लागि शिक्षा अपरिहार्य विषय भनिरहुन्थ्यो । पुरानो शिक्षा पद्धतिले मात्र चौतर्फी विकास हुँदैन भनेर ठूल–ठूला राम्रा विद्यालयमा विदेशी शिक्षक ल्याएर पढाउन थालिएको थियो ।
वीरेन्द्रले ‘गाउँ फर्क’ अभियान चलाए । सहरको विकास मात्र गरेर हुँदैन । सहरमा भन्दा नेपालको असल प्रतिनिधित्व गर्ने मानिस गाउँमा बसेका छन् । गाउँ एक्लो सहरको विकासले साथी पाइसकेको छ । उनैले गाउँलाई प्राथमिकतामा राखी विभिन्न काम गरिरहेका थिए ।
जनताले मुलुक बनाउनुपर्छ भन्नुहुन्थ्यो । नेपाली श्रम विदेश जानेको संख्या बढेको दलको सत्ता बढेपछि मात्र हो । चिसा हिमालका मानिसलाई तातो मरुभूमिमा काम गर्न बाध्य बनाउने पनि यिनै दलहरू हुन् । नेपाली उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुभएको थियो उहाँले ।
उनी पछि कुनै पनि शासकले जनताको माया र साथ पाएका छैनन् । उनी शासन सत्तामा रहेसम्म ३० वर्षसम्म कहिल्यै कर्फ्यु लागेन । यो हुनुको मतलब जनतालाई सधैँ प्रजातन्त्र दिनुपर्छ भन्ने मान्यता राखिबसेका थिए ।
जनताको मायाले २०४७ को संविधानमा उनलाई सबैभन्दा माथि राखेको थियो । तर संविधान बनेपछि विदेशीको व्यापक चलखेल बढ्दै गएकाले नेपालको संविधानमा विदेशीले पर्दा पछाडिबाट धावाँ बोल्न सुरु गरेका थिए । त्यसले नेपालको संविधान खराब छ भन्ने कुराहरू जनतामा छर्न सुरु भयो ।
विदेशीको बढी चलखेल हुन थालेपछि नेपालका राजनीतिक दलमा ध्रुवीकरण बढ्न थाल्यो । जनताका दुःखका दिन सुरु हुन थाल्यो । दिन प्रतिदिन आन्दोलन धरपकड सुरु हुन थाल्यो । नेपाली जनताले दुःख पाएका छन् भने सबैभन्दा राजनीतिक दलको शासन सत्ता आएपछि मात्र हो ।
राजाले शान्ति क्षेत्रको प्रस्ताव गरेका थिए । दलले शान्ति होइन, युद्ध र आन्दोलनको मात्र घोषणा गरेका छन् । यो सारा कुराहरू २० वर्ष पछाडि फर्केर इतिहासको पाना पल्टाएमा प्रस्ट पढ्न सकिन्छ । दलको सत्ता वरिपरि शासन घुम्न थालेपछिको परिणाम राजपरिवारको हत्या भएको हो । हत्यारा पत्ता लगाउन नसक्नुमा पनि विभिन्न अदृश्य शक्तिको कारण हो । आखिर जनताको हातमा शासन छ भने राजदरबार हत्याकाण्डको सत्यतथ्य घटना किन बाहिर आउँदैन त ?
मुलुकमा राजतन्त्रको अन्त्यपछि गणतन्त्र आएको छ । गणतन्त्र आएपछि जनता सबैभन्दा बढी स्वतन्त्र हुनुपर्ने तर उनीहरू नजरबन्दमा परेका छन् । शान्ति, सुरक्षा, स्वास्थ्य, विकास तथा शिक्षाको क्षेत्रमा जनता धेरै पछि पर्न थालेका छन् ।
मसँग तीन वर्षसम्म गृहमन्त्री भएको अनुभव छ । पछिल्लो समय गणतन्त्रका मतियारहरूले संसद्देखि सडकसम्म रमिता देखाउन थालिसकेका छन् । विदेशमा प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन नसक्दा राजीनामा बुझाउँछन्, हाम्रोमा संसद् विघटन गरेर सत्ता कब्जा गरेर बस्छन् । यो सबै राजतन्त्र फाल्दाको परिणाम हो ।
मपछिका सबै गृहमन्त्रीले के काम गरेका छन् भने प्रहरीलाई कसरी आईजीपी बनाउने त्यसमा ध्यान छ । कसको कति सुरक्षाकर्मी थप्ने घटाउने त्यसमा मात्र ध्यान छ । जनताको जीवन कसरी सुरक्षा गर्ने त्यसमा ध्यान छैन । नेपाल जस्तो दैवी प्रकोपको घटना हुने देशमा वर्षैपिच्छे हजारौँ मानिसको जन–धन क्षति भइरहेको समयमा नियन्त्रणका लागि ठोस कार्ययोजना बनाएको छैन ।
मन्त्री हुँदा मैले घरमा तातो भात खान पाइनँ । तर अचेलका मन्त्रीहरूले तारे होटलबाट खाना र खाजा मगाएर खान्छन् । मुलुक कोभिड महामारीमा रहेको समयमा गृहमन्त्री र स्वास्थ्य मन्त्री मिलेर सँगसँगै काम गर्नुपथ्योँ । तर यहाँ विभागीय मन्त्रालयको काम विभागीय मन्त्रीले मात्र गर्नुपर्छ भनेर सोच्छन् ।
गणतन्त्रमा जनताको मुहार हँसिलो हुनुपथ्र्यो, तर सबै निराश मुद्रामा छन् । मँहगीको मारमा छन् । भ्रष्ट्राचारको ग्राफ उकालो लागिरहेको छ । गाउँदेखि सहरसम्म भ्रष्टाचारको जालो फैलिएको छ । गणतन्त्रमा दललाई जनताभन्दा सत्ता प्यारो भएको छ ।
(पूर्वगृह तथा कानुनमन्त्री थापासँग इकागजकर्मी अतिन आचार्यको कुराकानी ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया