अयोग्यलाई राजदूत बनाउनु भनेको देश र जनताप्रति धोका
नेपालमा सबै क्षेत्रमा नमिलेको, नपुगेको र बिग्रेको मात्रै देखिन्छ अनि कूटनीतिमा त झन् लथालिंग नै छ । राजदूत जस्तो मर्यादित पदका लागि दूतावास राजनीतिक भर्ती केन्द्र बनेको त के कुरा ! राजदूत आफू नियुक्त भएपछि आफ्ना आसेपासेलाई विभिन्न बहानामा भर्ती गर्ने रहेछन् । अहिलेसम्म के देखिन्छ भने हाम्रो देशको सन्दर्भमा कूटनीति एउटा विधा भए पनि यसको वैदेशिक कूटनीतिमा चाहिँ सबै क्षेत्रको व्यक्तिलाई अटाउने ठाउँ चाहिँ राजदूतावास रहेछ ।
कोरोनाको खोपको जोहो नहुनु भनेको कूटनीतिक असफलता पनि हैन र ? अरु क्षेत्रमा असफलता भोगेपछि आनन्द गर्ने ठाउँ राजदूतावास तथा राजदूत पद बनेको छ, नै । आनन्द गर्न गएको व्यक्तिले विदेशमा गएर के काम गर्ला, त्यो सहजै अनुमान गर्न सकिन्छ । सम्बन्धित देशको भाषामा दक्खल नहुँदा र त्यो सम्बन्धित देशको प्रणालीबारे पूर्ण ज्ञानको अभावले राजदूतलाई काम गर्न सहज हुँदैन, नेपालमा थाकेर आनन्द लिन गएकालाई झन् कस्तो होला ? सरकारले त्यो बुझ्न सक्नुपर्छ ।
कूटनीतिमा पूर्ण योग्यता (सीप, कार्यकौशल र चातूर्य) भएको व्यक्ति शक्तिशाली मुलुकको राजदूत भएको भए सायद कोरोनाको महामारीमा हाम्रो देशले अलि सहज ढंगले सामना गर्न सक्थ्यो होला । चीनमा आफ्नै खर्चमा पढ्न गएका नेपालीलाई डब्लुएचओले भर्खर कोरोना महामारीको घोषणा गर्दा हाम्रो सरकारले आफ्नो देशको विमान लगेर ती विद्यार्थीलाई उद्धार गर्न जानु पर्दैनथ्यो होला । कूटनीतिक सीप, चातूर्य र कार्यकौशल भएको व्यक्तिले चीनकै विमानबाट त्यही देशको सरकारबाट उद्धार गराउन सक्थ्यो । अन्यत्र राजदूत भएर जान सक्ने व्यक्ति चीनमा नियोग उपप्रमुख हुन्छन् र त्यो पनि परराष्ट्र मन्त्रालयकै काबिल भनिनेहरू ।
किनकि, ती नेपाली विद्यार्थीहरूको चीनको अर्थतन्त्रमा अप्रत्यक्ष ढंगबाट भए पनि देन छ, जसका लागि कूटनीतिक शैलीमा बोल्न सक्ने क्षमता, शैली र भाषाको सीप चाहिन्छ । खाडीका देशहरूमा त झन् हाम्रा दाजु–भाइ र दिदी–बहिनीहरूले प्रत्यक्ष तवरले नै ती देशहरूको अर्थतन्त्रमा देन दिएका छन् र उनीहरूको श्रमको मागलाई पूर्ति गरेका छन् । त्यस्तै अरु अरु जुनै देशको हकमा नि लागू हुन्छ । बरु केही सिकारु झै देखिएका राजदूतहरूले नेपालको कूटनीतिक कद बढाएको भान भएको छ । यो ठूलो खुसीको कुरा हो ।
अहिले विकसित देशहरूले कोरोनाको खोपबाट आफ्ना माग पूरा गरिसकेको देखिन्छ भने नेपाल अझै अन्यौलमा छ । पहिला कमिसनले रोकिएको भन्ने मात्र सुनिएको थियो । तर कमिसनको मात्र नहोला जुन कि माथि उल्लेख गरिएझैँ कूटनीतिक चातूर्य र कार्यकौशलबारे चर्चा खासै भएको देखिँदैन । यदि नेपाली राजदूतहरूमा कूटनीतिक इच्छाशक्ति, सीप, चातूर्य र कार्यकौशल भइदिएको भए अमेरिका र क्यानाडा जस्ता देशबाट नेपालमा चाहिए जति सहयोग प्राप्त हुन सक्थ्यो होला भन्न सकिने धेरै ठाउँ छ । अहिले ती देशका सञ्चार माध्यममा नेपालको चर्चा बेलाबखत हुने गरेको छ र केही समय पहिले प्रधानमन्त्री केपी ओलीले एक प्रसिद्ध सञ्चार च्यानल सीएनएनमा अन्तर्वार्ता दिएको पनि देखिएकै हो । आखिर प्रधानमन्त्री केपी शर्मा ओलीले जे दाबी गर्नु भए तापनि वास्तविकता लुकाएर लुक्दैन ।
विडम्बनाको कुरो आलंकारिक राष्ट्रपतिले पत्र लेखेर खोप माग्नुपरेको छ, जुन हामी जस्ता सर्वसाधारणलाई त लाज लागेको छ भने कूटनीतिक तहमा वस्नेले यसलाई कसरी हेरेको होला ? उनीहरुलाई कस्तो भएको होला ? हुन त यसमा प्रधानमन्त्री ओलीको चालबाजी आलंकारिक राष्ट्रपतिलाई सक्रिय गराउने पनि होला ।
संयुक्त राष्ट्र संघसँग आबद्ध नेपाली महिला दिदी–बहिनीहरू हुनुहुन्छ । कतिपय स्थानमा महिला कूटनीतिज्ञले निर्वाह गरेको भूमिका उच्चस्तरको छ । त्यसैले महिलालाई नै खोजेर किन राजदूत नबनाउने । त्यस्ता अब्बल महिला नभएको त होइन होला नि ? हुन त, राजदूतको आफ्नो डेकोरम हुन्छ सिधा भेटवार्ता सहज हुँदैन तर लविङ गर्न जान्नेले अनौपचारिक भेटमार्फत धेरै काम सल्टाएको हुन्छ ।
राष्ट्रपति वा उपराष्ट्रपतिमार्फत मात्र होइन उनीहरु निकटस्थसँग सम्बन्ध बनाउने भनेको नि दुई देशीय सम्बन्धलाई विस्तार गर्ने हो । अहिलेसम्म अमरिकी राष्ट्रपतिले नेपाल नटेकेको देशमा सायद टेक्ने वातावरण बनाउन किन सक्दैनन् ? हिलारी क्लिन्टन (अमेरिकाकी तत्कालीन प्रथम महिला रहँदा) सित बंगलादेशकी महिलाकी एक साथी रहिछन्, त्यस नाताले बंगलादेशले ठूलो फाइदा लिएको सुनिएको छ ।
त्यस्तो सम्बन्धलाई नियालेर हामीले पनि फाइदा लिने तर्फ जानुपर्छ । र, आजसम्म बंगलादेशले अमेरिकाबाट ठूलो फाइदा लिएको देखिन्छ । बंगलादेश कूटनीतिक मामलामा धेरै अगाडि रहेछ । राजनीतिक दलहरूले राजदूतमा आफ्ना कार्यकर्ता वा सहयोगीलाई मात्र स्थान दिनु मुलुक र जनताप्रति धोका हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया