विचार

बहस तन्‍नेरी सरकारको

उमेशप्रसाद मैनाली |
असार ९, २०७८ ८:५४ बजे

हिजो-आज नेतृत्व पुस्तान्तरण बहस महत्वमै परेको छ । राजनीतिक दलहरूदेखि संगठन नेतृत्वमा युवा-पुस्तालाई संलग्न गराउनुपर्छ भन्‍नेमा समर्थन बढ्दै गएको छ । असी काटेका पुस्ता (अक्टोजनरेसन)ले लामो समय नेतृत्व गरेको राजनीतिक दल नेपाली कांग्रेस पार्टीमा समेत यो बहसले प्रवेश पाएको देखिछ । उता तुलनात्मक रूपमा वृद्धभन्दा अधबैँसे हालीमुहालीको एमाले र अन्य दलहरूमा समेत ‘बुमर’हरूले नेतृत्व छाडेर अभिभावकको भूमिकामा रहनुपर्छ भन्‍ने दबाब बढ्दै गएको देखिन्छ ।

दलको नेतृत्व लिन नसकेका वृद्ध र ‘बुमर’हरू यसलाई पुठ दिइरहेका छन् । उता नेतृत्वमा रहेकाहरू पुस्ता हस्तान्तरण गर्ने बेला नभएको तर्कसहित नयाँ खाले माहौलप्रति बेवास्ता गरेझैँ व्यवहार गर्दैछन् । देशको शासन र प्रशासन हाँक्न, ‘डल’ सरकारको सट्टा फुर्तिलो र जीवन्त सरकार दिन यी तीन पुस्ता- ‘अक्टोजनरेसन’, ‘बेबी बुमर’ र ‘जररेसन वाई’ कुन पुस्ता प्रभावकारी हुन्छ भन्‍नेमा एकमत छैन । 


ADVERTISEMENT

विश्वका उदाहरणहरूबाट समेत ठोस परिणाममा पुग्न नसकिने अवस्था छ । पुस्ता भन्दा पनि व्यक्तिगत गुणका कारण जुनसुकै पुस्ताका नेताहरूले पनि चमत्कार गरेका उदाहरणहरू छन् । तैपनि तुलनात्मक रूपमा युवा पुस्ता बढी सफल भएको देखिन्छ ।

दार्शनिकहरूको विचारमा पनि मतैक्य देखिँदैन । जे. कृष्णमूर्तिले भनेका छन्, ‘युवा र वृद्धमा तात्विक अन्तर छैन । दुवै आफ्ना इच्छा र सन्तुष्टिका दास हुन् । परिपक्वता उमेरसँग सम्बन्धित हुँदैन, यो त समझदारीबाट आउँछ । बुझ्ने र जान्‍ने उत्कट भावना युवाहरूमा हुन्छ । यो होइन कि वृद्धहरू सिक्न सक्दैनन् । उनीहरूका लागि कठिन भने हुन्छ । धेरै वयस्कहरू अपरिपक्व मात्र होइन कि बचकना स्वभावका हुन्छन् र यसैले विश्वमा अन्यौल र दुःखलाई बढाइरहेको छ ।’
ग्रिक दार्शनिकहरू भने पाको नेतृत्वको पक्षमा देखिन्छन् । प्लेटोको दार्शनिक राजाको विचार यसको उदाहरण हो । अर्का दार्शनिक सिसेरोले वृद्ध पुस्ताबारे भनेका छन कि ‘उनीहरू कुद्न र उफ्रिनै काम गर्दैनन् वा टाढाबाट भाला प्रहार गर्दैनन् वा नजिकबाट तरवार प्रहार गर्दैनन् । तर विचार, बुद्धि र विवेकपूर्ण तर्कहरू दिन्छन् ।’

रोमन गणतन्त्रमा ‘सेनेक्स’ भन्‍ने शब्दबाट ‘सिनेट’को उत्पत्ति भएको मानिन्छ, जसको अर्थ ‘वल्ड म्यान’ भन्‍ने हुन्छ । नोवेल शान्ति पुरस्कारवाट सम्मानित ग्रामीण बैंकका प्रणेता प्रो. मुहम्मद युनुसका शब्दमा, ‘हामी युवाहरूलाई र विशेषगरी नयाँ पुस्तामा जोड दिन्छौँ किनकि उनीहरूमा प्रविधिमा पहुँचले गर्दा अझसम्म नभएको सम्भावनाहरू प्रचूर देखिन्छ ।’ 

फ्रान्सिस बेकनको शब्दमा, ‘उमेर चार चिजमा मात्र राम्रो हुन्छ- ‘पुनानो काठ बाल्न, पुरानो वाइन पिउन, पुरानो साथी विश्वास गर्न र पुरानो लेखकहरूको पढ्न ।’ पुस्ताहरूको आ-आफ्नै प्रकृतिको विशेषता रहने मान्यता छ । ‘अक्टो जनरेसन’ आफ्ना विगतप्रति गौरव गर्ने र समयसँगै आफूलाई ढाल्न नसक्ने जिद्दी स्वभावको हुन्छन् भनिन्छ ।

दोस्रो विश्वयुध्दपश्चात् जन्मिएका ‘बेबी बुमर जनरेसन’ भनेको अलि बढी नै सुविधाप्राप्त वर्गमा पर्छ । परम्परागत मूल्य मान्यता अस्वीकार गर्ने उनीहरूको विशेषता भए पनि आफूहरू विशेष पुस्ता भएको घमण्ड गर्ने र बदलिँदो परिवेश तथा प्रविधि अनुरूप आफूलाई बदल्न भने यो पुस्ता त्यति सक्षम छैन भन्‍ने मानिन्छ । 

‘जनरेसन वाई’ असीको उत्तराद्र्धपछि जन्मिएकाहरू हुन् । उनीहरूको विशेषता भनेकै भौतिक मूल्यमा बढी ध्यान दिने र समाजको बृहत्तर हितमा कम ध्यान दिने मानिएको छ । आफ्ना लागि धन, स्थान र मान खोज्ने यो पुस्ताको राम्रो कुरा भनेको नयाँ कुरा सिक्ने क्षमतालाई लिने गरिन्छ । यी दुई पुस्ताको सेतूको रूपमा ‘जनरेसन एक्स’ लिइन्छ ।

यो पुस्ता कडा परिश्रमी हुन्छन् । तर मनोवैज्ञानिक रूपमा रोगी हुने सम्भावना यो पुस्तामा बढी हुन्छ भनिन्छ । पुस्ताका यी सामान्य विशेषता विभिन्‍न अनुसन्धानको नतिजाको रूपमा आएको छ । तर सबैमा यी पुस्तौली गुण र विशेषता हुन्छ नै भन्‍न सकिँदैन । हरेक पुस्तामा केही व्यक्तिहरू असाधारण गुणले सम्पन्‍न भएको पाइन्छ ।

हालसालै केही पश्चिमी देशहरूमा भएका निर्वाचन नतिजा हेर्दा नागरिक युवा नेतृत्वतिर आकर्षित हुँदै गएको देखाउँछ । फिनल्यान्डकी प्रधानमन्त्री सान्डा म्यारिन विश्वको सबभन्दा कम उमेरकी सरकार प्रमुख हुन् । उनको उमेर ३४ वर्ष मात्र छ ।

फ्रान्समा ३९ वर्षीय इम्यान्युयल म्याक्रोन राष्ट्रपतिमा निर्वाचित हुनुलाई पूरै यूरोपियन युनियनमा नै आश्चर्यको रूपमा चर्चा भएको थियो । न्यूजिल्यान्डकी ३७ वर्षीय प्रधानमन्त्री ज्यासिन्डा आर्देनले केही दिनअघि मात्र बच्चाको जन्म दिएकी थिइन् । 

त्यस्तै बेल्जियमका प्रधानमन्त्री ३८ वर्षका छन् भने इस्टोनियाका सरकार प्रमुख जुरी रारास ३८, ग्रिसका प्रधानमन्त्री एलेक्सिस् सिप्रास ४०, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ४३, जर्जियाका राष्ट्रपति मार्ग्रेलासभिल ४४ वर्षका छन् । हालै सत्ताको केन्द्रमा रहेका सउदी युवराज मोहमद बिन सलमान ३६ वर्षका मात्र छन् । उनको भ्रष्टाचार र राज्यकोषको दुरुपयोग रोक्ने कडा कदमले आफ्नै केही भाइहरू जेलको कोठरीमा पुगेका छन् । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको उमेर ३० वर्ष मात्र छ । तर उनले लिएका कदमहरू अमेरिका जस्तो शक्तिशाली राष्ट्र र छिमेकी मुलुकहरू जापान, दक्षिण कोरिया समेतको टाउको दुःखाइ भइरहेको छ ।

बीसौँ शताब्दीका केही चर्चित विश्व नेताहरू पनि युवा उमेरका थिए र युवा जोशका कारण प्रभावकारी शासन कायम गर्न सफल भएका थिए । भारतका राजीव गान्धी ४० वर्ष, पाकिस्तानकी बेनजिर भुट्टो ३५ वर्ष, अमेरिकी पूर्वराष्ट्रपति रुजवेल्ट ४२ र लिबियाका मुहमर गद्दाफी २७ वर्षमा शासनको बागडोर लिन सफल भएका थिए ।

नेपालमा पनि विश्वेश्वरप्रसाद कोइराला ४४ वर्षमा प्रधानमन्त्री निर्वाचित भएका थिए, वीरेन्द्र २६ वर्षमा राजा बनेका थिए । महेन्द्र ३५ वर्षमा राजा भएका थिए । यी सबैले आफ्नो शासनकालमा फरक खालका छाप छाड्न सफल रहे ।

अठारौँ शताब्दिको उत्तरार्धमा युरोपको इतिहासमा सबभन्दा चर्चित बनेका नेपोलियन बोनापार्टले २७ वर्षको उमेरमा सेनापति बनेका थिए । युद्धको आँधी-बेहेरी सिर्जना गरिदिन समर्थ रहे । ३५ वर्षको उमेरमा उनले शासन सत्ता नै आफ्नो हातमा लिन सफल भए र ४० वर्षको उमेरमा उनको फ्रान्सको सम्राट्को राज्याभिषेक गरिएको थियो ।

उनको अदम्य साहस र कुशल नेतृत्वले वीर सेनापतिदेखि सम्राट्सम्म बनायो । दोस्रो विश्वयुद्धमा संसार हल्लाइदिने एडोल्फ हिटलरले ३४ वर्षको उमेरमा जेलबाट नाजी दलको वाइबल भनिने ‘मेन क्याम्फ’ नामको आत्मकथा लेखेर हलचल मात्र मच्याएनन् कि सत्तामा समेत पुगे ।

नेपालमा पनि विश्वेश्वरप्रसाद कोइराला ४४ वर्षमा प्रधानमन्त्री निर्वाचित भएका थिए । नेपोलियन बोनापार्टले २७ वर्षको उमेरमा सेनापति बनेका थिए । 

राजनीतिबाहेक निजी उद्यमशीलता र प्रशासनिक तथा व्यवस्थाकीय क्षेत्रमा पनि युवा नेतृत्वले चमत्कार गरेको उदाहरण काफी छन् । फेसबुकका मार्क जुकबर्गले सामाजिक सञ्जालको क्रान्ति ल्याउँदा गधा पच्चिसे उमेर नै नाघेका थिएनन् । हाल उनी ३३ वर्षका छन् र विश्वकै धनाढ्यमा पर्छन् । अमेरिकन बिजिनेस पत्रिका फोबर्सले हालैको प्रकाशनमा विश्वका खर्बपतिहरूमध्ये ४० वर्ष मुनिका ५६ जना भएको देखाएको छ । नेपालमा पनि निजी क्षेत्रका धनाढ्यहरूले युवा उमेरमै प्रगति गरेको प्रशस्त उदाहरण छन् ।

सरकारी प्रशासनमा पनि युवाहरूलाई नेतृत्व दिँदा हुने फाइदा र बेफाइदा बारे वहस हुन थालेको छ । अफगानिस्तानमा असरफ घानी राष्ट्रपति भएपछि प्रशासनमा युवा नेतृत्वले भर्ने अभियान नै चलाए । केही समयअघिको अंकमा ‘न्युयोर्क टाइम्स’ले ‘स्ट्रग्लिङ टू मेक गभर्नमेन्ट योंगर’ अर्थात् ‘सरकार तन्‍नेरीकरण गर्ने संघर्ष’ भन्‍ने शीर्षकमा घानीको प्रयासको चर्चा गरेको छ । घानीले राष्ट्रलाई चाँडो रूपान्तरण गर्न युवा पुस्तालाई नेतृत्व दिनुपर्छ भन्‍ने मान्यतामा काम गरिरहेका र यसमा पुरानो पुस्ता बाधक बनेको भनेका छन् ।

तर, यस अभियानमा उनले ‘एलाइट’ शक्ति केन्द्रलाई मिलाउन नसक्दा समस्यामा फस्दै गएको पत्रिकाको विश्लेषण थियो । नेपालमा पनि २००७ को परिवर्तनपछि मन्त्रालयका सचिवहरू नियुक्ति गर्दा राणाहरूको भागमा परेका मन्त्रालयहरूमा सेनाका जर्नेलहरू ल्याइए पनि नेपाली कांग्रेसले २५ देखि ३० वर्ष उमेरका शिक्षित युवाहरू पद्युुम्नलाल राजभण्डारी, कुलशेखर शर्मा, प्रेमनर्सिंह प्रधान, हिमालय शमसेर राणा आदिलाई सचिवमा नियुक्ति दिइएको थियो । 

यी प्रशासकहरूको नाम आजसम्म पनि प्रशासनिक समाजमा आदरपूर्वक लिइन्छ । कपाल फुलाएकाले भन्दा यी युवाहरूले कुशलतापूर्वक प्रशासनको जग बसाएको मानिन्छ । शासन-प्रशासनमा ‘जेरेन्टोक्रेसी’ ठीक कि ‘योङ्गर गभर्नमेन्ट’ भन्‍ने बौद्धिक बहसको विषय मात्र नभई राजनीतिक र व्यवस्थापकीय प्रवर्तनको विषय समेत बन्दै गएको छ । 

पुरानो पुस्ताका पक्षधरहरू कुनै पनि पुस्ताको कामलाई सामान्यीकरण गर्न नसकिने हुँदा केही अपवादलाई आधार मान्‍नु उपयुक्त नहुने तर्क दिन्छन् । नेल्सन मण्डेला र भारतको पश्चिम बंगालका ज्योती बसुको कुशल प्रशासनलाई उदाहरण दिएर यस्तो तर्कलाई पुष्टि गर्न खोजिन्छ ।

नेपालमा पनि यो बहसले व्यवस्थित रूपमा भन्दा अनौपचारिक रूपमा स्थान पाउन थालेको देखिन्छ । हाल ‘क्राउडसोर्सिङ’ को रूपमा युवा पुस्ताको माग भइरहेकामा यो क्रमशः बढ्दै गएको खण्डमा यसले संगठित विचारको आकार ग्रहण गर्न सक्छ । 

के युवाहरूको ऊर्जा सडकमा ढुङ्गा हान्‍न र तोडफोड गर्न मात्र हो ? के युवाहरूको उर्वर उमेर विदेशमा ‘थ्रिडी’ काममा बर्बाद गर्न हो ? यी प्रश्नहरू नीति-निर्माताहरूका लागि यक्ष प्रश्न बन्दै गएका छन् । युवाहरूको नेतृत्वको ‘तन्‍नेरी सरकार’ले पक्कै फरक शैलीमा काम गर्नेछ, तर यसले चमत्कार नै गर्छ भन्‍ने कुनै निश्चितता भने छैन । यसका लागि यो पुस्ताले आफूलाई अब्बल साबित गर्न भने सक्नुपर्छ । नेपोलियनको गुरुले उनकाबारे भनेका थिए, ‘यो केटो ग्रेनाइट्ले बनेको छ र यसभित्र ज्वालामुखी छ ।’ 

नेपोलियनले आफ्नी आमालाई लेखेको चिठ्ठीमा भनेका थिए, ‘कामभन्दा अतिरिक्त मेरा अरु साथी छैनन्, म दश बजे सुत्छु चार बजे उठ्छु । म दिनमा एकपल्ट मात्र एक बजे खान्छु ।’ माथिका नेपोलियनसम्बन्धी दुई उद्धरण युवा पुस्ताका लागि मन्त्र बन्‍न सक्नुपर्छ । युवा  उमेरले मात्र हुन सकिँदैन, जोस जाँगर र साहस पनि हुनुपर्छ । यसबाहेक नवीन र सिर्जनात्मक सोच भएन भने समाजमा रूपान्तरण ल्याउन सम्भव हुँदैन ।

यो पुस्ता न त ‘जोखिम पन्छ्याउने’ (रिस्क एभर्टर)’ हुन मिल्छ न त जे पनि गर्ने ‘जुवाडे (ग्यामलर) हुन सक्छ । परिवर्तनकामी र रचनात्मक तनाव लिने युवा नेतृत्व आयो भने नसोचेको परिवर्तन हुन सम्भव छ । यसका लागि जुन कामको नेतृत्वमा उनीहरू पुग्छन् त्यसमा देखिने सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ ।

नेतृत्व कुनै काम सही रूपमा गरेर होइन कि सही काम काम गरेमा मात्र सफल हुन्छ भन्‍ने बुझ्‍न जरुरी छ । युवा जोस र उत्साहको कुरा गर्दा अग्रज पुस्ताको योगदानप्रति कृतघ्न हुनु पनि अर्को अन्याय हुन्छ । उनीहरूप्रति कृतज्ञता र वर्तमान पुस्ताका लागि न्याय गरेको कामबाट देखिनु आवश्यक हुन्छ । यसो हुन सक्यो भने नेतृत्व कसैले दिनु नै पर्दैन समय सन्दर्भले नै नेतृत्व यो पुस्तामा आउने निश्चित नै छ । समयले युवा पुस्ताको परीक्षण गर्दैछ ।

(लामो समय प्रशासनिक जीवन बिताएका मैनाली लोकसेवा आयोगका निवर्तमान अध्यक्ष हुन् ।)



Author

उमेशप्रसाद मैनाली

मैनाली लोक सेवा आयोगका पूर्वअध्यक्ष हुन् ।


थप समाचार