कलमसँगको साइनो
चेतनाको संवाहक हो कलम, मानवीय प्रवृत्ति र प्रगति हो, कलम । त्यसैले भन्छन्, ‘कलम लिएर उठ ।’ जब तिम्रा स्वतन्त्रतामाथि कुठाराघात हुन्छन्, ‘विचारको मसाल लिएर उठ, दृढताको, साहसको र विश्वासको आधार लिएर उठ ।’ विगत, वर्तमान र भविष्य, श्रुति, स्मृति, कथ्य र लेख्यको संयोजन गर्ने चित्त साधक समाजको दर्पण हो, कलम । पुरानालाई मर्मत गरेर, नयाँलाई धार लगाइ, कलमको तिखो नीवले भविष्यको डोर खिच्दै एउटा नवनीत कथा लेख्नुछ धरहराजस्तै अग्लो, र हिमालजस्तै विशाल ।
केही दिन अगाडि सामाजिक सञ्जालको आफ्नो टाइमलाइनमा डा. देवेन्द्रराज पाण्डेज्यूले ‘पेन हस्पिटल’को तस्बिर साझा गर्नुभएको थियो । कलमको बहुप्रयोजन र यसको उपादेयताको विषयले त्यही समय स्मृतिमा दस्तक दिएको हो ।
कलमको विकासको पनि आफ्नै कथा व्यथा छ । पौराणिक कालसम्म लेखिएका सबै ग्रन्थहरू कुनै ताडपत्रमा त कुनै भोजपत्रमा, कुनै रुखका बोक्रा या पातमा लेखिएका हुन् । पुराना ग्रन्थ लेख्ने आचार्यहरू आफ्नो लेखोटलाई सुन्दर बनाउन धेरै मिहिनेत गर्थे । लेखिइने विषयलाई पत्रको चारै किनारामा रंगीन कलेवर दिएर शिरमा गणेशस्तुतिसहित लेखिएका देखिएका छन् । यदाकदा मयुरको प्वाँखले लेखिएका दृश्यहरू पनि छापाका पानाहरूमा देखिएका छन् । परापूर्वकालमा चराको प्वाँखलाई पनि लेख्ने साधन बनाइएको रहेछ भन्ने देखियो ।
अहिलेको जस्तो बलपेन वा डटपेनको जमाना हो र ? विाभन्न रंगका वनस्पतिका फूल या पातहरूलाई पिसेर आएको रंगलाई मसिदानीमा जम्मा गर्दै बाँसको तिखो टुप्पोलाई मसीदानीमा चोप्दै लेखन कार्य गर्नु पर्दथ्यो । श्रुतिस्मृति परम्परा र समयको के कुरा मेरो आफ्नै बाल्यकालमा कालो मसी बनाएको, बाँसलाई तिखारेर लेख्ने कलम बनाएको अझै सम्झनामा रहेको छ । धेरै परको कुरा पनि हैन, आजभन्दा पाँच दशकअघिकै कुरा त हो ।
अनेक औद्योगिक वस्तुहरूको आविष्कार जस्तै कलमको पनि आविष्कार युरोपतिर नै भएको हो । हुनत यस्को डिजाइन लियोनार्दो दा भिन्चीले गरेका हुन् भनेर भनिन्छ तर व्यापारिक उत्पादनमा भने सेफर र पार्कर कम्पनीहरूले अग्रता लिएका थिए । अहिले पनि यी कलमहरू सेफर, पार्कर, मन्ट ब्लाँ तथा वाटरमेनको बजारमा विशेष स्थान रहेका छन् ।
कलमको आवश्यकता बढ्नका लागि युसको प्रयोगकर्ता र माग पनि त बढ्नुपर्यो नि । अठार शताब्दी आइपुग्दा नै फाउन्टेन पेनको व्यापक प्रयोग भइसकेको थियो युरोपतिर । विश्वविद्यालयहरूको स्थापना बढ्दै जाँदा विद्यार्थीहरूको संख्यासहित कलमको माग पनि बढ्दै जान थालेको हो । बेलायतमा सन् १६०० मा नै अक्सफोर्ड विश्वविद्यालय स्थापना भइसकेको थियो ।
भारतीय उपमहाद्विपमा भने सबैभन्दा पुरानो नालन्दा विश्वविद्यालयलाई धार्मिक कट्टरता र शासकीय उन्मादले आगो लगाएर ध्वस्त गरे पनि त्यहाँ बचेका केही ग्रन्थहरू निकालिए । अहिलेको जस्तो फोटोकपी गर्ने जमाना हो र त्यो ? उपलब्ध ग्रन्थहरूलाई चेलाहरू लगाएर प्रतिलिपि उतार गरी सुरक्षित राख्ने प्रयत्न गरिन्थ्यो । प्रसिद्ध चिनियाँ यात्री फाइह्याङ र हुवेनस्याङले यसै नालन्दा विश्वविद्यालयमा वर्षौं लगाएर अध्ययन गरी संस्कृतमा लेखिएका ग्रन्थहरूलाई प्रतिलिपि उतार गरेर चीनको सान्सी लगेका थिए ।
विचार गरुँ त, कति महत्वको काम थियो होला भोजपत्र, ताडपत्र, मसी, र बाँसको रिड कलम ? शासकीय कोपभाजनमा संस्कृत शिक्षा परे पनि भारतीय उपमहाद्विपमा मुस्लिम शासकहरूले आफ्नो प्रशस्ति लेखाउने, पद्य रचना गर्ने गर्न लगाउने काम भने छोडेनन् ।
भारतको नालन्दा विश्वविद्यालय सबैभन्दा पुरानो विश्वविद्यालय मानिन्छ । तक्षशिला विश्वविद्यालय ईसापूर्व ३१७ तिर स्थापना भएको मानिन्छ । मुगल साम्राज्यकालमा भारतीय उपमहाद्विपमा शिक्षाको विकासलाई प्राथमिकता दिइएन भन्दा हुन्छ । अंगे्रजको उपनिवेशकालमा भने प्रशासनिक सहायकहरू उत्पादन गर्ने उद्देश्यले सन् १८५७ पछि धमाधम विश्वविद्यालयहरू स्थापना गरिएका देखिन्छन् । यसै क्रममा यसैसाथ तीनवटा विश्वविद्यालयहरू खुले- बंगाल विश्वविद्यालय, मद्रास विश्वविद्यालय, मुम्बई विश्वविद्यालय । नेपालीहरूले शिक्षाको अवसर पाएका भनेको सन् १९१६ मा बनारस हिन्दु विश्वविद्यालयको स्थापनापछि मात्र हो ।
धनाढ्य भारतीयहरू बेलायतको अक्सफोर्ड, अमेरिकाको हावार्ड जस्ता कलेजमा पढेर दीक्षित हुँदै घर फर्कन थाले । सन् १९०० तिरको यो समय भारतमा पुनर्जागरणकाल रह्यो । साथै समाजमा शिक्षित र अनपढहरूको बीचमा वर्गीय विभेद देखिन थाल्यो । नेपाल पनि त्यसको अपवाद थिएन ।
अब उपल्लो वर्गमा पर्ने शिक्षित घरानियाँहरूको वर्ग हेरौँ । सरकारी कार्यालयका, अड्डा अदालतमा काम गर्ने डिट्ठा बिचारीदेखि लिएर नायबसुव्बा, मीरसुव्बा लगायतको उच्चतह र मध्यम तहका हाकिमहरू, गाउँमा घरायसी लेनदेनका घरकागज बनाउने लेखनदास, माल अड्डाको बाहिर घरजग्गाको कारोबार गर्ने, घरायसी लिखत तयार गर्ने लेखनदास, न्यायालयका अभियन्ता, अभिवक्ता, अधिवक्ता, शिक्षक, गाउँका साहुकार, जमिनदार आदि । यी आफूलाई उच्च संस्कारयुक्त माथिल्लो वर्गको हुँ भन्नेमा गर्व गर्थे । त्यसको प्रदर्शन इस्टकोट वा कोटको माथिल्लो खल्तीमा कालो, रातो र नीलो रंगका पाउन्टेन कलमहरू राखेर गर्थे । यो कलम बोक्ने कार्य अभिमान प्रेरित वर्गीय उच्चताको प्रदर्शन गर्नु नै थियो ।
त्यसो भए के कलमको महत्व नै सकिएको हो त ? अवश्य होइन । तर सस्तो कलमको उपयोगिता र उपयोग भने रहेन । अझै पनि कलम कर्पोरेट जगत्मा एउटा प्रतिष्ठाको रूपमा रहेको छ ।
नेपालमा फाउन्टेन पेनको प्रवेश २००७ सालको परिवर्तनपछि नै भएको हो । भारतमा शैक्षिक संस्थाहरूको संख्यामा बढोत्तरीसँगसँगै त्यसको असर नेपालमा पनि परेको हो । हामी स्कुलमा पढ्ने बेलासम्ममा त यसको माग ह्वात्तै वढेको थियो । विभिन्न थरीका नामधारी कलमहरू बजारमा देखिन थालेका हुन् । यी कलमहरूको गुणस्तर नहुने भएकाले ठाउँठाउँमा पेन हस्पिटल खुलेका हुन्, बिग्रिएका कलम मर्मत गर्न ।
हामीहरू स्कूले विद्यार्थी हुँदा हातभरी मसी लतपतिनु सामान्य थियो । कमिजको खल्तीमा मसी लाग्नु, ओठमुखमा लाग्नु त पढैयाको निसानी नै थियो । पछि नेपालमा नेसनल ट्रेडिङ लिमिटेडको स्थापना भएपछि भने चिनियाँ पेनले एकछत्र राज गर्यो । मेरो आफ्नो छनौट पनि यही चिनियाँ ‘हिरो’ कलम थियो, आकर्षक, राम्रो र मसी पनि ननिक्लने । नयाँ कलम हातमा परेपछि के लेखूँ के लेखूँ हुने । यो एउटा चलन नै थियो कि गुरुहरूले ‘कलम ठूलो कि तरबार’ भनेर निबन्ध लेखन प्रतियोगिता गर्दथे । कलमको गुणगाथा, यसको महिमा र महत्वमा लामा लामा निबन्धहरू लेखियो । ‘तरबार’लाई जहिल्यै विपक्षी बनाइयो र मानवीयताको दुश्मन भएको चित्रण गरियो ।
अहिले धेरैले कोट या इस्टकोटको बाहिर माथिल्लो खल्तीमा कलम बोकेर हिँड्न रुचि राख्दैनन् । अर्थात् शिष्टताको हिसाबले पनि सहज रूपमा लिइँदैन । यद्यपि, हाम्रा केही गन्यमान्य जमात यो पुरातन संस्कारलाई कायमै राख्नमा सहज मान्दछन् । यसरी कोटको बाहिरी माथिको खल्तिमा कलम राख्नु भनेको आफू सुसंस्कृत र शिक्षित छु भन्ने सन्देश दिनु नै हो । लेखनदासहरूसम्मका लागि यस किसिमको प्रदर्शन ठीकै लागे पनि उच्च अधिकृतहरूले भने कलमको प्रदर्शन नगरेकै उत्तम हो ।
अहिले यो डिजिटलको जमानामा कलम बोकेर हिँड्न पनि छोडिइसकेको अवस्था छ । मुखले बोलेको स्क्रिप्टलाई तत्काल कम्प्युटरको स्क्रिनमा र प्रिन्टरसम्म गएर तत्काल त्यसको लिखत बाहिर आउँछ । पहिला पहिला प्रयोग गरिने फाउन्टेन पेन चेल्सी मसी भरेर लेखिने बेलाको जमाना अब रहेन । अहिले अस्तित्वमा रहेको भनेको बलपेन वा डटपेन हो । एकपटक प्रयोग गरेर मसी सकिएपछि फ्याँकिदिने ।
त्यसो भए के कलमको महत्व नै सकिएको हो त ? अवश्य होइन । तर सस्तो कलमको उपयोगिता र उपयोग भने रहेन । अझै पनि कलम कर्पोरेट जगतमा एउटा प्रतिष्ठाको रूपमा रहेको छ । ठूला व्यापारिक घरानाहरू व्यावसायिक सम्झौताहरू गर्दा उत्कृष्ट ब्रान्डका कलमले दस्तखत गर्दछन् । अमेरिकन राष्ट्रपतिले पदभार ग्रहण गर्दा दस्तखत गरिने कलम यस्तै उच्चब्रान्डका हुने गर्दछन् र दस्तखत पछि ती कलम आफ्ना सहयोगीलाई उपहारको रूपमा दिने प्रचलन रहेको छ । आफू त ‘हिरो’ मार्का परियो । अझै पनि सम्झनाका लागि एउटा सुरक्षित छ ।
वर्षौंदेखि आफ्नो गुण र प्रतिष्ठाले बजारमा विश्वसनीयता कायम गरेको केही ब्रान्डहरू, जस्तै सेफर, पार्कर, मन्ट ब्लँ, वाटरमेन आदि । यी ट्रेडमार्क विशिष्ट चिनारीसहितका हुन्छन् । माउन्ट ब्लँको बिर्कोको माथि सेतो तारा हुन्छ भने पार्करको भिर्ने क्लिप तीरजस्तो चुच्चो हुन्छ । नेपालमा सबैभन्दा बढी रुचाइने ब्रान्डमा पार्कर पर्दछ । प्रयोग गरुँ त हैसियतले नदिने, एकजना सहृदयी मित्रले उपहारमा दिएको वाटरमेन कलम सुरक्षित सम्झनाको लागि राखेको छु ।
कलम उपयोगभन्दा पनि मर्यादाको प्रतीक हो, जसरी प्रतिष्ठित सम्पन्न र धनाढ्य व्यापारिक घरानाका मानिसहरू हातमा स्वीस घडी लगाउँछन् । महत्वपूर्ण मानिसहरूले महत्वपूर्ण दस्तावेजहरूमा प्रतिष्ठित नाम चलेका कम्पनीको ब्रान्डेड कलमले दस्तखत गर्छन् । तर प्रायः पुराना ऐतिहासिक दस्तावेजहरू सामान्य कागजमा बाँसका कलमले लेखिएका भेटिन्छन् । नाम चलेका साहित्यकारका पद्य हरफ चुरोटको बट्टामा पनि कोरिएका पाइएका छन् । अर्थ त गुदीमा रहने हो भन्दै गर्दा पनि बाहिरी रूपसज्जा, परिधान र नाम विशेषले पनि मर्यादाको अर्थ राख्दो रहेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया