कांग्रेस महाधिवेशन : भोटिङ र सेटिङको परम्परा
विश्वव्यापी महामारीसँगै अर्थतन्त्र शिथिल बन्दै गएको छ । अर्थतन्त्र र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । लकडाउनका कारण लाखौँ युवा बेरोजगार भएका छन् भने हजारौँ व्यवसाय धराशयी बन्दै गएका छन् । कोभिड-१९ का नयाँ भेरियन्टसँगै नयाँ नयाँ स्वास्थ्य संकट देखापरिरहेका छन् ।
यिनै पृष्ठभूमिबीच नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा छ । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा अब दिगो विकास र गतिशील अर्थतन्त्रका मुद्दाले ठाउँ पाउँला कि नपाउँला भन्ने मुख्य विषय हो । चुनौतीबीच पनि अर्थतन्त्र चलायमान बनाउने उपायको खोजी कांग्रेसले गर्ला कि नगर्ला ? कि सधैँजसो नयाँ कार्यसमिति चयन गर्ने औपचारिकतामै सीमित हुन्छ, महाधिवेशन ।
सरकार अस्पताल शिलान्यास गर्छ, तर भएका अस्पतालले उपकरण र डाक्टर अभाव खेपेको वर्षौं भइसक्यो । निजी विद्यालयको अधिक शुल्कका कारण अभिभावकहरू विद्यालय पठाउन नसक्ने अवस्थामा पुगिसके । सरकारी विद्यालय कोमाको बिरामी जस्ता भएका छन् । आमनागरिकले महँगीले आत्तिएका छन् । अझ भ्रष्टाचार प्रकरण त लाजमर्दो आउँछन्, कतै-कसैमाथि सामान्य कारबाही समेत नगरी सेलाउँछन् ।
यस्ता जनताको दैनिकीसँग जोडिएका विषय राजनीतिक दलको मुद्दा अझैसम्म हुन सकेका छैनन् । अब विकासको पाटो सुरु भएको छ । जलवायु परिवर्तन, रोजगारी, स्वास्थ्य, शिक्षा, सुशासन तथा पर्यावरणमैत्री विकास निमार्णको बहस अबका एजेन्डा हुनुपर्छ । समग्रमा भन्दा अबको मुद्दा ‘ग्रिन इकनमी’ अर्थात् ‘हरित अर्थतन्त्र’उन्मुख हुनुपर्छ ।
कांग्रेसका पछिल्ला महाधिवेशन फगत नयाँ नेतृत्व चयनमा मात्र सीमित भए । कार्यकर्ताले चुनावी जोड-घटाऊका अभ्यासबाहेक केही सिक्न पाएनन् । यसको मतलव उत्प्रेरणा दिने कार्यक्रम केही भएन भन्ने हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको विषय बुझाउन सकिएन ।
अब यसरी गरौँ नयाँ महाधिवेशन
महाधिवेशनमा युवा उद्यमशीलता कहिल्यै मूल मुद्दा भएन । पार्टीमा युवाको पहुँच तथा आकर्षण बढाउने नयाँ कार्यक्रमको सुरुवात हुन सकेन । जलवायु परिवर्तन, युवा उद्यमशीलता, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता जनताका अत्यावश्यक विषयममा महाधिवेशन केन्द्रित हुनुपर्ने हो । पहिला भएन भनी अब पनि चूप लागेर बस्ने कि केही नौलो सुरुवता गर्ने ? युवाको सहभागिता र आकर्षणको केन्द्र बनाउने महाधिवेशन बारे सोच्ने बेला भएको छ ।
महाधिवेशन भन्ने बित्तिकै ‘भोटिङ’ र ‘सेटिङ’ बुझ्ने परम्परा स्थापित छ र सहरकेन्द्रित पट्यार लाग्दो हल वा भीडभाड दृश्य दिमागमा घुम्न थालिसकेको छ । देश विदेशबाट जम्मा हुने पाँच हजार बढी महाधिवेशन प्रतिनिधिको भेला अत्यन्तै रोचक हुन्छ । पाहुना, पर्यवेक्षक, पत्रकार, र बाहिरी आगन्तुकको कारण भेला अर्थपूर्ण जस्तो देखिन्छ । नेपालबाट मात्र हैन राजनीतिक रूपमा अन्तर्राष्ट्रिय चासोमा पनि पर्छ, कांग्रेस महाधिवेशन ।
अर्थतन्त्र तथा स्वास्थ्य क्षेत्रमा बढ्दै गएका चुनौतीको सामना गर्न हरित अर्थतन्त्रको अवधारणा उपयुक्त विकल्प हुन सक्छ । त्यसैले हरित अर्थतन्त्रको मुद्दामार्फत कांग्रेसको आगामी यात्रा अगाडि बढोस् ।
महाधिवेनलाई झनै अन्तर्राष्ट्रिय राजनीतिक महोत्सवका रूपमा परिणत गर्न सकिन्छ । कांग्रेसको नेतृत्व चयन गर्ने भन्दा पनि अन्तर्राष्ट्रियस्तरको अर्थपूर्ण र बहुआयमिक कुम्भ-मेला बनाउन सकिन्छ । विश्व राजनीतिमा नै कमजोर बन्दै गएको सामाजिक तथा राजनीतिक लोकतन्त्रको नयाँ बहस सिर्जना गर्ने अवसरका रूपमा परिणत गनुपर्छ । त्यसका लागि महाधिवेशनको मुद्दादेखि स्थानसम्मले भूमिका निर्वाह गर्छ ।
कहाँ र किन गर्ने ?
महाधिवेशन सहरका ठूला भवन तथा हलमा हुनुले खास अर्थ राख्दैन । नेपाली कांग्रेस नागरिकको पार्टी हो भन्ने महसुस गराउन उनीहरूकै आगनमा महाधिवेशन गर्नुपर्यो । नेपाल चिनाउने ऐतिहासिक स्थलहरू उपयुक्त स्थान हुन सक्छन् । पर्यटन सम्भावना भएका थलोहरू तथा राष्ट्रिय सन्देश दिने स्थानमा महाधिवेशन गर्नुपर्छ । वीपी कोइरालासँग महत्व राख्ने ठाउँ वा आर्थिक तथा राजनीतिक परिवर्तनका बाहक स्थानमा गर्न सकिन्छ । जसले गर्दा नेपाली कांग्रेसप्रति नागरिकको विश्वास र कार्यकर्ताको भरोसा वृद्धि हुनेछ ।
कसले के गर्ने ?
केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई प्रमुख वक्ताको रूपमा उपस्थित गराउन सकिन्छ । कांग्रेसको सामाजिक, आर्थिक, राजनीतिक तथा अन्तर्राष्ट्रिय नीतिको विषयमा कार्यकर्ता प्रशिक्षित गराउने सुनौलो मौका यही हो । त्यतिमात्र नभएर आर्थिक तथा कूटनैतिक विषयमा ‘प्यानल डिस्कसन’कै ‘सेसन’ चलाउन सकिन्छ । जसका कारण कांग्रेसले अख्तियार गर्ने नीतिलाई थप सवल एवं सुदृढ बनाउन टेवा पुग्छ ।
पार्टी र नेता सम्बन्धित प्रतिष्ठानले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर राणा, गिरिजाप्रसाद कोइरालाको व्यक्तित्व झल्कने गरी ‘डकुमेन्ट्री’ प्रदर्शन गर्ने । कांग्रेसभित्र अघिल्लो र पछिल्लो पुस्ताबीचमा बढ्दै गएको दूरी मेटाउन र कांग्रेसको इतिहास बुझाउन यो कार्यक्रम प्रभावकारी हुनेछ ।
युवाहरूको राजनीतिक चेतनालाई थप निखार्न बहस तथा छलफल जरुरी छ । कांग्रेसको नर्सरी मानिएको नेपाल विद्यार्थी संघ विचारविहीन दस्ता जस्तो बनेको छ । नेविसंघलाई नै महाधिवेशनमार्फत युवाका आगामी योजना, रणनीति र मुद्दाबारे कार्यपत्र प्रस्तुतको अवसर दिनुपर्छ । जसमा नेविसंघ, तरुण दलका युवाहरूको उपस्थिति अनिवार्य गरिनुपर्छ ।
महाधिवेशन भन्ने बित्तिकै ‘भोटिङ’ र ‘सेटिङ’ बुझ्ने परम्परा स्थापित छ र सहरकेन्द्रित पट्यार लाग्दो हल वा भीडभाड दृश्य दिमागमा घुम्न थालिसकेको छ ।
नेपाली कांग्रेससम्बन्धी लिपिको प्रकाशन र प्रसारणका जिम्मा पनि नेविसंघमार्फत नै गर्नुपर्छ । जसका कारण संघमा आबद्ध युवाहरूमा लोकतान्त्रिक चेतना र समाजवादी भावनाको विकास गराउन मद्दत पुग्छ । विद्यालय तथा विश्वविद्यालयसम्बन्धी पठनीय सामग्री त्यसका थप ऊर्जाका स्रोत हुन् ।
राजनीतिक भाषण र भेटघाट बाट थकित कार्यकर्तालाई ऊर्जा प्रदान गर्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुपर्यो । सांस्कृतिक संघमार्फत हाँस्यव्यंग्यका लगायत कार्यक्रम गर्न सकिन्छ । कांग्रेससँग सम्बन्धित पुस्तकको प्रदर्शनीले महाधिवेशनको आकर्षण बढाउन सक्छ ।
जलवायु परिवर्तन, रोजागरी तथा उद्यमशीलताको नयाँ बहस चलाउन आवश्यक भइसकेको छ । कांग्रेस कार्यकर्तामा त्यसको पछिल्लो अवस्था र आगामी कार्यदिशाबारे जानकारी गराउनुपर्छ । तत्तत् विभागमार्फत यसको व्यवस्थापन मिलाउन सकिन्छ । जनसम्पर्क समितिहरूलाई अन्तर्राष्ट्रिय प्रवर्धनमा परिचालन गर्ने जिम्वेवारी दिनुपर्छ ।
नेपाल चिकित्सक संघमार्फत चिकित्सकीय परामर्शको काम गर्न सकिन्छ । संघमा आवद्ध चिकित्सकद्वारा कोरोना भाइरस तथा आगामी दिनमा आउन सक्ने स्वास्थ्य चुनौतीबारे छलफल गराउनुपर्छ । नेपाल किसान संघले कृषि उपज उत्पादनको बजारीकरण तथा कृषिमा आधुनिकीकरणबारे जानकारी गराउने जिम्मा दिइनुपर्छ । महाधिवेशनमा कला र सांस्कृतिक पहिचान झल्किने स्टलहरू राख्न सकिन्छ ।
नेपाल तरुण दलमार्फत स्वयंसेवक परिचालन गर्न सकिन्छ । महाधिवेशनमा आएका विचार तथा देखिएका नयाँ दृष्यबारे अनुसन्धान गर्ने टिम बनाउनु पर्छ । जुन भावी दिनका लागि मार्गनिर्देश हुने र वास्तविक अवस्था बुझ्ने अवसर प्राप्त हुनेछ ।
सम्भावनाहरू
कांग्रेसले बोकेको जलवायु परिवर्तन र ‘ग्रिन इकोनोमी’ जस्ता विश्वव्यापी मुद्दामा अन्तर्राष्ट्रिय चासो बढ्न सक्छ । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा पुरानो साख फिर्ने देखिन्छ । महाधिवेशनकै कारण आझेलमा परेका राष्ट्रिय महत्वका ठाउँहरूको उजागर हुनेछ । स्थानीय स्रोतको पहिचान भई कला, संस्कृति संगीतको विकास हुनुका साथै त्यसको राजनीतिक तथा सामाजिक महत्व प्रष्ट हुन्छ ।
युवाहरूको उपस्थिति र जिम्वेवारीलाई देखेर कांग्रेसप्रति युवाको आकर्षण तथा सहभागितामा वृद्धि हुनेछ । त्यति मात्र नभई कांग्रेसजनको बृहत्तर सम्पर्क र भाइचाराको विकास हुन्छ । महाधिवेशन भीड र झन्झटिलो प्रक्रिया भन्ने मानसिकता केही हदमा दूर हुनेछ । स्फूर्ति र ऊर्जाशील महोत्सवको रूपमा परिणत हुनेछ ।
विज्ञहरूको सल्लाह सुझाव अनुसार आयोजनास्थल पहिचान गरी केन्द्रीय कमिटी वा महासमितिहरूबाट अनुभवी/विज्ञहरूको मूल अनुगमन कमिटी बनाउनुपर्छ । सो समितिको प्रतिवेदन महासमिति बैठकको मुद्दा बनाइनुपर्छ । विभागहरूलाई दक्षता र अनुभव अनुसार परिचालन गरिनुपर्छ ।
अन्त्यमा,
पर्यावरण, अर्थतन्त्र तथा स्वास्थ्य क्षेत्रमा बढ्दै गएका चुनौतीको सामना गर्न हरित अर्थतन्त्रको अवधारणा उपयुक्त विकल्प हुन सक्छ । त्यसैले हरित अर्थतन्त्रको मुद्दामार्पmत कांग्रेसको आगामी यात्रा अगाडि बढोस् । शुभकामना ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया