विचार

काठमाडौंको राष्ट्रवाद र जयसिंह धामीहरूका पीडा

दीर्घराज उपाध्याय |
साउन १७, २०७८ आइतबार १९:५७ बजे

महाकाली नदीमा बेपत्ता जयसिंह धामीका नाममा फेरि सुरु भएको छ, राष्ट्रवादको अलाप । एकथरी स्वघोषित राष्ट्रवादी, अर्कोलाई दलाल, गुलाम र लम्पसारवादीको बिल्ला भिराउन उद्यत भइसके । दिउँसो मुठ्ठी उचालेर लैनचौर बाहिर भारतीय विस्तारवाद मुर्दावाद भन्नेहरूका पैताला साँझ परेपछि त्यही दूतावासभित्र चुपचाप पस्छन् । यही हो, काठमाडौंको राष्ट्रवाद । दार्चुलाको व्यासका बासिन्दालाई दुःखाउने काठमाडौंको यही राष्ट्रवाद हो । जिल्लाका नेताहरूको जिन्दगी काठमाडौंका दल र नेताहरूको गुलामी, सलामी र मलामीमा बित्छ । अनि काठमाडौंका दल र नेताहरूको जिन्दगी विदेशी शक्तिको सलामी, गुलाम र मलामीमा बित्यो । 

राष्ट्रवाद पनि कस्तो ? आफ्नो पार्टी सरकारमा भए, चूप । प्रतिपक्षमा भए राष्ट्रवाद साउन महिनामा महाकालीको उर्लिंदो भेलझैँ प्रकट हुन्छ । जब काठमाडौंमा राष्ट्रवादका नारा लाग्न थाल्छन्, तब दार्चुलाको व्यासका बासिन्दा भारतीय पक्षको अघोषित नाकाबन्दी झेल्न पुग्छन् । उनीहरूको दानापानी र स्वास्थ्योपचार झण्डै बन्द हुने अवस्थामा पुग्छ । आफ्नै देश र आफ्नो सदरमुकाम पुग्न पनि भारतीय बाटो यात्रा गर्नुबाहेक अर्को विकल्प छैन । 


यता भारतीय पक्ष काठमाडौंको रीस व्यासका जनतासँग साँध्न थाल्छ । जयसिंह धामीसँग भारतीय एसएसबीले गरेको व्यवहार यो तात्कालिक होइन, यसको पछाडि कारण खोज्दै जाँदा त्यो चुच्चे नक्सासँग ठोकिन पुग्छ । नेपाल सरकारले चुच्चे नक्सा जारी गरेपछिको रिस उसले कुनै न कुनै रूपमा फेरिरहेको छ । त्यसैको शिकार भएका हुन्, जयसिंह धामी ।

सीमावर्ती नेपालीसँग पहिले निकै उदार र सहयोगी सीमावर्ती भारतीय पक्ष चुच्चे नक्सा जारी भएपछि कठोर र यो हदसम्म क्रूर हुन पुग्यो कि, उसले तुइनमा तरिरहेको मानिसलाई ‘मान्छे’ नै ठानेन । कमिला झैँ खोलामा बगाइदियो । 

जयसिंह धामीको मृत्युमा भारतीय पक्ष जति जिम्मेवार छन्, त्यत्तिकै जिम्मेवार छ, नेपाल सरकार । अनि त्यत्तिकै जिम्मेवार छन्, दार्चुलाबाट राजनीति गर्नेहरू पनि । हो, दार्चुलाबाट जितेर मन्त्री र सांसदहरू पनि जयसिंह धामीको मृत्युमा जिम्मेवार छन् । ठेक्का लिएर झोलुंगे पुल नबनाउने ठेकेदारहरू पनि जयसिंह धामीको मृत्युको जिम्मेवार हुन् । र, काम नगर्ने ठेकेदारहरूलाई उन्मुक्ति दिने प्रशासन पनि उनको मृत्युको जिम्मेवार हो ।

हरेक दिन काटिन्थ्यो, तुइन । एसएसबीले अरु दिन मान्छे नभएको बेला काट्थे । शुक्रबार मान्छे तर्दै गर्दा काटे । एसएसबीका लागि तुइन अवैध हो । भोको पेट र अभावबाट मुक्तिका त्यही दिनचर्या र नियति हो, जयसिंहहरूको । 

आफ्नो देशमा सडक भएको भए यसरी तुइन चुँडिएर जयसिंह धामीहरूले जीवन गुमाउनु पर्दैनथ्यो । पछिल्लो नौ वर्षमा सात किमी सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले चार किलोमिटर मात्र निर्माण गर्‍यो । यही गतिले निर्माण भएमा तिंकर जोड्ने बाँकी ८७ किमि सडक निर्माणमा कम्तीमा २० वर्ष थप लाग्नेछ । 

कालापानी त चुनावी मुद्दा मात्र बन्छ । हो, यो त्यही मुद्दा हो, जसको बुई चढेर दलहरू पटक–पटक सत्तामा पुगे । प्रजातन्त्रको पुनःस्थापनापछि २०५१ र २०५४ मा कालापानीलाई राष्ट्रवादसँग जोडेर चर्को बहस भयो । गणतन्त्र पुनःस्थापनापछि भारतको अघोषित नाकाबन्दी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि ०७२, ०७४, ०७६ मा राष्ट्रवादी भावना ओतप्रोत भएर आयो । त्यो सडकमै पोखिएको हो ।

राष्ट्रवाद त बस्, सत्तामा पुग्ने चुनावी एजेन्डा मात्र भयो । कसैको राष्ट्रवादी धार सत्ता जोगाउन भुत्ते भयो । कसैको सत्तामा जान । हरेक दिन काटिन्थ्यो, तुइन । एसएसबीले अरु दिन मान्छे नभएको बेला काट्थे । शुक्रबार मान्छे तर्दै गर्दा काटे । एसएसबीका लागि तुइन अवैध हो । भोको पेट र अभावबाट मुक्तिका लागि कालीका जंघार कहिल्यै पौडेर त कहिले तुइनमा तर्न बाध्य छन्, दार्चुलाको उत्तरीभेगका बासिन्दा । बाँच्नकै निम्ति मृत्युसँग पलपल पौठा–जोरी खेल्नु उनीहरूको दिनचर्या हो । र त्यही दिनचर्या जयसिंहहरूको नियति पनि हो ।

महाकालीका अनेक स्थानमा झोलुंगे पुल नभएका होइनन् । तर कोरोनाको कहरपछि ती झोलुंगे पुलमा लागेका भोटे ताल्चा नखुल्दा जयसिंह धामीहरूले प्रत्येक दिन मृत्युलाई यसैगरी छल्दै आएका थिए । अरु दिन जय सिंहहरूले जित्थे । त्यो दिन एसएसबी काल बनेर आयो ।

भारतीय अद्र्धसैनिक बल एसएसवीको क्रुरता र अमानवीयताको पराकाष्ठा हो, जयसिंह धामीको मृत्यु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसहित चार देशसँगको सम्बन्ध अन्योन्याश्रित र विशिष्ट भएको बताएको दुई दिनपछि भारतीय एसएसबीद्वारा यो जघन्य अपराध भएको हो । कस्तो विशिष्ट रहेछ, त्यो सम्बन्ध ? यो त भारतको व्यवहारबाट देखिएको छ । 

के छाङरुका जनतालाई एक पटक चामल बाँडेपछि जुनीभरिलाई पुग्छ र ? छाङरुमा १८ वर्षअघि कोटामा चामल बाँडेको सरकार त्यसपछि गत वर्ष हेलिकोप्टरमा खाद्यान्न लिएर गयो । त्यसयता फेरि सरकार त्यहाँ देखिएन ।

के चर्को गाली गर्नु राष्ट्रवाद हो ? के नक्सामा चुच्चे नक्सा समेट्नु मात्र राष्ट्रवाद हो ? नक्साभित्र समेटिएको भू–भाग फिर्ता ल्याउन पहल गर्नै नपर्ने ? तुइन मुक्त घोषणा गरेको चार वर्षपछि तुइन चुँडिएर नागरिकको मृत्यु हुने क्रम जारी छ । अझ त्यसमा आफ्ना कमजोरी स्वीकार गर्दैन, बरु यही मुद्दालाई राष्ट्रवादसँग जोडेर चर्का कुरा गर्न लज्जाबोध हुँदैन । यही हो, सरकारको चरित्र । यही हो, नेपालको राजनीति । यही राजनीतिको शिकार निरन्तर भइरहेका छन्, व्यासका नागरिकहरू ।

सरकारले भारतीय पक्षबाट भएका ज्यादती कूटनैतिक रूपमा हल गर्न जति आवश्यक छ । त्यति नै आवश्यक छ, आफ्ना नागरिकको भारत वा चीनप्रतिको निर्भरता कम गर्ने काम । 

दार्चुलाका उत्तरी भेग व्यासका नागरिकले कहिल्यै सरकार महसुस गर्न पाएनन् । उनीहरूका लागि सरकार हुनु र नहुनुले केही अर्थ राखेको छैन । उवा र फाँपरबाहेक केही नफल्ने र सदरमुकाम खलंगासँग ५ दिनको पैदल दूरीमा रहेको सडक सञ्जालमा नजोडिएको छाङरु र तिंकरका आफ्ना नागरिक के खाएर बाँचेका होलान ? सरकारले यति पनि सोच्न फुर्सद पाएको छैन । यदि नागरिकको चासो र चिन्ता गर्ने सरकार हुन्थ्यो भने उसलाई लिएर नागरिकले प्रश्न गर्दैनथे । 

केही दिनअघि छाङरुका योगेश बोहराले सरकारलाई सामाजिक सञ्जालमा प्रश्न गरेका थिए, के छाङरुका जनतालाई एक पटक चामल बाँडेपछि जुनीभरिलाई पुग्छ र ? छाङरुमा १८ वर्षअघि कोटामा चामल बाँडेको सरकार त्यसपछि गत वर्ष हेलिकोप्टरमा खाद्यान्न लिएर गयो । त्यसयता फेरि सरकार त्यहाँ देखिएन ।
दार्चुलाको उत्तरी भेगका नागरिकलाई सरकारले नागरिकताबाहेक केही दिएको छैन । यही हेरेर उनीहरू आफूलाई नेपाली ठान्छन् । सरकारबाट उनीहरूले लिएको र पाएको त्यही नागरिकता हो । बाँकी त सबै चिज भारत र चीनबाट लिन्छन्, उनीहरू । दैनिक उपभोग्य वस्तु–नुनदेखि चिनीसम्म उनीहरू भारत र चीनमै निर्भर छन् ।

सरकार घोषणा नगरोस । काम गरोस् । २०७४ भित्र तुइनमुक्त देश बनाउने घोषणा गरेकै हो । सरकार, सरकार जस्तो होस् । जनताका पीर, मर्का बुझोस् । नागरिकको आय–आर्जन र आर्थिक निर्भरताका लागि काम गरोस् । दार्चुलाको व्यासका नागरिकलाई पीडा दिने त्यो काठमाडौंको सडकमा पोखिने राष्ट्रवाद चाहेका छैनन् । त्यो राष्ट्रवाद खलंगा–छाङरु–तिंकर सडक निर्माण भएको हेर्न चाहेका छन् । परनिर्भरताको अन्त्यसहितको राष्ट्रवाद हेर्न चाहेका छन् ।
(उपाध्याय पश्चिम टुडे दैनिक तथा रेडियो पश्चिम टुडेका प्रधानसम्पादक हुन् ।)


Author

थप समाचार
x