विचार

बिनापरीक्षण, बिनाक्‍वारेन्टिन ल्याइएका बीउ किसानसम्म पुग्दा...

शिशिर दाहाल |
असार ९, २०७८ ८:४२ बजे

मकैका हरिया बोटमा घोगा लाग्‍ने बेला हो, यो । तर घोगा लाग्न नपाउँदै बोट सखाप हुन थालेका छन् । अमेरिकी फौजी किराले हलक्क बढेको मकैका हरिया बोटलाई मात्रै खाएको छैन, किसानहरूको मेहनत र मनलाई पनि खाइरहेको छ । नेपालका थुप्रै जिल्लामा मकैलगायत विभिन्‍न बालीलाई अमेरिकी फौजी किरा (Fall Army Worm) ले सताइरहेको छ । 

अमेरिकी फौजी किराको वैज्ञानिक नाम ‘स्पोडोपटेरा फ्रुगिपोर्डा’ (Spodoptera frugiperda) हो । हल्का कालो या खैरो रङको पखेटा भएको यो किरा पुतली समूहमा पर्छ । यसको शरीरको अन्तिम भागमा सेतो रङको दाग या धब्बा रहेको हुन्छ । यो किरा रातिको समयमा बढी सक्रिय हुन्छ । त्यसैले दिउँसोको समयमा यसको क्रियाकलाप खासै देखिँदैन ।


ADVERTISEMENT

यो किराको उत्पत्ति पश्चिमी ध्रुवीय देशहरू जस्तै अमेरिकादेखि अर्जेन्टिनाको आसपासमा भएको पाइन्छ । यो किराले मकै, जुनेलो र धान औधी मन पराउँछ । साथै उखु, तरकारी बाली, कपास बालीहरू लगायत तीन सय ५० भन्दा बढी प्रजातिका वनस्पति खान्छ । यसले बोटको वानस्पातिक तथा प्रजनन भागहरू जस्तै मकैको घोगा, धानचमरा, विकसित हुँदै गरेका टुप्पोहरू, कलिला मुना, डाँठ र पातहरूमा आक्रमण गर्छ । 

वयस्क फौजी किराले रातको समयमा पातका तल्लो सतहमा १०० देखि ३०० वटा सम्म फुल पार्छ । फुलमा एक प्रकारको २ तले तहले छोपिएको हुन्छ । ३ देखि ५ दिनमा अण्डाबाट लार्भा निस्कन्छ । करिब २१ दिनसम्म लार्भाको निरन्तर विकास हुन्छ । त्यसपछि प्युपा अवस्थामा करिब १४ दिन बसेपछि रातको समयमा नै वयस्क बनेर बाहिर निस्कन्छ । वयस्कको उमेर करिब १४ दिनको हुन्छ । यसले झन्डै ५०० किमि दुरीसम्म उड्न सक्छ । २८ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम भएमा लार्भाको आक्रमण दर बढ्छ । 

अमेरिकी फौजी किराको असर झट्ट देखिँदैन । यसले सूक्ष्म रूपले आक्रमण गरी सुरुमा बोटलाई कमजोर बनाउँछ । सुरुमा यस किराका लार्भा बिरुवाको डाँठमा सानो प्वाल पारी भित्र छिर्दछ । यसले बिस्तारै बोटहरूका काण्डको भित्री भाग खाई सुरुङ निर्माण गर्दै अगाडि बढ्छ । बाहिरबाट बिरुवा स्वस्थ देखिए पनि कमजोर बनिसकेको हुन्छ । माथिल्लो भागदेखि सुक्दै जान्छ । यो प्रक्रिया काण्डमा मात्र नभई मकैको कोसामा पनि त्यतिकै देखिन्छ । त्यसपछि बिरुवा ढल्छ । किराको संक्रमणको कारणले बनेका घाउहरूबाट अन्य रोगजन्य सूक्ष्म जीवहरूको संक्रमण सुरु हुन्छ । यसले आक्रमण गरेका बाली उत्पादन कम हुन्छ । १५ देखि ५० प्रतिशतसम्म उत्पादनमा कमी ल्याइदिन्छ । उत्पादित अन्‍नको पनि गुणस्तरमा कमी आउने सम्भावना रहन्छ । अधिकांश क्षेत्रमा यसको असर अन्तिम अवस्थामा पुगेपछि मात्रै किसानले देख्छ । जसले गर्दा यसलाई नियन्त्रण गर्न मुस्किल हुन्छ । 

फौजी किराले आक्रमण गरेका मकैको दानामा ‘अफलाटक्सिन’को विकास हुने गरेको पनि पाइएको छ । जसले गर्दा बेचैनी हुने, पखाला, कब्जियत, ग्यास्ट्रिक, बान्ता हुने, पेट दुखाई हुने, ऐठन हुने, खाना स्वाद गर्न सक्ने क्षमतामा ह्रास हुने, भोक हराउने, मुख सुख्खा हुने, अत्यधिक थकान हुने र जन्डिस हुनेलगायत समस्या देखापर्छ । 

क्‍वारेन्टिन अभावले फौजी किरा नेपाल भित्रियो  

यो किरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखापरेको थियो । अमेरिकाको विभिन्‍न भाग हुँदै अफ्रिका महादेश पुगेको यो किरा सन् २०१८ मा भारत, श्रीलंका, म्यानमार, भियतनाम, चीन, ताइवान, थाइल्यान्ड र बंगलादेशमा देखापरेको थियो । 

सन् २०१६ पछिको यो किराको फैलावट व्यापक देखिएको छ । दुई वर्षअघि नेपालमा पहिलोपटक २०७६ सालमा यो किरा भेटिएको पुष्टि भएको थियो । नवलपरासी जिल्लामा एकाएक बालीनाली नष्ट हुन थालेपछि अनुसन्धानका क्रममा फौजी किरा नेपाल आइपुगेको पुष्टि भएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट वैज्ञानिक अजयरत्न वज्राचार्य र बिनु भाटले गरेको अनुसन्धानले यो पुष्टि भएको थियो । 

बिउबिजन आयात गर्दा हुने परीक्षण गतिलो भएको भए, सायद यो किराले नेपालमा प्रवेश गर्न पाउने थिएन । अहिले विदेशबाट आएका मानिसलाई कोभिड–१९ को संक्रमण छ, छैन भनेर जसरी क्‍वारेन्टिनमा राखिन्छ, त्यसरी नै विदेशबाट मकै लगायत अन्य अन्‍नबालीका बीउ आयात गर्दा पनि सीमा–नाकामा केही समय क्‍वारेन्टिनमा राखिनुपर्थ्यो । क्‍वारेन्टिनमा राखेर ती बीउमा कुनै पनि किराको अवशेष छ, छैन भनेर जाँच गरिन्छ । तर, नेपालमा बीउ ल्याउँदा कुनै जाँच हुँदैन । बिना परीक्षण, बिना क्‍वारेन्टिन ल्याइएका बीउ किसानसम्म पुग्छन् । 

अहिले यो किराले मकैमात्रै नभई अन्य बोटहरूमा पनि असर गर्न थालेको भेटिएको छ । यो, ऊ भन्‍ने नै छैन, थुप्रै जिल्लामा फैलिइसक्यो यसको प्रकोप । यसको प्रकोपमा पर्ने अधिकांश तराईका जिल्लाहरू छन् । अनि पहाडी जिल्लामा पनि धेरै देखिन थालिसकेका छन् । 

रामपुर, चितवनमा रहेको राष्ट्रिय मकै अनुसन्धान केन्द्र र खुमलटारमा रहेको इन्टोमोलोजीमा यस किराबारे थप अनुसन्धान भइरहेको छ । 

किरालाई रोकथाम गर्ने उपाय 

कतिपय किसानलाई यस रोगबारे थाहै छैन । किसानहरूले मनलाग्दी विषादी छर्किने क्रम पनि बढिरहेको छ । जसले गर्दा किराको संख्या बढ्ने खतरा रहेको हुन्छ । रासायनिक र घरेलु दुवै विधिबाट यो किरालाई हटाउन सकिन्छ ।

यसको लागि किसानले निम्‍न कुरा गर्नुपर्छ :
मकैका बोटहरूको बेलाबेलामा निरीक्षण गर्ने । पातको तल्लो भागमा निरीक्षण गर्ने । यदि अमेरिकी फौजी किराको फुल पारेको भेटिएमा नष्ट गर्ने । खेतबारी सफा राख्नुपर्छ । त्यस्तै जाडोको समयमा बारी जोत्ने गर्नुपर्छ । यसो गर्दा चिसोको कारण प्यूपाको मूत्युदर बढ्न गई संक्रमण रोकथाम गर्न सकिन्छ ।

माटोमा प्राङ्गारिक मलको प्रयोग गर्ने, मिश्रित बाली प्रणाली अपनाउने । मकैसँगै भटमास, बोडी या बदाम लगाउदा पनि ३१ प्रतिशतसम्म किराको नियन्त्रण हुन्छ । भटमास, बदाम, बोडी कोसेबाली हुन् जसले माटोको उर्वरा शक्ति वुद्धि गर्नमा मदत गर्दछन् ।

धकेल्ने र तान्‍ने विधि : यो विधि अपनाउन सकिन्छ । फौजी किरा नियन्त्रणमा यो निकै प्रभावकारी विधि हो । यसका लागि मकैको बीचमा डेस्मोडिएम घाँस लगाउने र बारीका छेउमा नेपिएर घाँस लगाउनुपर्छ । डेस्मोडिएम घाँसबाट एक प्रकारको नमीठो गन्ध निस्किन्छ, जुन फौजी किरालाई मन पर्दैन । जसले गर्दा किरा मकै बारीबाट टाढा भाग्छ । 

नेपिएर भने फौजीलाई निकै मन पर्छ र किराको झुण्ड नेपिएरमा गई आफ्नो जीवनकाल बिताउँछ । नेपिएरमा विषादीको प्रयोग गरी या हातले संकलन गरी नष्ट गर्न सकिन्छ । यसो गर्दा मकैमा विषादी प्रयोग हँुदैन र स्वस्थ मकै उत्पादन हुन्छ । यो प्रविधिअनुसार करिब ४० देखि ६० प्रतिशत नियन्त्रण भएको (मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले गरेको अनुसन्धानले जनाएको छ । डेस्मोडिएमले माटोको उर्वराशक्ति पनि बढाउँछ । 

५. निममा आधारित जैविक विषादीको प्रयोग गर्ने । जस्तै : मल्टी निम ।

६. फेरोमोन पासोको प्रयोग गर्ने : 
फौजी किरा नियन्त्रणका लागि फेरोमोन पासोहरू जस्तै (Z-9-14:OAca) उपलब्ध छन् । यी पासोमा पोथी वयस्कको जस्तै गन्ध राखिएको हुन्छ जसले गर्दा भालेहरू पासोको नजिक आई मर्दछन् र प्रजनन क्रियाकलाप सम्पन्‍न हुन नपाई किराको जनसंख्यामा कमी आउँछ । साथै बत्तीको पासो प्रयोग गरेर पनि नियन्त्रण गर्न सकिन्छ (कम्तीमा ३ वटा पासो प्रतिहेक्टर) ।

७. रासायनिक विधि  
बालीमा क्लोरेन्ट्रानिलिप्रोलको ०.४ एमएल प्रतिलिटर पानीमा घोलेर प्रयोग गर्न सकिन्छ । त्यस्तै स्पिनटोरम एक एमएल प्रतिलिटर पानीमा, एपिनोस्याड एक एमएल प्रति ३ लिटर पानीमा र एमेमेक्टिन बेन्जोएटको धुलो ०.४ ग्राम प्रतिलिटर पानीमा घोलेर बारीमा छर्किन सकिन्छ । 

यस विषादीलाई ८ देखि १० दिनको फरकमा किरा नियन्त्रण नभएसम्म प्रयोग गर्न सकिन्छ । तर एकै प्रकारको विषादी निरन्तर प्रयोग गर्दा किरामा विषादी पचाउन सक्ने क्षमताको विकास हुने र नियन्त्रण विधि प्रभावकारी नहुने समस्या हुने गर्दछ । 

(अन्तर्राष्ट्रिय मकै र गहुँ सुधार केन्द्रमा काम गरेका दाहाल हाल त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा अध्ययनरत छन् ।)



Author

थप समाचार