विचार

प्राकृतिक प्रकोप

ठाउँ-ठाउँमा पोखरी खनौँ, यसका धेरै फाइदा छन्

प्रा.डा. जीवराज पोखरेल |
असार ३, २०७८ बिहीबार ८:४६ बजे

पोहोर साल बाढी, पहिरो, डढेलो तथा प्रदूषणबाट पीडित थियो, नेपाल । पीडा हरेक वर्ष यसरी पुनरावृत्ति हुने गर्छ । मौसमविद्का भविष्यवाणीअनुसार यो वर्ष झन् बढी पानी पर्ने भएकाले यी विपद्बाट नेपाल झन् आहत हुने स्थिति छ ।

कोभिड महामारीको मारबाट जीर्ण नेपालीलाई पहिरो तथा बाढीले उत्तिकै सताउनेमा दुई मत छैन । यसलाई सामना गर्न सरकारी संस्थाले अनुकूलन गर्ने र यसका लागि सावधानी अपनाउन अनुरोध गरिसकेका छन् । तर यिनीहरूको अल्पीकरण पनि सहजताका साथ गर्न सकिन्छ । यसबारे ध्यान आकर्षण पनि नगरिएको होइन ।


परन्तु सरकारले विशेष गरी कोरोना माहामारीले गर्दा यता ध्यान पुगेको छैन । अझै पनि ढिलो भएको छैन । युद्धस्तरमा काम गरे यी चारै विपद्लाई सफलताका साथ यसै वर्ष पनि सामना गर्न सकिन्छ ।

नेपालमा वर्षा चार चरणमा हुने गर्छ । पहिलो हिउँदमा, दोस्रो पूर्व मनसुनका रूपमा असार अगाडि, तेस्रो मनसुनका रूपमा जेठदेखि भदौसम्म र चौथो पश्च मनसुन भदौदेखि कात्तिकसम्म । पाँचौँ खालेमा स्वीट्जरल्यान्डको एक विश्वविद्यालय तथा इसिमोडले गरेको अध्ययनअनुसार यी चरणमा पानी क्रमशः ३, १४, ७८ तथा ५ प्रतिशत पर्ने गछ ।

वर्ष झरीमा औसतमा १२२६, अधिकतम १४१८ तथा न्यूनतम १०५५ मिमि पानी परेको देखिएको छ । धेरैजसो पूर्व मनसुनमा अपराह्नपछि बेलुका छ बजेसम्म र मनसुुन अवधिमा बेलुकादेखि बिहान ६ बजेसम्म वर्षा भएको पाइएको छ । मनसुन अवधि ७० देखि ८५ प्रतिशत रहन्छ । यस क्रममा वर्षैभरि ३६५ दिनमा १०० दिन जति वर्षा हुन सक्छ ।

बढी क्षति मनसुन अवधिमा हुने हुँदा के देखिन्छ भने मनसुनका ठूला वर्षाका घटनामा अधिकतम वर्षा ४० मिमिसम्म हुन सक्ने पाइएको छ । यो वर्षा अधिकतम ८ घण्टासम्म हुन सक्छ । मनसुन अवधिमा लगातार वर्षा भएको प्रथम १० मिनटमा ३६ मिमि पानी पर्न सक्छ भने आधा घण्टामा २४ र घण्टाभरिमा १८ मिमि वर्षा भएको पाइएको छ ।

यो अवधिमा हुने वर्षाका घटनालाई चार भागमा विभाजन गरियो भने प्रथम चौथाइमा १० देखि ३५ प्रतिशत, पहिलो दुई चौथाइ अर्थात् अर्ध भागमा ६० देखि ७० र तीन चौथाइमा ८० देखि ९० प्रतिशत वर्षा हुने पाइएको छ । यसबाट के थाहा हुन्छ भने वर्षा पछिल्लो चौथाइमा अलिक कम हुने गर्छ । अध्ययनस्थलमा अधिकतम वर्षा १० घण्टासम्म १०७ मिमि परेको पाइएको छ ।

पोखरी बनाएको खण्डमा बाढीलाई रोकथाम गर्न सकिने भएकाले आजभन्दा २३ सय वर्ष अगाडि चाणक्यले आफ्नो कृति अर्थशास्त्रमा जलाशय बनाउने सुझाव दिएका छन् । यसैलाई अनुसरण गरेर काठमाडौँका सहरमा पुखु बनाएको अझै पनि देख्‍न सकिन्छ भने मधेस जनकपुरमा ठूला-ठूला पोखरी र पहाडामा आहाल बनाउने प्रचलन थियो । त्यो परम्पराको परित्याग गरिएकाले समस्याको सामना गर्नु परिरहेको छ ।

चीन तथा जापानमा पनि बाढीलाई रोकथाम गर्न पोखरी बनाउने र यो पानीलाई नहरद्वारा सिँचाइ गर्ने परम्परा थियो । यही विधिको अनुसरण गरेर जापानका प्रसिद्ध वास्तुकार केन्जो टांगेले हररा तथा तेलार नदीको वहाब क्षेत्रमा विद्यमान लुम्बिनीको गुरुयोजना बनाएका थिए । अध्ययनहरूले पोखरी बनाएको खण्डमा बाढी नआउने र आए पनि कम गतिमा आउने रहस्योद्घाटन गरेका छन् ।

पहाडमा टुप्पैदेखि समतल जमिनको उपलब्धताअनुसार साना-ठूला पोखरी बनाएको खण्डमा पहिरोको पनि रोकथाम गर्न सकिन्छ । विश्वमै सुप्रसिद्ध चीनको थ्री-गोर्ज ड्याममा गरिएको एक अध्ययनले के देखाएको छ भने यसको समीपमा रहेका पहाडमा अवस्थित पोखरीले गर्दा यसमा गेगरको मात्रा कम भएको छ ।

पहाडको टुप्पादेखि तलसम्म गुरुत्वले गर्दा अति वेगमा पानीको प्रवाह हुने भएकाले पहिरो आउने हो । यस्तो घटना खोल्सामा बढी देखिन्छ । त्यसकारण यस्ता पोखरी खोल्साको माथि, दायाँ तथा बायाँमा बनाउन सकियो भने पहिरोको रोकथाम हुन सक्तछ ।

परापूर्व कालदेखि हाम्रा पूर्वजले भल काट्ने तथा चपरीले पुर्ने प्रविधिको उपयोग गर्दै आएका छन् । यिनको विवेचना गर्दा वैज्ञानिक पाइएको हुनाले गोर्खा जिल्लाको सिरानचोक गाउँपालिकामा यसको विपद् पूर्वतयारी सञ्जाल तथा क्येर इन्टरनेसनलले श्रीगणेश पनि गरिसकेका छन् । यो प्रविधि पनि पहिरोका लागि उपयोगी हुन सक्तछ ।

केही अध्ययनले ०.५ प्रतिशत क्षेत्रमा पोखरी खनेको खण्डमा बाढीलाई कम गर्न सक्ने सम्भावना देखाएका छन् ।

पोखरीको सामीप्यमा तापक्रम कम तथा आद्रता बढी भएको जनकपुर तथा पाटनको पिम बाहमा गरिएका विद्यावारिधि तथा स्नातकोत्तर तहका अनुसन्धान कार्यले देखाएका छन् । जंगलमा पोखरी बनाउन सकियो भने डढेलो लाग्ने सम्भावना कम र लागिहाले पनि डढेलो पोखरीमा भएको पानीको सम्पर्कमा आएर निभ्ने सम्भावना रहन्छ । यसरी पोखरी खनेको खण्डमा डढेलो कम हुने सम्भावनालाई नकार्न सकिँदैन । डढेलो नभएपछि यसले उत्पन्‍न गर्ने प्रदूषण पनि कम हुने नै भयो ।

पोखरीमा पहिले परेको पानी सोसिएर तल जान्छ । १०, ३० तथा ६० मिनट पर्ने पानीलाई यसले समेट्न सक्तछ । अर्काे झमट पानी पर्ने बेलामा पोखरीको पानीलाई जमिनले सोसिसकेको हुन्छ । यो पानी जमिन तल फैलिएर रहन्छ । यही पानी हिउँदमा पोखरीमा फर्किएर आंशिक रूपमा रही रहन्छ । पानी भएको खण्डमा जंगली जनावर बस्तीमा आएर दुःख दिँदैनन् । चराचुरुंगीलाई पनि खाद्य तथा पेय जंगलमै पर्याप्त मात्रामा हुन्छ ।

एक दिनमा ५० मिमि पानी पर्ने घटना ३ प्रतिशत मात्र हुन्छन् । अधिकतमा पानी पर्ने घटनालाई यस्ता पोखरीले पूर्ण रूपमा नभए पनि आंशिक रूपमा सम्बोधन गर्न सक्छन् । यसरी चरम रूपमा परेको पानीलाई पनि पोखरीले कम हानिकारक बनाउँछन् ।

केही अध्ययनले ०.५ प्रतिशत क्षेत्रमा पोखरी खनेको खण्डमा बाढीलाई कम गर्न सक्ने सम्भावना देखाएका छन् । यो हिसाबले एक स्थानीय सरकारले एक वर्ग किलोमिटर जति पोखरी खन्‍नुपर्ने देखिन्छ । यो वर्ष सरकारले पहाडमा पोखरी खनेर सिँचाइ गर्ने उद्देश्यले बजेट पनि छुट्याएको छ ।

महोत्तरीमा नागदेव झा जस्ता भू-संरक्षण विज्ञले पोखरी उत्खनन पनि गरिरहेका छन् । त्यसकारण यो कार्यक्रम सञ्चालन गर्न त्यति गाह्रो हुँदैन । किनभने पोखरी उत्खनन सजिलो काम हो । यो कामलाई चपरी काट्ने तथा खन्‍न सक्ने मानिसले कार्यान्वयन गर्न सक्छन् । एउटा १० वर्ग मिटरको पोखरी खन्‍न रु. ३५ सय जति लाग्छ । यसमा दुई जना अर्धप्रवीण तथा ३ जना श्रमिकको आवश्यकता पर्दछ । एक दिनमा एउटा पहिरो खन्‍न पाँच जनाले सक्तछन् ।

कोरोनाले गर्दा काम नपाएका बेरोजगार मानिसलाई यसले रोजगारी पनि दिन सक्तछ । मनसुन सुरु भएको भए पनि पहिरो तथा बाढी आउन अझै एक महिना जति लाग्ने भएको हुनाले यो काम आरम्भ गर्ने यही नै उपयुक्त समय हो । किनभने उत्खनन कार्य भिजेको जमिनमा अलिक सजिलो पनि हुन्छ । झट्ट हेर्दा पोखरी खन्‍नु भनेको आगो लागेपछि इनार खन्‍न थाले जस्तो लागे पनि यो उदाहरण यसमा लाग्दैन ।

हामीले पोखरीलाई माछापालनका रूपमा मात्र उपयोग गरिरहेका थियौँ । किन्तु यसको बहु-आयामिक फाइदा छ । यसलाई सरकार र विशेष गरेर स्थानीय सरकारले ध्यान दिए विपद्लाई सफलताका साथ सामना गर्न सकिन्छ । यसमा गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले पद बहालीकै क्रममा सशक्तताका साथ उठाउनु पनि भएको छ ।

नेपाल जस्तो विकासशील देशले हरेक विपदका लागि फरक-फरक उपायको अवलम्बन गर्न सक्तैन । पोखरी उत्खननले एक नभएर अनेक फाइदा दिन सक्ने भएकाले यसको अवलम्बनतर्फ सबैको ध्यान जानु अति आवश्यक छ । विशेष गरेर चुरे भेग धेरै चर्चा-परिचर्चामा रहेकाले यो अभियानलाई यहीँबाट आरम्भ गर्नु उपयुक्त देखिन्छ ।


Author

प्रा.डा. जीवराज पोखरेल

पोखरेल नास्टका पूर्व उपकुलपति हुन् ।


थप समाचार
x