विचार

रवीन्द्रजी, विचारभन्दा माथि केही हुन्‍न

रविकिरण यादव |
साउन १३, २०७८ बुधबार ७:२७ बजे

‘विचारभन्दा माथि देश’ शीर्षक राखी विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केही राजनैतिक अजेन्डा अगाडि सारेका छन् । अजेन्डाउपर प्रवेश गर्नुपूर्व मेरो ध्यान उनले राखेको शीर्षकतिर मोडियो ।

त्यो शीर्षक लेख्नुपूर्व उनले केही ‘विचार’ गरे कि गरेनन् होला ? शीर्षकको कुरा छोडौं, अजेन्डा राख्नुपूर्व केही ‘सोच विचार’ त पक्कै गरे होलान् अथवा शीर्षकअनुसार ‘विचार’ नै नगरी ‘देश’को अजेन्डा तय गरेका हुन् त ? यस्ता प्रश्नहरूले मेरो मनमस्तिष्कलाई फनफनी घुमाइरह्यो । उनको राजनैतिक अजेन्डाभन्दा बढी राजनैतिक उनको शीर्षक नै लग्यो । यिनै प्रश्नहरूको भुमरीमा उभिएर मैले मानव सभ्यता, वैचारिक विकास तथा त्यसले देश निर्माणको अवधारणामा ल्याएको परिवर्तनबारे केही सर्वमान्य तथ्य पेस गर्दै आफ्नो ‘विचार’ जोड्न खोजेको छु ।


मानव सभ्यताको विभिन्‍न कालखण्डलाई वैचारिक भिन्‍नताहरूले परिभाषित गर्न सकिने प्रशस्त आधार भेटाउन सकिन्छ । हाम्रो मस्तिष्कको विकाससँगै हामीले प्रवाह गर्ने विचार पनि विकसित हुँदै आएका छन् । यिनै विचारहरूको विस्तारले मानव जीवनका सामाजिक, आर्थिक लगायत विभिन्‍न पक्षलाई प्रभावित गरिरहेको पाइन्छ । आदिम युगमा न त विवाह, न त परिवार, न त समाज, न त देशकै संकल्पना गरिएको थियो । समयचक्रसँगै हाम्रा आवश्यकता तथा परिस्थितिअनुसार मस्तिष्कको विकास हुँदै गर्दा समूहभित्रको संवाद र स्वार्थ संस्थागत गर्यो । योसँगै भाषा, समूहगत दृष्टिकोण तथा फरकफरक जीवनशैलीहरू देखापर्न थाले । तिनै दृष्टिकोणहरूको समष्टिगत रूपले दर्शन, धर्म-संस्कृति तथा समाजका आधार तयार गर्न थाल्यो । 

यिनै तत्वहरूको संगमले अर्थ व्यवस्था, राजनीति तथा साम्राज्यको परिकल्पना थालिएको हो । फलस्वरूप सुरुवाती दौडमा बहुदेववादी संस्कार र संस्कृति भएका सिन्धुघाटी सभ्यता, ग्रीक, रोमन तथा पारसी साम्राज्यहरूको स्थापना भयो । इसाई तथा इस्लाम धर्मको आवगमनपश्चात् पश्चिमा तथा मध्यपूर्वी समाजमा अद्वैतवादी विचारको प्रभुत्व कायम हुन पुग्यो । इतिहासको यो कालखण्डमा धार्मिक वादले नै सामाजिक दृष्टिकोण, राज्य प्रणाली, अर्थ व्यवस्था तथा कानुन परिभाषित गर्न थालेको थियो । साम्राज्यको आधार धर्म थियो । धर्म भने मानिसको सोच,  दृष्टिकोण तथा वैचारिक पृथकताको उपज थियो ।

आधुनिक समयमा राष्ट्र-राज्यको परिकल्पनाले एउटा जाति, संस्कृति, धर्म तथा भाषालाई निश्चित भौगोलिक रेखाभित्र राखी राजनैतिक एकाइ खडा भए । आजका बहुसंख्यक ‘देश’ राष्ट्र-राज्यकै परिकल्पनाको उपज हुन् । विशेषतः दोस्रो विश्वयुद्धपश्चात् उपनिवेशवादको पकड कमजोर भएसँगै राष्ट्र-राज्यको सिद्धान्तअनुरूप कैयौँ ‘देश’हरूको स्थापना भएको हो । सम्भवतः १५ औं शताब्दीदेखि भू-राजनीति,  राजनैतिक अर्थशास्त्र, पुँजीवाद तथा नक्सांकनजस्ता विभिन्‍न क्षेत्रमा बौद्धिक खोज-अनुसन्धानले नै ‘राष्ट्र-राज्य’को वैचारिक आधार तयार गरेको हुनुपर्छ । 

‘विचार’माथिको आक्रमण स्वयं एक ‘विचलित विचार’को उदाहरण हो । ‘विचलित विचार’ पनि स्वयं एक ‘विचार’ नै हो । अतः विचार यत्रतत्र सर्वत्र छ ।

१९औं शताब्दीमा महान् विचारक कार्ल मार्क्सले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्तले ‘राष्ट्र वा देश’ उत्पत्तिको नयाँ वैचारिक आधार खडा गर्यो । मार्क्सकै सिद्धान्तमा टेकी लेनिनको नेतृत्वमा रूसमा अक्टूबर क्रान्ति सम्पन्‍न भई सोभियत संघको निर्माण भयो । दोस्रो विश्वयुद्धपश्चात् वामपन्थी सोभियत संघ तथा पुँजीवादी पश्चिमा मुलुकबीच शीतयुद्ध नै चल्यो । यसको बाछिटा विश्वभर फैलियो । ‘राष्ट्र-राज्य’ सिद्धान्तअनुसार एउटै हुनुपर्ने कोरिया र भियतनाम क्रमशः वामपन्थी उत्तर तथा पुँजीवादी दक्षिणमा विभाजित रह्यो । पूर्वी जर्मनी तथा पश्चिम जर्मनी पनि मूलतः एउटै राष्ट्रअन्तर्गतका दुई फरक देश बन्‍न पगे । यसरी समाजवाद वा पुँजीवादजस्ता फरक अर्थव्यवस्था केन्द्रित वैचारिक धारहरू पनि देश निर्माणको कारक बनेको पाइन्छ ।  

नेपाल राजतन्त्र, राणातन्त्र, संवैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको छ । ती प्रत्येक व्यवस्थाको मूल कारक हामीले गरेको समाजको रूप, रंग, बनोट तथा सञ्चालन प्रणालीको परिकल्पना गर्दाखेरिको विविधता हो । पृथ्वीनारायण शाहको विस्तारवादी सोचले वर्तमान नेपालको भौगोलिक सीमा तय गर्यो । अर्कोतिर प्रचण्ड नेतृत्वको दस वर्षे जनयुद्धले राष्ट्रिय एकतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार गर्यो । यो विविधता राजनैतिक विचारधाराका रूपमा प्रस्तुत भएका हुन् र सार्वभौम जनताले अनुमोदन गरेपश्चात् यसले व्यवस्थामा परिवर्तन ल्याएको हो । व्यवस्था परिवर्तनले देशको स्वरूप पनि परिवर्तन भएको हो । 

एकातिर रवीन्द्र मिश्रको राजनैतिक एजेन्डाले देशको व्यवस्था परिवर्तन गर्न माग गरेको छ भने उनको शीर्षक ‘विचारभन्दा माथि देश’ले यथास्थितिलाई आत्मसात् गरेको पाइन्छ । देशलाई कुनै विचार वा वादसँग नोजोडी हेर्ने हो भने यथास्थितिको व्यवस्थाभन्दा बाहेकको विकल्प रोज्न सैद्धान्तिक दृष्टिकोणबाट असम्भवप्रायः छ किनभने शीर्षकअनुसार हामीलाई ‘विचार’लाई प्राथमिकतामा राख्ने छूट नै छैन । तर अर्कातिर संघीयता खारेज गर्नु भनी पस्केको राजनैतिक अजेन्डाले गÞैरसंघीयतावादलाई अनुमोदन गरी हालको ‘देश’लाई बेवास्ता गरी कुनै निश्चित राजनैतिक ‘विचार’लाई प्राथमिकतामा राखेको देखिन्छ । उनको शीर्षक र अजेन्डाहरूबीच नै चरम विरोधाभास रहेको पाइन्छ ।

यो बहस गर्नुको तात्पर्य ‘कारण’ र ‘नतिजा’बीचको भिन्‍नता प्रस्ट्याउनु हो । माथिका तर्कहरूमा ‘देश, राष्ट्र तथा साम्राज्य’ उत्पत्तिका विभिन्‍न कारणबारे चर्चा गरिएको छ । धर्म,  संस्कृति,  भाषा जस्ता फरक फरक सिद्धान्तले नै फरक फरक ‘देश, राष्ट्र तथा साम्राज्य’ तय गर्ने आधार बनेका छन् । प्रत्येक सिद्धान्त विभिन्‍न सन्दर्भमा, विभिन्‍न भूगोलमा विभिन्‍न मानिसद्वारा सत्ता र शक्ति आर्जन गर्नका निम्ति प्रयोग हुँदै आएका हुन् । यिनै प्रयोगहरूले समयको विभिन्‍न कालखण्डमा विविध विशेषता भएका ‘देश,  राष्ट्र तथा साम्राज्य’हरू निर्माण भए ।

‘विचारभन्दा माथि देश’ मानव सभ्यताको विकासको जगमाथि नै अंकुश लगाउने एक अपरिपक्व प्रयासबाहेक अरु केही पनि होइन ।

मूलतः विचार (सिद्धान्त) नै ‘देश’ निर्माणको कारण हो । ‘विचारभन्दा माथि देश’ भन्‍ने वाक्यांशले ‘कारण’ र ‘नतिजा’बीचको सम्बन्धलाई धमिल्याउन खोजेको आभास भयो । आफूसँग ‘देश’ बनाउने ‘विचार’ अभावले ‘विचार’लाई नै राजनैतिक अजेन्डाबाहिर ल्याउने कोसिस गर्नु यो मुलुकका निम्ति दुर्भाग्यको विषय हो । एकातिर ‘हिन्दू राष्ट्र’को अजेन्डा उठान गर्नु र अर्कातिर ‘विचार’ होइन ‘देश’ पहिला भनी उद्घोष गर्नुले विचार नगरी हिन्दू राष्ट्रमा हाम फाल्न अनुरोध गरिएको अनुभूति भएको छ ।

‘विचार’माथिको आक्रमण स्वयं एक ‘विचलित विचार’को उदाहरण हो । ‘विचलित विचार’ पनि स्वयं एक ‘विचार’ नै हो । अतः विचार यत्रतत्र सर्वत्र छ । रवीन्द्र मिश्रको राजनैतिक हतारको अजेन्डा उनीसँग ‘वैकल्पिक राजनीति’ पस्कन सक्ने क्षमता नभएको प्रमाण हो ।  हाम्रो  इतिहास साक्षी छ, मानव सभ्यताको विकास ‘वैचारिक क्रान्ति’को परिणाम हो । अगाडि सारिएको नारा ‘विचारभन्दा माथि देश’ मानव सभ्यताको विकासको जगमाथि नै अंकुश लगाउने एक अपरिपक्व प्रयास बाहेक अरु केही पनि होइन । 

मानव जातिकै उत्कृष्ट औजार ‘विचार’लाई परिष्कृत गर्ने, यसमा नयाँ आयाम थप्ने र यसैका आधारमा नयाँ राजनैतिक सोच र नयाँ एकाइहरूको परिकल्पना गर्नु हाम्रो इतिहास र कर्तव्य दुवै हो । यिनै ‘कारणहरू’ले हामीलाई अन्य प्राणीभन्दा फरक तुल्याएको छ । यी ‘कारण’हरूलाई समय, परिस्थिति तथा आवश्यकताअनुसार परिमार्जित गर्दै जानु नै हाम्रो आजको अभिभारा हो । सोच्ने र विचार गर्ने प्रक्रियालाई नकारात्मक देखाउनु पश्चगमनलाई अँगाल्दै विवेकहीन र म्याद गुज्रेका सामाजिक, आर्थिक तथा मुख्यतः राजनैतिक परिभाषालाई आश्रय दिनु हो । अतः बौद्धिकता विरोधी विवेकहीन आशयलाई ठाउँ दिएर सभ्यताको विकासक्रमलाई सस्तो राजनैतिक लाभसँग नसाट्न सम्पूर्ण राजनीतिकर्मीलाई जोडदार अपिल गर्न चाहन्छु ।

र, यो पनि


Author

थप समाचार
x