विचार

सहरमा डेरावासका मेरा तीता अनुभव

एलबी विश्वकर्मा |
असार ९, २०७८ बुधबार १६:३८ बजे

कोठा खोज्न जाँदा सञ्चारकर्मी रुपा सुनारमाथि गरिएको विभेदको प्रसंगलाई सामाजिक सञ्जाल फेसबुक, ट्विटर तथा टिकटकका पोस्टमा गम्भीर छलफलको विषय बनाइएको छ । अझै प्रहरीले चाँडो एक्सन लिएर विभेद गर्ने घरमालिकलाई पक्राउ गरेपछि कथित उपल्लो जातिका बौद्धिक वर्गहरू चर्को रूपमा विरोध गरिरहेका छन् । अर्थात् साहित्यकार तथा राजनीतिककर्मी महावीर विश्वकर्माको शब्दमा ‘लुकाएर राखेको जात व्यवस्थाको पक्षधर विचार छताछुल्ल भएको छ ।’

सामाजिक सञ्जालमा सबैले राखेका आ–आफ्ना व्याख्या र विचार पढ्दै गर्दा केही अनौठा र अत्यासलाग्दा पनि भेटिए । यी सबै विचार पढ्दै गर्दा अहङ्कारको हुङ्कार छाँट्नेहरू पनि भेटिए । हामी दलितकै लागि बोल्छौँ, लेख्छौँ भन्दै ढाँट्नेहरू पनि भेटिए । यस प्रकारका सबै विषयमा अध्ययन गर्दै जाँदा आफ्ना केही विचार र भोगाइ राख्ने पक्षमा पुगेँ ।


लोकतन्त्रको चौथो खम्बा पत्रकारका विचारबाट सुरुवात गरौँ । नेपालका सञ्चार गृहहरू सबै उच्चजातिको वर्चश्वमा छन् । जहाँ दलित पत्रकारको उपस्थिति न्यून छ । यसकारण दलितका सवाल उठाइँदैन । 

म आफैँ पनि पत्रकार भएको नाताले यस किसिमका समस्या महसुस गरेको छु । दलितका मुद्दामा सीमित पत्रकारहरू मात्रै सकारात्मक छन् । तर सीमान्तीकृत समुदायबारे बोल्नैपर्छ भन्नेहरू दलितका सवालमा सामाग्री तयार पार्ने क्रममा अनौठा सुझाव दिन्छन् । 

‘यो आरक्षण ठीक छैन । विभेद मुक्तिका लागि पहिले यसलाई हटाउनु पर्छ । यो मलाई पनि मन नपरेको विषय हो । अनि यी दलितका नाममा खोलिएका संघसंस्थाहरूले उनीहरूलाई मूर्ख बनाउँदै छन् । यिनीहरूबारे पनि लेख्नुस है ।’ यी शब्द एक मिडियाका उच्च पदस्थ व्यक्तिले दिएको आदेश हो । 

०००

अब सामाजिक सञ्जाल दोहोरीमा उत्रिएका केही सञ्चारकर्मीबारे कुरा गरौँ ।‘दलित भनिएकै कारण तिमीले कोठा पाएनौ, बाहुन भनिएकै मैले कोटा पाइनँ’ कस्तो विभेदकारी छ यो राज्य । आऊ हात मिलाऔँ हटाऔँ असमानता...!’ यी शब्द चल्तीमा रहेको एक महिला पत्रकारको हो । उनीसँग धेरै मिडियामा काम गरेको अनुभव छ । साथै उनका लेख, ब्लग, स्टाटस र समाचारहरूले महिलामाथि हुने विभेद अन्त्यका लागि जोड दिइएको पाइन्छ । तर, दलितका सन्दर्भमा चाहिँ आरक्षण नै विभेदकारी छ भनेर क्वोट गर्न खोजिएको देखिन्छ । उनको भनाइको तात्पर्य नै आरक्षण हटे विभेद हट्छ भन्ने छ ।

फिर्ता दिएको ६ हजार मात्रै छ । मैले सात हजार दिएको थिएँ । ‘एक हजार कम पर्‍यो त आमै भनेपछि उनले एक हजार हिजो खर्च भयो । बाबू पछि आउनुभयो भने दिन्छु ।’ त्यतिन्जेल चुपचाप रहेको मलाई रनन्न रिस उठ्यो । तर बूढी आमालाई के गर्नु ? आफूलाई कन्ट्रोल गरेँ । अनि भनेँ, ‘आमा मलाई त्यो मेरो हजार चाहिँदैन । कृपया मलाई हेर्ने नजर फेरिदिनुहोला ।’

एकजना कार्टुनिस्टको कलम दमन र प्रतिशोधविरुद्ध हुनुपर्छ । सत्यका पक्षमा हुनुपर्छ । जातीय विभेदको सिकार बनेकी रूपा सुनारले सहानुभूतिका लागि अनर्गल प्रचार गरेको भन्दै एक कार्टुनिस्टले सामाजिक सञ्जालमा लेखेका छन् । ‘विभिन्न कालखण्डमा मेरो घरमा दलित परिवारहरू धेरै वर्ष डेरा गरी बसे र बिदा भए । थरले कुनै समस्या भएन । अब भने म घरका कोठा भाडामा लाउँदिनँ ।’ उनको यो भनाइको आसय के होला ?

‘होइन यी दलित भनाउँदाका कति थर त घिमिरे, खड्का अर्याल आदि इत्यादि खस ब्राह्मणका थर नै हुने गरेको छ, अब खुरुक्क त्यही भन्दे भैगो त ताइँ न तुइँ के दलितको पगरी गुथ्नु पर्या होला ?’

माथिको विचार पत्रकार महासंघका एक पूर्व केन्द्रीय सदस्यको हो । उनले त्यसअघि पनि लामा–लामा स्टाटस लेखेर जातीय विभेद गर्न पाउनुपर्छ भन्दै विषवमन गरेकी छन् । आफूलाई महिलाबारे लेख्ने वरिष्ठ पत्रकार, फेमिनिस्ट भन्न रुचाउने उनले अर्की एक सञ्चारकर्मी दलित महिलालाई सहयोग गर्नुपर्ने कसरी बिर्सिइन् ?

उनले अर्को स्ट्याटसमा अति गैरजिम्मेवार तरिकाले लेखेकी छन् । उनले लेखेकी छन्, ‘तमतमाउँदी तरुनी दोहोरी मैयाहरूले समेत नियतवश मोबाइलमा रेकर्ड गर्न अनापसनाप आफै कुरा बंगाइतुङ्ग्याइ अर्थको अनर्थ लाउँदै नियेतवश फसाउँदै सस्तो लोकप्रियता पाउन’ । उनको यो भनाइ आपराधिक छ । दलित महिलामाथि दमन गर्ने हेतुले यस किसिमको टिप्पणी गर्नु महामूर्खता हो ।

‘दलितको दोहोरी बहिष्कार रे त ताजा समाचार, म : के हो दलितको कार्यक्रम नहेर्ने ??? जातीय विभेद गर्ने ??  हेप्नी ???’ उनले यो स्टाटसमा जातीय विभेदको सिकार बनेकी रूपाले इमेज च्यानलमा सञ्चालन गर्ने कार्यक्रम उकाली ओराली बहिष्कारका लागि उक्साउँदै छिन् । 

एक पत्रकारले अर्को पत्रकारमाथि गर्ने दमन चाहिँ विभेद होइन ? वा आफ्नो अधिकारका लागि बोल्दा र कानुन गुहार्न पनि नपाइने ? यसपालि रूपाले हिम्मत गरेकी हुन् । म भए पुग्दैन थियो ।

गत फागुनदेखि हालसम्म मैले तीन घरमा कोठा सरेँ । पहिलो घर बुढानिलकण्ठको हो । त्यहाँ सरेर गएको एक दिनमै घर छाड्न दबाब आएको थियो । कारण थियो, भाइसँग बाबू के थरी भन्दा हामी दलित हौँ भनेपछि सर्नु भनेको थियो । दुई तलाको घरमा एकजना वृद्ध मात्रै थिए । उनका छोरीहरू विदेशमा छन् । उनी आफैँ सेवानिवृत्त कर्मचारीसमेत रहेछन् । 

यसपछि पाक्षीकोटकै अर्को घरमा फ्ल्याटमा सर्यौं । त्यहाँ भाइहरूले आफूहरू अछामको न्यौपाने बाहुन हौँ भनेका रहेछन् । तर उनीहरूलाई मेरो नाम एलबी न्यौपाने र इमेज च्यानलमा काम गर्छ भन्ने लागेको रहेछ ।

एक दिन मेरो बाइलाइनसहितको समाचार टेलिभिजनमा हेरेपछि उनीहरूले जात थाह पाए । त्यही दिनदेखि हामीलाई कोठा छाड्न दबाब आयो । उनले हामीलाई चाँडो कोठा सरेर नगए, जात ढाँटेर घरमा बसेको भन्दै प्रहरीमा उजुरी दिने बताए । त्यहाँ हामीले तीन महिना बिताएका थियौँ । र उनको नयाँ घरमा हामी नै पहिलो भाडावाला थियौँ । उनको परिवारमा आमाछोरी मात्रै थिइन् । दैलेख घर भएका श्रीमान्को केही महिना पहिले मृत्यु भएको थियो । पाटन घर भएकी उनकी बहिनी बेला–बेला थर्काउन आउँथिन् । उनका तीन सन्तानमध्ये एक छोरा अमेरिका र छोरी अस्ट्रेलिया छन् ।

००००
कोरोनाको दोस्रो लहरका कारण देश लकडाउन भइसकेको थियो । तर घरबेटीले जसरी पनि कोठा सार्न दबाब दिइरह्यो । एक पटक प्रहरीसँग गुहार मागौँ भन्ने सोचेँ । तर त्यसअघिका मुद्दाहरूमा साथीहरूले खर्चिएको समय बुझेँ । काठमाडौँ डुलेरै हिँड्नुपर्ने मलाई अदालत र प्रहरी चौकी धाउनै कठिन थियो । त्यसमाथि अफिसलाई समय नदिएको भनेर जागिर गए भाइहरू समेत भोकै पर्ने पीर । अघिल्लो पटकको लकडाउनमा जागिर गुमाएपछि बल्ल पुरानो ट्रयाकमा फर्किन खोज्दै थिएँ । अर्को मलाई कानुनप्रति नै विश्वास छैन । दलित अभियन्ताहरूले समेत अप्ठ्यारोमा साथ दिँदैनन् । यी सबै सम्झिएँ अनि नयाँ कोठा खोजेर सर्ने निधो गरेँ । 

यसअघि कोठामा विभेद भोगेको थिइनँ । तर एकैपटक लगातार विभेद भोगेपछि तनाव बढेको भने पक्कै थियो । यसकारण मलाई दलित हुँ भनेरै बस्ने दिने घरमा सर्न मन थियो । ती घरबेटी दिदीसँग समय मागेर साथीहरूलाई कोठा खोज्न मद्दत मागेँ । 

एकजना पत्रकार साथीले बानेश्वरमा कोठा खोजिदिने दलालको  नम्बर दिए । मैले उनलाई फोन गरेँ । ती दलाल दाइ सिन्धुलीका रहेछन् । उनलाई मैले स्पष्ट भनेँ, ‘दाइ म विश्वकर्मा हुँ । मलाई जात नढाँटी बस्न मिल्ने घर चाहिएको थियो ।’

उनले वैशाख १८ गते आउनुस, भेटौँ भनेर बोलाए । अफिसले कर्मचारीलाई निरन्तर नै बोलाइरहेको थियो । दिउँसो अफिस भएका कारण साँझ घर हेर्न जाने हाम्रो सल्लाह भयो । 

साँझ पाँच बज्न दश मिनेट बाँकी हुँदा म अफिसबाट निस्किएँ । हिँड्दै लाजिम्पाटबाट वानेश्वर पुग्दा ६ बजिसकेको थियो । दलाल दाइले थापागाउँको मन्दिर नजिकै आउनु भनेका थिए । म पुगेपछि हामी थापागाउँभित्र पस्यौँ । थोरै अगाडि दायाँतर्फ छिर्‍यौँ। झण्डै तीन–चार घर पर पुगेपछि एक पूरानो घर थियो । उ, यही घर हो, दलाल दाइले भने ।

गेटमा कहीँकतै हरियो रङ देखिन्थ्यो । वरिपरि पीपलको पातले माला बुनेर लगाइएको थियो । गेटमा भगवान्का प्रशस्तै फोटाहरू टाँसिएका थिए । हामी भित्र पस्यौँ । बायाँतिर महिला र पुरुषका लागि २ छुट्टा–छुट्टै ट्वाइलेट थिए । छेउमा फुटेको कालो पाँच सय लिटरको ट्याङ्की थियो । दायाँतर्फ भत्किएको सानो मन्दिर थियो । सिमेन्टले बनाइएका मूर्ति थिए, तर कुन भगवान्का हुन याद भएन ।

आँगन अति धेरै भद्रगोल र फोहोर थियो । अगाडि प्रशस्त खाली जमिन थियो । निस्किँदै गएको कलरले घर पुरानो भएको स्पष्ट हुन्थ्यो । हामी सिधै कोठा हेर्न गयौँ ।

ग्राउन्ड फ्लोरको साँघुरो कोठा । हावा छिर्न कठिन । सानो झ्याल पर्याप्त अक्सिजन पनि नछिर्ने खालको । मधुरो लाइट थियो, होल्डरवाला । कोठा खासै चित्त बुझेन । त्यही घरको तेस्रो तलामा अर्को कोठा पनि खाली थियो । त्यो हेर्न गयौँ । अझ बढी सानो कोठा लाम्चो आकारको । झ्याल झन् सानो । 

मलाई दुवै कोठा खासै चित्त बुझेनन् । तर दाइले एउटा घरमा मात्रै कोठा देखाउने स्वार्थ राखेको थियो । मलाई दिनदिनै कोठा खोज्ने र हेर्ने समय थिएन । बाध्यताले सोही घरको ग्राउन्ड फ्लोरमा सर्ने सोच बनाएँ ।

त्यो घरमा त्यसबेला घण्टी बजाएँ आवाज र अगरबत्तीको सुगन्ध फैलिएको थियो । हामी कोठाबाट निस्किएर मन्दिर अगाडि उभियौँ । घरबेटी आमा हामीलाई नहेरीकनै पूजामा मस्त थिइन् ।

हाल पूजाका लागि प्रयोग गरिँदै आएको त्यो कोठा ट्वाइलेटका लागि बनाइएको स्पष्ट थियो । जसको पुष्टि स–साना पाइपका टुक्रा र कोठाको संरचनाले स्पष्ट पारेका थिए ।

हामीले आधा घण्टा कुर्यौं । उनी जुरुक्क उठिन् । हात जोडेरै एक फन्को लगाइन् । अनि बाहिर आएर हामीलाई टिका लगाइदिइन् । अनि कुरा सुरु भयो । माथिको कोठाका ५५ सय तलको कोठाको सात हजार दिनुपर्ने आमाले भनिन् ।
 
उनले मलाई यहाँ अरु विद्यार्थीहरू पनि बस्छन् भन्दै बाबू यहाँ बसे आफ्नै आमाको काखमा बसेझैँ हुन्छ भनिन् । घरको भाडा तिर्नलाई पनि पैसा नभएका महिना कर नगर्ने र दुई महिनाको भाडा अड्काउन नपाइने कुरा भयो । मैले उनको हातमा सात हजार थमाएँ । हामी फर्किन तयार भएको बेलामा आमाले बाबूको नाम के नि भनी सोधिन् । मैले भनेँ, ‘मेरो नाम एलबी विश्वकर्मा हो । इमेज च्यानलमा कार्यरत छु ।’
यत्ति सुनेपछि आमाको मुख रातोपिरो भएर आयो । अनि दुवै हातका औँलाको टुप्पो जोड्दै थुथु गरी थुक्दै कानका लोहोता तानेर ‘विष्णु विष्णु’ भनिन् ।

अनि सोधिन्, ‘बाबु बंगुर, राँगा र गोरुको मासु त खानुहुन्न नि...!’ मेरो उत्तर थियो, ‘म सबै जनावरको मासु खान्छु आमै । मेरो गाउँमा यो सब खाने चलन छ । यता त पाइन्न होला । अनि दारु पनि पिउँछु । अरुलाई डिस्टर्ब हुने कुनै पनि काम गर्दिनँ । तर महिनामा एक–दुई पटक साथी जम्मा हुने गर्छौं । त्यस बेला भने अलि बढी हल्ला हुन्छ ।’

घरबेटीले भनिन्, ‘कहिलकाहीँ आफन्त सबैका आउँछन् । दिनदिनै हल्ला गर्नु भएन । अनि बाबूले यहाँ कुखुरा र खसीको मासु मात्र खान पाउनुहुन्छ ।’ घरबेटीले भनिन् ।

मैले हुन्छ भन्दै टाउको हल्लाएँ । अनि वाइफाई छ कि नाइँ भनी सोधेँ । त्यहाँ वाइफाई रहेनछ । सबै मिलेर वाइफाई जोड्ने व्यवस्था गरिदिने उनले बताइन् ।

मैले गाडी भेटाएँ । त्यही राति सामान झार्छु भनेपछि घरबेटीले एकपटक फोन गरेर मात्रै सामान ल्याउनु जहिले आए पनि हुन्छ भनेपछि म फर्किएँ । तर त्यतिन्जेल रातको साढे सात भइसकेको थियो । त्यस दिन म बानेश्वरमै आफन्तको कोठामा बसेँ । 
 
एकाबिहानै मोबाइलको घण्टी बज्यो । मेरो निद्रा खलबलियो । मोबाइल हेर्दा दलाल दाइको फोन रहेछ । उनले घरबेटीले पैसा फिर्ता दिन खोजेको भन्दै फोन गरेका रहेछन् । उनले भने, ‘भाइ घरबेटी दिदीले पैसा फिर्ता दिन खोजेकी रहिछन् । मै लिइराखौँ कि तपाईं आउनुहुन्छ ?’

म आफैँ माग्छु भनेर गएँ । बिहान सिमसिमे पानी परिरहेको थियो । म भिज्दै त्यहाँ गएँ ।

‘अहिलेको जमानामा पनि कस्ता मान्छे हुन्छन् ? जातपात र छुवाछूत गर्छन् ?’ दलाल दाइ तथानाम गाली गर्दै थिए । हामी घर पुग्यौँ ।
दलाल दाइ मलाई बाहिरै बस भनी माथि गए । आमा पूजामा लिप्त थिइन् । हामीले दश मिनेटजति कुर्यौ ।

उनी बाहिर आएर अलि परै बसिन् । ‘यो पूजाआजा गरेर के हुन्छ ? मान्छेलाई मान्छे नदेख्ने यो बूढी ।’ दलाल दाइ भुतभुताउन थाले ।
‘त्यो तल बस्ने छोरीले पहिल्यै कोठाभाडा लिइसकेकी रहिछ  त्यही भएर हजुरको पैसा फिर्ता गरिदिन खोजेकी हुँ बाबु । अन्यथा नसोच्नुहोला ।’

‘त्यस्तो कहाँ हुन्छ ? डलब दिनुपर्छ । अन्यथा एक हजार थपेर दिनुपर्छ । यदि त्यो भाइले कोठा सर्न नखोज्दा वा पैसा फिर्ता माग्दा आधा पैसा मात्रै दिने चलन छ ।’ दले दाइ बोले ।‘बाबू तपाईं मबाट बढी पैसा लिग्नुहुन्छ र ?’ उनले मलाई सोधिन् । मैले पर्दैन भनेपछि पैसामाथि दुई चकलेट प्रसाद राखेर दिइन् । उनले दिएका चकलेट दलाल दाइले फिर्ता नै गरे ।

फिर्ता दिएको ६ हजार मात्रै छ । मैले सात हजार दिएको थिएँ । ‘एक हजार कम पर्‍यो त आमै भनेपछि उनले एक हजार हिजो खर्च भयो । बाबू पछि आउनुभयो भने दिन्छु ।’ त्यतिन्जेल चुपचाप रहेको मलाई रनन्न रिस उठ्यो । तर बूढी आमालाई के गर्नु ? आफूलाई कन्ट्रोल गरेँ । अनि भनेँ, ‘आमा मलाई त्यो मेरो हजार चाहिँदैन । कृपया मलाई हेर्ने नजर फेरिदिनुहोला ।’ हाल जनजातिको घरमा बस्छु । उनको फराकिलो आँगन छ । आँगन जस्तै मन फराकिलो छ । 

‘न्याय गुहार्न डर लाग्छ’ 
मलाई न्याय माग्नसमेत डर लाग्छ । यहाँ न्यायका लागि कानुनी निकाय धाउँदा एक्लो बनाइन्छ । गत वर्ष अन्तर्जातीय प्रेम सम्बन्धकै कारण अछामको रामारोशन गाउँपालिका–२ का प्रकाश टमट्टालाई निर्घात कुटपिट गरियो । उनकी प्रेमिका झुण्डिएको अवस्थामा भेटिइन् । जब कि उनीहरूलाई केटी पक्षले रङ्गेहात पक्राउ गरेको थियो ।

त्यो इस्युलाई हामीले जोडतोडले उठायौँ । तर, प्रकाशको परिवारसँग हामीलाई सम्पर्क गर्नसमेत कठिन भइरहेको थियो । तर अछामका दुई जना जुझारु युवा मंगलसेनका रिदम विक र रामारोशनका अर्जुन लुहारले चुनौतीको सामना गर्दै उनीहरूलाई सदरमुकाम ल्याउने प्रतिबद्धता जनाए । उनलाई जंगलको बाटोबाट पञ्चदेवल विनायक नगरपालिका हुँदै सदरमुकाम ल्याइयो । 

सदरमुकाम पुर्याउन गंगालाल हस्पिटलमा कार्यरत मित्र कर्ण विकले सवारीको व्यवस्था गरे । तर मुद्दा दर्ता गर्न सक्ने स्थिति भने बन्नै सकेन । जिल्लाका सबै दलित नेता र अधिकारकर्मीहरू उक्त मुद्दामा बोल्न तयार थिएनन् । त्यस क्रममा कैलालीबाट अम्बेडकरवादी मनोज जैगडी र कैलाली बस्ने रामारोशनकै पदम मिजारलगायत टोली अछाम पुगेर मुद्दा दर्ता भयो । उनीहरूका ६ जना पक्राउ परे ।

प्रतिशोधमा पीडित परिवारले म र भोजराज थापालाई समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै मानहानीको मुद्दा लगाउँदै उजुरी दिए । मिजारसहित चार जनालाई मुद्दा दर्ता गर्न सहयोग गरेको भन्दै अदालतमा मुद्दा दर्ता गरियो ।

एक महिनापछि अदालतबाट बोलावट आयो । म अछाम गएँ । आफ्नो नाममा मुद्दा परेको खबर सम्मिलित संघ–संगठन र दलित अधिकारकर्मीलाई समेत खबर गरेँ । तर दलित समुदायबाट हामीलाई सामान्य सहयोग पनि भएन । उनीहरूले प्रोत्साहनका लागि विज्ञप्तिसमेत निकाल्ने आँट गरेनन् ।

त्यसपछि दलित आन्दोलनप्रति मेरो आश मरिसकेको थियो । अहिले रूपा सुनारमाथि जातीय विभेदको घटना हुँदा धेरैजना न्यायको संरक्षणमा लागेका छन् । यसर्थमा खुसी मिलेको छ । मलाई हौसला प्राप्त भएको छ ।


Author

थप समाचार
x