विचार

नरकान्त भन्थे- व्यवस्था धान्‍ने खुबी नहुनेले किन परिवर्तनको चाहना राख्‍ने ?

विनोद न्यौपाने |
असार २, २०७८ ९:४१ बजे

कुनै पनि व्यक्तिलाई सधैँभरि सम्झने बाँचुन्जेल उसले गरेका कर्मकै आधारमा हो । नेपालमा धेरै व्यक्ति जन्मिए । सकेको कर्म गरे र मरेर गए । कोही इतिहास बनाएर गए भने कोही जसरी उदाए त्यसरी नै पतन भए । थोरैले मात्र सबैले सधैँ सम्झने गरी इतिहास बनाएर गएका छन् । 

एउटा व्यक्तिले पनि समाजका लागि सबैथोक गरेर जान नसके पनि आदर्श समाज निर्माणको जग हाल्न भने सक्छ । समाज वा मुलुकले उसले गरेका असल कर्म पछ््याउने उत्तराधिकारी भेट्यो भने आदर्श समाज निर्माणको परिकल्पना साकार हुन सक्छ ।


यस्तैमध्येका एक आदर्श प्रशासक थिए, नरकान्त अधिकारी । १९७७ पुस २२ मा लमजुङको दुराडाँडामा जन्मिएका नरकान्तको १०१ वर्षको उमेरमा २०७८ जेठ २७ गते निधन भएको छ ।

संयोग, नरकान्तका पिता शैक्षिक तथा ऐतिहासिक ‘हलो क्रान्ति’ अभियानका अगुवामध्येका शेषकान्त अधिकारीको पनि १०१ वर्षकै उमेरमा निधन भएको थियो । नरकान्तको निधनले मुलुकले एउटा इमानदार, निष्ठावान् र कुशल प्रशासक गुमाएको छ भने दुराडाँडाले असल मार्गदर्शक अभिभावक ।

सरकारी नोकरीमा प्रवेश
वि.सं २००१ मा औद्योगिक व्यापारिक समाचार संग्रह अड्डाको हाकिम थिए विजयशमशेर राणा भने सरदार भीमबहादुर पाँडे दोस्रो हाकिम । देशभर औद्योगिक सर्भे गर्ने भनेर सर्भेयर मागियो । धेरैको आवेदन पनि परेको रहेछ ।

त्यसमध्ये पाँचजना सर्भेयरका रूपमा छानिए । थिरबहादुर रायमाझी, केशरबहादुर, धनबहादुर, नरकान्त अधिकारी र सत्यमोहन जोशी । उनीहरू आफूलाई पाँच पाण्डव नै ठान्थे, जसमध्ये नरकान्तलाई ‘नकुल’ भनिँदोरहेछ । सर्भेयरका काम कुशलतापूर्वक पूरा गरेपछि नरकान्त जनगणनाको काममा खटाइए । 

पछि निजामती सेवामा प्रवेश गरेका नरकान्त प्रशासनको उच्च ओहोदाको सचिव पदसम्म पुगे । अर्थ, कृषि हुँदै रक्षामन्त्रालयको सचिवको जिम्मेवारी निष्ठा र इमानदारीपूर्वक पूरा गरे । निजामती सेवाबाट निवृत्त भएपछि नरकान्त महालेखा परीक्षक भए । उनी राज परिषद्का सदस्यसमेत भए ।

विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित उच्चस्तरीय प्रशासन सुधार आयोगको सदस्यमा नियुक्त भए नरकान्त, आयोगको उपाध्यक्ष कुलशेखर शर्मा थिए । मुलुकमा बहुदलीय संसदीय व्यवस्था पुनर्बहालीपश्चात प्रशासनमा समय-सापेक्ष सुधारबारे सुझाव दिन उक्त आयोग गठन गरिएको थियो ।

आयोगमा प्रधुम्नलाल राजभण्डारी, कृष्णबहादुर मानन्धर र नरकान्त सदस्यमा नियुक्त भएका थिए । पछि नरकान्तलाई पे-कमिसनको अध्यक्षसमेत बनाइयो । उनी २०५६/५७ मा सर्वांगीण विकास अध्ययन केन्द्रमा सञ्चालक समितिको पूर्णकालीन सदस्यसमेत बने । केन्द्रको कार्यकारी निर्देशकमा डा. द्वारिकानाथ ढुंगेल थिए ।

प्रशासनका अब्बल खम्बा
राजनीतिमा बीपी कोइराला युगपुरुषको पहिचान छाडेर गए । यदुनाथ खनालले देशविदेशमै अब्बल कूटनीतिज्ञको छवि बनाए भने निजामती प्रशासनमा कुलशेखर शर्मा र नरकान्त इमानदार प्रशासकमा गनिन्थे ।

‘अरू सबै खराब म मात्र ठीक भन्‍ने भावनाले कहीँ पुग्‍न सकिन्छ ?’

पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलका अनुसार, नरकान्त इमानदार, सक्षम, कर्मठ र कानुनको सही पालना गर्ने/गराउने काबिल सरकारी अधिकृतका रूपमा चिनिन्थे । 

‘कम बोल्ने, कानुनको अधीनमा रहेर बोल्ने भएकाले उहाँको कुरा काट्ने हैसियत सायदै कसैले राख्यो होला प्रशासनिक सेवामा रहँदा । सरकारी सम्पत्तिको दुरुपयोग कत्ति पनि हुन नदिन विशेष सतर्कता अपनाउने त्यसबेलाका सायद उनी एक मात्र प्रशासक थिए,’ ढुंगेलले भने ।

सर्वांगीण विकास अध्ययन केन्द्रमा सञ्चालक सदस्य र कर्मचारीलाई दिनको एक कप चिया र दुईटा बिस्कुट खाजास्वरूप दिने प्रचलन थियो । पछि बिस्कुट काटेर एउटा स्याउ दिने परम्परा स्थापित गरिएको रहेछ । 

उनै ढुुंगेलका अनुसार, ‘नरकान्त पटक-पटक भन्थे- खर्च पारदर्शी हुनुपर्छ । फजुल खर्च कत्ति पनि नगर्नु । भोलि हामी यहाँबाट बिदा भएर गएपछि बेरुजु भनेर एक रुपैयाँ पनि आउनु हुँदैन भन्दै खर्च कटौतीलाई प्राथमिकता दिन सुझाव दिन्थे । कर्मचारीमा कठोर अनुशासन भएन भने प्रशासन कसरी अब्बल हुन्छ ? भन्‍ने प्रश्न बारम्बार गरिरहन्थे ।’ 

उनी भन्छन्, ‘प्रशासनिक क्षमता र दक्षताका कारण नरकान्तको अफिसमा छिर्न जो कोही पनि डराउँथे ।’ 

नरकान्तका भाइ कृष्णकान्त आफ्नो बाजेको चेला भएकाले घरमा आइरहने गर्थे । कसैले बाजेसँग कृष्णकान्तको परिचय माग्यो भने मुलुककै काबिल, कडा र अब्बल प्रशासकको भाइ हो भनेर परिचय गराइन्थ्यो । त्यसैले साधारण र मिजासिला छविका कविराज कृष्णकान्तलाई देख्दा पनि डर लाग्थ्यो ।

ढुंगेलले २०३९/४० मा नरकान्त महालेखा परीक्षक हुँदा आफूले पहिलोपटक प्रत्यक्ष भेटेको बताए । ‘म रसुवा-नुवाकोट एकीकृत ग्रामीण विकास परियोजनाको संयोजक थिएँ । उनलाई भेट्न महालेखा परीक्षकको बबरमहलस्थित कार्यालयमा पुगेँ । कोठामा डराइडराई पसेर मैले भनेँ, ‘म परियोजना परीक्षणको प्रमाणपत्र लिन आएको हुँ ।’ 

उहाँले आदरपूर्वक मेरो कुरा सुनेर प्रत्युत्तर दिनुभयो । कडा र अब्बल प्रशासक भनेका व्यक्तिले आफ्ना कुरा धैर्यपूर्वक सुनेर जवाफ दिएको देखेपछि म उहाँबाट प्रभावित भएर फर्किएको ढुंगेलले बताए । नरकान्तको निधन भएको खबर सुनेपछि आफ्नो मानसपटलमा त्यतिबेलाको प्रशासनमा उहाँजस्ता प्रशासकले कायम गरेको सुशासनको योगदान झल्झली आएको ढुंगेलले बताए । उनले भने, ‘अहिलेको प्रशासन र राजनीतिबाट नागरिकले भोग्‍नुपरेको सास्ती देख्दा मुलुकको के दोष थियो होला र ? भन्‍ने प्रश्न आफैँसँग सोधिरहन्छु ।’ 

९२ वर्षको उमेरमा भेट्दा 
मुलुकमा गणतन्त्र स्थापना भएको चार वर्ष पुगेको थियो । म २०६९ असार ७ गते उनलाई भेट्न लैनचौरस्थित निवासमा पुगेको थिएँ । भेट्ने बित्तिकै देशको वर्तमान अवस्थाप्रति यहाँको प्रतिक्रिया लिन आएको, के भन्‍नुहुन्छ ? 

उनले ठूलो स्वरमा हकार्दै भने, ‘तिमी को हौ, म चिन्दिनँ, मैले किन बोल्ने ?’ 

मैले भने, म धारापानी कोषनाथ न्यौपानेको छोरा हुँ । राष्ट्रको कुशल अभिभावक ठानेर बाटो बिराउँदै गरेको गणतन्त्र र शासकीय संयन्त्र संस्थागत गर्न के गर्दा उत्तम होला भनेर सोध्न आएको ? उहाँको आनीबानीबारे जानकार थिएँ । किनकि जन्मथलो एकै ठाउँ भएकाले पिताजीले भन्‍ने गर्नुहुन्थ्यो, कहिलेकाहीँ नरकान्तलाई भेट्न जानु है ।
उनले सोधे, ‘कहाँ काम गर्छौ ?’ 
मैले भने, ‘अन्‍नपूर्ण दैनिक पत्रिकामा ।’
उनीसँग प्रतिक्रिया लिन धेरैबेर पर्खनुपर्‍यो । 
धेरैबेर पर्खाएर उनले भने ल भन मैले के भन्‍नुपर्‍यो ? 
फेरि उही प्रश्न दोहोर्‍याएँ, तपाईंलाई राष्ट्रको कुशल अभिभावक ठानेर शासकीय संयन्त्रले बाटो बिराउँदै गरेको मुलुकलाई सही दिशामा ल्याउन के गर्दा उत्तम होला ? 

त्यसपछि उनले आफूले साँचेर राखेका प्रश्नको भारी नै खोलिदिए । मुलुकमा गणतन्त्र आयो भन्छन् तर केका लागि ? परिवर्तन किन आवश्यक भयो ? जनताले के कुराले पोलेर परिवर्तन चाहे ? के गरेर उनीहरूको मन शान्त पार्न सकिन्छ ? उनीहरूलाई सुखी बनाउन के बाधक भयो ? 

अब के गर्दा ठीक हुन्छ भन्‍ने भावना कसैमा देखिन्छ ? पुरानो व्यवस्थामा के त्रुटि भएर नयाँ परिवर्तन गर्नुपर्‍यो ? मुलुकमा संविधान थिएन र ? पुरानो संविधानको कुन बुँदा देशलाई अघि बढाउन बाधक भयो ? जनताको दैनिक जीवनमा कुन बुँदाले असर पुर्‍यायो ? त्यसको पहिचान कसैले खोज्यो ?

खराब र असल छुट्याउन नसक्नेले कसरी राष्ट्र हाँक्छ ? अरू सबै खराब म मात्र ठीक भन्‍ने भावनाले कहीँ पुग्‍न सकिन्छ ? अरूको अस्तित्व स्वीकार्न नसक्नेको अस्तित्व अरूले पनि किन स्वीकार्ने ? पढ्ने मानिस धेरै भए तर जानिफकार थोरै । व्यक्तिलाई होइन, राष्ट्रलाई केन्द्रमा राखेर अघि बढे अगाडिको बाटो सहज हुने उनको भनाइ थियो । 

नरकान्तले भने, ‘पुरानो संरचनामा भएका त्रुटि नखोजी नयाँ संरचना बनाउँछु भनेर भीडको पछि लाग्‍नु ज्ञानको अभावले हो । हिजोको राज्य संरचनाले के बिगारेको थियो, नयाँ किन आवश्यक पर्‍यो भन्‍ने कुरा जनसमक्ष स्पष्ट राख्न सक्नुपर्‍यो नि । नजानेको विषयमा हात हाल्दा दुःख पाइन्छ भन्‍ने नजान्दा मुलुक लथालिंग भएको हो ।

हिजो के थियो, आज के भयो र भोलि के हुन्छ भन्‍ने निर्धारण नगरी त्यसै बुकुर्सी मारेर मात्र परिवर्तन संस्थागत हुने हो र ? व्यवस्था धान्‍न सक्ने खुबी नहुनेले किन परिवर्तनको चाहना राख्ने ?’ नरकान्तले त्यतिबेला तेस्र्साएका यी प्रश्न आज पनि अनुत्तरित छन् । मुलुक झनझन् संकटतिर धकेलिँदैछ ।

सय वर्षको उमेरमा भेट्दा 
गत वर्ष लकडाउनका बेला उनलाई भेट्न हामी दाजुभाइ लैनचौरस्थित निवासमा पुगेका थियौँ । अनुहार हँसिलो, रसिलो र भरिलो देखिन्थ्यो । उनका अगाडि महाभारतको ठूलो किताब, गीता र गोरखापत्र थियो । तिमीहरू को हौ, कहाँ काम गर्छौ भनेर सोधे । पिताजीको नाम भनेपछि ए थाहा पाएँ भने । तर कुरा राम्रै गरे पनि कोसँग के कुरा गर्दैछु भन्‍ने चेतना बुवासँग नभएको छोरा शारदाकान्तले पहिल्यै बताएका थिए ।

नरकान्तले हामीप्रति इंकित गर्दै भने, ‘रिड, राइट एन्ड थिंक (पढ, लेख अनि विचार गर) । अनि हरेक दिन गीता पढ्ने गर्नु, त्यसले सही मार्ग देखाउँछ ।’ उनले देखाएको बाटो हिँड्ने वाचा गर्दै हामी फर्कियौँ । हाम्रा लागि त्यो नै अन्तिम भेट भयो ।

दुराडाँडेका असल अभिभावक
प्रायःजसो हरेक दसैँमा घर जाने गर्थे उनी । पिताजी शेषकान्तको २०५१ सालमा निधन भएपछि उनी कहिलेकाहीँ मात्र गाउँ जाने गर्थे । अधिकांश दसैँको फूलपातीको दिनमा नरकान्त घर पुग्थे । आज आउँदैछन् भन्‍ने थाहा पाउनेहरू उनलाई लिन बीच बाटोमा पुग्थे । गाउँमा अर्कै जाँगर र उत्साह हुन्थ्यो । उनी पुगेपछि घरमा बसुन्जेल भीड जम्मा हुन्थ्यो । धेरैजसोले यसपटक छोराले एसएलसी पास गरेको छ, जागिर लगाइदिनुपर्‍यो भन्‍ने गुनासो राख्थे ।

कुशल प्रशासक नरकान्त अधिकारीको कार्यकक्षभित्र छिर्न जोकोही पनि डराउँथे ।

चाकरी गर्न खोज्नेलाई उनको घरको ढोका सँधै बन्द हुन्थ्यो, चाहे दुराडाँडा गएका बेला होस् या काठमाडौँमा रहँदा । उनका समकालीनबाहेक अरूले भेट्ने हैसियत राख्दैनथे । कसैलाई पनि पिताजीको नाम नभनेसम्म चिन्दैनथे । दुराडाँडाको बासिन्दा अनुशासनमा नबसेको म देख्न/सुन्‍न चाहन्‍न भन्थे । 

भेट्न जाने समकालीनमध्येका अधिकांशलाई एउटा चिठी लेखेर मलाई काठमाडौँ भेट्न पठाइदिनु भन्‍ने गर्थे । अघिपछि भने उनका पिताजी लप्टन शेषकान्तको हस्ताक्षरसहितको चिठी लिएर गएपछि जागिर पक्का हुन्थ्यो । यो सबै उनले दुराडाँडाप्रति देखाएको अभिभावकत्व र उदारभावको परिणाम थियो । 

आफ्नै पिताजीहरूको योगदानकै कारण शैक्षिक उन्‍नतिको परिचय बनाएको दुराडाँडाप्रति मेरो पनि ठूलो दायित्व छ भन्‍ने उनमा थियो । आज अधिकांश दुराडाँडेको काठमाडौँ बसाइ उनकै योगदानको उपज हो । तर मैले फलानोको छोरालाई जागिरे बनाइदिएँ भनेर कहिल्यै, कसैसँग पनि भनेनन् । 

तर निधन भएका दिन कोरोना भाइरसरूपी पिचासका कारण उनको पार्थिव शरीरमा श्रद्धाका दुई थुँगो फूल चढाउन पनि नपाउँदा काठमाडौँबासी दुराडाँडेलाई पीडाबोध भएको छ । फूलै चढाउन नपाए पनि उनले लगाएको गुन दुराडाँडेले कहिल्यै भूल्ने छैनन् । उनी मरेर गए पनि उनको स्मरण सधैँ भइरहनेछ । 

सत्य, निष्ठा र सादगीका प्रतिविम्ब नरकान्तले कहिल्यै कसैको कुभलो चिताएनन् । हरेक कर्ममा रहेका सबैबाट अनुशासन पालना होस् भन्‍ने उनको अपेक्षा हुन्थ्यो । उनी पनि बाँचुन्जेल अनुशासन पालना गरिरहे । उपदेशबाट होइन, आचरणबाटै सदाचार कायम हुन्छ भनी सबैलाई प्रेरित गरिरहन्थे । सरकारी गाडी मलाई चढ्न दिएको हो, तिमीलाई होइन भनी पत्नीलाई समेत गाडीमा राख्न चाहँदैनथे ।

बाँचुन्जेल चिन्तन, अध्ययन र लेखनमै रमाइरहे । जीवनको उत्तरार्धमा पनि आध्यात्मिक ग्रन्थ लेखनमा क्रियाशील रहे । ९० वर्षको उमेरमा एउटा ‘अध्ययन, मनन र अनुशीलन गर्दा राम्रो हुन्छ कि ?’ नामक कृति प्रकाशित गरेका थिए ।

उक्त कृतिमा मानिसले तीन सय ६५ दिनमा के-के गर्नुपर्छ भन्दै प्रत्येक दिन गर्नुपर्ने क्रियाकलाप समेटिएको छ । उक्त कृतिमा दार्शनिक प्लेटोले भनेको एउटा वाक्य उद्धृत गरिएको छ, ‘जो व्यक्ति आफ्नो देशको संस्कृतिप्रति घृणा उत्पन्‍न गराउँछ, त्योभन्दा ठूलो पापी अर्को कोही पनि हुँदैन, यस्तो व्यक्तिको त मृत्यु नै श्रेयस्कर छ ।’ 

उक्त वाक्यांशले तत्कालीन मात्र होइन अहिलेको राजनीतिप्रति जनमानसमा पैदा गराएको निराशालाई समेत संकेत गर्छ । साहित्य र समाजसेवामा समेत रुचि राख्ने नरकान्तका निजामती प्रशासन, अध्यात्म र धार्मिक विषयका धेरै पुस्तक प्रकाशित छन् ।


Author

थप समाचार
ad
x