नारी किन अझै असुरक्षित ?
विज्ञानको विकाससँगै नवग्रहको परीक्षण र उपग्रहमा मानव पाइला टेकेको पनि पाँच दशक कटिसक्यो । हामी अधिकांशको सोच भने अझै पनि पाँच दशकअघिकै छ । हामी जस्ता अल्पविकसित केही मुलुकमा नारीको अवस्था सम्झँदा विज्ञानको विकासले मात्र होइन, हाम्रो सोचमा नै परिवर्तन आउनुपर्ने देखिन्छ । विज्ञानको विकास गरेका कैयन् मुलुकमा पनि कतिपय नारीको अवस्था उस्तै हुनुले सोचमा परिवर्तनको ठूलो खाँचो देखिन्छ ।
दोस्रो विश्वयुद्धपछि विश्वको नेतृत्व गरिरहेको अमेरिकाले समेत नारी राष्ट्रपति स्वीकार गर्न सकेको छैन । बल्ल उपराष्ट्रपतिमा नारी कमला ह्यारिस आशीन छिन् । नारीको अवस्थाबारे एक्लै घोत्लिने हो भने थाहा हुन्छ- थोरै भाग्यमानी नारीबाहेक सारा नारी यतिबेला कता-कता अलमलमा र चुला-चौकामा नै छन् । शिक्षाको विकास भएको यो समयमा थोरै भाग्यमानी छोरीको भिडमा कतिपय छोरीहरूको अवस्थाले अझै पनि मन खिन्न हुन्छ ।
म राजधानीको सरकारी विद्यालयमा पढाउने शिक्षकको नाताले त्यहाँ पढ्न आउने विद्यार्थी र अभिभावक नियाल्छु । विशेष गरी नारी अभिभावकको उपस्थिति हुँदा उनीहरूको चिन्ता सुन्छु । अनि सम्झन्छु, सरकारी पद र सत्ताको पहुँचमा नारी हस्ताक्षरहरू खै त ? कति र कस्तो अवस्थामा अनि कुन अधिकारले सम्पन्न भन्ने प्रश्न मनमनै गर्छु । विश्वमा राज गरेको बेलायतमा रानी एलिजावेथ द्वितीया नै राष्ट्रप्रमुख छन् । त्यस्तै अन्य कैयन् मुलुकमा महिला प्रधानमन्त्री वा कार्यकारी रहेका छन् ।
हुनत त्यहाँ उनीहरू पुग्नु पनि अपवादझैँ छन् । त्यो पाटोमा नलागौँ । तर उनै नारीले नेतृत्व गरिरहेका मुलुकमा पनि नारीको अवस्था स्मरण गरौँ । त्यहाँबाट प्रकाशित हुने पत्रपत्रिका नियालौँ । उनीहरूको अवस्था के कस्तो छ, छर्लंग हुन्छ नै ।
मेरो त निष्कर्ष नै छ, जबसम्म हरेक असल पुरुषको हृदयमा झैँ क्षमाशीलता र महानता ती केही पाशविक पुरुषहरूमा पनि पलाउँदैन तबसम्म नारीहरूको असुरक्षा झनै बढ्ने देख्छु ।
यस्ता पाशविक मानिसहरूलाई दिइने सजाय मात्र होइन, राष्ट्रमा युवामा सकारात्मक सोच ल्याउन सक्नुपर्छ । यतिबेला यस्तै मानवहरूका कारणले हरेक युवा छोरी सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । कैयन् त अलपत्र र डरलाग्दो अवस्थामै छन् । समयको कालखण्डमा हिजो अति सम्मानित र वेद पुराणमा वर्णित नारीकोझैँ सम्मान खै अहिले ? अनि नारी सुरक्षाको कुरा त निकै पर ।
नारी सौन्दर्य
हाम्रो धर्म-संस्कृतिमा व्याख्या गरिने नारीको सौन्दर्य भनेको उनीमा देखिने शालीनता र विद्वताको भावलाई झल्काउन खोजेका हुन् । तर, यतिबेला व्याख्या फरक ढंगले गरेको पाइन्छ । अनि नारीमा आएको भड्किलोपन पनि यसको दोषी छ । विश्व यति बेला कोभिडको महामारीमा छ । तर पनि मुलुक आफ्नै गतिमा अघि बढेको छ । विज्ञानले यसको नियन्त्रण गरिरहेको छ । तर, नारीको सुरक्षाको विषयमा खै के भन्ने ? यही कोभिड पनि नारीका लागि थप अभिशाप भयो । कोभिडले सबै घरमा थुनिएर रहनुपर्यो । जसले गर्दा पनि महिला हिंसा बढ्यो । नारीहरू स्वतन्त्र रहन सकेनन् । उनीहरू खेलाउनझैँ बन्न पुगेका घटना पनि छन् ।
कतै नारी पुजित, कतै अति सम्मानित तर अहिले कतै अति नै अपमानित र प्रताडित हुन परेको देखिन्छ । नारीलाई आनन्द लिने एक साधनका रूपमा उपयोग गर्दै हत्या गर्नेहरू खुलेयाम हिँड्न पाउनुलाई कानुनको उपहास भनिएको छ । तर, त्यसमा सरकारले कसरी काम गर्छ हेर्न बाँकी छ । जसले जतन गर्नुपर्ने र रक्षा, सुरक्षा गर्नुपर्ने उसैबाट यदाकदा असुरक्षाको अति नै निरीहता पनि देखा परिरहेका छन् । समाचारको पन्ना पल्टाउँदा आंग नै जिरिंग हुन्छ । किन परिवारभित्रै दानवता पैदा हुन्छ र कोमल व्यक्तिको चरित्र मात्र लुटिँदैन त्यसमा तलमाथि हुँदा ज्यान नै लिने गरेको समाचार पढिरहेका छौँ । मानव क्रुरताको पराकाष्ठा त्यस्ता घटनाले देखाउँछ । त्यो पनि नारी सौन्दर्यको कारण हो त ? प्रश्न उठ्ने गरेको छ ।
एउटी छोरीले बाबा म पनि अन्तरिक्ष यात्री बन्छु है, म पनि विश्वप्रसिद्ध विश्वविद्यालयमा पढेर वैज्ञानिक, डाक्टर, इन्जिनियर, पाइलट, सीए, सरकारी जागिर लगायत के-के हुन्छु भनिरहेका हुन्छन् । जगत्मा अधिकार माग्न नपर्ने नारी बन्छु है भनेर आफ्नो बाबा-आमाको सम्मानित सुरक्षामा बाँचेर हुर्किएका भाग्यमानी छोरीको भिड एकातर्फ छ भने अर्कोतर्फ त्यही भिडमा मैले माथि भनेझैँ असुरक्षा खेप्ने अभागी छोरीहरू पनि छन् । जो जन्मले जननी कहलिन्छिन्, तिनै नारीलाई कति सम्मान गर्छन् त हरेक पुरुष आफ्ना सोचमा ? अनि निर्भीक निर्भयविना प्रश्न बतास सरि निर्बाध डुल्ने पुरुष नारीको हिँड्डुलमा यति रुढिवादी सोचले ग्रस्त किन ? र असल पुरुषको भिडमा पाशविक पुरुष किन ? अनि जो जन्मले दिदी, बहिनी, छोरी पत्नी हुन् ती कति पुजित छन् त हरेक दाजु, भाइ, बाबु, काका, साथी मित्रका संरक्षणमा र सम्मान, जतन, मायाँ र अधिकार पाउने भाग्यमानी नारीको भिडमा ती अभागी नारी र छोरीको अवस्था अझै कता ? जो पथमै लुटिन्छिन् र लुटिएपछि पाशविक मृत्युवरण गर्छिन् ।
पीडापछि पुरस्कारको के अर्थ ?
हरेक छोरी पुरस्कार पाउन मुस्कान खातुनको झैँ पीडा नभोगी सफल हुने कहिले ? मलाला युन्सुफ नबनी शिक्षा पाउन सक्षम र सहजता कहिले र किन ? जो जन्मले सखी हुन ती कति सुरक्षित साथी बन्न सक्छिन् त हरेक (सखा) साथीहरूका माझमा पुगेर बस्दा, हाँस्दा या गफ गरेर मनका पीडा मात्र सुनाउँदा या भेटघाट मात्र हुँदा समाजमा कति सम्मानित हुन्छिन् त उनी त्यो अवस्थामा ? जो काली, सरस्वती र लक्ष्मीसित दाँजिइन्छिन् ती कति पूजित र सम्मानित छिन् त यो समाजमा र हाम्रा असल पुरुष संरक्षकहरूका माझमा ?
जो पढेर म्याडम क्युरी, एन्जिला मर्केल, एलेन जोन्सन सर्लिफ, फ्लोरेन्स नाइटेङ्गल, मिसेल ओबामा, हिलारी क्लिन्टन, क्लारा जेटकिन, कल्पना चावला, इन्दिरा हिन्दुजा, रानी लक्ष्मीबाई, मार्गरेट थ्याचर, जसिन्डा आर्डेन, मलाला यन्सुफ, एमिली सिन्डलर, इन्दिरा गान्धी, मदर टेरेसा, गार्गीलगायत थोरै नाम लिन सक्ने व्यक्तिबाहेक अरू कता छन् ? विश्व जनसंख्या नियाल्ने भने पुरुषभन्दा महिलाको प्रतिशत स्वतः बढी छ । नेपालमा त महिला डेढ प्रतिशतले बढी नै छन् । तर किन सुरक्षित छैनन् त उनीहरू ?
त्यो महत्वपूर्ण पाटो हो । हुनत राज्यले ती केही कसुरवालाहरूलाई दिने कानुन फितलो भएर पनि होला, यति विधि आपराधिक मानसिकता केही पुरुषहरूमा उब्जिएको । तर राज्यले सुरक्षा दिनुपर्ने स्थानमा यस्तालाई कतै संरक्षण त गरेको छैन भन्ने प्रश्न पनि आम मानिसमा उठिरहेको छ यसो पक्कै नहोला ।
- के नारीले बाँच्न सधैँ भय र त्रासरहित वातावरण खोजि नै रहनुपर्छ त यो पितृसत्तात्मक मुलुकमा ?
- के सधैँ महिला हिंसा बन्द गरको नाराले देशका टुँडिखेल, बाटा पार्कहरू घन्किनै पर्छ त ?
- पथमा जङ्गली जनावररूपी ती थोरै अबुझ स्वाँठहरूकै त्रास र भयमा जीवनका लक्ष्य परित्याग गरेर बाँच्नुपर्छ ?
- के ती आमा, छोरी, पत्नी, दिदी-बहिनी सखी बनेकाहरू नारी हैनन् र अनि यो भूमि उनीहरूको होइन र ?
यस्ता यस्ता प्रश्न उठ्छन् नै । जबसम्म हरेक आमाले आफ्ना हरेक छोरा र छोरीलाई नैतिक र चारित्रिक शिक्षा दिँदैनन् तबसम्म ती अभागी निर्मला भगिरथी र मुस्कानहरू झैँ नारीहरू पीडित हुनुपर्ने अवस्था देखिन्छ । यसलाई चिर्न पनि यसमा संलग्नहरूमाथि कारबाही हुन आवश्यक छ । खुलेयाम हिँड्न सक्ने अवस्था पनि आउन दिनु हँदैन । नत्र देशले रगत मागे बलिदान हुने छोरा सम्झेर गौरव गर्ने आमाले कानुनबमोजिमको सजाय मेरो छोराको अपराधलाई हेरेर दिनु भन्न किन सक्दैनन् ?
हो, हामीलाई साइनोअनुसारको सम्मान दिएर निर्भीक बनेर हिँड्न, डुल्न, पढ्न, लेख्न मन छ तर हत्केलामा गन्न सकिने थोरै भाग्यमानी नारीबाहेक कसैको पनि जीवन निर्भय, सहज, सरल र सोचेजस्तो छैन ।
ती पाशविक छोराको अपराधमा र यति जघन्य अपराध किन ढाकछोप गर्छन् ? जबसम्म यस्तो गर्न सक्दैनन् आमाहरू तबसम्म नारी यस्तै अपमानित भइरहन्छन् । जबसम्म एउटी आमा शिक्षित र ज्ञानी बनेर हरेक आमाले हरेक बालबालिकालाई लालनपालन गर्दा नैतिक र चारित्रिक शिक्षा दिन सक्षम हुन्नन तबसम्म देशमा कुनै पनि प्रकारका क्रुर र अमानवीय घटनाहरू रोकिँदैनन् ।
जब समाजका हरेक वर्गले नारी र पुरुष समाज-सृष्टिका संरक्षक हुन् भनेर बुझ्दैनन् तबसम्म नारीको विकास, सम्मान र स्वतन्त्रता यसैगरी अपहृत या अलपत्र परिरहन्छ । हो, हरेक मानिसलाई आफूमाथि ठूलो विश्वास हुनुपर्छ र आफूमाथि यसरी विश्वास हुनु राम्रो पनि हो । तर पुरुष हुँ यो समाजको भनेर दम्भ र घमण्डका कारण अरूलाई पैतालामा राख्ने छुट कदापि कसैलाई छैन र रहनु हुँदैन । अहंकार र अभिमानको यात्रा व्यक्तित्वको नास र समाप्तिमा पुगेर टुङ्गिन्छ भनी बुझाउन जरुरी छ हरेक आमाले, गुरुले र समाजका शिक्षित, बौद्धिक अगुवाहरूले । यति असल पुरुष कर्मले सजिएको र बहादुरीले बनेको जगत्मा किन यस्तो विडम्बना ? सबैको सुन्दर साथ र माया, जतन सुरक्षाको पवित्र आड पाएर बसेका नारी छोरीको भिडमा विविध प्रकारको घृणित भाव कसरी पलायो त ? आफैँले संरक्षण गर्नुपर्ने छोरी र नारीहरूमाथि ?
मानवीयता नभएका हृदयहीन मान्छेले त केवल प्रेमलाई मनको भोक मेटाउने साधन मात्र बुझ्छ र प्रेम शब्दको अर्थ कदापि बुझ्दैन बरु यसलाई नबुझी अनेक प्रकारका कुकृत्य गर्छ र समाजका लाखौँ असल पुरुषलाई पनि प्रश्न गर्न बाध्य पार्छन् किन पलायो यो प्रकारको पाशविकता तिनमा भनी । हुन पनि अचेल म जस्ता शिक्षिकाको माथिंगल यस्तै प्रश्नले गिजोलेको छ । सायद केही समयअघि भागिरथीमाथि घटेको घटना र त्यो पाशविक युवा ? ती आमाले नैतिक शिक्षा दिन मात्र सकेकी भए या हरेक आमा या हरेक अभिभावकले नैतिक शिक्षा दिन सफल भएको भए यस्तो अवस्था पक्कै आउने थिएन । चितवनकी सुजिता यसरी मारिन्न थिइन् ।
हो, हामीलाई साइनोअनुसारको सम्मान दिएर निर्भीक बनेर हिँड्न, डुल्न, पढ्न, लेख्न मन छ तर हत्केलामा गन्न सकिने थोरै भाग्यमानी नारीबाहेक कसैको पनि जीवन निर्भय, सहज, सरल र सोचेजस्तो छैन । यस्तो किन होला, आजकाल म निकै घोत्लिन्छु । अनि आत्तिन्छु । तर मनलाई पुनः चित्त बुझाउँदै सुधार हुने आशामा अल्झिन्छु । हो, यो प्रश्न ती लाखौँ असल पुरुषसित गर्न मन छ, आजका हरेक तह र तप्कामा सफलता पाउन लालायित हरेक छोरीहरूको र यो देशका हरेक नारीको ।
के महिला हुनु अभिसाप हो त ?
के यो जगत् तिनै थोरै फटाहा पुरुषको मनोमानी र नारीलाई अत्याचार गर्ने थलो बन्न दिने हो र ?
हो भने आमा कसरी यति सम्मानित र पूजित छिन् त यो धरामा ?
के महिला शरीर हुनु जीवनभर निर्भीक र स्वतन्त्र बनेर हिँड्न नपाउने प्राणी हुनु हो त ?
यो संसार एउटी छोरी, नारी निडर, निर्भय, सुरक्षित, प्रोत्साहित र पर्याप्त हौसला पाएर हिँड्नै नहुने थलो बनाउने हो त ?
या यति असल मानिस जो हाम्रो हृदयबाट सम्मानित छन् उनीहरू नै विलीन भएर जाने हुन् त ? यस्ता प्रश्न अहिले निकै उठ्ने गरेको छ । अनि प्रश्न गर्न मन लाग्छ, के अब हरेक भगिरथीलाई शृंखला खतिवडा बनेर बाँच्ने रहर छैन होला त ? अब, तिनै असल पुरुषहरूको असलपनले नेतृत्वलाई झकझकाउने बेला आएको छ ।
र, अन्त्यमा भन्नैपर्छ
आखिर पुरुष मात्र हैन, हरेक नारी पनि यो समाजका असल कलाकार, कवि, गीतकार, चित्रकार, इन्जिनियर, डाक्टर, अन्वेषक साथै विद्वान् र विदूषी हुन् । माया र संस्कारको बीजारोपण गरी सृष्टि चलाउने सुन्दर आधार पनि हुन् । एउटी नारीलाई नारी दिवसको दिन मात्र शब्दमा शुभकामना दिएर मात्र हुन्न । हरपल हृदयको महानताले शुभभाव, ऊर्जा, हौसला, माया र जतन दिन सक्नुपर्छ । उसको हरेक साइनोलाई गरिने माया र प्रेमको पवित्र रूप बन्न आवश्यक छ । महिला मानव सृष्टिका जननी हुन्, स्पष्ट हुनैपर्छ ।
महिला आमा हुन्, दिदी-बहिनी हुन्, अनि श्रीमती पनि । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमती साथले पुरुषको जीवनका अवयव अघि बढेको हुन्छ । त्यसैले पुरुष र महिलाबीच अन्योन्याश्रित सम्बन्ध छ, भिन्नता छैन । जैविक भिन्नता अर्थात् शिशुलाई जन्म दिने शारीरिक बनावटमा मात्र फरक छ । त्यही कारणलाई राखेर असमानता र असुरक्षाका रूपमा लिन सकिँदैन ।
महिलालाई भान्साकी महारानीका रूपमा मात्र हेरिनु हुँदैन । जवाफदेहिता धेरै ठाउँमा बाँडिएको छ । महिला सक्रिय हुन खोज्दा अनेकन् लान्छना पनि लाग्छ । अनि निर्णय प्रक्रियामा राखिन्न, रुद्रघण्टी नभएको, पोथी बासेको, नक्कली, उत्ताउली जस्ता शब्दवाण हानिन्छ । हुन त यतिबेला महिलाका आवाज उठ्न थालेका छन्, केही सवालहरू सम्बोधनको प्रक्रियामा छ । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश नै समेत महिला हुँदा छवि ह्वात्तै उठेको थियो । महिलाहरूलाई सम्पत्तिमाथिको अधिकार स्थापित गरिँदै छ, अहिलेको अवस्थामा पनि ३० प्रतिशत महिलाका नाममा स्वामित्व कायम भइसकेको तथ्यांकले देखाउँछ । यस्तो अवस्थाले पनि केही सुधार ल्याएको छ । हुनत राज्य सञ्चालनमा महिलाको सहभागिता बढाउन कानुनमा स्पष्ट पारिएको छ । संघीय सांसद र प्रदेश सभामा निर्वाचित हुने सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुनैपर्छ । सभामुख, उपसभामुखमध्ये एक महिला, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला हुने तथा प्रदेश सभामा पनि सभामुख र उपसभामुखमध्ये एक महिला प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ ।
त्यस्तै गरी गाउँपालिकामा ४ जना, नगरपालिकामा ५ जना, जिल्ला समन्वयमा कम्तीमा ३ जना, गाउँपालिका र नगरपालिकाको प्रत्येक वडाबाट कम्तीमा २ जना महिलाको प्रतिनिधित्व हुने गरी गाउँ सभा र नगर सभा गठित छ । जसले बिस्तारै निर्णायक क्षेत्रमा पनि महिला पुग्ने विश्वास गर्न सकिन्छ ।
राष्ट्रिय महिला आयोगमा अध्यक्ष र सदस्य महिला मात्र रहने संवैधानिक व्यवस्था रहनु । यौनजन्य दुव्र्यवहार र बोक्सीसम्बन्धी कसुरमा छुट्टै कानुनी व्यवस्था गरिनु । प्रशासनमा १८ प्रतिशत महिला कटिसकेको छ भने श्रममा सहभागिताको दर पनि झण्डै ६० प्रतिशत छ । २०७७/७८ कै तथ्यांक नियाल्ने हो भने, न्यायपालिकामा ३, बेरोजगार महिलाको दर १३, महिला साक्षरता ७८ प्रतिशत र कृषिबाट महिलाको आम्दानी ५५ प्रतिशत छ । यही तथ्यांक नियाल्दा महिला कति पछि छन् त्यो देखिन्छ ।
एउटै कुरा के भने निर्बाध सुरक्षित र संरक्षित रूपमा छोरीले सम्मिनित र गरिमामय जीवन बाँच्न पाउनुपर्यो र छोरीले पनि आफूले आफूलाई बुझेर बाँच्नु पर्यो किनकि कतिपय बेलामा छोरी पनि डरलाग्दा रूपमा प्रस्तुत भएका देखिन्छन्, त्यो नहुनु र नियन्त्रित सौम्य र शालीन हुनपर्यो अधिकारको दुरुपयोग नगरी । यसरी समाज नारी र पुरुषका सुन्दर ज्ञानमय सोचले सजिनुपर्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया