विचार

लिलाज मोटिभेसनल :

किन खिइयो मानव ?

लिलाराज खतिवडा |
साउन २, २०७८ शनिवार ११:५ बजे

मानौँ, तपाईंलाई एक सय तीन डिग्री ज्वरो आएको छ । घरमा एक्लै हुनुहुन्छ । टाउको पनि दुखिरहेको छ । कम्मर कटकटी खाइरहेको छ । उठेर आफ्नै लागि तातो पानी तताउने हिम्मत पनि तपाईंमा छैन । तपाईं सिरक ओढेर सुत्नुभएको छ । ज्वरोले आक्रान्त भएर तपाईं बरबराइरहनु भएको छ । सिटामोल र अन्य औषधिले पनि काम गरिरहेको छैन ।

यस्तैमा तपाईंको ढोकामा कसैले दुईचार लात हान्यो । ढोका फुट्यो । तपाईंले सिरकबाट चियाएर हेर्नुभयो, एउटा अपरिचित मान्छे भित्र घुस्यो र तपाईंका महत्वपूर्ण सामानहरू पोको पार्न थाल्यो । यतिन्जेलमा तपाईंलाई थाहा भयो कि त्यो एक चोर रहेछ ।


अचानक तपाईं जुरुक्कै उठ्नु भयो । सिरानेमुनि राखेको एउटा फलामे रड लिएर चोरमाथि आक्रमण गर्नुभयो । केही घम्साघम्सी भए । तर तपाईंमा अकस्मात आइलागेको अज्ञात शक्तिले हानिएको एउटा जोडदार प्रहारले चोर ढल्यो । अनि तपाईंले प्रहरीलाई फोन गर्नुभयो । प्रहरी आयो । मुचुल्का उठायो । त्यसबीच प्रहरीले तपाईंको बयान पनि लियो ।

तपाईंले जे जे भएको हो, त्यो सब ठ्याकठ्याक बताउनुभयो । प्रहरीलाई फ्रिजबाट निकालेर चिसो कोक पनि तपाईंले सर्भ गर्नुभयो । अनि प्रहरीले चोरलाई गिरफ्तार गरेर लग्यो । पलभरमा कहाँ गयो तपाईंको ज्वरो ? कहाँ गयो तपाईंको सारा पीडा ? 

आफैँभित्रको कुन त्यस्तो सुतिरहेको उर्जा अकस्मात प्रकट भएर तपाईंलाई त्यो सब कार्य सम्पन्‍न गर्न प्रेरित गर्‍यो ? कहाँबाट आयो त्यो शक्ति ? अघिसम्म उठेर आफ्नैलागि एक कप तातो पानी तताएर खान नसकिरहेको ज्यानले कसरी पलभरमा चोरलाई परास्त गर्न सक्यो ? प्रहरी आएपछि पनि प्रकृया सक्न चारपाँच घण्टा लागेको थियो । तर कसरी तपाईंले फटाफट कार्यहरू निब्ट्याउन सक्नुभयो ? कहाँबाट आयो त्यो सारा शक्ति ? 

के चोर ज्वरोको औषधि थियो ?
पक्कै थिएन । औषधिरुपी त्यो किमिया तपाईं भित्रै थियो र हमेशा छ । तर त्यो किमिया अरुबेला सुषुप्त हुने गर्छ । त्यसलाई हामी खासै वास्ता पनि गर्दैनौँ । हामी भित्र मृत्युलाई वरण गर्दैगर्दा पनि तत्काल उठेर कुद्न सक्ने अलौकिक शक्ति विद्यमान छ । तर प्रायः त्यो शक्ति गुमनाम नै रहन्छ । अलिकति मात्रै पनि त्यो शक्तिलाई जगाउन सके यहाँ ठूलाठूला चमत्कारहरू हुने कुरामा कुनै दुई मत छैन ।

विषय वस्तुको गर्भमा प्रवेश गर्नुअघि केही भूमिका बाधौँ । हामी बहिर्मुखी भएका छौँ । हामीलाई ज्यादा बाहिरबाट परिभाषित गरिएको छ । बाहिरबाट लादिएका त्यस्ता परिभाषाहरूले हामीभित्रको सत्य पुरिएको छ । जिन्दगीमा भ्रमको बादल लागेको छ । अनि हामी अक्सर भ्रममा नै ज्युँने गर्छौँ । हामी भीडले संक्रमित छौँ । अरुले जे गरे वा गर्दैछन् हामी सबै ती कुराहरूले प्रभावित नभइरहन सक्दैनौँ । पेट दुख्दा अरु मानिस अस्पताल जान्छन् । अनि हामी पनि त्यसै गर्छौँ । पेट नदुखेको बेला हामी पेट दुख्‍न पनि सक्छ भन्‍ने कुराको हेक्का नै राख्दैनौँ । जब हामी स्वस्थ हुन्छौँ, त्यतिबेला हामी एउटा अलग्गै दुनियाँमा विचरित हुने गर्छौँ । एउटा काल्पनिक दुनियाँमा । तर जब हामी बिमारी हुन्छौँ तब लाग्छ हामी यथार्थको धरातलमा अवतरित हुन बाध्य भएका छौँ । हामीलाई आफ्नै बारे कम जानकारी भएको हुँदा बिमार अवस्थामा हामी अस्पताल जाने वा कुनै चिकित्सक कहाँ सहारा लिन जानेबारे सोचिहाल्छौँ र जान्छौँ पनि । अरु उपाय ? 

जब मानवको पहिलो भोजन आफ्नै आमाको रक्तमासी हो भने, चिकन रोस्ट भर्सेस पनिर टिकियाबीच किन यत्रो लफडा ?

भनाइ पुरानै हो, हामीलाई हुने ९० प्रतिशत रोगहरू काल्पनिक हुन् । अथवा अधिकांश रोगहरू केवल भ्रम हुन् । वा मानसिक रोग मात्रै हुन् । वा मानसिक रोगका कारणले उत्पन्‍न भएका शारीरिक रोग मात्रै हुन् । वा दश प्रतिशत मात्रै रोगहरू वास्तविक हुन् । बाँकी सब भ्रम । यस सम्बन्धमा तल दिइने केही दृष्टान्तले गुह्य कुरा बुझ्न मद्दत हुने अपेक्षा गरिन्छ ।

भोजनको भ्रम
मानवको पहिलो भोजन के हो ?
सबैले आमाको दूध भन्लान् । तर कुरा अलिक भिन्‍न छ । आमाको गर्भको भित्तामा टाँसिएको त्यो भ्रूणको पहिलो भोजन रक्तमासी थियो । त्यो पनि आफ्नै आमाको ! यसप्रकार सबै मानव र स्तनधारी जीवहरू आफ्नी आमाको रक्तमासी खाएर नै जीवन प्रारम्भ गर्छन् । अर्कातिर जन्मना साथ मुखमा परेको आमाको दूध पनि रक्तबाटै बनेको हुन्छ ।

जब जीवनका मिहिन कुराहरू अनुभूत हुन थाल्छन् तब जनावरको मासु खान हुन्छ कि हुँदैन भन्‍ने विवादहरू यदाकदा वाहियात पनि लाग्न थाल्छन् । जब मानवको पहिलो भोजन आफ्नै आमाको रक्तमासी हो भने, चिकन रोस्ट भर्सेस पनिर टिकियाबीच किन यत्रो लफडा ? तर हरेक कुराहरूका खास र यथोचित नियम, काल एवम् प्रक्रियाहरू अवश्य हुने गर्छन् । जस्तो, आमाको रक्तमासी कुनै पनि भ्रूणले लूछीलूछी त खाँदैन । अर्कातिर जन्मपश्चात् बच्चा क्रमशः अन्य औषत भोजन ज्यूनार गर्न सिक्दै जान्छ । अब हुर्किएपछि उसलाई न त आमाको रक्तमासी चाहिन्छ न त दूध नै । पशुहरूको दूध खानु चाहिँ मुख्यतः मान्छेले आफ्नी आमाको दूध बिर्सिन नसक्नु नै हो ।  

तसर्थ के खाने के नखाने भन्‍ने कुरा स्थान, परिस्थिति र चेतनामा निर्भर हुँदो रहेछ । कुनै पनि जनावरको मासु खान हुन्छ कि हुँदैन भन्‍ने कुरा तत्कालीन स्थान, परिस्थिति, मान्छेको भोक र चेतनाको स्तरसँग भरपर्दो रहेछ । महत्वपूर्ण कुरा के हो भने जुन भोजन ज्यूनार गर्दा अपराध हुँदैन र पेट पनि दुख्दैन त्यो भोजन मानवका लागि क्षम्य हुन्छ । बाँकी विवाद व्यर्थ !

बारबार भनी आएको कुरा हो कि मान्छेले अठ्ठाइस वर्षको उमेर भएपछि शरीर बढ्ने खाना खानु हुँदैन । किनभने अब त्यो खाना प्रयोजनहीन हुनपुग्छ । अब शरीर बढ्दैन । अब त्यो खाना शरीरलाई घातक हुन सक्छ । अठ्ठाइस वर्षको उमेरपछि शरीरलाई त दीगो अर्थात ‘सस्टेन’ राख्‍ने हल्का, सुपाच्य र ताकतवर खानेकुरा पो चाहिएको थियो । 

तर यहाँ बालबच्चा, युवा र वृद्धवृद्धा सबैले प्रायः एउटै खाले खानेकुराहरू खाइरहेका हुन्छन् । कतिपय अवस्थामा त मनिसहरू फोहोर वा सडेगलेका खानेकुराहरूलाई पनि स्वाद मानीमानी आमाशयमा हुलिरहेका हुन्छन् । आपराधिक चरित्र भएका मानिसहरूले नाफा कमाउन खोलेका भोजन कारखाना, रेस्टुरेन्ट र होटलहरू आजकल विषाक्त खाना पस्किन बानी परेका छन् ।

शरीर बढिसकेपछि पृथ्वी तत्व विसर्जन गरेर आकाश तत्वलाई बढावा दिनुपर्नेमा ठीक त्यसको उल्टो गर्ने हुँदा मानवलाई अनेक रोग लागेको हो । आज आकाश तत्वलाई जानेर वा पहिचानमा लिएर भक्षण गर्ने कला मानवको खोपडीबाट दूर भइसकेको छ । अनि मानव खिइएको छ । मानवको आयुसमेत घटेर ऊ झन्भन्दा झन् रोगी, पिलन्धरे र नपुंसक बन्दै गएको छ । ज्ञान र बुद्धिमत्ता होइन केवल जिब्रोलाई मलजल गर्ने हुँदा मानवले अलिक बढी नै दुःख पाएको हो भनेर निष्कर्ष निकाल्न सकिन्छ ।

जसरी आमाको दूध छाडेपछि एउटा बच्चा पुनः कहिल्यै आमाको दूधतर्फ फर्किँदैन त्यसैगरी अठ्ठाइस वर्ष कटेपछि शरीर वा हड्डी बढ्ने खाना खानु हुँदैन । चवालिस वर्षको मान्छेले पृथ्वी तत्व भएको खाना खानु बीस वर्षे युवाले आमाको दूध खान खोजे जस्तो हुन आउँछ ।

अनुसन्धान गर्दा थाहा हुन्छ कि हरेक सात वर्षमा मानिसको ‘साइकिल’ परिवर्तन हुने गर्दछ । याने सात, चौध, एक्काइस, अठ्ठाइस, पैंतीस, बयालिस, उनन्चास, बाउन्‍न हुँदै सातले भाग जाने उमेरमा मानिसका जीवनमा महत्वपूर्ण परिवर्तनहरू हुने गर्दछन् । प्राचीन भोजन शास्त्र बताउँछ कि जसरी हरेक सात वर्षमा शरीरको ‘बायोकेमिस्ट्री’मा परिवर्तन आउँछ उसैगरी भोजनहरूमा पनि परिवर्तन गर्दै लगेर त्यस शारीरिक परिवर्तनलाई सघाउने वा सहजीकरण गर्ने काम गर्नु अत्यन्त जरुरी हुन्छ ।

औषत सात वर्षको उमेरमा आमाको दूध खान छाड्नु एउटा बालकको लागि जायज कुरा लाग्छ ।  क्रमशः ऊ आफ्नो घरका सदस्य र वरिपरिका अन्य मानिसहरूले जस्तो खाना खान थाल्छ । त्यसपछि चौध वर्षको उमेरताका किशोरावस्थामा प्रवेश गर्ने हुँदा निश्चय नै फरक भोजनहरूको ऊ खाजी गर्न थाल्छ । तर आजकल मान्छेहरूको खाने तरिका बिल्कुलै अप्राकृतिक नजर आउँछ । अनि अर्कातिर, मलाई लाग्छ, शरीरको वृद्धि समाप्त भएकाहरू खाना खाइरहेका छैनौं, कोचिरहेका छौँ ।

समग्रमा अठ्ठाइस वर्ष कटेपछि शरीर सुन्‍निने खाना बिस्तारै छोड्नु नै बुद्धिमानी देखिन्छ । हरेक मानिसले यस बेलासम्म अब कस्तो खाना खाने भनेर खोज र प्रयोग गरिसकेको हुनुपर्छ । जब थोरै र हल्का खाँदा हुन्छ भने किन कोचीकोची खाएर शरीरलाई अटेसमटेस पार्ने ? किन शरीरलाई फुलाएर बडेमानको पार्ने ? तसर्थ शरीरलाई दीगो अर्थात ‘सस्टेन’ राख्‍ने खाना खाऔँ । निरोगी बनौँ ।

निद्रा रहस्य 
जागृत अवस्थामा पनि जागा रहनेहरू क्रमशः निद्रामा पनि जागृत रहन सक्छन् । जागृत अवस्थामा पनि जागा ? के भन्‍न खोजिएको हो ? के बिहान निद्राबाट जाग्दा हामी पूर्ण होसमा रहन सक्छौँ ? के दिनभरिका सारा कृत्यहरूमा हामी एउटा साक्षीभावको उदय गर्न समर्थ छौँ ? यदि छौँ भने, हामी जागृत अवस्थामा पनि जागृत छौँ । अब हामी केही हदसम्म निद्रालाई जान्‍न सक्षम हुने छौँ । निद्रालाई नजानी हामी जागृत अवस्थालाई पनि जान्‍न सक्दैनौँ । तर निद्रालाई जान्‍न खोज्दा हामी स्वयं निदाउन पुग्छौँ । अनि हामीलाई थाहा हुँदैन कि त्यतिबेला हामी कहाँ गयौँ ?

एक तिहाइभन्दा बढी जीवन हामी सुतेरै बिताउँछौँ । ९० वर्ष बाँचेको मानिस कम्तिमा ३० वर्ष सुतेको हुन्छ । यति धेरै वर्ष सुतेर पनि हामीलाई निद्रा के हो भन्‍ने बारेमा एकदम थोरै मात्रै थाहा छ वा केही पनि थाहा छैन । तर हाम्रो जीवनका सारा रहस्यहरू निद्रामा नै छुपेका हुन्छन् । यदि निद्रामा पनि जागृत रहन सकियो भने हाम्रो जीवनमा चमत्कार हुने छ । 

निद्रा भन्दा अगाडि (वा पछाडि पनि) तन्द्रा हुने गर्छ । तन्द्रा पातलो निद्रा हो । अथवा तन्द्रा अर्धनिद्रा पनि हो । निद्रालाई बुझ्नुभन्दाअघि तन्द्रालाई बुझ्न सके विषय प्रवेशमा केही सहजता महसुस हुने छ । तपाईं कहिलेकाहीँ बस, रेल वा हवाइजहाजमा यात्रा गर्दा उँघ्नु हुन्छ । यदाकदा पट्यारलाग्दो भाषणसुन्दा पनि उँघ लाग्‍न सक्छ । निद्रालाई जान्‍न यो उँघ खुब काम लाग्छ । 

निदाउनुभन्दा केही अघि र ब्युँझेपछि केही बेर तपाईं जुन अवस्थामा रहनुहुन्छ त्यो तन्द्रा अवस्था हो । यसबेला पनि निद्रा के हो भनेर मनन गर्न सकिन्छ । केवल एउटा हेक्काको प्रादुर्भाव कि निद्रा कसरी आइरहेको छ ? वा निद्राले कसरी छोडिरहेको छ ?

जीवन बदल्न चाहनेहरूले आफ्नो निद्राको प्रकृयालाई राम्रोसँग जान्‍नु जरुरी हुन्छ । किनभने, कुनै पनि रोग निको पार्न वा पुरानो आदत बदल्नका लागि तन्द्रावस्थामा आफैँले आफैँलाई सकारात्मक सुझावहरू दिएर मनको गहिराइमा छुपेका अवरोध वा समस्याहरूलाई सम्बोधन गर्न सकिन्छ । 

पूर्वीय दर्शनमा उल्लेख गरिएको मन्त्र भनेको के हो भने, जसलाई बारबार पुनरुक्त गर्दा शक्ति उत्पन्‍न हुने गर्दछ, त्यो नै मन्त्र हो ।

उदाहरणका लागि सुत्ने बेलामा ‘म ठीक छु । मलाई कुनै पनि समस्या छैन !’ भनेर हरेक दिन दोहोर्याउने हो भने केही हप्ताको अभ्यासले नै यस प्रकृयाले शरीरको जैविकतासमेत परिवर्तन गरेर समस्याहरूलाई समाधान गर्न सक्छ । यस्तो सुझाव बिहान निद्रा खुल्नासाथ पनि दिन सकिन्छ ।  

निद्रालाई कुँजी बनाएर गरिने आत्मसम्मोहन अर्थात् ‘अटो सजेसन’ जीवन परिवर्तनको अचुक अस्त्र सावित भइसकेको छ । फ्रान्सका प्रसिद्ध मनोवैज्ञानिक इमाएल कुएँ (१८५७-१९२६) ले ‘अटो सजेसन’बारे ब्यापक खोज र प्रयोग गरेका थिए । उनलाई यस विधाका पिता नै मानिन्छ । 

के तपाईं एउटा हिलर अर्थात् उपचारक हो ? भन्‍ने प्रश्नको जवाफमा कुएँले भनेका थिए, ‘मैले जीवनभरमा कसैको पनि उपचार गरेको छैन । म त केवल मानिसहरूलाई अटो सजेसनमार्फत कुनै पनि समस्याको निदान सम्भव छ भनेर सिकाइदिन्छु । मानिसहरू आफैँ आफ्नो उपचार गर्न सक्षम छन् भनेर सिकाउनु नै मेरो मुख्य काम हो ।’

नभन्दै हजारौँ मानिसहरूले उनीसँग ‘अटो सजेसन’ सिकेर लाभान्वित हुन पुगेका थिए । आज पनि पश्चिममा अटो सजेसनका बारेमा कुरा गर्दा इमाएल कुएँको नाम अनिवार्य आउने गर्दछ । औषधि व्यापारीसमेत रहेका कुएँको सफलताको सूत्र यस्तो छ । हाम्रा कैयन समस्याहरूको निदानका लागि अचेतन मनका विचारहरूमा परिवर्तन ल्याउनु अनिवार्य हुन्छ जसलाई केवल हाम्रो आफ्नै कल्पना शक्तिको मद्दतले हासिल गर्न सकिन्छ ।

मनोवैज्ञानिक इमाएल कुएँ आफूकहाँ उपचार वा सल्लाहका लागि आउनेहरूलाई प्रायः एउटै मन्त्र दिन्थे । जसलाई सूर्योदय र सूर्यास्तका बेला साथै दिउँसो पनि दोहोर्याउने सुझाव उनी दिन्थे । कुएँको मन्त्र थियो, ‘एभरी डे, इन एभरी वे, आइ एम गेटिंग बेटर एन्ड बेटर ।' अर्थात हरेक दिन, हरेक तरिकाले, म झन् झन् राम्रो हुँदै गइरहेको छु ।

चित्त नै मन्त्र
पूर्वीय दर्शनमा योग निद्रा पुरानै आविष्कार हो । पश्चिमको ‘अटो सजेसन’ पूर्वकै योग निद्रा र मन्त्र जपको एक मिश्रित रुप हो भन्‍न सकिन्छ । यता पूर्वमा एउटा पुरानो भनाइ छ, चित्त नै मन्त्र हो । उता पश्चिममा पनि कैयन विद्वानहरूले आ-आफ्नै तरिकाले भनिसकेका छन्, सारा कल्पनाहरू यथार्थ हुन् । अर्थात् विचार नै वस्तु हुन् र वस्तु नै विचार ।

पूर्वीय दर्शनमा उल्लेख गरिएको मन्त्र भनेको के हो भने, जसलाई बारबार पुनरुक्त गर्दा शक्ति उत्पन्‍न हुने गर्दछ, त्यो नै मन्त्र हो । पश्चिममा सकारात्मक शब्द वा वाक्य दोहोर्‍याउनु पनि यता हामीले मन्त्र जप गरेजस्तै हो । मन्त्रको पुनरुक्ति नै शक्ति बनेर प्रकट हुने हुँदा विचार वस्तुमा रुपान्तर हुन सकेको हो ।

यदि तपाईंलाई आफ्नो कुनै पनि विचारलाई वास्तविकतामा रुपान्तर गर्नु छ भने, त्यस् निश्चित विचारलाई बारबार दोहोर्‍याउनुहोस् । अर्थात् आज हामी जे छौँ, ती सब हाम्रा विगतका पुनरुक्तिक विचारहरूकै परिणाम हुन् । यसरी पनि बुझौँ, जसलाई हामी प्राप्त गर्न चाहन्छौँ, त्यसलाई सर्वप्रथम आफ्नो भावमा उतार्नु अति जरुरी हुन्छ । अथवा, जुन कुराको प्राप्तिको चाहना तीव्र रूपमा वषौँदेखि हामीभित्र पुनरुक्ति भइरह्यो, आज हामी तिनै कुराहरूले जेलिएका छौँ । चाहे त्यो सकारात्मक होस् या नकारात्मक । 

तसर्थ जीवन बदल्ने इच्छा राख्‍नेहरूले नयाँनयाँ प्रयोगहरू गर्नु अत्यन्त आवश्यक देखिन्छ । भोक र निद्राका विभिन्‍न प्रकृयालाई आफ्नै अनुभव र प्रयोगहरूमार्फत अध्ययन तथा अवलोकन गर्नाले जीवनको अदृश्य शक्तिसँग साक्षात्कार गर्ने अवसर मिल्दछ ।

निष्कर्ष के हो भने, भोजन र निद्रा नमिलेर नै मानव खिइएको हो । मानवको इम्युनिटी डाउन भएको हो । मानवको आयु र पुंसकत्व पनि उसको भोजन र निद्रा नमिलेर नै घटेको हो । शरीर बढिसकेपछि पनि अत्याधिक खानु र सुत्नुले नै आज मानवको अस्तित्व अनेक तरहले खतरामा परेको हो । जिन्दगीमा खतराको रातो बत्ती बलिसकेको छ । त्यसैले अब सारा सभ्यताले एकसाथ जाग्‍नु जरुरी छ ।


Author

थप समाचार
x