विचार

सवा सय वर्ष पुरानो अद्भुत ‘अर्थशास्त्र’, नेपाल निर्माणको दूरदर्शी दर्शन

सबलाइ इलम दिनु, अस्पताल स्कूलहरु बनाउनु

जयपृथ्वीबहादुरसिंह |
साउन २, २०७८ ६:५० बजे

मानिस जन्मेपछी, केहि न केहि तरहबाट जिन्दगि बिताउनुपर्छ, कसरी जिन्दगि बिताउनु भन्‍ने विचारछ; असल् काममा दिन काटनु सब भन्दछन्, असल र नअसल कामको फिरिस्त लेखी निर्वाह छैन; सामान्य असल काम सबलाइ थाहै छ, अब यो असल कामको खालि दुइ भाग गरिन्छ : 
(१) परमेश्वरमा मनलाइ सब व्यवहार छोडि, आफनु जन्म सफल् गराउनु, 
(२) खान नपाउनेलाइ खान दिनु, लाउन नपाउनेलाइ लाउन दिनु, शकेसम्म मुलुकको भलाइ गर्नु, आफ्नु मुलुक सुधार्नु, सबलाइ इलम दिनु, इत्यादि. 

पहिले लेखियाको कामतिर दिल् लाउनु असल् हो. मानिस जन्मेपछी आफुलाइ जान्‍न खोजदैन, आफुलाइ जन्माउनेलाइ चिन्‍न खोजदैन भने के काम लाग्यो, तर खालि येतातिर लाग्ने मानिसहरु कोहि बौह्लाह भयेर गयेका पनि देखिये, कोहि जन्मभर कोशिश गरेर जस्ताको तस्तै मरेका पनि देखिये, धेरैको मन् येतातिर घुस्‍नै शक्तैन.


ADVERTISEMENT

व्यवहारमा बसि असल काम गर्नु सवको भलो चिताउनु हो. यसैमा सव असल काम आउँछन्. आर्काको मुलुकमा आफ्नु केहि लाग्ने शक्तैन, पहुच् पनी पुग्दैन, येस कारणले आफ्नु मुलुकको भलाइ र उन्‍नति गर्नु सव मानिसको मुख्य धर्म हुन जान्छ.

अब मुलुक्को उन्‍नति गर्नालाइ के के चाहिन्छ, कसरि हुन्छ भन्‍ने विचार गर्नुपयो. यो कुरो यौटाले गरेर हुने होइन; सवको मन् मुलुकको भलाइमा हुनुपर्छ, मुलुकको भलाइ गर्नालाइ राजा भारदार हुनुपर्दैन. साना २ कुरा सबले गर्न सक्छ सबले इलम् सिकी, विद्या पढी, जान्‍ने भै अरुलाइ हाँकि ‘होस्ते’ भन्‍ने हुन चाहनुपर्छ: तर केहि गरि ‘होस्ते’ भन्‍ने भाग आर्कालाई पर्यो भने पनि ‘हैसे’ भन्‍नेको जमात्मा मिलि, हैंसे भन्‍न पनि गाहो नमान्‍नु.

आफ्ना झैझगडा अदालतमा राखेर तन् मन् दिइ शेषका उन्‍नतिमा सधै मन दिन्या जान्‍न्याहरुले मिलि, होस्ते ! होस्ते ! भनिदिंदा, सब मिली एकछिन् स्वदेशका उपर हैंसे ! हैंसे ! भनेर, बल् थपिदिया कुन् काम सिद्धिन्‍नथ्यो ? पैले मुलुकमा धन् र इलम् नभै कौनै कुराको तरक्कि हुन शक्तैन, जुन बस्तु साटेर अर्को वस्तु पाइन शकिन्छ, तेसलाई धन भन्दछन्. तर एक मालवाट आर्को माल साटेर मात्र व्यवहार चलाउदा धेरै असजिलो हुने जोसँग धान छ कपडा चाहियो भने जोसंग कपडा छ र धान् चाहिन्छ, तेशलाइ खोजि, साट्नुपर्यो, यस्तो व्यवहार सजिलो गराउनानिमित्त रुपैञा पैसा बनाइ व्यवहार चलाउँछन्. 

धन् मुलुकमा व्यापार खेतिबाट आउँछ, मुलुकको सब मानिसको धन् मुलुक्को मूल धन कहलाउँछ, तर मुलुक्को कोइ मानिशले धन जम्मा गरि थन्क्याइराखेको छ भने, सो थन्क्येको धन् मूल धन् वन्दैन, अथवा, जुन् धन् पछि केहि फाइदा ननिस्कने अर्थात्, घर अथवा कसैको वेकामको सौखका निमित्त खर्च हुन्छ, सो धन् पनि मुलुक्को मूल धन् हुन शक्तैन, तर अस्पताल स्कूलहरु बनाउनु पनि घर बनाउनुजस्तै हो, तापनि ई काममा खर्च भयाको धनलाइ मुलुक्को मूल धन भन्‍नु हुन्छ, किनभने अस्पतालमा औषधी पाइ वेमारी छुटेका मानिसहरु काम गरि फेरी मुलुकको धन् बढाउँछन्. स्कूलमा इलम् पायेका मानिसहरुले पनी मुलुक्को धन् हर्किसिम्ले बढाउँछन्. पुल, बाटो इत्यादि बनाउदा खर्च भयाको रुपैञा पनी, पुल, बाटो इत्यादिहरुले व्यापार इत्यादिमा मद्दत गर्ने हुनाले मूल धन भन्‍न हुन्छ.

भन्‍न ता धन कमाउँ को भन्दैन ? तर कमाउन शक्ने थोरै हुन्छन्. यस्को कारण क्या हो भने, धेरै मानिस मत्लवि हुन्छन्, ति मत्लवीहरु रुपैञा ब्याजमा लाउनुपर्यो भने शकेसम्म बढाइ, कहि २ सवाइ ब्याजमा लाउछन्, यस्तो हुँदा तिन्का रुपैञाको चल्ति फिर्ति कम हुन जान्छ, र धेरै फाइदा उठाउन शक्तैनन्. तिनीहरुका ऋणिहरु पनी विग्रन्छन्, अरु केही काम् गरे तापनि आफ्नै धनले आफै गर्छन्, कोहि भलाद्मि ता झन् धन् आफ्नु काम गर्ने आर्को जागिरदार गरि काम गर्छन्. काम गर्ने मानिसलाइ काम्वाट फाइदा केहि हुने वन्दोवस्त गर्दैनन्. येसै कारणले मूल धनलाइ धेरै धन् पनि केहि काम्लाइ जम्मा हुन शक्तैन, केही फाइदा नभयाका वेइलमीबाट इन्तजाम् पनि पुग्न शक्तैन, र सव काम् विग्रन्छ. आफै काम गर्नेहरु पनी धेरै नपढेका हुन्छन्, फेरी एक दुई जनाले ठुलो काम् उठाउन इन्तजाम पुयाउन शक्तैनन्.

येस् कारणले पैले मुलुकमा इलम् फैलाइ केहि काम गर्दा धेरै मानिस मिली कम्पनी जमाइ काम गर्नाले, मूल धन् पनी जम्मा हुन्छ, इन्तजाम पनी पुगी अक्सर काम पनी हासिल हुन्छ.

मुलुकमा धन् र इलम् भैशकेपछी अरु तरक्कीमा ध्यान दिनुपर्छ, सो एक २ कुराको वयान लेखन मेरो ल्याकत् पनी पुग्न शक्तैन. निर्वाह पनी हुन्‍न. येस् कारणले मुलुकको उन्‍नति कसरी हुदो रहेछ, भन्‍ने थाहा होस् भन्‍नानिमित्त, जुन् मुलुकले थोरै बर्षभित्रमा तरक्कि गरी, हालैमा सवभन्दा ठुलो रुसलाइ जित्यो, सो जापान मुलुकको छोट्करि इतिहास लेखिन्छ.

(मानवतावादी सिंह (१९३५-९७) को शिक्षादर्पण, तेस्रा भाग । यो काठमाडौंबाट विसं. १९६४ मा छापिएको थियो । यो भूमिका हो । लेखकका निजी वाग्विधानबमोजिम उतार हो । यहाँ डा. ईश्वर बरालद्वारा सम्पादित पुस्तक ‘सयपत्री’को ‘मुलुकको उन्‍नति’ खण्डबाट जस्ताको तस्तै साभार गरिएको छ । सिंह तत्कालीन समयमा नेपाली भाषाविद् पनि भएको हुँदा उनको शैली पनि सोही रुपमा छ । पूर्णविरामको ठाउँमा थोप्लो (फुलस्टप) नै छ ।)



Author

थप समाचार