विचार

अब गुटको होइन, रुखको सभापति

सुरेन्द्र केसी |
असार २३, २०७८ १३:१८ बजे

मुलुक ठूलो राजनैतिक संकटबाट गुज्रिराखेको छ । संवैधानिक संकटको नौटंकी गर्दै सत्ता लम्ब्याउने र अधिनायकतिर उन्मुख भएको आभास हुन्छ, वर्तमान वामपन्थी सरकार । न्यायपालिकालाई विवादमा र आफू अनुकूल प्रयोग गर्ने मात्र होइन, धम्कीपूर्ण भाषाको प्रयोग भइराखेको छ । मुलुकको कार्यकारी प्रमुख विनाप्रमाण वा तथ्यका आधारमा आफ्ना कुतर्कहरू पस्किँदै छन् । सरकारको एउटा घटकबाहेक सबै राजनैतिक दल‚ पाँच पूर्वप्रधानमन्त्री‚ पाँच पूर्वउपकुलपति‚ पूर्वप्रधान न्यायाधीशसहित पेसाकर्मी र प्रशासक वर्तमान सरकारको गलत कदमको खुलेर विरोध गर्दैछन् । 

कोभिड—१९ ले जनता मर्दैछन् तर सरकारको दीर्घकालीन कार्यक्रम केही छैन । तेस्रो लहर आउने पक्का जस्तै छ । सम्पूर्ण क्षेत्र अस्तव्यस्त हुँदा नैतिक जिम्मेवारी मात्र होइन, संविधानसमेत च्यातेर आफ्नो कुर्सी बचाउनका लागि संविधानमाथि एकपछि अर्को प्रहार गरिराखेका छन् । कार्यकारीले गरेका गल्तीलाई सोझै प्रमाणित गर्ने कार्य राष्ट्रपतिद्वारा भइराख्दा उक्त संस्थाप्रति नै ठूलो आरोप लाग्दा पनि कुर्सी बचाउन मात्र लाग्ने वर्तमान सरकारबाट मुलुक‚ संविधान र जनताको संरक्षण हुन्छ भन्ने कुरा दिवास्वप्न भइसक्यो । 


यो विषम परिस्थितिमा मुलुकको एक मात्र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन हुन गइरहेको छ । उक्त महाधिवेशन नेतृत्व हत्याउने साध्यमात्रै भयो भने त्यो जतिको दुर्भाग्य केही हुँदैन । नेपालको संवैधानिक, राजनैतिक र प्रजातान्त्रिक मूल्य र मान्यताका खातिर १४ औँ महाधिवेशनको विशेष महत्व राख्छ । एक दुईओटा अधिवेशनलाई छोडेर यो महाधिवेशन यसकारण महत्वपूर्ण छ कि केही महिनाभित्र स्थानीय निर्वाचन हुने त छँदै छ राष्ट्रपतिद्वारा मध्यावधि निर्वाचन घोषणा भएको अवस्था छ । यो अधिवेशन अधिवेशनमा मात्र सीमित रह्यो भने प्रजातन्त्र सदाका लागि हार्ने त छँदै छ नेपाली कांग्रेसलाई अस्तित्वमा रहिरहन निकै कठिन पर्ने देखिन्छ । भदौमा हुने महाधिवेशन अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चाको विषय हुनुपर्ने थियो । संसारले नेपालमा प्रजातन्त्र स्थायित्वका खातिर नेपाली कांग्रेसको महाधिवेशनलाई विषेश महत्व दिनुपर्ने थियो तर दुर्भाग्य नेपाली कांगे्रसले अधिवेशनलाई त्यो रूपमा प्रस्तुत वा प्रचारप्रसार गर्ने पहल सुरु गरेको छैन जुन ढिला भइसक्यो । महाधिवेशनले नेपाली कांग्रेसको संगठनात्मक संरचना‚ संगठन विस्तार‚ राष्ट्रिय अन्तर्राष्ट्रिय नीति‚ संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व‚ विशेष गरी आगामी तिनै तहको निर्वानमा बहुमत प्राप्त गर्ने नीति एवं त्यसलाई सही रूपमा कार्यान्वयन गर्न सक्ने कार्यनीति स्पष्ट रूपमा ल्याउनुपर्ने हुन्छ । त्यसलाई आम सर्वसाधारणसम्म सही र सरल रूपले लैजान सक्नुपर्‍यो । यो वर्तमान १४ औँ महाधिवेशनको प्रमख चुनौती हो जुन नेपाली कांग्रेसको गिरेको साखलाई फर्काउनु र प्रजातान्त्रिक मूल्य र मान्यताको रक्षा गर्नु हो । 

निरंकुश तानाशाही १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य र पूर्ण प्रजातान्त्र प्राप्तिका लागि २००३ कात्तिक १५ मा भारतको वनारसमा स्थापना भएका नेपाली राष्ट्रिय कांग्रेसको आधार भनेकै आम नेपाली जनता हुन् । प्रजातान्त्रिक समाजवादलाई मूलमन्त्रका रूपमा आत्मसात् गरेको यस पार्टीले आन्तरिक कुरामा नअलमलीकन मुलुकको सर्वोपरि हितका लागि सम्पूर्ण कार्यकर्ता तथा नेताले यस सिद्धान्तलाई आत्मासात् गरे पार्टीको स्थापनाको औचित्य पूरा हुन्छ, अन्यथा वामपन्थीहरूको शब्दजालले प्रजातन्त्र नै समाप्त हुन बेर लाग्दैन । 

नेपालको हरेक परिवर्तनको अग्रगामी नेतृत्व नेपाली कांग्रेसले गरेका कारण मुलुकमा आमूल परिवर्तन भएको कुरा जनजाहेर छ । प्रजातान्त्रिक यस विश्वमा प्रजातान्त्रिक मूल्य र मान्यताबाहेक जुनसुकै पार्टीको पनि अस्तित्व समाप्त हुने कुरामा दुई मत छैन । गलत राजनैतिक चिन्तन र सिद्धान्तका कारण कुनै समय संसारको एकमात्र शक्तिशाली राष्ट्र रसिया चकनाचुर भएको कुरा हाम्रासामु छर्लंग छ । उग्र वामपन्थी सोच भएकै कारण त्यस राष्ट्रले त्यस प्रकारको दुर्दशा व्यहोर्नु प¥यो । जनताका चेतनाको कारण दुई जर्मनी एक भए, उग्र वामपन्थी चिन्तनकै कारण जनता भोकमारीको मारमा पर्दासमेत दक्षिण कोरिया र उत्तर कोरिया एक हुन सकेका छैनन् । उत्तर कोरियाले जनताका लागि खाद्यान्नभन्दा पनि हात हतियार बटुल्न राष्ट्रको सम्पूर्ण आर्थिक आय खर्च गर्ने गरेको छ । त्यसैगरी आफ्ना राजनैतिक अभीष्ट पूरा गर्न सुडानसमेत दुई देशमा विभाजित गरियो ।

बेलायतमा एक आपसको चुम्बनलाई सामान्य रूपमा लिइन्छ तर हालको अवस्थामा त्यहाँका स्वाथ्य मन्त्री भ्याट ह्यानकरले सामाजिक दूरी ख्याल नगरी आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको तस्बिर ‘द सन’ पत्रिकाले छाप्दा उनको धेरै आलोचना भयो जसका कारण उनले राजीनामा दिए । तर विडम्बना हाम्रो देशमा भने एकपछि अर्को गैरसंवैधानिक कार्य गर्दै जाँदा र सम्मानित सर्वोच्च अदालतले गलत भन्दा भन्दै नैतिकताको ‘न’ नभएको वामपन्थी प्रधानमन्त्री हामीले पाएका छौँ । जसमा कामचलाउ सरकारलाई मन्त्रिमण्डल विस्तार गर्ने अधिकार छैन‚ विनासांसद दोस्रो पटक मन्त्री बनाउन मिल्दैन (माओवादीबाट आएकालाई मन्त्री रोक)‚चुरे दोहनको लाइसेन्स रोक‚ सत्ता टिकाउन ल्याएको नागरिकता अध्यादेशमा रोक र स्नातक नभएको व्यक्तिलाई राजदूत बनाउन रोक हुँदासमेत आफू प्रधानमन्त्री तर अदालतमा सेटिङ भयो भन्न पछि नपर्ने व्यक्ति वामपन्थीबाहेक अरु को हुन सक्छ ? हुन त प्रजातान्त्रिक पृष्ठभूमि नभएका शासकहरूले आफ्नो सत्ता जोगाउन लाखौँ मान्छे मारेको विश्व इतिहास छँदै छ । 

नेपालकै जनयुद्ध कालका कुरा हेर्ने हो भने १७ हजारको ज्यान गएकै हो । गणतन्त्र स्थापना भइसक्दासमेत तत्कालीन सेना प्रमुख रुकमांगद कटुवाललाई सेना सञ्चालन गरी आफ्नो सत्ता टिकाउन खोजेकै हो । आज विश्व इतिहासलाई हेर्ने हो भने पोलपोट‚ हिटलर र स्वाटिन प्रत्येकले २० लाख मानिस मारेकै हुन् । हिटलर भाषण गर्न चतुर थिए आफ्ना गलत कुरा पनि सत्य जस्तै गरी प्रस्तुत गर्न सक्थे वर्तमानका हाम्रा प्रधानमन्त्री जस्ता । अन्तमा हिटलरले आफूले २० लाख मानिसलाई खरानी बनाएको ग्यास चेम्बरमा अन्तिममा आफैँ हामफाली आत्महत्या गरे । विश्व इतिहासमा वामपन्थीहरूको अन्त्य यसैगरी भएको अनेकौ उदाहरण छन् । 

प्रजातान्त्रिक इतिहासमा २००३ माघ १२ र १३ गते प्रथम महाधिवेशनले नाम परिवर्तन गरी नेपाली राष्ट्रिय काग्रेस नामकरण गर्‍यो । २००६ सालमा भएको चौथो महाधिवेशनमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण गरी नेपाली कांग्रेस नामकरण गरियो । २००६ सालको महाधिवेशनले आफ्नो ऐतिहासिक प्रथम घोषणपत्र जारी गर्दै उक्त घोषणापत्रमा सम्पूर्ण जनताको साथ लिएर तानाशाहको जरा नै उखेल्ने निर्णय ग¥यो । सम्पूर्ण तरुणहरूद्वारा स्थापना भएको नेपाली कांग्रेसले १०४ वर्षे निरकुंश राणा शासनको अन्त्यका लागि अहिंसात्मक रूपबाट सम्भव नभए सशस्त्र क्रान्तिबाट राणा शासनको अन्त्य‚ बालिग मताधिकारको आधारमा निर्वाचन र चुनिएका प्रतिनिधिहरूबाट एक परिषद् बोलाई त्यही परिषद्बाट नै राज्य सञ्चालनसम्बन्धी नियम कानुन बनाउन सम्पूर्ण जिम्मेवारी दिइने छ र जनताद्वारा जनताको सरकार बन्ने छ निर्णय गर्‍यो त्यसपश्चात् २००७ सालको क्रान्तिले राणा शासन सदाका लागि अन्त्य गर्‍यो। 

यसरी निरंकुश राणाशासनको अन्त्य र पूर्ण प्रजातन्त्रको प्रमुख उद्देश्यबाट गठित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन छिट्टै हुँदै छ जसको प्रमख उद्देश्य वामपन्थी सर्वसत्तावादको अन्त्य र कानुनी राज्यको स्थापाना । संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षक र आगामी तीनै तहको निर्वाचनमा पूर्णबहुमत प्राप्त गर्न सक्ने कार्यक्रमसहित नीति–नियम तर्जुमा गर्नु अत्यन्त आवश्यक छ । जसका लागि पदीय महत्वाकांक्षालाई तिलाञ्जली दिँदै अहिले देखिए जस्तो धेरै गुटको अन्त्य गर्दै वडा तह हुँदै केन्द्रीय महाधिवेशनसम्म सर्वसम्मत गरी स्वस्थ प्रतिस्पर्धा भएको भोलिपल्ट एक भएर चुनावमा जान सक्यो भने ‘गुटको होइन, रुखको सभापति हुने प्रस्ट हुन्छ ।’ 



Author

थप समाचार