विचार

कूटनीतिलाई धेरै हल्का रूपमा लिइयो

राजाराम बर्तौला |
असार ७, २०७८ सोमबार १२:४५ बजे

हालसालै नेपाल सरकारले राजदूत नियुक्तिका लागि स्वीकार गर्दै आएको नियुक्तिका आधार र मापदण्डमा हेरफेर गरी निम्नतम शैक्षिक योग्यताका लागि तोकिएको स्नातकको उपाधि नभए पनि हुने गरी तोकेको विषय बाहिर आएको छ र यस किसिमको समाचारले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा चासो राख्नेहरूबीच खेलाबैला ल्याएको छ । (अदालतले यो निर्णय कार्यान्वन नगर्न भनेको छ ।)

धेरै विद्वान्हरूको मत यो पनि रहेको छ कि राजदूत हुनका लागि चाहिने न्यूनतम शैक्षिक उपाधि पनि भएन भने व्यक्तिको गुणवत्ता, क्षमता र गुणात्मक कार्यसम्पादनमा प्रश्न उठ्न सक्ने हुँदा मापदण्डमा सरकारबाट गरिएको हेराफेरी वा परिवर्तन निहित स्वार्थवश गरिएको कार्य भन्दै यस किसिमको परिवर्तनले मुलुकको प्रतिष्ठा वृद्धिमा सहयोग गर्दैन भन्नेमा मत जाहेर गरेका छन् । धेरैलाई यो पनि लागेको छ कि आफ्ना वरिपरिका पारिवारिक आसेपासेलाई पोस्ने उद्देश्यले मापदण्ड परिवर्तन गरिनुलाई शासकीय एकाधिकारको प्रयोग एवं विधि र स्वीकृत मान्यताको उल्लंघन हो । 


माथि आएका तर्क आधाररहित भने छैनन् । विनाकारण उक्त विचार व्यक्त गरिएका पनि होइनन् । सरकारद्वारा गरिएका क्रियाका प्रतिक्रियाहरू हुन् । कूटनीतिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूप्रतिको स्वार्थरहित अभिव्यक्ति हुन् । सामान्यतः मानवीय स्वभाव नै हो कि लाभका पदहरूमा स्वामीप्रति भक्तिभाव राख्नेहरूलाई नियुक्ति मिलोस् भन्ने कामना गरिन्छ । आफू अनुकूल पनि रहिरहने, कृतज्ञ भइरहने र आज्ञाकारीसमेत रहने भएको हुँदा योग्यतामा कमी नै देखिए पनि ठाउँमा गएपछि हेरेर सिक्छ, देखेर सिक्छ, परेर सिक्छ भन्ने आशय राखेको पाइन्छ । हालै भएका नियुक्तिहरूलाई हेर्दा पनि व्यक्तिको क्षमता, विज्ञता र कार्यसम्पादन भन्दा पारिवारिक निकटतालाई मान्यता र प्राथमिकता दिएको देखियो भन्न संकोच मान्नुपर्ने अवस्था रहेन ।  

विभिन्न मुलुकहरूका लागि हालै नियुक्त भएका एघार जना राजदूतमध्ये दुई जना मात्र कूटनीतिक सेवाका कर्मचारी पर्न सकेको देखियो । यी नियुक्तिहरूले पूर्णता पाउनका लागि संसदीय सुनुवाइको चरणमा रहेका छन् । सम्भवतः ती सबै नियुक्तिहरू संसदीय सुनुवाइ समितिबाट स्वीकृत हुनेछन् । संसदीय सुनुवाइ पनि एक किसिमको कर्मकाण्डीजस्तो मात्र देखिँदै गएकाले राजदूत पदमा नियुक्त व्यक्तिहरूको योग्यता, कार्यदक्षता, विशिष्टता, विज्ञता र स्वीकार्यको कसीमा जाँच गरिने छैन । राजनीतिक नियुक्ति, मूलतः अहिलेसम्मको नियुक्ति हेर्दा, राजनीतिक दल सम्बद्ध हुने भएकाले र संसदीय समितिमा पनि दलिए बहुमतकै कुरा हुने भएको हुँदा सरकारबाट नियुक्त राजदूतको नियुक्ति अस्वीकार हुने सम्भावना न्यून रहन्छ । राजनीतिक दल सम्बद्ध हुनु नै योग्यता हुने भएको हुँदा यस पटक पनि हुने त्यही नै हो । 

राजदूतहरूलाई नियमन, नियन्त्रण र निर्देशन गर्ने शीर्ष कूटनीतिज्ञको चयन गर्दा पनि मुलुकको मर्यादा र प्रतिष्ठाको रक्षाका लागि पनि योग्यता, स्वीकार्य र विश्वसनीयतामा विशेष ध्यान दिन आवश्यक पर्छ । 

नेपाल सरकारले नियुक्तिका लागि प्रस्ताव गरेर पठाएको प्रस्तावित राजदूतको नाममा आतिथ्य मुलुकले प्रस्तावित व्यक्तिको क्रिमिनल रेकर्ड वा त्यस अतिरिक्त सम्बन्धित व्यक्तिले आतिथ्य मुलुकप्रति दुराग्रह राख्ने रेकर्ड नभएको अवस्थामा सहर्ष स्वीकृति प्रदान गर्छ । आतिथ्य मुलुकले प्रस्तावित राजदूतको शैक्षिक योग्यता के कति छ भनेर परीक्षण गर्दैन । तर प्रस्तावित राजदूत नियुक्त गर्दा निजको बौद्धिक स्तर, शैक्षिक स्तर, पेसागत दक्षता, अनुभव, विज्ञता र राजनीतिक संलग्नता वा दलसँगको आबद्धता जस्ता कुराहरू र मर्यादा र शिष्टताको कुराहरूलाई कसरी लिइएको छ भन्ने कुराको हेक्का राख्छ ।

राजदूतको नियुक्तिको पत्र ग्रहण गरिसकेपछि द्विपक्षीय एवं बहुपक्षीय सम्बन्धहरूका विषयहरूमा दुई सरकारहरूबीच कामकारबाही, डिलिङ गर्दा निजमार्फत नै सम्पर्क स्थापना गरी सम्पन्न गर्नुपर्ने, भएकाले राजदूतको बौद्धिकस्तर, उसको शैक्षिक योग्यता, विज्ञता र विनयशीलताले ठूलो अर्थ राख्छ । अझ कतिपय अवस्थाहरूमा त निजले अध्ययन गरेको शैक्षिक संस्था र विश्वविद्यालयको नामले पनि आकर्षण गर्दछ ।

राज्यको दूत भएर जाने भएको हुँदा सरकार प्रमुखले चाहेको, रुचाएको र निजले विश्वास गरेको व्यक्तिलाई राष्ट्रप्रमुखवाट राजदूत नियुक्त गरी पठाइनुलाई सामान्य रूपमा लिनुपर्छ । यो पदको गरिमा नै राष्ट्रप्रमुखबाट नियुक्ति पाउनु र आतिथ्य मुलुकमा आफ्नो राष्ट्रका लागि आधिकारिकरूपमा प्रतिनिधित्व गर्न पाउनु हो । 

अतः राज्यको प्रतिनिधित्व गर्ने भएको हुँदा सरकारप्रमुख र राष्ट्रप्रमुखको मात्र पदीय सरोकार नरही आतिथ्य मुलुकमा रहने विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीहरूको पनि उत्तिकै चासो र सरोकारको विषयसमेत हो । विदेशमा नेपाली डायस्पोराको संख्या बढेसँगै राजदूतहरूवाट सम्पादन गरिने काम कारबाही, व्यवहार र प्रतिनिधित्व आम चासोको विषय हुन गएको छ । राजदूत भएर आउने व्यक्तिले उनीहरूको समस्या समाधानमा यथोचित ध्यान देओस, पहल गरोस् भन्ने चाहन्छन् नै साथै राजदूतले नेपाल र नेपालीको गरिमा र मर्यादा बढाउने काम पनि गरोस् भन्ने चाहन्छन् । 

अहिले जता गए पनि जुन कुनै मुलुकमा पनि नेपालीहरूको पचास–साठी भन्दा बढी राजनीतिक तथा सामाजिक संघसंस्था अस्तित्वमा छन् । यी सबै संस्थाहरू नेपालीहरूको माझमा नै बसेर राजदूतले काम गर्नुपर्ने भएको हुँदा राजदूतलाई सामाजिक स्वीकाया पनि आवश्यक पर्दछ । 

राजदूतका लागि आवश्यक पर्ने अर्को अनिवार्य तत्व भनेको विश्वसनीयता हो । विश्वसनीयता व्यक्तिले विगतमा गरेका विशिष्ट कार्य, राष्ट्र सेवा, सामाज सेवा, विद्वत् कार्य, सामाजिक व्यक्तित्व आदिवाट आर्जन गरेको हुन्छ । राजदूत पदमा नियुक्त पाउन जुनसुकै शैक्षिक पृष्ठभूमि वा पेसागत संलग्नता भए पनि हुने यो एउटा राजनीतिक स्वरूपको पद भएको हुँदा निजको निष्ठा, विद्वता, राष्ट्रियता, राष्ट्रभक्ति र शैक्षिक योग्यता नै उसप्रतिको विश्वासको आधार हो ।

राजनीतिक व्यक्तित्वसँगको सामीप्य, निकटता, संवाद र सञ्चार गर्न सक्ने क्षमतालाई आतिथ्य मुलुकले महत्व दिएको हुन्छ । राजदूतको मूलभूत काम भनेको दुई सरकारबीच सन्देशहरूको आदानप्रदान गर्ने र राष्ट्रिय हितलाई प्राथमिकता दिई राष्ट्रिय चासोहरूको सम्बोधन गर्नु हो । अतः सरकार प्रमुखको निकट रहेको व्यक्तिले आतिथ्य मुलुकको विश्वसनीयता हासिल गर्न सक्छ । तर नेपाली डायस्पोराबाट चाहेको समर्थन र सहयोग प्राप्त गर्न नसक्ने अवस्था पनि रहन सक्छ । 

भाषागत दक्षता र निपुणता आवश्यकीय गुण अवश्य नै हुन्, तर सम्पूर्णतामा यही एउटा मात्र प्राथमिक विषय भने होइन । कूटनीति एउटा कला भएको हुँदा यसको सञ्चालन गर्न चाहिने आवश्यक दक्षता र निपुणता सबैसँग समान र एउटै स्तरको नहुने भएकाले मात्रात्मक अन्तर हुन सक्दछ । त्यसैले राज्यले वर्षांैको लगानी र तालिमबाट एउटा कुशल कूटनीतिज्ञ तयार गरेको हुन्छ । 

राजनीतिक दलहरूले पनि आफ्नो अन्तर्राष्ट्रिय विभागका सदस्यहरूलाई बाहिरी दुनियाँको एक्सपोजर दिएर, अध्ययन तथा तालिम दिएर, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ–संगठनका सभा सम्मेलनहरूको वार्तामा सहभागी गराएर, राजकीय तथा सरकारी भ्रमणहरूमा समावेश गराएर राजनीतिक दलका लागि आवश्यक दक्ष कूटनीतिक जनशक्ति तयार गरिरहेको हुन्छ अथवा हुनुपर्दछ, गरिनुपर्दछ । 

तालिमप्राप्त कूटनीतिज्ञहरू विशिष्ट र उम्दा नै हुन्छ भन्ने छैन तर उनीहरूको कार्यसम्पादन स्तर औसतभन्दा माथिको रहेको हुन्छ । तर पिँध नभएको लोटा जस्ता राजनीतिक दलका कार्यकर्तालाई राजदूत बनाएर पठाउँदा, नेताका पारिवारिक सदस्यलाई राजदूत बनाएर पठाउँदा मुलुकको प्रतिष्ठामा आँच आउँछ । कूटनीतिक वृत्तमा बहिष्कारमा परिन्छ । डिप्लोमेटिक कोरको महत्वपूर्ण बैठकहरूमा उपस्थिति आवश्यक ठानिन्न । आतिथ्य मुलुकले राष्ट्रिय–अन्तर्राष्ट्रिय, द्विपक्षीय–बहुपक्षीय समसामयिक चासोका विषयहरूमा रायसल्लाह लिने वा दिने काम गर्दैनन् । राजदूतको काम राजदूतावासभित्र मात्र सीमित हुन पुग्छ र केही दल नजिक भ्रातृ संस्थाहरूले सञ्चालन गरेको कार्यक्रमहरूमा सहभागिता जनाउनुमा मात्र सीमित रहन्छ । 

यद्यपि, तालिम नै सबै थोक भने होइन । राजदूतले आफ्नो ओज, गहनता, विज्ञता, विनयशीलता, कूटनीतिक दक्षता प्रदर्शन गर्न सक्नुपर्छ । निजसँग रहेको गुणहरूले गर्दा, निजको व्यवहार र गुणकारिताले गर्दा कूटनीतिक वृत्तमा सहज स्वीकार्य ग्रहण गर्दछ । प्रखर बौद्धिकता भएको राजदूतले विशिष्ट सम्मान र मर्यादा प्राप्त गर्न सक्षम हुन्छ । 

राजदूतहरूलाई पठाउने र मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालन गर्ने परराष्ट्र मन्त्रालयको नेतृत्वका लागि चाहिँ योग्यता, स्वीकार्य र विश्वसनीयता झनै ठूलो आवश्यकता पर्दछ । मन्त्रालयको अकर्मण्यता सम्पूर्ण कूटनीतिक संयन्त्रमा प्रतिविम्बित हुने भएको हुँदा यसको नेतृत्वकर्ता बौद्धिक तीक्ष्णता, सारभूत, सहज तर विषयवस्तुमा गाम्भीर्य भएको, निपुण हुन आवश्यक पर्छ । राजनीतिक नेतृत्वबाट मन्त्रालयको जिम्मेवारी वहन गरिने भएकाले शैक्षिक उपाधिभन्दा पनि बौद्धिक, व्यावहारिक र शिष्टताले महत्व राख्छ । 

शैक्षिक योग्यताको आधिकारिक प्रमाणपत्र र भाषागत ज्ञानको कुराको उदाहरण दिँदा वर्तमान सम्माननीय प्रधानमन्त्रीलाई नै लिन सकिन्छ । सम्भवतः नेपालको कूटनीतिक इतिहासमा उहाँ नै सबैभन्दा कम शैक्षिक उपाधि प्राप्त परराष्ट्र मन्त्री हुनु भएको थियो । भाषागत सीमितता छ भन्ने जान्दाजान्दै पनि अध्ययनशीलता, स्मरण शक्ति, डेस्क अफिसरले लेखेर दिएको वार्तानोट र टिप्पणीहरूलाई केलाएर मिहिनसँग पढ्ने, आफ्नो धारणा सरल, सहज र प्रस्टसँग राख्ने उहाँको सीप र दक्षताको सबै कूटनीतिज्ञहरूले प्रशंसा गर्थे । यसैगरी हेर्दा पेलेर आउने राजदूतहरूलाई बौद्धिक व्यक्तित्वले धकेलेर पठाउने खुबी भेषबहादुर थापामा जति अरुमा विरैले देखिन्थ्यो । 

उहाँहरूमा यस किसिमको दक्षता र क्षमता थियो भन्दैमा सबैमा समानस्तरमा सबै गुण हुन्छन् भन्ने होइन । राजदूतहरू वैदेशिक सम्बन्ध र कूटनीति सञ्चालनको महत्वपूर्ण अवयव भएको हुँदा यिनीहरूको नियुक्तिमा गरिने ख्यालख्याल क्षमायोग्य हुँदैनन् । 

पछिल्लो समयमा अर्थात् एक्काईसौँ शताब्दीमा कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरू परम्परागत ढर्राबाट पर सर्दै राजनीतिकभन्दा पेसागत विशेषज्ञताको क्षेत्रतर्फ उन्मुख हुँदै गएको देखिन्छ । अहिलेको कूटनीति व्यापार तथा लगानी त्यसमा पनि सूचना तथा प्रविधिको क्षेत्रहरू, साझेदारी तर रणनीतिक प्रतिफल उन्मुख छ । त्यसैगरी प्रतिआतंकवाद, मौसम परिवर्तन र जैविक विविधता, लोकतन्त्र र मानव अधिकारका क्षेत्रहरू पनि प्रखर हुँदै गएका छन् । 

कूटनीतिका बदलिँदो आयामहरूसँग खेल्न सक्ने व्यक्ति त विषयगत जानकार नै हुनपर्ला नि । हाइस्कूलको शिक्षकलाई या मध्यमस्तरीय राजनीतिक कार्यकर्तालाई राजदूत बनाएर पठाउँदा सरकारको प्रतिनिधित्व त होला तर राष्ट्रको प्रतिनिधित्व हुन सक्दैन । एउटा सामान्य राजनीतिक कार्यकर्तालाई राजदूत बनाएर पठाउँदा एउटाको जागिर त भयो तर राष्ट्रको कूटनीतिक मर्यादामा स्खलन हुने कराको हेक्का राख्न आवश्यक छ । त्यसैगरी राजदूतहरूलाई नियमन, नियन्त्रण र निर्देशन गर्ने शीर्ष कूटनीतिज्ञको चयन गर्दा पनि मुलुकको मर्यादा र प्रतिष्ठाको रक्षाका लागि पनि योग्यता, स्वीकार्य र विश्वसनीयतामा विशेष ध्यान दिन आवश्यक पर्छ ।


Author

थप समाचार
x