मुक्ति संघर्ष र धर्म सुधार आन्दोलन
सन् १५१७ अक्टोबर ३१ को दिन थियो । विभिन्न प्रयोजनका लागि भन्दै चर्चमा धन सञ्चय गर्ने परम्पराको खिलाफमा बिटेनबर्गस्थित कैसल गिर्जाघरको प्रवेशद्वारमा मार्टिन लुथरले विरोधपत्र ‘द नाइन्टी फाइभ थेसिस’ टाँसिदिनु भएको थियो- तत्कालीन क्याथोलिक पोप साम्राज्य उथलपुथल हुने गरी ।
सन् १५२० मा मार्टिन लुथरलाई धर्मबाट निष्काशित गरियो । सन् १५२६ मा रोमन साम्राज्यको स्पियरको बैठकमा क्याथोलिक र लुथरवादी दुई भागमा विभक्त देखिएको थियो । सन् १५२९ मा स्पियरको दोस्रो बैठकमा सम्राट् चार्ल्स पञ्चमले क्याथोलिकको समर्थन गर्दै लुथरवादी धर्मसुधार आन्दोलनविरुद्ध कठोर निर्णय पारित गराएका थिए । लुथरवादीहरूले भने चर्को विरोध गरेका थिए । फलस्वरूप सन् १५३१ मा स्मालकाल्डिक लिग नामक सुरक्षात्मक संघको निर्माण हुन पुग्यो । जर्मनीमा गृहयुद्धको प्रारम्भ भयो ।
यसलाई स्मालकोडनको युद्ध ( सन् १५४६-१५५५) पनि भनिन्छ । युद्धको भयावह रूपपछि चार्ल्सका उत्तराधिकारी फर्डिनेन्डले सन् १५५५ मा आग्सवर्गको सन्धि गरे । यही धर्मसुधार आन्दोलन नै प्रोटेस्टेटका रूपमा विकसित हुन पुग्यो ।
मार्टिन लुथरपूर्वका धर्म सुधारकहरू जोन वाइक्लिफ (सन् १३२०-१३८४), जानहस (उहाँलाई सन् १४१५ मा जिउँदै जलाइएको थियो), सेवोनारोला (सन् १४५२-१४९८), इरासमस (सन् १४६६-१५३६) लगायतले पोप शाहीको अनैतिकता, भ्रष्टता, विलासिता तथा शोषणविरुद्ध आफ्नो आवाज बुलन्द गर्नुभएको थियो ।
इङ्ल्याडका राजा हेनरी अस्टमले धर्म सुधार आन्दोलनको समर्थन गर्दै चर्चको सर्वोच्च अधिकारी पोप हुने परम्परा तोड्नुभएको थियो । उहाँले आफ्नो श्रीमती केवराइनसँग सम्बन्धविच्छेद गर्ने अनुमति नदिइएको कारणले पोपको विरोध गर्दै ‘एक्ट अफ सुप्रिमेसी’ पारित गरी चर्चको सर्वोच्च अधिकारी हुनुभएको थियो । फलतः आफूलाई चर्चको प्रमुख नमानेको भन्दै क्याथोलिक र क्याथोलिकलाई नमानेको भन्दै प्रोटेस्टेटलाई दण्डित गर्नुभएको थियो ।
भारत प्रवेश
१९ औं शताब्दीको आसपासमा समाज सुधार आन्दोलनमार्फत भारतमा नवजागरण कालको सुरुवात भएको देखिन्छ । आजभन्दा २६ सय वर्षअघि गौतम बुद्धकाललाई धार्मिक बिद्रोह मान्ने जमात पनि ठूलो छ । तर पछिल्ला खोज/अनुसन्धान/प्राप्त अभिलेख तथा देशी/विदेशी यात्रीका यात्रावृत्तान्त, लिखित नोटका आधारमा तत्कालीन समाजमा जातव्यवस्था नभएको देखिन आएको छ । ईपू १८४ मा मौर्य सम्राट् बृहद्रथको हत्यापछि पुष्यमित्र सुङ्गमार्फत ब्राह्मण शासनकाल प्रारम्भ भएको देखिन आउँछ । युनानी सेनापति सेल्युकसका विशेष दूत मेगस्थनीजले आफ्नो यात्रावृत्तान्त इन्डिकामार्फत तत्कालीन भारतमा सबै समान रहेको बताएका छन् । उनले भारतमा विद्वान्, कृषक, पशुपालक, कारिगर, सैनिक, दुकानदार र गरिब गरी सात थरीका मानिसहरूको बसोबास रहेको उल्लेख गरेका छन् ।
अर्थात् मौर्य साम्राज्यसम्म भारतमा जातका आधारमा वर्णव्यवस्था नभई कामका आधारमा वर्ग व्यवस्था थियो भन्ने देखिन्छ । ब्राह्मणवादी इतिहासकारहरूले व्याख्या गरेझैं मौर्य शासकहरू र गौतम बुद्ध क्षेत्रीय भन्ने आधार देखिँदैन । ‘मूरा’ नामक दासीको कोखबाट चन्द्रगुप्त मौर्यको जन्म भएको भन्ने भ्रम पनि मेगस्थनीजको इन्डिकाले खण्डित गरिदिन्छ । सुङ्ग साम्राज्यभन्दा अघि भारतमा वम्हन-समन अर्थात् आजीवक परम्परा थियो भन्ने सिद्ध हुन आउँछ ।
धर्म सुधार आन्दोलनको चर्चा गर्दा राजा राममोहन रायको नाम छुटाउन सकिँदैन । १८२८ अगस्ट २० मा मूर्तिपूजा, पुरोहितवाद तथा अवतारवादको विरोध गर्दै ब्रह्म समाजको स्थापना उहाँले गर्नुभएको थियो । ब्रह्म समाजको आन्दोलनको प्रभावस्वरूप गभर्नर जनरल लर्ड विलियम बैटिकले सन् १८२९ मा अधिनियम सत्र पारित गराई सतीप्रथाको अन्त्य गर्नुभएको थियो । यता पश्चिम भारतमा ज्योतिबा फुलेको नेतृत्वमा १८७३ सेप्टेम्बर २४ मा सत्यशोधक समाजको स्थापना भएको थियो । जसको प्रभावस्वरूप ब्राह्मण पुरोहितबिना विवाह संस्कार गर्न पाउने प्रावधान मुम्बई उच्च अदालतले सदर गरिदिएको थियो ।
सन् १९२४ मा डा. भीमराव अम्बेडकरको नेतृत्वमा बहिष्कृत हितकारिणी सभा र सन् १९२४ मा अल इन्डिया डिप्रेस्ड क्लाश फेडरेसन स्थापना भएको थियो । भारतको संविधानमा समानताको हक र आरक्षणको व्यवस्थाको श्रेय अम्बेडकरलाई जान्छ । उपेक्षित तथा उत्पीडितका मसिहा डा. भीमराव अम्बेडकरको नेतृत्त्वमा महाड सत्याग्रह, नासिक सत्याग्रह, येवलाकी गर्जना लगायतका धार्मिक तथा सामाजिक सुधारवादी आन्दोलन भएका थिए । उहाँको अन्धविश्वास, पाखण्डवाद, ब्राह्मणवाद तथा अन्धराष्ट्रवादप्रतिको विद्रोहलाई विश्वभरिका उत्पीडित वर्गले मुक्ति संघर्षको आधारका रूपमा स्वीकारेका छन् । ई. १९५६ मा नागपुरमा लाखौँलाख समर्थकका साथमा लिनुभएको बाईस प्रतीज्ञा नै ‘नवयान’ अर्थात् ‘अम्बेडकरवादी बौद्ध’ धम्मको मार्गदर्शन सिद्धान्तका रूपमा स्वीकारिएको छ । उहाँले लेख्नुभएको ‘बुद्ध एन्ड हिज धम्म’ कृतिलाई नवयान समर्थकहरूले धर्मग्रन्थकै रूपमा श्रद्धा गर्दछन् ।
धर्म सुधार वा समाज सुधार आन्दोलनको उपलब्धिको अर्थ उत्पीडकसँग सम्झौता गर्नु मात्र होइन कि उत्पीडितले पनि आफ्नो हिस्सा प्राप्त गर्नु हो । यसका निम्ति अन्तर्राष्ट्रिय अभ्यासहरूबाट बेलैमा पाठ सिक्ने कि ?
भ्रष्ट शिख महन्तहरूको विरुद्धमा सन् १९२० मा भएको गुरुद्वार सुधार आन्दोलन (अकाली आन्दोलन), पारसी समाज तथा धर्मको सुधारका लागि सन् १९५१ मा मज्दयासन सभाको स्थापना, अंग्रेजी शिक्षा र विज्ञानद्वारा मुस्लिमलाई शिक्षित गराउनुपर्ने माग राखी गरिएको अलिगढ आन्दोलन, प्रेस स्वतन्त्रता तथा नारी मुक्तिका लागि सन् १८३० को वरिपरि यंग बंगाल आन्दोलन लगायत समाज सुधार आन्दोलन भएका थिए भारतमा । पेरियर रामास्वामी, रानी अहिल्या बाई, साबित्री बाई फुले, सन्त कविर, स्वामी विवेकानन्द, शिवली नुमानी, शैय्यद अहमद, एसएस बंगाली, ठाकुरसिंह संहावालिया, मैडम बलाक्सकी तथा कर्नल हेनरी स्टील, केशवचन्द्र सेन लगायतको भारतीय धार्मिक तथा सामाजिक सुधारको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।
नेपाल प्रवेश
नेपालमा धार्मिक बहुलता मात्र होइन- अन्धविश्वास, कुरीति, कुसंस्कार, छुवाछूत, जातीय विभेद, रंगभेद, लैंगिक भेदलगायत विसंगति तत्व सामाजिक तथा सांस्कृतिक हिस्साका रूपमा रहेका छन् । त्यसकारण विभिन्न कालखण्डमा सुधारवादी आन्दोलन पनि भएका छन् । आजभन्दा करिब १ सय वर्ष अगाडितिर पूर्वी क्षेत्रमा जोसमनी मतको बोलवाला थियो । ज्ञान दिलदास, लखन थापा, योगमायाहरू जोसमनी मतका अनुयायी थिए । जोसमनी अनुयायीहरू हिन्दु धर्मका नाममा अन्धविश्वास, विकृति-विसंगतिको अन्त्य गरिनुपर्ने मत राख्थे । भारतको गुजरात हुँदै १७०३ सालतिर नेपाल आइपुगेको प्रणामी सम्प्रदायहरू पनि जातीय छुवाछुत र विभेदको विरोधी थिए । त्यसपछि माधवराज जोशीहरू सम्मिलित आर्य समाजीहरूको अभियान सुरु भएको पाउँछौं । किरात गुरु फाल्गुनन्द, जयपृथ्वीबहादुर सिंह, बालागुरु षडानन्द, शंखधर साख्वा, योगी नरहरिनाथ लगायतका सुधारकहरूको धार्मिक तथा सामाजिक सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।
निर्क्योल
नेपालको झण्डै कुल जनसंख्याको दुई तिहाइ अझै पनि बहिष्करणमा पारिएका छन् । एक तिहाइका हाराहारीमा भएका आर्य (ब्राह्मण/क्षत्री) को हातमा राजनीतिका अलावा धार्मिक तथा सामाजिक/सांस्कृतिक सत्ताको बागडोर छ । गरिबी, अशिक्षा, पछ्यौटेपन, अन्धविश्वास, रुढिवादी परम्परा अझै पनि जीवित रहनुको पछाडि यही कारण जिम्मेवार छ ।
पटकपटकको राजनीतिक आन्दोलनका कारण समावेशी, समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, संघीयता प्राप्त भए पनि धार्मिक तथा सामाजिक/सांस्कृतिक उत्पीडन घट्न सकेको छैन । हिन्दु वर्णव्यवस्थामा आधारित जात व्यवस्थाका कारण उँचनीच, भेदभाव, छुवाछूत, जातीय विभेदजस्ता उत्पीडनका घटनामा कमी आएको छैन । त्यसैले नेपालमा मुक्ति संघर्षको धारा अब धार्मिक तथा सामाजिक/सांस्कृतिक किल्ला भत्काउनेतर्फ केन्द्रित हुनुपर्दछ । जस्तो कि मार्टिन लुथरको आन्दोलन क्याथोलिक पोपको साम्राज्य भत्काउनमा केन्द्रित थियो । अम्बेडकरको आन्दोलन समाजमा विद्यमान अन्धविश्वासको जड भत्काउनमा केन्द्रित थियो ।
फलतः लुथरको समाज सुधार आन्दोलनले लूथरन प्रोटेस्टेन्ट र अम्बेडकरको समाज सुधार आन्दोलनले नवयान बौद्ध जन्माउन सफल भयो । धर्म सुधार वा समाज सुधार आन्दोलनको उपलब्धिको अर्थ उत्पीडकसँग सम्झौता गर्नु मात्र होइन कि उत्पीडितले पनि आफ्नो हिस्सा प्राप्त गर्नु हो । यसका निम्ति अन्तर्राष्ट्रिय अभ्यासहरूबाट बेलैमा पाठ सिक्ने कि ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया