विचार

सुकन्या, सत्यभामा, ध्रुवचन्द्र, राजेन्द्र र रणेन्द्रबाट ओलीको समीक्षा र देउवालाई सुझाव

विमल आचार्य |
साउन ५, २०७८ मंगलबार १०:२४ बजे

नेपालमा व्यवस्था धेरै पटक परिवर्तन भइसके, सरकारको के कुरा ! सरकार धेरै पटक परिवर्तन भए पनि के भन्‍नु, पचासौँ वर्षदेखि उनै पात्र नै अभिनय गरिरहन्छन्, सत्तामञ्चमा । यस्तो लाग्छ, शासक ऋतु हुन्, पालोमा ट्याक्क आइहाल्छन् ।

संविधान नै आधा दर्जन फाटिसके । सय वर्ष पुग्नै लागेका भैरव रिसालले त्यति कोट किनेका-फटाएका छैनन्, जति संविधान भोगिसके । सबैखाले प्रयोग यहाँ भइसके, हुँदै पनि छन् । अझै व्यवस्था र तन्त्र बदलको कुरा उठिरहन्छ । यस्तो लाग्छ- हामी नाच्‍न जान्दैनौँ, व्यवस्था टेढो भनिरहन्छौँ ।


दुई ठूला कम्युनिस्ट पार्टी मिलेपछि नेकपा (नेकपा) बन्यो । अब सर्वहारा, गरिबका दिन फिरे र फिर्छन् भनियो । तर, साढे तीन वर्ष नहुँदै उनै देउवा पो फिरे । हो, चारपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा ।

२०४६ सालयता सर्वाधिक बलियो बहुमतमा लामो समय सरकार चलाएका केपी शर्मा ओली बालुवाटार छिर्दा के थिए र अहिले बालकोट छिर्दा के भए त ? पाँचपल्ट प्रधानमन्त्री भइरहेका शेरबहादुर देउवाबाट के-कति अपेक्षा गर्न सकिन्छ ? ‘गैरराजनीतिक’ व्यक्तित्वसहित पाँच जना गन्यमान्य नागरिकलाई आज इकागजका विमल आचार्यले दुई प्रश्न सोधेका थिए- केपी शर्मा ओलीको सरकार कस्तो लाग्यो, कसरी सम्झिनुहुन्छ ? शेरबहादुर देउवा सरकारबाट के अपेक्षा छ, सुझाव के छ ?

पहिलो महिला न्यायाधीश एवं कवि सत्यमाभा माथेमा र लेखक एवं शिक्षक सुकन्या वाइबा दुवैको उमेर अहिले ८५ वर्ष भयो । सुप्रसिद्ध आख्यानकार डा. ध्रुवचन्द्र गौतम स्वयं संविधान स्वैरकाल्पनिक उपन्यास होइन भन्छन् । जनकपुरबाट वरिष्ठ लेखक डा. राजेन्द्र विमल कोभिडले तहसनहस भएको आर्थिक जीवनमा देउवा सरकार लागिपर्नु पर्छ भन्छन् । सामाजिक सवालमा लेखिरहने रणेन्द्र बराली दलितको सवालमा ओली चुकेको भन्दै देउवालाई प्रधानमन्त्री चिठ्ठा परेको बताउँछन् । हेरौँ, पाँचै जनाको छोटो विचार :

‘ओली ड्यासिङ तर राम्रो काम गरेको भए...’
सुकन्या वाइबा, लेखक   
केपी ओली सरकारको बारेमा भन्‍नुपर्ने ? खै, राम्रो के छ र ? मलाई त केही पो सम्झना भएन त । राम्रो भन्दा पनि नराम्रै कुरा सम्झना छ मलाई । पहिलो कुरा त जनताले बनाएको संविधानलाई यसरी मनपरी गर्नु हुँदैन थियो । गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई रबर स्टाम्प बनाएको पनि मज्जा लागेन । कन्साइनले काम गर्नुभएन । त्यत्रोको विरोध हुँदाहुँदै पनि कत्रो आँटी मान्छे बाबा ! मान्छे त जख्खु नै रहेछन । त्यत्रा प्रधान न्यायाधीश, पत्रकार, विद्वानलाई हियाएर बोल्ने । बाजे वकिल भन्‍ने । 

अँ, मान्छे त अलिकति ‘ड्यासिङ फिगर’ नै हो । त्यो त मान्‍नैपर्छ है । ड्यासिङ तरिकाले राम्रो काम गरेको भए त उनी हट्दैनथे नि, कसले हटाउन सक्थ्यो र ? शेरबहादुर देउवा पनि खासै राम्रो मान्छे चाहिँ होइनन् । हेरौँ, फरक भएका छन् कि ! यस्तो बेलामा हामीलाई सार्थक चेन्ज चाहिएकै हो । तर, कुनै खास योग्य मान्छे त आएनन् नि । अयोग्य भनेर चिनिसकिएको आउनुभन्दा नयाँ आएको भए आशाको ठाउँ हुन सक्थ्यो । यो कठोर परिस्थितिले निखारेर, ओलीबाट पाठ सिकेर अलिकति राम्रो काम गरे भने पनि देउवालाई धेरै अवसर छ । 

‘ओलीप्रति मेरो श्रद्धा थियो तर अब छैन’ 
सत्यभामा माथेमा, पूर्वन्यायाधीश 

म त न्यायको क्षेत्रमा काम गरेको मान्छे । संविधान मिच्ने, कानुन मिच्ने मान्छेप्रति मलाई श्रद्धा छैन । नियम-कानुन मिचेर त भएन नि । आफूखुसी गर्ने ? मनपरी गर्ने ? मनपरी मन्त्री भर्ना गर्ने ? मनपरी मन्त्री निकाल्ने ? मनपरी संसद् भंग गर्ने ? यो खेलाची भएन र ? केपी शर्मा ओलीप्रति मेरो श्रद्धा थियो तर अब अलिकति पनि छैन । 

यसो भन्दै गर्दा म अब अरु पार्टीहरू पनि राम्रा छन् भनेर भन्‍न सक्दिनँ । कांग्रेसलाई पनि पहिले हेरेकै हो । देउवा पनि कमजोर मनस्थितिको मान्छे भन्छु म । केही नगर्ने खालको । केपी गर्न खोज्छन् तर मनपरी । केपी राम्रो काम गर्नतिर लागेनन्, तयारी पूरा नहुँदै उद्घाटन मात्र गरे । नाम कमाउनतिर लागे, उनी । अझ कोरोना महामारीबीच बसका बस मान्छे ओसारेर गालीगलौजमा सभा गरे । आफ्ना शुभचिन्तक कार्यकर्तालाई भीड अर्थात् भाइरसको च्याम्बरमा हाल्ने पनि कस्ता राजनेता ? कस्ता बा ? उनले शक्ति दुरुपयोग गरे । मनपरीतन्त्र त हामीले पहिलेदेखि नै भोगिआएको हो नि । तर यो प्रजातान्त्रिक समय हो । धर्म निरपेक्ष भनेको छ, त्यसको पनि केही पालना छैन । मैले कविता पनि लेखेको छु, ‘टपरीको बोलबाला’ । 

‘खोपमा राम्रो गर्नुभयो, संसद्‌मा चुक्नुभयो’ 
ध्रुवचन्द्र गौतम, साहित्यकार

राजनीतिक विषयमा मलाई धेरै कुरा त थाहा छैन । थाहा नहुने पनि होइन तर सबैले सबै काम-कुरा गर्नु उपयुक्त हुँदैन । यहाँ धेरै बिग्रेको सबैले सबै कुरा जानेर पनि हो । हिजो नयाँ प्रधानमन्त्रीले पनि पुराना सरकारका राम्रा कामले निरन्तरता पाउँछ भन्‍नुभयो । ओली सरकारले पनि राम्रा काम गरेको रहेछ । 

ओलीजीले जनतामा जाने जाने त भन्‍नुभयो, झट्ट सुन्दा यो ठीकै पनि छ । तर महामारीले मान्छे मरिरहेका बेला त्यो कुरै गर्नु पनि उपयुक्त थिएन । जनतामा जाने भन्‍नुभयो अनि प्रतिनिधिसभा मास्नुभयो । त्यो सभा पनि जनतै हो नि । जनताकै थलो हो नि । जसरी जनताले उहाँलाई चुनेर पठाएका थिए, अरुलाई पनि त चुनेरै पठाएका हुन् नि । त्यही जनताको नाममा उहाँले शासन गर्नुभएको हो । त्यही सभाले नै उहाँलाई प्रधानमन्त्री बनाएको हो । त्यो सभालाई छेक्न खोजेको अलि राम्रो होइन कि भन्‍ने लागेको छ मलाई । 

महामारी आयो अचानक । यसमा ओली सरकार नलागेको होइन, लाग्यो । खोपका लागि खटेको पनि हो, ल्याएको पनि हो । ओलीजीका नराम्रा कुराको म धेरै लिस्ट दिन चाहन्‍नँ । उहाँ मात्र असफल अरु सफल भन्‍ने होइन । तर, उहाँले संविधानलाई हामीले लेख्‍ने कतिपय स्वैरकाल्पनिक आख्यान जसरी व्याख्या नगरेको भए हुने थियो । 

देउवाजीले अहिलेका लागि खोप, खोप, खोप भन्‍नुभयो नि, यही हो गर्नुपर्ने । अहिले नागरिकलाई चाहिएको यही हो । खोप पनि आधा लगाएर बसेका छन् मान्छे । एउटा भनेको आधा त रहेछ । अब पहिलो काम यही गर्नुपर्छ । बाँकी त गर्नुपर्ने काम धेरै छन् ।   

‘ओलीको संकल्पको म तारिफ गर्छु’ 
डा. राजेन्द्र विमल, कला मर्मज्ञ 

केपी शर्मा ओलीजी बलियो जनमत पाएरै आउनुभएको हो, चुनौतीपूर्ण अवस्थामा । कोरोनाको नसोचेको संकट आयो । यस्तो बेला पनि उहाँले राम्रैसँगै काम गर्नुभयो । उहाँको संकल्पको म तारिफ गर्छु ।  उहाँले देशलाई कसरी सम्मानपूर्ण अवस्थामा लैजान सकिन्छ भनेर धेरै सपना पनि देखाउनुभयो । 

समृद्ध र विकसित राष्ट्र कसरी बनाउन सकिन्छ भनेर चिन्ता लिनुभयो । यी सबै अत्यन्तै सबल पक्ष हुन् उहाँका । र, दुर्बल पक्षहरू पनि भए । जस्तै ः उहाँले साझा सरकारको जुन संस्कृति हुन्छ, त्यसअनुसार काम गर्नुभएन । माधव नेपाल प्रचण्डहरूलाई इज्जत गर्नुभएन । स्वप्नद्रष्टा हुनु राम्रो हो । तर, युटोपियन स्वैरकल्पनाका कुरा धेरै गरिरहनुभयो । महामारीका बेला पनि कमिसनतन्त्रको जगजगी भयो । भ्रष्टाचार हुने मुलुकमा नेपाल झनै माथि चढ्यो । महामारीमा धेरै मान्छे मरे । काण्डहरू पनि धेरै भए । 

देउवाजीलाई सुझाव दिनुपर्दा के भन्‍ने र ? धेरै चुनौती छन् । चुनावमा जान सक्ने अवस्था हुन सक्छ । उहाँको दलभित्र पनि र बाहिर पनि आक्रमण हुन सक्छ । जनताका दुःख पीडामा उहाँले धेरै काम गर्नुपर्ने हुन्छ । कोरोनाले मान्छेको आर्थिक जीवन पनि तहसनहस पारेको छ । गरिबी बढेको छ । बेरोजगारी उस्तै छ । 
उहाँलाई शुभकामना छ । तर, यो सरकार पनि स्थिर होला भन्‍नेमा मलाई शंका छ । 

‘दलितको विषय भनेपछि ओलीजीको टाउको दुख्‍ने’
रणेन्द्र बराली, लेखक

जुन उद्देश्यले दुई तिहाइको बहुमत लिएर सरकार बन्यो, त्यो सरकार बनाउँदाको ओलीजीको वाचा, पार्टी कसरी चलाउने भन्‍ने वाचा, जुन पार्टीसँग एकता भयो, त्यसअनुसार उहाँले काम गर्नुभएन । शक्ति सबै आफूले राख्न खोज्नुभयो । बेइमानी धेरै भयो । पार्टीभित्रको फरक मतको सम्मान गर्नुभयो । यस्तै कारणले उहाँको बहिर्गमन भयो । यसले गर्दा सिंगो पार्टीको बदनाम, सिंगो सरकारको बदनाम, सिंगो देशको बदनाम भयो । जनताप्रतिको घात-आघात गरेअनुसार त्यसको परिणाम उहाँले भोग्नुभयो, अदालतले पाठ पढायो । 

भन्‍नुपर्ने कुरा धेरै छन् । म दलित अधिकारमा लेख्ने-बोल्ने भएको हुनाले यसमा सानो कुरा गर्छु । दलितको विषय भनेपछि ओलीजीको टाउको दुख्‍ने । हामी धेरैपटक डेलिगेसन गइयो । दलित समस्या नै होइन, समस्या नै छैन, यसका लागि कुनै पनि कार्ययोजनाको आवश्यक छैन भन्‍ने अन्तर्आत्माका साथ उहाँ कुरा गर्नुहुन्थ्यो । हामीबाट उहाँ धेरै प्रिय हुन सक्नुभएन । 

शेरबहादुर देउवालाई अहिले चाहिँ एक किसिमले प्रधानमन्त्री पद चिट्ठा परेको छ । धेरै अवगुणबीच उहाँको एउटा राम्रो पक्ष के छ भने दलितको मुद्दा भनेपछि उहाँले चाहे विकास समिति गठन गर्दा होस्, चाहे दलित आयोग गठन गर्दा होस्, दलितका मुद्दालाई चासो राख्‍ने मान्छे चाहिँ हो है, कांग्रेसको मान्छे भए पनि ।

यद्यपि म नेपाली कांग्रेसको पक्षपाती होइन । अरु कुरा धेरै छन् । जे संविधानमा छ, त्यसको मर्मअनुसार सबै कुरा उहाँको कार्यक्षेत्रभित्र त पर्दैन तर देश र जनतालाई केन्द्रमा राखेर सरकारले दिनुपर्ने सन्तुष्टि दिएर चुनाव गराउनुहुनेछ भन्‍ने आशा गर्न सकिन्छ ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x