विचार

सत्ता मात्र होइन, पुस्ता पनि हस्तान्तरण हुनुपर्छ

विनोद सिजापती |
असार ११, २०७८ ६:३७ बजे

सानो छँदा पूर्णिमाको साँझ आमाले विधिवत् चन्द्रमाको पूजा आराधना गर्नुहुन्थ्यो । त्यो कर्म उहाँले सानै उमेरदेखिको निरन्तरता थियो । एक दिन मैले आमासँग प्रश्न गरेँ, ‘आमा चन्द्रमाको पूजा किन गर्नुभएको हो ?’

आमाले चन्द्रमा देखाउँदै भन्‍नुभयो, ‘त्यो भगवान्‌को छायाँ हो । त्यहाँबाट हामीलाई तिनले हेरिराखेका हुन्छन् । दुःख परेपछि उद्धार गर्न आउँछन् ।’ 


भोलिपल्टदेखि बिस्तारै अँध्यारो हुँदै हुन्छ । त्यसपछि आमाको भगवान् गायब हुन्छन् । चन्द्रमा विराजमान भगवान्‌को आगमन देशमा कायम हुने आशा गरिएको सुशासन जस्तै छ । पूर्णिमा आए जस्तै गरी ‘ठूला ठूला’ आन्दोलनहरू भए । त्यसपछिका केही दिन चन्द्रमा देखिने छाया जस्तो रह्यो, सुशासन आगमनको अपेक्षा पनि । आन्दोलन समापनपछिका केही समयपछि नै आशा निराशामा बदलिन्छन्, सुशासन लोप हुन्छ धरातलबाट । 

देश उन्‍नतिका निम्ति पूर्र्वसर्त प्रमाणित भएको हुनुपर्छ, सुशासन । राज्य सञ्चालकले सुशासन कायम गर्ने हो । सुशासन कायम गर्न कटिबद्ध नेता पूर्णिमाको चन्द्रमा देखापर्ने छायाँ समान भएका छन् । देशका समस्याहरू ‘सिसडोल’मा थुप्रने काठमान्डूबासीका फोहोर-मैलाको डुंगुर जस्तो गरेर थुप्रिँदैछन् । बेथिति अनियमितता, आर्थिक सामाजिक विकृति तथा भ्रष्टाचारले समस्त राष्ट्रलाई ‘सिसडोल’मा परिणत गरेको छ । अब जाँदै गरेका नेतृत्वले फोहोर मैलाको थुप्रोमा अरू थप्ने काम गर्दैछन्, तँछाड-मँछाड गरी । 

उनीहरूमध्ये कुनैले पनि सुशासन कायम गरेर विकृति हटाउन सक्ने दक्षता वा क्षमता राख्दैनन् । यदि सक्दा हुन् त समस्याहरू यसरी थुप्रने नै थिएनन् । त्यसो हुँदा अब, राष्ट्र समस्याग्रस्त हुनबाट जोगाउन शासकीय सत्ता र राजनीतिमा पुस्ता हस्तान्तरण अनिवार्य छ । 

परापूर्वकालमा शासकीय उत्तराधिकारी तयार गर्न राजाले राजकुमार (पुत्र)हरूलाई शासन व्यवस्थापनको तालिम प्राप्त गर्न ऋषिमुनिको आश्रममा पठाउँथे । राष्ट्र-निर्माण क्रममा जेष्ठ पुत्रलाई उत्तराधिकारी चयन गर्ने परम्परा बस्यो । अन्य छोरा(हरू)को दाँजोमा जेष्ठ पुत्रले देश सञ्चालन तालिममा प्राथमिकता पाउने परम्परा स्थापित भयो ।

समकालीन इतिहासमा राजा महेन्द्रले तिनै छोरा (राजकुमार) लाई दार्जलिङको ‘नर्थ प्वाइन्ट’मा स्कुले अध्ययनार्थ पठाए । दार्जिलिङको अध्ययन समापनपछि दुई अधिराजकुमारहरूलाई पाटन कलेज भर्ना गराए । युवराजधिराज वीरेन्द्रलाई चाहिँ ब्रिटेनको सम्भ्रान्तका छोरा-छोरीहरू पढाउने विद्यालय ‘इटन’ पठाए । इटनको अध्ययन समापनपछि तिनलाई हावर्ड तथा टोकियो विश्वविद्यालयहरूमा सुशासनसम्बन्धी विषयमा अध्ययन गर्न पठाए ।

नेपालमा हुँदा सानै उमेरदेखि राजाले छोराहरूलाई देश भ्रमणका निम्ति पैदल दूरदराजका गाउँहरूमा पठाउने गर्थे । नारायणहिटी दरबार परिसदमा युवराजधिराजलाई राष्ट्रिय राजनीतिक, सामाजिक तथा आर्थिक वस्तुस्थिति व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा ‘जाँचबुझ केन्द्र’ स्थापना गरेका थिए ।

उक्त केन्द्रले नेपाल सरकारका प्रबुद्ध अधिकृत तथा देशका विद्वान्हरूलाई सामेल गरी देशको जल्दोबल्दो समस्याहरूका विषयमा अध्ययन/अनुसन्धान तथा आयोजना योजना तर्जुमा कार्यहरूमा संलग्‍न हुनु थियो । पिताको असामयिक निधनपछि २६ वर्षको उमेरमा राजगद्दी सम्हाल्न वीरेन्द्र अन्य नेपाली राजाहरूको तुलनामा बढी शिक्षित, प्रशिक्षित तथा परिपक्‍व थिए ।

राजा महेन्द्रले प्रशासक, योजनाविद्, कूटनीतिज्ञ तथा राजनीतिक नेता कार्यकर्ताहरूलाई पनि ‘गु्रम’ गर्थे । राणाकालमा सक्षम ठहरिएका अधिकारी, सेना तथा प्रहरी अधिकृत, प्राध्यापक/शिक्षक, विदेशमा अध्यनरत मेधावी विद्यार्थी तथा राजनीतिक दलका उम्दा युवाहरूलाई तिनले सार्वजनिक प्रशासनिक पदमा नियुक्त गरे । राजनीतिककर्मीहरूको पनि नाडी छाम्दथे । उनीहरूको उपादेयताको सूक्ष्म अध्ययन गर्थे । 

महेन्द्रले आफ्नो सम्बन्ध आपसमा वैमनश्य भएका चन्द्रशमशेर र जुद्धशमशेरका सन्तानसँग कायम गरेका थिए । बबरशमशेरको नाती मृगेन्द्रशमसेर राणा तथा आफ्ना ससुरा हरि शमशेर आदिसँग तिनको प्रगाढ सम्बन्ध थियो । बीपी कोइराला, सुवर्णशमशेर, टंकप्रसाद आचार्य तथा कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूसँग तिनको उठबस बाक्लो थियो । कम्युनिस्ट नेताहरू डा. केशरजंग रायमाझी तथा शैलेन्द्रकुमार उपाध्यायसँग पनि सामीप्य सम्बन्ध कायम गरेका थिए ।

२०१७ मा निर्वाचित सरकारलाई अपदस्त गरेर संसदीय व्यवस्थाको हत्यापछि राजाले नेपाली कांग्रेसका पूर्व महामन्त्रीहरू डा. तुलसी गिरी, विश्वबन्धु थापा तथा हृषीकेश शाहलाई राजनीतिक मञ्चमा स्थान दिए । अर्कातिर तिनले सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, राजेश्वर देवकोटा तथा नगेन्द्रप्रसाद रिजाललाई पनि ‘ग्रुम’ गरेका थिए, आवश्यकता पर्नासाथ एकलाई विस्थापित गरी अर्कोलाई अघि सार्नका खातिर ।  

राजनीतिक नेताहरूमध्ये नेतृत्व हस्तान्तरणप्रति सजग तथा क्रियाशील विश्वेश्वरप्रसाद कोइराला (बीपी) एकल उदाहरण हुन् । लोकतान्त्रिक नेता भएका हुनाले तिनले नेतृत्व उत्तराधिकारी मात्र होइन पुस्ता हस्तान्तरणका निम्ति पनि अग्रिम सोच राखेको उदाहरणहरू छन् ।

बीपीका निम्ति तिनका उत्तराधिकारी समकालीन मित्र सुवर्णशमशेर थिए । पुस्ता हस्तान्तरणका निमित्त तिनले कृषणप्रसाद भट्टराई, विश्वबन्धु थापा, सरोजप्रसाद कोइराला तथा श्रीभद्र शर्मा आदिलाई ‘गु्रम’ गरेका थिए । आठ वर्ष लामो जेल जीवनमा बीपीले पुस्ता हस्तान्तरणका निम्ति देवानसिंह राई तथा योगेन्द्रमान शेरचनलाई छानेका थिए ।

निर्वासन कालखण्डमा नेतृत्वको हस्तान्तरण उत्तराधिकारी सरोजप्रसाद कोइराला ‘अग्रिम’ उम्मेदवार थिए । पुस्ता हस्तान्तरणका निमित्त शैलजा आचार्य, प्रदिप गिरी तथा चक्रप्रसाद बाँस्तोला छनौटमा परेका थिए । २०३६ को जनमत संग्रहपछि बहुदलले विजय प्राप्त गरेको खण्डमा नेतृत्व परशुनारायण चौधरीलाई हस्तान्तरण गर्दै नेपाली कांग्रेसको भावी प्रधानमन्त्री घोषणा गर्नुभएको थियो । स्वदेश फर्केपछि उहाँको पुस्ता हस्तान्तरणको रोजाइमा शेरबहादुर देउवा तथा विमलेन्द्र निधि परेका थिए ।

पहिलो जनआन्दोलनको सफलतापछिका दिनमा नेतृत्व २००७ का नेताहरूको हातमा पुग्यो । राणा शासन तथा निरंकुश पञ्चायतविरुद्ध निरन्तर लडेको पुस्ता थियो, यो । अग्रपंक्तिमा रहेका त्यस्ता नेताहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला तथा मनमोहन अधिकारीले शासन सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएका हुन् । २०५१ मा शेरबहादुर देउवा विपक्षी दल तथा नेपाली कांग्रेसको संसदीय दल नेतामा चयन हुनु नेतृत्व पुस्ता हस्तान्तरणको सुरुवात महसुस गरेको थियो, मुलुकले । उनी दलका नेता चयन भएकै कारण एमाले अल्पमतका प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकार विघटनपछि देउवा प्रधानमन्त्री (२०५२ भाद्र २७) नियुक्त भएका हुन् ।

बिडम्वना देउवाको १८ महिने कार्यकालदेखि सुशासनयुक्त राजनीति अघि बढ्नुको साटो गाडीको पांग्रा जस्तो गरेर उल्टो दिशाउन्मुख रह्यो । तीन दशक लामो अवधिसम्म संघर्ष गरेका कांग्रेस तथा कम्युनिस्टहरूले तिनै पञ्चायतका पूर्र्वप्रधानमन्त्रीहरूलाई सत्ता सुनको थालीमा टक्र्याउन थाले । त्यसपछिका दिनहरूमा नेतृत्वको हस्तान्तरण त्यस कालखण्डका नयाँ र पुराना पुस्ताबीच आलोपालो चलिरह्यो, अर्को १२-१३ वर्षसम्म । 

त्यसो हुनुको एक मात्र कारण थियो, सत्तामोह । उक्त अवधिमा पूर्व प्रधानमन्त्रीहरूमध्ये बीपी, मनमोहन अधिकारी, नगेन्द्रप्रसाद रिजाल तथा मरिचमान सिंहबाहेक सबैले पालो पाए, प्रधानमन्त्री बन्‍ने । २०६५ पछि प्रधानमन्त्री पदमा देखापरेका नयाँ अनुहारहरू पुष्पकमल दहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खड्गप्रसाद ओली तथा सुशील कोइराला हुन् । उनीहरूमध्ये पनि केहीले दोहोर्‍याएर प्रधानमन्त्री पद प्राप्त गरिसकेका छन् । 

विद्यमान स्थापित नेतृत्व जसलाई ‘शीर्षस्थ नेता’ पदवी दिने गरिएको छ, उनीहरूको चारीत्रिक गुणमा तार्किक भिन्‍नता पाइँदैन । सबैको एकल उद्देश्य प्रधानमन्त्री पद प्राप्तिमा निहित छ । सबैले सत्ता सम्हाल्नेले अवसर पाउँदा राज्य व्यवस्थापनमा असफलसिद्ध भएका हुन् । समकालीन नेता तथा नयाँ पुस्ताका अनुयायीहरूलाई सत्ता हस्तान्तरण गर्ने लोभ बढे पनि अवसर बाढ्न कहिले पनि तयार हुन सकेका छैनन् ।

अनुयायीहरूमध्ये आफूप्रति समर्पितलाई मन्त्रिमण्डलमा स्थान दिएर तिनको सेवाबापत पुरस्कार दिने पद्धतिलाई तिनले स्थापित गरेका छन् । कुनै पनि राजनीतिक दल नेताले आजका दिनसम्म आफ्नो उत्तराधिकारी चयन गर्ने प्रयाससम्म पनि गरेका छैनन् । उल्टो उनीहरूले नयाँ नेतृत्व पैदा गर्ने भातृ संस्थाहरूलाई समेत पंगु बनाएका छन् । यनप्रकारेण आफैँ हाबी हुने स्वार्थ पीडित छन् । स्थापित नेताहरूबाट नेतृत्व हस्तान्तरण हुने गुन्जायस कतै पनि देखिँदैन । वर्तमान कालखण्डमा एकल वृहस्पति केवल प्रदीप गिरि भएका छन्, जो नेतृत्वको पुस्ता हस्तान्तरणको वकालत गरिरहन्छन् । 

राजाहरूले मात्र होइन, कुनै पनि घर परिवार मुलीले आफूपछि को भन्‍ने सोच राखेको हुन्छ । जुन परिवारको अग्रजले ‘अभिभावकीय भूमिका’ निभाउँदै सन्ततिलाई गृह व्यवस्थाको जिम्मेवारी समयमा नै सुम्पेको हुन्छ, त्यस्तो परिवारले उन्‍नति गरेको पाइन्छ । उद्यमीहरूले पनि आफ्ना सन्ततिलाई व्यपस्थापनसम्बन्धी तालिम दिन्छन् । अधिकांश अवस्थामा उद्यमी परिवारले उन्‍नति गर्न सक्नुका पछाडि पुस्ता हस्तान्तरण हुनु नै हो । 

विद्यमान सत्ताको हस्तान्तरण असफल सावित भएका नेताहरूबीच हुने ‘क्रम-भंग’ नितान्त आवश्यक छ । सात दशक उमेर काटेका नेताहरूले जब्बरसँग पार्टी कब्जामा लिएर सत्तामा हाबी हुन प्रयत्नशील छन् । यदि राष्ट्रमा सुशासन कायम गर्ने हो भने वृद्ध पुस्ताका नेताहरूको बिदाइ अनिवार्य छ । देशको भलाइका निम्ति अब सत्ता हस्तान्तरण होइन, पुस्ता हस्तान्तरण नितान्त आवश्यक छ । दलका युवा पुस्ताका नेताहरूले वृद्ध नेतृत्वलाई विस्थापित गर्न सकेनन् भने मेरी आमाले पूर्णिमाको रातमा चन्द्रमामा देखिने भगवान्‌को आगमन कुरेर ९५ वर्ष व्यतीत गरेजस्तै गरेर आउँदो पुस्ताहरूले पनि सुशासनको पर्खाइमा जिन्दगी बिताउनु पर्नेछ ।


Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार
ad
x