विचार

जनकलाल शर्माबारे राजेश्वर देवकोटाको अप्रकाशित लेख

राजेश्वर देवकोटा |
असार ५, २०७८ शनिबार ६:४७ बजे

जनकलाल शर्माले अन्तर्राष्ट्रिय विद्वत् समुदायमा पनि आफ्नो मान्यता स्थापित गर्नुभएको छ । उहाँको अध्ययन, अन्वेषण र लेखन बहुविध छ । संस्कृति र पुरातत्वका विषयमा विदेशी विद्वानहरू शर्माको सम्पर्कमा रहन्छन् र सल्लाह लिन्छन् ।

विदेशका पत्रिकाहरूमा शर्माका आफ्नै सम्बन्धी अध्ययनका लेखहरू छापिइरहन्छन् । नेपालभित्र नेपाली भाषामा उहाँका अन्वेषण र अध्ययनसम्बन्धी अनेक पुस्तक प्रकाशित भई नै सकेका छन् । यस क्षेत्रका विद्वानलाई नृतत्वशास्त्रमा दख्खल हुनु स्वाभाविक नै हुन्छ । उहाँले यी विषयमा आफ्नो विद्वत्तापूर्ण पकड राख्‍न सक्नुको पछाडि एउटा रहस्य भनौँ वा सूत्र छ त्यो हो उहाँको अध्ययन प्रामाणिक वैज्ञानिक छ । प्रमाणमा आधारित हुन्छ । त्यसै कारण उहाँले लेख्नुभएका पुस्तकहरू र फुटकर रचनाहरू आधिकारिक मानिन्छन् । 


लामो अवधिसम्म नेपाल सरकारको पुरातत्व विभागमा विशेषज्ञ र प्रशासकका रूपमा सेवा गर्नुभएका शर्माको देन आफ्नो समाजलाई र अन्तर्राष्ट्रिय क्षेत्रलाई पनि उल्लेख्य रहेको छ । नृतत्व र पुरातत्वको वैज्ञानिक र सूक्ष्म अध्ययनका लागि इतिहास र जिओलजीको अध्ययन उत्तिकै आवश्यक हुने हुँदा उहाँको क्षेत्र व्यापक र बहुविध हुन गएको छ । उहाँका पुस्तक एवं पेपरहरूबाट उहाँको क्षेत्र थाहा हुन्छ । 

कला र साहित्यको क्षेत्रमा पनि उहाँ उत्तिकै पौरखी र सिर्जनशील हुनुहुन्छ । उहाँका कला, कृति त केही देख्न पाइएको छैन तर, उहाँ कला पारखी हुनुहुन्छ । पुरातत्वको विशेषज्ञ भएका नाताले पनि कलाको पारख गर्ने निपुणता उहाँमा एक सहज प्रवृत्तिका रूपमा निहित हुन गएको लाग्छ । 

सिर्जनशील साहित्यका फाँटमा उहाँ विशेष गरी निबन्ध लेखकको रूपमा प्रख्यात हुनुहुन्छ । जस्तो विधा निर्बन्ध छ, उस्तै उहाँको निबन्धको क्षेत्र पनि निर्बन्ध छ - कुनै विषयमा उहाँले लेख्नुभएको छैन- आलोचनात्मक, व्यंग्यात्मक, वर्णनात्मक, - सबै विषयमा उहाँका निबन्धहरू पुस्तकाकारमा र फुटकर रूपमा प्रकाशित भएका छन् ।

भाषा, व्याकरण र कोषको क्षेत्रमा पनि उहाँ राम्रो सल्लाह दिन सक्नुहुन्छ, दिइरहनु भएको पनि छ । नेपालका विभिन्‍न जाति र क्षेत्र, भाषा र रीतिको अध्ययनका क्रममा उहाँले देशको भ्रमण गर्दा तयार पार्नुभएका यात्रा साहित्य साहित्यको दृष्टिले र खोजका दृष्टिले समेत विशेषता राख्तछन् । उहाँ बाल साहित्यको पनि लेखक हुनुहुन्छ । 

राजेन्द्र प्रसाद, विनोभा, राहुल जस्ता राजनेताहरू, सन्तहरू र विद्वान्हरूको प्रत्यक्ष सहवास, सामीप्य र स्नेह पाउनुभएका शर्मा स्वभावले सरल तर, स्वाभिमानी हुनुहुन्छ, आफ्नो जातीय दृष्टिकोण छ तर, उदार हुनुहुन्छ, आफ्नै परिवारको पक्षपाती गर्नुहुन्छ तर रुढीमा विश्वास गर्नुहुन्‍न ।

शर्माजीलाई उहाँले आफूले लेख्नुभएका पुस्तक एवं रचनाहरूको सूची पाऊँ भनेर कसैले भन्यो भने उहाँ भन्‍नुहुन्छ- त्यो खोजतलास गर्ने काम मेरो होइन र त्यत्ति फुर्सद पनि छैन । त्यस्तो अन्वेषण उहाँका रचनामा पीएचडी गर्नेले गरिहाल्छन्- उहाँले ठीकै भन्‍नुभयो । खुद जो अन्वेषणमा लागेको छ, त्यसले आफ्नो चिन्तन र अन्वेषण गर्ने अवसर पनि पाउँछ । उहाँ निरन्तर अध्यवसायमा संलग्न र क्रियाशील हुनुहुन्छ । उहाँ अभाव र सञ्चयका दुवै चिन्ताबाट मुक्त हुनुहुन्छ- सम्भवत् एउटा विद्वानको लक्षण यही हो । 

 

 

'राजेश्वर देवकोटा ।

(सौजन्य : सुमन ढकाल)

 

र, यो पनि


Author

थप समाचार
x