विचार

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन- २

देउवा र पौडेलहरूले ‘ग्रेसफुल एक्जिट’ रोज्‍नुपर्छ

हरिहर विरही |
असार १५, २०७८ मंगलबार ८:५४ बजे

नेपाली कांग्रेसको आन्तरिक जीवनमा, पार्टीलाई गति दिन नेतृत्वबाट केही नभएको भने होइन । नयाँ सोचअनुरूप पार्टीको संरचना निर्माण गर्ने दिशामा केही कदम चालिएका छन्, पार्टीका नयाँ विभाग गठन भएका छन् । त्यी विभागले राम्रो काम गरिरहेका छन् । फेरि आफूले गरेका राम्रा काम प्रचारमा ल्याउन नसक्नु नेपाली कांग्रेसको कमजोरी हो भने कुनै कमजोरी भयो भने अरुले भन्दा नेपाली कांग्रेसभित्रकै नेता कार्यकर्ताले बढी प्रचार गर्छन् ।

नेपाली कांग्रेसका नेताहरूलाई बदनाम गर्ने काम पार्टीकै नेता कार्यकर्ताले गरेका छन् । नेपाली कांग्रेसले प्रचार संयन्त्रलाई खासै महत्व दिएको पनि देखिँदैन । सत्तामा हुँदा वा नहुँदा पनि नेपाली कांग्रेसले सञ्चार संयन्त्रलाई महत्व नदिने र मागेका सूचनाहरू समेत उपलब्ध नगराउने, जानकारी माग्दा उपलब्ध नहुने प्रवृत्ति छ ।


कम्युनिस्ट पार्टीले त खासगरी सञ्चार माध्यमलाई कसरी ‘प्रोपोगान्डा’ निम्ति प्रयोग गर्न सकिन्छ भनी सबै उपाय अपनाउँछन् । आलोचना गर्ने सञ्चारमाध्यम/सञ्चारकर्मीलाई झम्टिन ‘अरिंगाल’ जसरी झम्टिन सार्वजनिक आह्वान नै गरिरहेका हुन्छन् ।

सत्तामा बसेको बेला आफ्नो आलोचना नहोस् भनेर कानुन नै बनाएर प्रेस स्वतन्त्रता/अभिव्यक्ति स्वतन्त्रता कटौती गर्न समेत पछि पर्दैनन् । लोकतन्त्र, विधि-पद्धति, पारदर्शिता र जनसहभागितामा विश्वास गर्ने नेपाली कांग्रेसको नेतृत्वमा भने सञ्चारमाध्यमसँग अन्तक्र्रियाको पक्षमा धेरै कमजोरी देखिएको छ । वास्तवमा प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस लड्दै आएको छ । नेपाली कांग्रेस नभएको भए केपी ओली सरकारले प्रेस स्वतन्त्रता यो सरकारले समाप्त पारिसक्थ्यो ।

कांग्रेसको नेतृत्वमा बस्नेहरूमा क्षमता नभएको भन्‍ने मलाई लाग्दैन । तर क्षमताको उपयोग किन हुन सकिरहेको छैन, त्यो रहस्यको विषय बनेको छ । अहिले पनि आन्दोलन गर्नुपर्‍यो भने नेपाली कांग्रेसका नेताहरू सशक्त छन् । पछिल्लो आन्दोलनकारी शक्ति माओवादी भए पनि शान्तिपूर्ण र लोकतन्त्रका लागि गरिने आन्दोलनमा नेपाली कांग्रेस नै प्रमुख शक्ति हो ।

यसका जुझारु कार्यकर्ताहरू शान्ति र लोकतन्त्रप्रति प्रतिबद्ध छन् । कांग्रेसको नेतृत्व पंक्तिको क्षमतामा शंका छैन तर आवश्यक रूपमा आफ्नो क्षमता प्रदर्शन नहुँदा नेपाली कांग्रेसमा आस्था राख्नेहरू अचम्भित छन् । आजको सन्दर्भमा अहिलेको नेपाली कांग्रेसको मूल नेतृत्वले अब नेपाली जनताको अपेक्षालाई पूरा गर्न सक्दैन, त्यसकारण मूल नेतृत्वमा परिवर्तन आउनुपर्छ, नेतृत्व पंक्तिमा नयाँ पुस्ता आउनुपर्छ/पुरानाले नयाँलाई सुम्पेर सम्मानपूर्वक बाहिरिनु राम्रो हुन्छ । 
राजतन्त्र भएका कयौँ देशमा समेत राजाले आफ्ना छोरा वा छोरीलाई सत्ता सुम्पेका छन् । त्यसका लागि जापान र नेदरल्यान्डकै उदाहरण हेरौँ, वंश परम्परामा आधारित सत्ता त सुम्पिदिएका छन् भने यहाँ राजनीतिक दलको नेतृत्वसमेत बाध्य नभई नछोड्ने स्थिति देखापरेको छ, त्यो विडम्बनापूर्ण छ ।

सरकारको नेतृत्व मात्र होइन, पार्टीभित्रको नेतृत्वमा समेत कुण्डली जमाएर बस्ने प्रवृत्ति देखापरेको छ । नेपाली कांग्रेसका लागि यो घातक भएको छ । राम्रो काम गरेको ठानेर जनताले चाहेर मलेसियामा वृद्ध नेतालाई पनि कुनै खास समयमा जिम्मेवारी दिएका छन् । त्यस्तो साख राख्‍न पनि नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ । 

नेपाली कांग्रेस नेतृत्व चयनका लागि १४ औँ महाधिवेशनमा प्रवेश गर्दैछ । यो समयमा पुराना र वृद्ध नेताहरूले नयाँ पुस्तालाई अघि सारेर उनीहरूलाई नेतृत्वपंक्तिमा आउन मार्गप्रशस्त गर्नुपर्छ । यसले नेपाली कांग्रेसमा नयाँ जीवन आउनसक्छ, नयाँ रक्तसञ्चारको प्रवेश हुन्छ । 

नयाँ पुस्ताले क्षमता देखाउने मौका पाएका छैनन् । पुरानालाई भोगेर आमकार्यकर्ता र मतदाता साँच्चिकै निराश छन् । शेरबहादुर देउवा त चारपटक प्रधानमन्त्री भइसक्नुभयो, रामचन्द्र पौडेल विभिन्‍न रूपमा सत्तामा बसिसक्नुभएको छ भने अन्य नेताहरूले पनि त्यो अवसर पाइसक्नुभएको छ ।

अब पार्टीभित्र पनि र पार्टीले सरकारमा नेतृत्व गर्दा पनि नयाँ अनुहार आइदिए हुन्थ्यो भन्‍ने आमकार्यकर्ता र मतदाताको अपेक्षा छ । हिजो जसले नेतृत्व लिएर राम्रो काम गरे त्यसलाई स्मरण गर्दै, नराम्रा कामलाई माफी दिने वातावरण बनाउन पनि देउवा र पौडेलहरूले ‘ग्रेसफुल एक्जिट’ रोज्‍नुपर्छ ।

तर त्यो वातावरण नबनाउने र सधैँ अरुका लागि बाटो छेक्ने हो भने पार्टीभित्र विद्रोह हुनसक्छ । निकास पाएन भने विद्रोह हुन्छ । अन्य देशहरूमा समेत कैयौ पार्टीहरूमा फुटको मुख्यकारण पुराना नेतृत्वले बाटो नछाड्नु देखिन्छ । टाढा जानुपर्दैन, जवाहरलाल नेहरूको पार्टी कांग्रेस कसरी फुट्यो । मोरारजी देसाईं, के कामराज, निजलिङ्गप्पाहरूले कब्जा जमाएर बसेकै कारण पछि इन्दिरा गान्धी प्रधानमन्त्री भएको हुनाले आफ्नो शक्तिको प्रयोग गरेर पार्टी फुटाएर आफ्नो हातमा नेतृत्व लिइन् । नयाँ पुस्ता सबै त्यहाँ प्रवेश गर्‍यो ।

नेपाली कांग्रेसको सङ्गठन जसरी निर्माण भएको छ । यहाँभित्र नयाँ पुस्ताले नेतृत्व सम्हालिरहेका पुराना पुस्तालाई चुनौती दिएर एकै पटक पार्टीभित्रको सत्ता कब्जा गर्न सक्ने स्थिति छैन । किनकि जो नेतृत्वमा पुगे तिनीहरूले संगठनको तल्लो तहदेखि आफूप्रति निष्ठा र झुकाव (पार्टीप्रति होइन) राख्‍नेहरूलाई हरेक अङ्गमा राखेका छन् । त्यो जालो तोड्न नयाँ व्यक्तिले ठूलै संघर्ष गर्नुपर्छ ।

त्यसकारण जसले नेतृत्व लिइसक्नुभयो, उहाँहरूलाई पार्टीको भविष्यप्रति माया छ भने नयाँ पुस्तालाई मार्गप्रशस्त गरेर अभिभावकीय भूमिकामा बस्‍नु र आदरसम्मान पाइराख्ने वातावरण निर्माण गर्नुपर्छ । नेपाली कांग्रेसको नयाँ पुस्ताले पार्टीको नेतृत्वले जतिसुकै अनपेक्षित काम गरेको भएपनि सम्मानमा कमी गरेको छैन । पार्टीभित्र असन्तोष हुँदाहुँदै पनि नयाँ पुस्ताले सम्मान गरेका छन् ।

शेरबहादुर देउवाले विगतमा नेपाली कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाउनुभएको हो, तर पनि मूलधारका पार्टीका नेता र कार्यकर्ताले शेरबहादुर देउवालाई प्रजातान्त्रिक कांग्रेसका नेताहरूले जत्तिकै सम्मान दिएका छन् । बरु प्रजातान्त्रिक कांग्रेसमा रहेका नेताहरूले बरु उहाँको रवैयाको आलोचना गरिरहेका छन्, तर पहिले संस्थापन पक्ष भनिनेहरूले उहाँप्रति सम्मान गरिरहेका छन् ।

पहिले कुनै परिस्थितिजन्य कारणले घटना/दुर्घटना भए होलान् । तर त्यसलाई सँधैका लागि सम्झिएर बस्ने हो भने पार्टी बलियो हुन सक्दैन । आफ्नै बाटो छेकेर बसेका नेताहरूलाई नयाँ पुस्ताले जुन आदर र सम्मान दिएको छ, त्यसलाई महसुस गरेर पनि नयाँ पुस्तालाई भरोसा गरेर अवसर दिनुपर्छ ।

यदि भएन/चलेन वा सकेनन् भने उहाँहरू अझै क्रियाशील हुनुहुन्छ, उहाँहरूकै माग भयो भने कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुहुन्छ । गणेशमानजीले नयाँ पुस्तालाई जिम्मा लगाएपनि उहाँ नै कांग्रेसमा सबैभन्दा शक्तिशाली हुनुहुन्थ्यो । कमाण्डर भएर त्यत्रो आन्दोलन हाँक्नुभयो । पाएको प्रधानमन्त्रीको पद पनि उहाँले अस्वीकार गर्नुभयो ।

नेपाली कांग्रेसभित्र यति धेरै आदर्श हुँदाहुँदै पनि अहिलेको नेतृत्वले किन पदका लागि मोह राखिराखेका हुन्, त्यो नेपाली कांग्रेसको संस्कार होइन । यदि नयाँ पुस्ताले पनि क्रमशः यसैलाई आदर्श मानेर अनुसरण गर्‍यो भने त देशको राजनीति झन्-झन् बर्बाद भएर जान्छ । त्यसकारण नेपाली कांग्रेसलाई कसरी सुधार्ने र सशक्त राजनीतिक दलका रूपमा जीवन्त बनाइराख्‍ने भन्‍ने नेतृत्वको भूमिकामा निर्वाह गर्न सक्छन् । 

अनेकौँ परिस्थितिमा विरोधीहरूसँग जुझ्दै, आफ्नै पार्टीभित्र समेत संघर्ष गर्दै खारिएर आएको नेपाली कांग्रेसको नयाँ पुस्ता पार्टीको नेतृत्व लिन सक्षम छ । उपभोक्तावादी संस्कृतिमा हुर्किरहेको कांग्रेसभित्रको पछिल्लो पुस्तालाई समेत क्रमशः आदर्शको धारमा लिएर आउनुपर्नेछ ।

उनीहरूलाई राष्ट्र निर्माण र समाज निर्माणको महायज्ञमा होम्ने काम कांग्रेसको नेतृत्व लिन तत्पर भएको नयाँ पुस्ताले गरिरहेको छ । पछिल्लो पुस्ताको आकांक्षा, भावना र चाहनालाई प्रतिनिधित्व गर्न पनि नयाँ पुस्तामात्र सक्षम छ । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भनेर वृद्ध नेताहरूले भनेको भरमा पछिल्लो पुस्ता सन्तुष्ट हुन सक्दैन, त्यसका लागि नयाँ सोच र नयाँ कार्यक्रम ल्याउनुपर्नेछ ।

(इकागज प्रतिनिधिसँगको कुराकानीमा आधारित ।)

लेखकका यसअघिका लेख
- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन- १ : नेतृत्वमा नयाँ पुस्तालाई निषेध गर्ने हो भने कांग्रेस सकिन्छ


Author

थप समाचार
x