विचार

विश्व षडयन्त्रको पर्दाफास- ३

विश्व षड्यन्त्रको पर्दाफास

लिलाराज खतिवडा |
असार ३१, २०७८ ८:१६ बजे

समाधान : अब नजागी सुखै छैन ! 
भनिन्छ, मान्छेले चिताएको पुग्‍ने गर्छ । तसर्थ ज्ञानी पुरुषहरू भन्छन्, खराब कुरा सोच्‍न नगर । त्यो फलित भइदिन सक्छ ! केवल राम्रो सोच, जो फलित भएर पनि अझै राम्रो हुँदै जानेछ । तर यस्तो लाग्छ वर्तमान दुनियाँ अमृतको नाउँमा विष नै पिइरहेको छ ।

मामूली जस्तो लाग्ने एउटा कुरा : प्रविधि र विकासले यत्रो पराकाष्ठा चुमिसक्दा पनि मान्छेले आफ्नै शरीरको सुरक्षा समेत ठीकसँग गर्न सकिरहेको छैन । त्यो पनि आजको चरम भौतिक युगमा । गाँस, बास र कपासको व्यवस्था सही तरिकाले हुन नसके मानवको जीवन फल्नफुल्न सक्दैन । वा अकाल मृत्यु हुन सक्छ । बचाए यो ज्यान बच्छ । लापर्वाहीले त जहाँ पनि हार नै खाने गर्छ ।


अझै पनि त्यही सुतीको लुगामा तँछाड्मछाड् ? लुगा चाहे महँगो होस् या सस्तो, सर्त के भने त्यसले शरीरलाई पूर्ण सुरक्षित राख्‍न सक्नपर्छ । लड्दा, कसैले मुक्का वा छुरी वा गोली नै हान्दा पनि शरीरलाई बचाइराख्‍ने लुगा पो वास्तविक लुगा हो ।

पुरानो जमानामा मेसिनहरूको बिगबिगी थिएन । सब शान्त थियो । कपासको लुगा सहज थियो । आज मेसिनहरूको बिगबिगी, मान्छेहरूको लुछाचुँडी, विभिन्‍न महामारीको प्रकोप भएका बेला मान्छेहरूले त्यही पुराना फ्याङ्ला लुगाहरूमा नउल्झेर धातुजन्य वा भांग्रो वा त्यस्तै अरु अति सुरक्षित लुगाहरू बुनेर सर्वसुलभ गर्न थालिसक्नु पर्ने हो । आफ्ना महँगा सुटहरूमा कागजको बक्रम होइन बुलेटप्रुफ धातुको पातलो, हल्का र लचिलो बक्रम हालिसकेको हुनु पर्ने हो । अहिलेसम्म यो प्रविधि सर्वसुलभ भएर बजारमा छ्यापछयाप्ती भइसकेको हुनुपर्ने हो । न्यूयोर्क या काठमाडौँका भव्य टेलरहरूमा गएर ‘साहुजी बुलेटप्रुफ सुट निकाल्नुहोस् त’ भन्दा साहूजी हललल्ल हाँस्नु भएन । साहूजीले तपाईंलाई ‘बिहानबिहान कस्तो पागल ग्राहक आइलाग्यो’ भनेर अवहेलना पनि गर्नु भएन ।

कपास वा सो सरहको लुगा लगाएर ‘मौतका कुवाँ’ जस्तो अनकन्टार राजमार्गमा सयको गति चुम्नेहरूलाई मेरो ‘रामराम !’ भन्दा बढी केही भन्‍नु छैन । यो लेख त्यही ‘रामराम !’ मात्रै हो । चाहे उनीहरूले चढ्ने सवारीको मोल पचास हजार होस् वा पाँच करोड ! अनि उनीहरूका नम्बरप्लेटका रङ जुनसुकै हुन् ! यसले कुनै फरक पार्नेवाला छैन । चौबिस क्यारेट सुनकै नम्बरप्लेट जडेर गति चुमे तापनि दुर्घटना हुनुपूर्व उसले मैले माथि भने जस्तो सुरक्षाकवच पहिरिएको भए, उसकै शरीर च्यातिने वा टुक्राटुक्रा हुने थिएन । कम भन्दा कम क्षति हुने थियो । फाइदा उसैलाई थियो ।

यहाँ एक करोड रुपैयाँको गाडी चढ्ने भलाद्मी वा उपभलाद्मीलाई दश हजार वा एक लाख रुपैयाँको सुरक्षाकवच अनुसन्धान गरेर दुनियाँमा सर्वसुलभ गर्ने फुर्सद छ ? हेनरी फोर्डअघि र पछि कैयन् पुँजीपति र विद्वान् मान्छेहरू आजपर्यन्त महँगा से महँगा कारमा चढे होलान् । तर किन उनीहरूले दुनियाँलाई कम से कम एउटा मोटरबाइक वा कार वा अन्य सवारी साधन खरिद गर्दा हेल्मेटका वा सिटबेल्टकासाथमा एउटा सुरक्षाकवच पनि दिन सकेनन् त ? उनीहरू त उल्टो सयको रफ्तार चुम्ने मेसिनका डिब्बामा सिसाका झ्यालढोका वा पर्खाल लगाएर पठाइदिन्छन् । ताकि दुर्घटना भएको खण्डमा चालकको बच्ने सम्भावना क्षीण होस् । अर्थात, कथंकदाचित् घिसारिएर नमरे सिसाले घोपेर भए पनि उसको जिन्दगी समाप्त होस् । कस्तो लाग्छ तपाईंलाई यो कुरा ? तर के गर्नु ? यो नै कठोर सत्य हो !

म चुनौती दिन्छु, दुनियाँभरका तमाम सवारी साधन कम्पनीका मालिकहरूलाई । उनीहरू जानाजान वा अन्जानमा दुनियाँलाई मूर्ख बनाएर निकै घिनलाग्दो पाराले ठगिरहेका छन् । अर्बौं मान्छेहरूका स्वप्निल र सुकोमल जिन्दगीहरूसँग पुँजीपतिहरू मृत्युको भद्दा मजाक गरिरहेका छन् । त्यो पनि यथेष्ट पैसा तिराएर । याने ससुल्क मृत्यु ! 

तसर्थ एउटा महँगो कार तपाईंले घरमा हुल्नु भनेको मृत्युको कहालीलाग्दो बाकस हुले जस्तो पनि हो । त्यसको सुरक्षित अवतरणमा जति अतिरेक छ दुर्घटना भएको खण्डमा त्यो उति नै पीडादायी र कहालीलाग्दो पनि छ । आफ्नो बच्चा वा प्रियजनलाई महँगो कारमा सयर गराउँदै हुनुहुन्छ ? त्यो पनि महँगो सुट वा कपडामा जो कि एउटा सानो छेड पनि रोक्न सक्दैन ? सवारीसाधनको गति बढाइरहेका बेला याद राख्‍नुहोस् : खोई सुरक्षाकवच ?

आजकै दिनमा विश्वको कुनै पनि सडकमा जति नै महँगो कारमा जति नै महँगो सुट लगाएर जति नै महँगो मान्छे गुडिरहेको होस् : उसले एक पटक गहिरिएर सोचोस् कि कतै ऊ मृत्युसँग घिनलाग्दो मजाक त गरिरहेको छैन ? कतै ऊ जिन्दगीलाई रफ्तारमय बनाएर एैशोआरामको तड्का लगाउने चक्करमा आफूसहित आफ्नो वरिपरिका अन्य मान्छेहरूको जिन्दगीमा समेत मृत्युको कहालीलाग्दो तड्का त लगाइरहेको छैन ?

तर एक वा अनेक तीव्र गति चुम्‍ने मान्छेको लालसाले नै उसलाई घना खतराहरूमा जिउने अभ्यास गराइसकेको छ । कुनै गलत काम संसारका प्राय: धेरै मान्छेहरूले गर्छन् भने त्यो गलत लाग्दैन । त्यो सही लाग्‍न सक्छ । तर त्यो सही कदापि हुँदैन । गलत नै रहन्छ । त्यो जुनसुकै रङको नम्बरप्लेटमा जति नै चिल्लो गाडीमा हुइँकिरहेको ड्राइभरलाई देखेर दया जाग्छ जो टिंटिंट्याँट्याँ पारेर पैदल यात्रुलाई अत्याउँदै र हिलो छ्याप्दै सडकमा मृत्युलक्ष्यतर्फ हुत्तिरहेको हुन्छ । उसको त्यो इस्पातको मृत्युबाकसले छसक्कै छोयो भने पनि यता पैदल यात्रु ठहरै ! नियालेर हेर्नुहोस्, ऊ कसरी च्यांग्ला लुगाहरूभित्र घुसेर स्टेरिङ घुमाइरहेको हुन्छ । मृत्यु उसको एकदमै छेउमा देखेर ‘रामराम !’ भनिहाल्न मन लाग्छ । अनि उता उसैको चालढाल हेर्दा जरुरतभन्दा पनि झूठो आडम्बर पोस्नका लागि उसले सवारी चलाइरहेको प्रतीत हुन्छ ।

निष्कर्ष : ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ !
जिन्दगी सबैभन्दा बढी असुरक्षित सडकमा नै छ । हेभी ट्राफिक भएको सडकमा नियालेर हेर्नुहोस् : मृत्युसँग मान्छेहरूको पौंठेजोरी अनि घम्साघम्सी । गह्रौं मेसिनमा चढेर एक्सिलरेटरले भ्याएसम्म बत्तिरहेका नाजुक शरीरहरू कसरी मृत्युबाट बालबाल बचेर वा सडकमा उत्तानोचित खाएर हर रोज आफ्नो जिन्दगी खेप्छन् वा सक्छन् । अनि उता ती तीव्रगति मेसिनहरूबाट छलिएर हिँड्ने वा बाटो काट्ने पैदल यात्रुहरूको कथा भने नितान्त बेग्लै ।

मैले यहाँ मान्छेहरूले धर्तीमा खनेका सडकहरूमा मान्छेहरूले नै सवारी नगुडाउने भन्‍न खोजेको होइन । आफ्नो र अरुको ज्यानको खयाल राख्दै सुरक्षाकवच पहिरिएर टिंटिंट्याँट्याँ नपारेर र पैदल यात्रुलाई नतर्साई सभ्य पारामा पो सवारी गुडाउने हो कि भन्‍न खोजेको हुँ । अरुलाई हिलो छ्याप्दै वा पैदल यात्रुलाई तर्साउँदै, भगाउँदै, लतार्दै र मार्दै सवारी गुडाउनेहरू असभ्य मात्रै होइनन् अपराधी नै हुन् । यिनको सवारीसाधन र लाइसेन्स दुवै सिज गर्दा हुन्छ । र, उनीहरूलाई सिमानामा पर्खाल लगाउनका खातिर ढुंगा बोक्ने काममा लगाए हुन्छ । चाहे उनीहरू जोसुकै हुन् ।

माथि पनि चर्चा गरियो, मान्छेको शरीर एकदमै नाजूक छ । उस्तै परे एक मुक्कामा ‘चेट’ हुन सक्छ । एउटा स्यानो काँडा बिझेर संक्रमण भई मान्छेको निधन हुन सक्छ ।  तर शरीरलाई जोगाएर राखे मान्छे आरामको लामो आयु ज्यूँन सक्छ । अझै एक पटक जोड दिएर सोध्छु : अनेक ब्राण्डका कपास वा अन्य महँगा वा सस्ता लुगाको के काम जबकि त्यसले एउटा सियोको चुभन पनि रोक्न सक्दैन भने ?

अहिलेको जमानाका मान्छेहरूलाई कुनै नयाँ कुरा एकपटक मात्रै भन्दा उनीहरूले तुरुन्तै बिर्सिहाल्छन् । तसर्थ कतिपय कुरा उनीहरूलाई बारबार भनिरहनुपर्ने हुन्छ । ताकि त्यो कुरा उनीहरूको समष्टिगत चेतनाको रसातलमा छापियोस् र त्यसको गाढा असरले उनीहरूले आफ्ना स्वाभावजन्य मानसिक अवरोधहरूलाई जित्न सकून । जगत्का प्राय: मान्छेहरू चेतनाको सतहमा नै जीवन सकिरहेका हुन्छन् । साथै उनीहरू एक वा अनेक दिग्भ्रमित मस्तीको तुवाँलोमा रुमल्लिरहेका पनि हुन्छन् । कुनै न कुनै खेलौनामा भुलिरहेका हुन्छन् । अनेक खेलौनाले भुलिएका हुन्छन् । उमेरसँगै खेलौनाहरू भने फेरबदल भइरहेका हुन्छन् । बाँकी सबै रस एक समान !

यहाँ अन्त्यमा फेरि सोध्छु- 
अहिले तपाईंले लगाइरहेको लुगामा सियो गाडियो भने तपाईंको छाला छेड्छ कि छेड्दैन ? के तपाईंले लगाइरहेको लुगा कम से कम एउटा सियोप्रुफ त छ ? कति हाल्नु भयो महाशय, आफ्नो सुटलाई ? रुपैयाँ दश हजार कि दश लाख ? तपाईंको सुटले आगोबाट बचाउँछ ? तरबारले प्रहार गर्दा तपाईं काटिनु हुन्‍न ? बुलेटप्रुफ हो ? लड्दा वा दुर्घटना हुँदा चोटपटक लाग्नबाट बचाउँछ ? 

केका लागि महँगो सुट ? रवाफका लागि ? कि आफूभन्दा हुनेखानेको सिको गरिरहनुभएको छ ? कि सुट कम्पनीलाई पैसा कमाउन तपाईं सघाइरहनु भएको छ ? महँगो सुट किन्‍नुअघि एक पटक त्यो उत्पादन गर्ने कम्पनीलाई दोहोर्याएर सोध्नुहोस् :
यो महँगो सुटमा सुरक्षासम्यन्त्र के के छन्, हजुर ? सियोप्रुफ ? मुक्काप्रुफ ? तरवारप्रुफ ? बुलेटप्रुफ ? फायरप्रुफ ?

अनि नियालेर उसको अनुहार पढ्ने कोसिस पनि गर्नुहोस् । तपाईंलाई उसले एउटा पागल वा अर्धपागल ठानिसकेको हुन्छ । तर यहाँ मान्छेहरू अहिलेसम्म महँगा वा सस्ता सुट वा कपडाभित्र घुसेरै महँगो वा सस्तो कारमा हुइँकिन्छन् र सडक दुर्घटनामा मारिएको केवल एउटा स्यानो समाचार बनेर बिर्सिइन्छन् । वा गुमनाम मृत्यु अँगाल्छन् । 

अरुले जे गरे त्यही वा त्यो भन्दा कमबेसी गर्नै पर्ने लतले मान्छेलाई एउटा काल्पनिक अग्लो टावरमा चढाउँछ । टुप्पामा पुर्याउँछ । अनि एक दिन भ्याट्ट झारिदिन्छ । स्वाहा ! रवाफका लागि धन खर्च गर्नेहरूको बुद्धिमा बिर्को लागेको हुन्छ । र त्यो बिर्को कसै गरी खोल्न सकिँदैन । जरुरतले धन खर्च गर्नेहरूको बुद्धिको बिर्को आफ से आफ खुल्दै जान्छ ।

विश्वभरका वस्त्र उत्पादक र सवारी साधन कम्पनीहरूलाई मेरो चुनौती छ : समयसापेक्ष हुन नसकेका वा अपूरा वा गलत उनीहरूका प्रविधिका कारण दुर्घटना अथवा भवितव्य पर्दा ज्यान गएका वा अंगभंग भएकाहरूलाई के उनीहरू यथेष्ट क्षतिपूर्ति तिर्न सक्छन् ? तर म केमा जोड दिन्छु भने, कसैसँग कुनै क्षतिपूर्तिको अपेक्षा नगरी अब प्राकृतिक जीवन ज्यूँनुको कुनै विकल्प छैन । जोगिएछ भने सभ्यता अनेक महामारीबाट वा चरम भौतिक विनाशबाट, यसले सम्पूर्ण प्रकृति विरुद्धका कार्यहरू सदाका लागि रोक्नु जरुरी छ । प्रकृति र जिन्दगीहरूको सम्पूर्ण दोहन तत्काल बन्द हुनु पर्छ । प्रकृतिमैत्री जीवनको अनुसरण आज अपरिहार्य भएको छ । 
नत्र एक अन्तिम विनाश हाम्रो सँघारमा आइसकेको छ । 

याद रहोस्, अन्तिम ! किनभने, यो महाविनाश हुनेछ । यसपछि यहाँ विनाश हुनलाई केही बच्ने छैन । न त्यसका कुनै द्रष्टा नै यहाँ बाँकी रहनेछन् । के तपाईंको चेतनाको घ्राणशक्तिले त्यो सम्भावित महाविनाशको तीखो गन्ध अब थाहा पायो ? थाहा पायो भने, स्वत: तपाईं सम्भावित महाविनाशबाट दुनियाँलाई बचाउने कार्य गर्न अभिप्रेरित हुनुभयो भन्‍ने अनुमान लगाउन सकिन्छ । 

जाँदाजाँदै नाट्यसम्राट् बालकृष्ण समको यो अति नै विशिष्ट वाणी छाड्न चाहन्छु :
नमर्ने हुन उद्योग जत्ति विज्ञान गर्दछ,
उत्ति गर्दछ यो ज्ञान, खालि भेद छ यत्तिमा 
ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ !
(अन्तिम भाग)

विश्व षडयन्त्रको पर्दाफास १ र २


Author

थप समाचार
ad
x