विचार

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सन्दर्भ र आवश्यकता

दक्ष प्राध्यापकविना एनडीयू सञ्चालन हुन सक्दैन

डा‍. निश्‍चलनाथ पाण्डे |
जेठ ३०, २०७८ आइतवार १२:३८ बजे

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को आवश्यकता र यसको महत्वबारे धेरै पहिलेदेखि नै लेख्दै–बोल्दै आइरहेको छु । नेपाली सेनाले गर्ने बहसमा पनि उपस्थित भई यसको आवश्यकताबारे औँल्याउने गरेकै हो । सन् २००९ देखि अमेरिकी प्रतिरक्षा विश्वविद्यालय र सार्क क्षेत्रका केही विश्वविद्यालयमा हुने विभिन्न बहसमा सहभागी हुँदै आएकाले पनि हुन सक्छ- यस्तो विश्वविद्यालय नेपालमा अत्यावश्यक रहेको ठानेको छु ।

हामीकहाँ अध्ययन–अनुसन्धानका लागि यो तहको विश्वविद्यालय अभाव नै छ । भूराजनीतिक र रणनीतिक तवरमा महत्वपूर्ण स्थानमा भएर पनि यस्ता विषयमा ध्यान दिन सकिएन भने नेपाल पछि पर्नेछ । यस्ता विषयलाई सम्बोधन गर्नसमेत एनडीयू आवश्यक छ । यस्तो विश्वविद्यालयले रणनीतिक थिंक ट्यांकको समेत काम गर्ने हुनाले संगठनलाई थप बलियो बनाएर अघि बढाउनेछ । सेनाको निगरानीमा रहने भए पनि साझा लक्ष्य, रणनीतिक सोच र संस्कार एवं समान बुझाइका लागि पनि यस्तो विश्वविद्यालय आवश्यक छ ।


राष्ट्रिय रणनीति, सुरक्षा तथा रक्षा विषयमा नेपालमा अध्ययन नहुने र त्यसका लागि सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उच्च अधिकारी विदेशमा नै जानुपर्ने बाध्यता छ । प्रतिरक्षा क्षेत्रमा नेपाली सेनाको आवश्यकता पूर्ति गर्न सैनिक कमान्ड तथा स्टाफ कलेज, नेपाली सैनिक वार कलेजलगायत शिक्षण संस्था सञ्चालनमा छन् । तर ती संस्था ट्याक्टिकल (रणनीतिक) तथा सीमित अपरेसनल तहमा मात्र सीमित दक्ष जनशक्तिमात्र उत्पादन हुन्छन् । त्यसैले नेपालका लागि आवश्यक अपरेसनल एवं रणनीतिक तहको अध्यापनका लागि विदेशी संस्थाहरूमा भर पर्नुपर्ने अवस्था छ ।

सन् २०११ मा उक्त अमेरिकी विश्वविद्यालयले विशेष गरी वायुसेनामा कार्यरत अफिसरको टोली लिएर काठमाडौँ आएको थियो । नेपालमा न वायुसेना छ, न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय । उक्त टोलीलाई नेपालको परिस्थितिबारे केही भन्ने मौका पाएँ, यहाँको अवस्थाबारे प्रस्तुति दिएँ । पछि उक्त विश्वविद्यालयले टर्की, थाइल्यान्ड, श्रीलंका, दिल्लीमा आयोजना गरेको बहसमा सहभागी हुन पाएँ । 

उक्त विश्वविद्यालयले सेना, प्रहरी, सशस्त्र, परराष्ट्र, गृह र रक्षा मन्त्रालयका कर्मचारीलाई धेरै लामो समयदेखि आफ्नो ‘नेसा सेन्टर’मार्फत सेमिनारहरूमा आमन्त्रण गरिरहेकै छ । यसरी उनीहरूसँगको संगत बढ्दै जाँदा हो या त्यसको महत्वले मलाई छुँदै गयो । नेपालमा पनि यो प्रकारको विश्वविद्यालय आवश्यक रहेको बताउँदै आएँ । म मात्र होइन, अन्यले पनि बताइरहनु भएको थियो ।

सन् २०१५ मा पाकिस्तानको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसिया र विश्वका प्रमुख शक्तिबीच संघर्ष’ विषयक बहसमा मेरो प्रस्तुतिसँगै एनडीयू जस्तो संस्थाको अपरिहार्यता नियालेँ । यसको सञ्चालन पनि नजिकबाट बुझँे । तीन तारे रथी अध्यक्ष रहने उक्त संस्थामा प्राज्ञिक कार्य चाहिँ सबै पाकिस्तानका नाम चलेका विषयगत ज्ञान राख्ने प्राज्ञिकहरू मात्रै हुँदा रहेछन् ।

प्रा. पर्वेज इक्बाल चीमा जो पटक पटक काठमाडौँ आउनुभएको छ । कैँयन् कार्यक्रममा उहाँको प्रस्तुतिले उपस्थित विज्ञहरू नतमस्तक हुन्थे । उनी पनि त्यो बेला एनडीयूमै आबद्ध रहेछन् । अनि लाग्यो, एनडीयूको अपरिहार्यता र विज्ञताको आवश्यकता ।

नेपालमा किन आवश्यक ?

धेरैको जिज्ञासा हुनसक्छ- हामीकहाँ यो एनडीयू किन आवश्यक छ ? 

पहिलो : सेनाका उच्च अधिकृतहरू अरु मुलुकका एनडीयूहरूमा तालिमका लागि जान लालायित हुन्छन् र यो तालिम उनीहरूको प्रमोसनका लागि समेत महत्वपूर्ण हुन्छ । यस्तो संस्था नेपालमा नै भयो भने– सामरिक अध्ययन, उच्च तहको तालिम र अनुसन्धान नेपालमै सम्भव हुनसक्छ । हाम्रो एनडीयूमा विदेशबाट पनि प्रशिक्षार्थीहरू आउन निश्चित छ र यसले सैनिक कूटनीति पनि प्रभावकारी बन्दै जानेछ । असंलग्न परराष्ट्र नीति, दुवै छिमेकीसँग समान सम्बन्ध सञ्चालन गरिरहेको सार्कको राजधानी मुलुक नेपाल भएका कारणले पनि यहाँ अरु सेनाका उच्च अधिकृत आउनेछन् । त्यही तवरले नेपालले आफ्नो प्रस्तुति दिन सक्नुपर्छ ।

दोस्रो : नेपाली सेनाको आफ्नै ‘थिङ्क ट्याङ्क’ छैन । झन्डै तीन दशकअघि खुलेको शिवपुरीस्थित सैनिक कमान्ड स्टाफ कलेजले आफूलाई दिएको दायित्व उल्लेखनीय रूपमा पूरा गरिराखेको छ । यद्यपि यो प्रशिक्षण प्रतिष्ठान उच्च तहका अधिकृतहरूका लागि होइन, सेनानी तहका लागि मात्र हो । जहाँ २४ वर्षदेखि म व्याख्यान दिँदै आउँदा विदेशीको उपस्थितिले एनडीयूमा पनि त्यो उपस्थिति रहने देख्छु । झन्डै साढे दुई दशकको यो अन्तरालमा कैँयन् सेनानीहरू उच्च तहमा र केही त अवकाशसमेत भइसक्नु भएको अवस्था छ ।

सशस्त्र प्रहरीको कमान्ड तथा स्टाफ कलेजको त पाठ्यक्रम विकास तथा गठन अवस्थादेखि नै सशस्त्रसँगै रहेकाले पनि त्यसको महत्व स्पष्ट पार्न सहज भएको छ । पूर्वरक्षा एवं गृहसचिव नवीन घिमिरे, प्रा. रमेशराज कुँवर, रविराज थापा लगायतसँग मिलेर नै पाठ्यक्रम तयार भएको हो । चीनको सहयोगका कारण देशकै गर्व गर्न लायक भव्य कलेज मातातीर्थमा सञ्चालनमा छ । बिस्तारै नेपाली सेना होऊन् या सशस्त्र प्रहरी बललाई दुवैले आफूलाई थप सक्षम र अब्बल बनाउँदै अध्ययनमा पनि खार्न लागेका हुन् ।   

अमेरिकी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा तालिमरत वायुसेनाका अधिकृतसँग पाण्डे

एनडीयूले सेनाको ‘थिङ्क ट्यांक’का रूपमा पनि काम गर्छ, मुलुकको समग्र परिस्थितिको सूक्ष्म मूल्यांकन, दक्षिण एसियाको सामरिक र सुरक्षा स्थितिबारे अध्ययन र त्यसको आधारमा सैनिक मुख्यालयलाई आफ्नो सल्लाह समेत दिन सक्छ । यो विश्वविद्यालयमा सैनिक, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र नेपाल सरकारका निजामती कर्मचारी तालिममा आउन सक्छन् । तर, बाहिरका अर्थात् सर्वसाधारण विद्यार्थीलाई भने यो विश्वविद्यालयमा प्रवेश दिँदा यसको गरिमा अन्य विश्वविद्यालयकै जस्तो हुन पुग्छ । र आम सर्वसाधारणले त मुलुकभर खुलेका जुनसुकै विश्वविद्यालयमा गएर अध्ययन गर्न सक्छन् नि । त्यो थिममा अडेर काम हुन आवश्यक देख्छु ।  

नेपाली सेना, प्रहरी र निजामती सेवामा उच्च अध्ययनका लागि चाख राख्ने अफिसरको संख्या हरेक वर्ष बढ्दै गएको छ । कतिपयलाई आफूअन्तर्गत राखेर काम÷गाइड गरिरहँदा धेरैको शोध–विषय सुरक्षा र वैदेशिक नीतिसँग सम्बन्धित हुने गरेको छ । यी सबै विद्यार्थी अब यो एनडीयूमा आबद्ध हुन सक्छन् । तर हामीकहाँ दक्ष जन–शक्तिको ठूलो समस्या छ । दक्ष प्राध्यापकविना एनडीयू सञ्चालन हुन सक्दैन ।

उच्च तहमा सेवा गर्ने सबैलाई आवश्यक

स्वभावैले एनडीयू भनेकै सैनिक उच्च–अधिकृत र दक्ष प्राध्यापकको संगम भएको सरस्वती मन्दिर हो । विदेशमा सरकारी कर्मचारीहरू महत्वपूर्ण पदमा पुग्ने व्यक्तिले यस्ता विश्वविद्यालयमा कोर्स गरेको हुनुपर्ने प्रावधान छ । हाम्रो भूगोललाई ध्यान दिने हो भने नेपाल पनि त्यसतर्फ उन्मुख हुनुपर्ने देखिन्छ । विदेशस्थित जति पनि एनडीयूहरूलाई नियाल्दा त्यहाँ उपरथी वा रथी नै अध्यक्ष पाइन्छ ।

तर, उपकुलपति, रेक्टर र राजिस्ट्रार चाहिँ मुलुकमा नाम चलेका प्राज्ञिकहरू नै भएको देख्छु । त्यो अनुभव बटुलेको पनि छु । स्वयं विद्यार्थी नै एमफिल वा पीएचडी गर्न आउने हुनाले प्राज्ञ चाहिँ एमफिल र पीएचडी नगरेको हुने त कुरै भएन । ९ कक्षा पढाउने शिक्षक आफैँ ९ कक्षा पढेको कसरी हुनसक्छ ? अवश्य, कुनै तालिम वा लेक्चरका लागि त्यस्ता व्यक्ति आउन सक्छन् तर स्थायी शिक्षक विद्यावारिधि नै गरेको अनिवार्य गरिनुको विकल्प छैन । अन्यथा एनडीयूले अन्तर्राष्ट्रिय मान्यता पाउन सक्दैन, विदेशी एक/दुई वर्ष आए पनि पछि बिस्तारै आउन छोड्ने हुनाले परिणाममा मूल उद्देश्य नै पराजित हुन्छ ।  

विश्वविद्यालय सञ्चालनमा हाम्रो अनुभव पुरानो छ तर हामीले हाम्रा अरु विश्वविद्यालयहरूलाई पढाउने भन्दा पनि राजनीति गर्ने अखडाका रूपमा रूपान्तरित गरिसकेका छौँ । अब आउन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा यो रोग सार्नुहुन्न । त्यसमा सजग बन्नैपर्छ । दक्षिण एसियाकै रोल मोडल हुनसक्ने संस्थाका रूपमा यसलाई ल्याउनुपर्छ । यसले प्रकाशन गर्ने जर्नल र किताब उच्च स्तरका हुनुपर्छ । शिवपुरीको सैनिक कमान्ड तथा स्टाफ कलेजमा अध्ययन गर्ने अमेरिका, भारत, पाकिस्तानका सेनानी दर्जाका अधिकृतहरूको कम्युनिटी स्पोन्सर (community sponsor) का रूपमा भूमिका निर्वाह गर्दाको अनुभव स्मरण गर्न चाहन्छु । त्यो के हो भने जसरी शान्ति सेना पठाउनेमा धेरै देशहरू अहिले आएर अग्रसर हुन थालेका छन, अबको विश्व, सैनिक तालिम केन्द्र, कलेज र विश्वविद्यालयहरूमा पनि प्रतिस्पर्धी हुँदै गएको छ । यो चुनौतीलाई हामीले राम्ररी मनन गर्न जरुरी छ । 

र, अन्त्यमा

उच्च शिक्षा अध्यापन, प्रबुद्ध व्यक्ति समूह (थिंक ट्यांक) को कार्य (अध्ययन, अनुसन्धान एवं विश्लेषण), नेपाली सेना र अन्य सुरक्षा निकायहरू समेतको उच्च शिक्षाको आवश्यकता पूर्ति हुने प्रस्तावित विश्वविद्यालयको ढाँचा सेनाले तयार पारेर काम अघि बढाएको छ । केही महिनाअघि नेपाल सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि समितिसमेत गठन गरी जग्गा उपलब्ध गराएको छ । 

पाकिस्तानको एनडीयूमा बहालवाला ३ तारे रथी कुलपति छन् भने ३ जना २ तारे उपरथी पनि काजमा हरबखत हुन्छन् । बंगलादेशमा यस किसिमको विश्वविद्यालय छैन । त्यहाँ नेसनल डिफेन्स कलेज छ । भारतको हरियाणा राज्यको गुरगाउँमा प्रतिरक्षा विश्वविद्यालयका लागि भवन बनाउन थालिसकिएको छ । गान्धीनगर, गुजरातमा अवस्थित राष्ट्रिय रक्षा विश्वविद्यालयले गत वर्ष असोजमा सीमासम्बन्धी क्षेत्रीय गोष्ठीको आयोजना गरेको थियो ।

नेपालबाट मैले सहभागिता जनाउन पाएको थिएँ । त्यहाँ व्याख्यान पनि दिइरहँदा बुझ्ने अवसर पाउँदाको अनुभव छ– सायद भारतमा छरिएर रहेका धेरै स्टाफ कलेज र उच्च तहका तालिम केन्द्रहरू अब यो गुरगाउँको प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा आएपछि त्यसैअन्तर्गत आउने पनि हुनसक्छ । श्रीलंकाको कोट्लेवाला राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा पुग्दा थाहा भयो त्यहाँ पूर्वप्रधानसेनापतिलाई नै कुलपति राख्ने चलन रहेछ । अमेरिकाको प्रतिरक्षा विश्वविद्यालयमा बहालवाला ३ तारे जर्नेल अध्यक्ष रहन्छन् भने विश्वविद्यालयको ‘प्रोवोस्ट’ चाहिँ प्राज्ञिक क्षेत्रको व्यक्ती राख्ने व्यवस्था छ ।

यसरी सेना (स्थल, जल र वायु) र प्राज्ञिक क्षेत्रलाई समेटेर अरु मुलुकहरूले आ–आफ्ना प्रतिरक्षा विश्वविद्यालय गठन गरेझैँ हामीले सेना र प्राज्ञिक क्षेत्रलाई समेट्नु राम्रो हुन्छ । प्रशिक्षार्थी आफैँ स्नातकोत्तर गरिसकेको आउने हुनाले शिक्षकको योग्यतालाई विशेष ध्यानमा राख्नुपर्छ । आशा गरौँ, सेना, कूटनीति र कानुनको क्षेत्रमा धेरै वर्ष काम गरेर ख्याति कमाउनु भएका अनुभवीहरू सम्मिलित उक्त समितिले चाँडै आफ्नो काम पूरा गर्नु हुनेछ र यो विश्वविद्यालय सञ्चालनमा आउनेछ । 


Author

डा‍. निश्‍चलनाथ पाण्डे

लेखक डा. पाण्डे भूराजनीति र कूटनीतिक मामिलामा दख्खल राख्छन् । उनी दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख हुन् ।


थप समाचार
x