विचार

ओलिटिक्सले कांग्रेसलाई दिलाएको अवसर

राकेश यादव |
जेठ २४, २०७८ सोमबार ११:५२ बजे

कोरोना महामारी र यस प्रभावबाट आक्रान्त विश्वलाई बचाउन विभिन्‍न अनुसन्धान भइरहेका बेला नेपाल उस्तै-उस्तै खोजमा क्रियाशील छ तर फरक यति मात्र हो- अन्य देश कोरोना महामारीबाट कसरी बाँच्‍ने उपायको खोजमा देखिन्छन्, तर हामी हाम्रो राजनितिक उथलपुथलको सामाधान र सत्ता कसरी टिकाइराख्‍ने भन्‍ने खोजमा व्यस्त छौँ ।

प्रधानमन्त्रीको पहिलो संसद् विघटनको घटना कोरोनोको पहिलो भेरियन्टसरह चित्रण गर्दा किमार्थ फरक पदैन । कारण त्यस घटनाबाट हाम्रोमा राजनीतिक संक्रमण सुरु भयो । दोस्रो विघटनलाई पनि दोस्रो भेरियन्टसापेक्ष मान्दा हुन्छ । कारण जब जब दुनियाँ भेरियन्टको त्रासमा तड्पिन्छ हाम्रा राजनेताहरू राजनीतिक महामारीको संकट सुरु गर्छन् । भाइरस र राजनीतिको यो संक्रमण सँगसँगै चलिरहेको छ । कसले कति क्षति गर्छ, त्यो थाहा पाउन अझै प्रतीक्षा गर्नुपर्नेछ । राजनीतिको तेस्रो भेरियन्ट भने अदालतको निर्णयका रूपमा आउने सम्भावना विज्ञहरूले औँल्याइरहेका छन् । 


एक दिन अचानक मेरो हालखबर बुझ्न अग्रजको फोन आयो । यताउताका कुरा पछि उहाँले अहिलेको राजनीतिक संक्रमणबाट नेपाली कांग्रेसले फाइदा लिन नसकेको दृष्टान्त पेस गर्नुभयो जसमा मेरो पनि शतप्रतिशत सहमति छ । अहिले चलिरहेको ओलिटिक्स नेपाली कांग्रेसका लागि अवसर हो तर कांग्रेस यसलाई उपयोग गर्न चुकिरहेको छ । यसो भनिरहँदा हिजो कांग्रेस सही थियो भन्‍ने कदापि हैन । कांग्रेस पनि दूधले नुहाएको शुद्ध जीव हैन । हिजो नेपाली कांग्रेसले गरेको गल्तीको परिणामस्वरूप आज कम्युनिस्टहरूको उदय भएको हो । सांसद खरिद-बिक्री, भ्रष्टाचार र अस्थिरताका लागि नेपाली कांग्रेस पनि बराबरको भागिदार छ ।

तर पनि विगतलाई सच्याउने मौका वर्तमानले नेपाली कांग्रेसले सजिलै पाएको छ । यसका प्रयोगकर्ताले यति बुझेर सही दिशामा राजनीति गर्न सके चुनावपछि नेपाली कांग्रेसले पुन : एक चोटि नेतृत्वको अवसर पाउनेछ । अहिले देखिएका तीन परिदृश्यले यसको संकेत गर्छन् :

कम्युनिस्ट एकताको विर्सजन : नेकपा एमाले र माओवादीहरूको एकता नेपाली कांग्रेसका दिग्गज नेताले पनि थाम्न सकेका थिएनन् । दुई कम्युनिस्ट सवार रथको वेगले नेपाली कांग्रेसका दिग्गज दिग्गज नेताहरू दौडमा धेरैपछि छुटेका थिए र हार बेहोर्न बाध्य भएका थिए । त्यो हारले आम कांग्रेसको मनोबल कमजोर भएको थियो । तर, ओलिटिक्सका कारण त्यो रथको पांग्रा खुस्किएर अलपत्र परेको छ । त्यति मात्र हैन, हिजो कम्युनिस्टहरूले देखाएका भ्रमका खेत पनि बाँझो भूमिसरह छ र यो कहिल्यै उब्जाउ हुँदैन । त्यसका प्रमाण दुई तिहाइ प्राप्त केपी सरकारको नालायकीपन हेर्दा थाहा हुन्छ । देशले दिएको जनमतलाई कम्युनिस्टहरूले कसरी दुरुपयोग गरे ? फगत आपसी द्वन्द्वका निम्ति दुई तिहाइ प्राप्त सरकारले आफ्नो कार्यकाललाई सत्ताको छिनाझपटीमा खर्चिएको आँखै अगाडि देखेका र अनुभव गरेका छौँ । कम्युनिस्टहरूको चरित्र र स्वाद पनि नेपाली जनताले चाखिसके अब यिनका सपनाको महलका लागि कहीँ कतै जमिन भेटिन्‍न । त्यसकारण पनि नेपाली कांग्रेसले केपीको यो ओलिटिक्सलाई हृदयदेखि धन्यवाद दिनुपर्छ ।

नेपाली कांग्रेसले विगतमा गरेका गल्ती सच्याउँदै आफ्ना पाइला अगाडि सार्दै जानुपर्छ । यो देशको बागडोर नेपाली कांग्रेसको काँधमा नै आउने हो अब । त्यसको आधार ओलिटिक्सले उपलब्ध गराएको छ । अबको दुई तिहाइ कांग्रेसको हो ।

मधेसवादी एकताको विर्सजन : पहाडमा कम्युनिस्ट र मधेसमा मधेस केन्द्रित दलहरूले नेपाली कांग्रसलाई दुवै तर्फबाट घेरामा हालेका थिए । हिजो मधेस आन्दोलन हुँदा केपी ओलीको त्यो भड्काउ भाषण र नेपाली कांग्रेसले सहिदहरूको शहादतबाट प्राप्त उपलब्धिबाट संविधान निर्माणको जिम्मेवारी पूरा गर्दा मधेसका लागि दुश्मन साबित हुनु र नगर्दा पहाडको नजरबाट तल देखिनु जस्ता कारणलाई एक समन्वयकर्ताको हैसियत र देशलाई एकढिक्का बनाउने प्रयास स्वरूप पार्टीले संविधान घोषणासँगै संशोधन प्रस्ताव दर्ताले नेपाली कांग्रेसलाई पुर्याएको हानिका कारण मधेसमा नेपाली कांग्रेसले नराम्रो हार खाएको जगजाहेर छ ।

आज राजनीतिक अभीष्ट पूरा गर्न हिजो मधेस हेर्न नसक्ने दुश्मन केपी ओलीले हिजो उपेन्द्रलाई प्रयोग गरे आज महन्थलाई प्रयोग गर्दै छन् । मधेसको आम जनतालाई दुवै मधेसवादी नेताको चरित्रबारे अब राम्रो अनुभव भइसकेका छ, तसर्थ पनि केपी ओलीको ओलिटिक्सको प्रभावका कारण मधेस केन्द्रित दल दुई चिरामा विभाजन भई मधेसमा पनि नेपाली कांग्रेसलाई रथारोहणको मार्ग प्रशस्त भएको छ । 

चरित्र उजागर : ओलिटिक्सको प्रभावमा परेर तत्कालीन संघीय समाजवादी फोरम ओली सरकारमा गई मधेसमा कमाएको साम-दाम उपेन्द्रजी सरकार बाहिर फालिँदासम्म उनले मधेसमा कमाएको आफ्नो मसिहाको छवि गुमाउँदै गए र रातारात मसिहाको छवि मधेसको खलनायकका रूपमा मधेसमा चित्रण गरियो । पछिल्लो समयमा भित्री कारण जेसुकै होस् तर ओलिटिक्सले प्रचण्डलाई सत्ता हस्तान्तरण नगरेकै कारण कम्युनिस्ट आन्दोलनको विर्सजक प्रचण्ड हुन् भने ओलिटिक्सले व्यापक प्रचार गरेको र अहिले पनि केपी ओलीको हरेक भाषणमा प्रचण्ड नै तिनका बाटोको तगारो बनेको देखिन्छ ।

उपेन्द्र-प्रचण्डलाई एकछिनलाई बिर्सेर महन्थ ठाकुरबारे चर्चा गरौँ । उपेन्द्र यादव केपी सरकारमा सामेल भएपश्चात् मधेसी दलसँग सामीप्य राख्ने व्यक्तिहरू त्यति बेला भन्‍ने गर्थे ‘अब मधेसमा मधेसवादी दल भनेकै महन्थ ठाकुर हुन् ।’ हुँदाहुँदै ओलिटिक्सले महन्थको छवि पनि दोस्रो भेरियन्टसँगै शून्यमा झारेर छाडिदिएको छ । 

अन्त्यमा, म अहिले ३८ वर्षको भएँ । लामो समयदेखि नेपाली कांग्रेसको सदस्यता भिरेर प्रत्यक्ष कार्यकर्ता भई काम गरेको छु । मेरो अनुभवमा नेपाली कांग्रेसले नयाँ कार्यकर्ता भर्ना गर्न कुनै अभियानका कार्यक्रम गरेको कहीँकतै भेट्टाएको छैन बरु नेपाली कांग्रेसलाई माया गरेर त्यसका तल्लो स्तरका कार्यकर्ताहरू ललाइफकाइ, ईष्टमित्रको माध्यमबाट होस् या चुनावी प्रतिस्पर्धा टिकटको छिनाझपटी जस्ता क्रियाकलापहरूमा कार्यकर्ताको आवश्यकतालाई महसुस गरी वृद्धि पनि भएको छ तर नेपाली कांग्रेसले अझै अगाडि आएर कार्यकर्ता उत्पादनको कुनै मोडेल प्रस्तुत गरेको छैन ।

तसर्थ ओलिटिक्स नेपाली कांग्रेसका लागि ठूलो अवसर हो र नेपाली कांग्रेसले यो अवसरलाई भरपुर उपयोग गर्ने मौका हो । हिजोको दिनमा प्रचण्ड, बाबुराम, उपेन्द्र र महन्थले नेपाली जनतासँग गरेको ठगीको किनाराको साक्षी नेपाली कांग्रेस बन्‍नु हुँदैन । नेपाली कांग्रेसले विगतमा गरेको गल्तीलाई सच्याउँदै आफ्ना पाइलाहरू अगाडि सार्दै जानुपर्छ । सत्ताको फोहोरी खेलमा अल्झनुको सट्टा विगतमा प्राप्त जनमतलाई विवेचना गरी नेपाली जनताको इच्छा र आकांक्षाअनुसार ढिलोचाँडो यो देशको बागडोर नेपाली कांग्रेसको काँधमा नै आउने हो, त्यसको आधार केपीको ओलिटिक्सले उपलब्ध गराएको छ । नेपाली कांग्रेसका नेताहरू नयाँ केही गर्न नसके पनि प्राप्त उपलब्धि नै उचित ढंगले व्यवस्थापन गर्दै लैजाने हो भने अबको दुई तिहाइ कांग्रेसको हो । त्यसका लागि वर्तमानको सत्ताको फोहोरी खेलमा नअल्झी आफ्नो उचित मार्गप्रशस्त गर्न कांग्रेसको एक कर्मठ कार्यकर्ताको हैसितले यो सुझाव दिने साहस गरेको छु ।

(पूर्वअध्यक्ष, नेपाल विद्यार्थी संघ, पर्सा ।)


Author

थप समाचार
x