विचार

चाइना जर्नल

नेपाली कम्युनिस्टको अस्थिरता र चिनियाँ कम्युनिस्टको सय वर्षे स्थिरता

अजय अलौकिक |
साउन ७, २०७८ बिहिवार ७:३९ बजे

मानिसले आफ्नो वर्षभरि गरेका कामको उपलब्धि, सफलता र सन्तुष्टीलाई व्यक्त गर्न आफ्नो जन्मदिवस तथा आफूले थालनी गरेको कुनै कामको शुभारम्भ गरेको दिनलाई उत्सवको रूपमा मनाउने गर्दछन् । साथै आउने वर्षका लागि नयाँ सङ्कल्प र लक्ष्य निर्धारण पनि गर्ने गर्दछन् । 

यस बाहेक, दीर्घायु र अविछिन्‍न रूपमा निरन्तर सफलताको आशमा मानिसहरू जन्मोत्सव र वार्षिकोत्सव मनाउन लालायित पनि हुन्छन् । किनभने, हामी मानिसको औसत आयु ७३ वर्षको आसपासमा रहेको छ । यस हिसाबमा यो संसार र ब्रह्माण्डको समयकालमा एउटा मानिसको उपस्थिति शुन्य बराबर छ । 


साधारणतया, आममानिससँग सय वर्षको जीवनकाल नभए तापनि ती मानिसले चालेका, थालेका काम निरन्तर रूपमा पुस्तापुस्तामा हस्तान्तरण भइरहेको पनि हुन्छ । यस्ता उपलब्धिहरू मानिसको जीवनसँग गाँसिएर संस्कृति र परम्परा समेत बनिसकेका हुन्छन् । 
यस्तै, चिनियाँको जनजीवनमा झण्डै पाँच हजार वर्षदेखि चल्दैआएका संस्कृतिहरू विद्यमान छन् । पछिल्लो समयमा आमचिनियाँहरूमा चिनियाँ कम्युनिस्ट पार्टीको महत्व पनि उत्तिकै विशाल रूपमा बसेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले बितेको शताब्दीमा चीन राष्ट्रको विकास र मानव विकासको इतिहासमा एउटा शानदार अध्याय लेखेको छ । 

विश्वमा हजारौँको सङ्ख्यामा राजनीतिक पार्टीहरू छन्, केही पार्टीको इतिहास लामो पनि होला तर थोरै पार्टी मात्र लामो समयसम्म जनताको मन जितेर सत्तामा रहन सफल हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टी अर्थात् कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) यस्तै इतिहास र गौरव बोकेको पार्टी हो । 

हालसालै यसै चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको एक सय वर्ष मनाएको छ । योसँगै चीन, चिनियाँ जनताका साथै विश्वलाई एउटा ऐतिहासिक क्षणको साक्षी बन्‍ने अवसर पनि मिलेको छ । गत जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सयौँ वार्षिकोत्सवको अवसरमा बेइजिङस्थित थ्येनआनमन चोकमा एउटा भव्य समारोहको आयोजना भयो । ७० हजारभन्दा बढी पार्टी सदस्य तथा सर्वसाधारणको उपस्थितिमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन गर्दै बितेका एक सय वर्षयता चिनियाँ कम्युनिस्ट पार्टीले पार्टी स्थापनाको भावनाको विस्तार गर्दै पार्टीको भावनात्मक प्रणाली खडा गरी स्पष्ट रूपमा राजनैतिक गुण सिर्जना गरेको र यसलाई निरन्तरता दिँदैजानेमा जोड दिए । 

उनले भने, चिनियाँ कम्युनिस्ट पार्टीको पुस्तौँपुस्ताले राष्ट्रिय स्वतन्त्रता र मुक्तिकालागि, देशको समृद्धि र सामर्थ्यकालागि तथा जनताको खुसीकालागि सङ्घर्ष गरेका छन् । यो पार्टी जनता र जनताको समृद्धिकालागि जन्मिएको हो । यो पार्टीको मूलभूत लक्ष्य अनुसार सदा जनताको हितकालागि लडिरहने छ । 

महासचिव सीले पार्टीप्रति वफादार र जनताप्रति जिम्मेवार रहनु नै चिनियाँ कम्युनिस्ट पार्टीको मूल भावना भएको र यो नै पार्टीको भावनात्मक स्रोत भएको पनि उल्लेख गरेका थिए । सन् १९२१ को जुलाई महिनाको कुनै दिन चिनियाँ कम्युनिस्ट पार्टीका दशभन्दा बढी सदस्यहरूले जोखिम मोलेर च्यासिङको नान हु (ताल) मा एउटा डुङ्गामाथि चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो बैठकको आयोजना गरी औपचारिक रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको घोषणा गरेका थिए । 

आधिकारिक इतिहास अनुसार, पार्टीको पहिलो बैठक साङहाईको पूर्व फ्रान्सेली कन्सेसनमा गोप्य रूपमा १३ जनाको सहभागितामा जुलाई २३ मा भएको थियो । अध्यक्ष माओ चतोङले पार्टी स्थापनाको बीस वर्षपछि जुलाई १ लाई पार्टीको आधिकारिक स्थापना दिवस निर्धारण गरेका थिए । 

यसरी सन् १९२१ को जुलाईमा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९२१ देखि सन् १९४९ सम्म चिनियाँ जनताको नेतृत्व गरी साम्राज्यवाद, सामन्तवाद, उपनिवेशवाद र नोकरशाही पुँजीवादको शासनलाई फालेर जन गणतन्त्र चीनको स्थापना गरेको थियो । सन् १९७६ मा सांस्कृतिक क्रान्तिको अन्त्यसँगै चीन नयाँ ऐतिहासिक विकासको अवधिमा प्रवेश गरेको थियो । सन् १९७८ को अन्त्यतिर आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको ११औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले नयाँ चीनलाई नयाँ मोडमा पुर्‍याएको थियो । सन् १९७८ देखि सीपीसीले तङ स्याउफिङद्वारा प्रस्तावित सुधार र खुलापनको नीति लागू गर्दैआएको छ । 

सुधार र खुलापनको नीति लागू भएयता चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासमा विश्व आकर्षित भएको छ । अहिले चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति भइसकेको छ । चीनको आर्थिक तथा सांस्कृतिक विकासले अनुपम सफलता हासिल गरेको छ । यसै गरी, चीनले सुधार र खुलापन तथा आधुनिक चीनको निर्माणकालागि अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गर्ने प्रयास गर्दैआएको छ । अन्तर्राष्ट्रिय मामिलामा सीपीसीले स्वतन्त्र र स्वावलम्बी तथा शान्तिपूर्ण परराष्ट्र नीतिको अवलम्बन गरेको छ । यसै नीतिमा अडिग रहेर सीपीसीले चीनको स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण गरिरहेको छ, प्रभुत्ववाद र शक्ति राजनीतिको विरोध गरिरहेको छ, विश्वमा शान्तिको उद्घोष गर्दै मानवजातिको प्रगतिलाई अघि बढाउन चाहिरहेको छ । 

एक-अर्काको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको सम्मान गर्ने, एक-अर्का देशमाथि आक्रमण नगर्ने, एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सह-अस्तित्वका पञ्चशील सिद्धान्तमा आधारित रहेर चीनले विश्वका सबै मुलुकहरुसितको सम्बन्धको विकास गर्दैआएको छ । 

स्वतन्त्र र स्वावलम्बी, पूर्ण समानता, आपसी सम्मान र एक-अर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चारवटा सिद्धान्तका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीले विश्वका विभिन्‍न मुलुकका पार्टीहरुसँग मैत्रीपूर्ण सम्बन्धको स्थापना र विकास गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका अनुसार, हाल पार्टीले विश्वका १६० वटाभन्दा बढी मुलुक तथा क्षेत्रका ५६० वटाभन्दा बढी राजनैतिक पार्टी तथा संगठनसँग मैत्रीपूर्ण सम्पर्क कायम राखेको छ । हाल सीपीसी विश्वकै सबैभन्दा ठूलो पार्टी बनेको छ । यसका सदस्यहरुको सङ्ख्या नौ करोड पचास लाख पुगेको छ । 

यसैबीच, सीपीसीले आफ्नो स्थापनाको सय वर्षको उपलक्ष्यमा विश्वका राजनीतिक पार्टीका नेताहरूबीच जुलाई ६ तारिख जनताको हितका लागि राजनैतिक दलहरूको उत्तरदायित्व शीर्षकमा एक सम्मेलनको समेत आयोजना गरेको थियो । 
सम्मेलनमा प्रमुख वक्ताको रूपमा चिनियाँ राष्ट्रपति तथा सीपीसीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले विभिन्‍न देशका राजनीतिक दलहरूलाई नेतृत्वको जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्‍न र विभिन्‍न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा अगाडि बढ्न आह्वान गरेका थिए । 

यसै गरी, चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग र नेपालका विविध राजनीतिक पार्टीबीच पनि केही समय अगाडि एउटा भर्चव्ल मिटिङ बसेको थियो । सो क्रममा अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले कोभिड महामारी तथा नियन्त्रण सम्बन्धमा चीनले गरेको प्रयासका साथै जनतालाई प्राथमिकता दिने, जनताको सुरक्षा र स्वास्थ्यलाई विशेष ध्यान दिने पार्टीको नीतिलाई अङ्गिकार गर्दै आएको बताए । उनले सहभागी नेपाली नेताहरूलाई जनतालाई महत्व दिन पनि सुझाएका थिए । जनताको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरे मात्र जनताको विश्वास जित्न सम्भव रहेको उनले भने । 

विश्व कोभिड-१९ को कहरबाट मुक्त भइसकेको भए अहिले चीनमा सम्भवतः विश्व नै अटाएको हुने थियो । शतवार्षिकीको अवसरमा विश्वका सबै देशका राष्ट्रनायकदेखि विविध पार्टीका नेता तथा कार्यकर्ता र बुद्धिजीवीहरूको यतिखेर चीनले भव्य रूपमा आतिथ्य गरिरहेको हुन सक्थ्यो । 

विगत सय वर्षमा सीपीसीले सम्पूर्ण चिनियाँ जनताको नेतृत्व गरी नयाँ चीनको स्थापनासँगै विपन्‍न मुलुकबाट विश्वको दोस्रो आर्थिक समुदाय बनाएको छ । एउटा यस्तो देश जहाँको करिब आधा जनसङ्ख्या अर्को छाकको लागि चिन्ता गर्नुपर्ने अवस्थाबाट आज विश्वमा सबैभन्दा ठूलो मध्यम आय भएकाहरूको देश बनेको छ । अहिले, प्रति चिनियाँको औसत गार्हस्थ उत्पादन मात्रा १० हजार अमेरिकी डलरभन्दा बढी पुगेको छ । विश्वको आर्थिक इञ्जिन बन्‍न सफल चीनले धेरै वर्षदेखि आर्थिक वृद्धिमा ३० प्रतिशतको योगदान दिँदैआएको छ । 

यसले असम्भव झैं देखिने गरिबी निवारण गरेको छ, निरपेक्ष गरिबीबाट जनतालाई मुक्त गरेको छ । कृषि तथा प्रविधिमा विशाल फड्को मारेको छ । अन्तरिक्ष अन्वेषणमा अघि बढ्दै छ । कोरोना महामारी (कोभिड-१९) लाई आफ्नो काबुमा राखेको छ । जनताको जीवनस्तरमा ठूलो सुधार आएको छ, जीवनयापनलाई सुखी र सुविधा सम्पन्‍न बनाउँदै जनताको सपनालाई पूरा गर्दैआएको छ । आशालाई निराशा होइन भरोसामा परिणत गरेको छ । 

सरसर्ती हेर्दा यो चमत्कारजस्तै लाग्छ । तर यो चमत्कार होइन, सीपीसीको निरन्तरको अथक प्रयास हो । चीनमा जताततै एउटा नारा देख्न पाइन्छ, जहाँ लेखिएको हुन्छ, जनतालाई तनमनले सेवा गर्नुहोस् । यो नारा पार्टी सदस्यहरूका लागि जन सेवकको रूपमा निरन्तर लागिरहन सम्झाउने स्मारिका हो, झस्काउने सङ्केत हो । 

निरन्तर सत्तरी वर्षदेखि शासन गर्दैआएको विश्वको सबैभन्दा ठूलो सत्तारुढ पार्टी सीपीसीले विश्वलाई विशेषतः विकासोन्मुख देशलाई प्रेरक शक्ति पनि दिएको छ । चीनको बेल्ट एण्ड रोडबाट सम्बन्धित मुलुकका ७६ लाख जनता पूर्ण गरिबीको स्थिति र ३ करोड २० लाख जनता मध्यम गरिबीको स्थितिबाट मुक्त हुने बताइएको छ ।

जब एउटा भिजन र मिसन एक साथ मिल्दछ तब उपलब्धिहरू प्राप्त गर्न सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी उत्सव सपना साकार भएको, लक्ष्यभेदन गरेको र उद्देश्य प्राप्ति भएको अवसरमा हर्षबधाईको उत्सव हो । लामो इतिहास र विशाल पार्टी भएको दावी गर्ने कतिपय यस्ता राजनैतिक पार्टी समय र जनताको माँगलाई सम्बोधन गर्न नसकेर पतन भएका छन् । सीपीसीको १९ औँ राष्ट्रिय महाधिवेशनले जनताको सुखकालागि र राष्ट्रको पुनरूत्थानकालागि निरन्तर प्रयास गर्दै सन् २०३५ सम्ममा मूल रूपमा समाजवादी आधुनिकिकरण हासिल गरिसक्ने र आर्थिक तथा प्रति व्यक्ति आय औसत रूपमा विकसित देशको स्तरमा पुग्ने घोषणा समेत गरेको छ । 

चीनलाई औसत रूपमा सम्पन्‍न सामाजिक राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पूरा गरेको सीपीसीले दोस्रो शताब्दी लक्ष्यतर्फ अग्रसर रहँदै जनतालाई सम्पन्‍न बनाउने र देशलाई समृद्ध, शक्तिशाली आधुनिक समाजवादी मुलुक बनाउने अटल यात्रामा चिनियाँ विशेषतायुक्त समाजवादको मार्गमा अगाडि बढ्दै तिव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता कायम राखेको छ । 

आफ्नो स्थापनाको मूल उद्देश्य र अभियानबाट अगाडि बढ्दै सीपीसीले स्वतन्त्र विचारका साथसाथै समयसँग अघि बढ्ने, वास्तविक तथा व्यावहारिक दृष्टिकोण लागू गर्दै सैद्धान्तिक नवपद्धतिलाई पछ्याउँदै आफूलाई निरन्तर रूपमा बलियो बनाउँदैलगेको छ । 

नेपालजस्तो राजनैतिक अस्थिरता भएको देश जहाँ विगत तीस वर्षमा असङ्ख्य पटक सरकार परिवर्तन भएको छ, यस्तो देश र जनताले यो चिनियाँ कम्युनिस्ट पार्टीको गौरवशाली इतिहासबाट धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।


Author

थप समाचार
x