विचार

संसदीय संवाददाताको डायरी-६

हृदयेशको हिन्दीले जब संसद्‌मा हंगामा भो

‘मातृभाषा अरुले निर्णय गरिदिने होइन’

हरिबहादुर थापा |
साउन १९, २०७८ मंगलबार ८:४५ बजे

प्रजातन्त्र पुन:स्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक २०४८ असार ६ मा बस्यो । त्यो पहिलो बैठक त्यहीँ बस्यो, जहाँ दलविहीन पञ्चायती व्यवस्थाका ‘माननीय’हरू बस्थे । उतिबेला पनि राष्ट्रिय पञ्चायतको त्यो सदन ‘ग्यालरी बैठक’ले बहुचर्चित थियो । तर, त्यो व्यवस्थामा ‘बहुदलीय व्यवस्था’ शब्द उच्चारण गर्न वर्जित थियो । राष्ट्रिय पञ्चायतका सदस्यहरूले कहिलेकाहीँ झुक्किएर वा राजनीतिक आवेशमा बोलेको खण्डमा निलम्बनसम्मका सजाय भोग्थे ।

त्यही थलोमा बहुदल पुन:स्थापनापछि कांग्रेस-कम्युनिस्टका सांसदहरू बडो उत्साही शैलीमा प्रवेश गरेका थिए । पहिलो बैठकमा सभामुख निर्वाचित भइसकेका थिएनन् । जेष्ठ सदस्यको हैसियतमा कांग्रेस सांसद खलिल मियाँ अन्सारीको अध्यक्षतामा पहिलो बैठक बसेको थियो । सुनसरी भोक्राहाबासी ७४ वर्षीय मियाँ राणाकालदेखि कांग्रेस राजनीतिमा क्रियाशील थिए, त्यो पनि अनगन्ती पटक जेल सजाय भोग्दै ।


पहिलो बैठकमै एमाले सांसद द्रोणप्रसाद आचार्यको ‘नियमापत्ति’ आयो । उनको नियमापत्ति थियो, ‘माननीय बस्ने क्रम तोक्नुपर्छ ।’ राष्ट्रिय पञ्चायतकै ‘जनपक्षीय माननीय’ आचार्य अनुभवी थिए । उनले पञ्चायतकालीन ‘माननीय’को अनुभव प्रयोग गर्दै ‘नियमापत्ति’ शब्द उच्चारण गरे । बहुदलपछिको त्यो नै पहिलो ‘नियमापत्ति’ थियो ।

तर, मिया अन्यौलमा परेको देखिन्छ । उनको ‘नियमापत्ति’ जवाफ फर्काउने क्रममा मियाँले एक्कासि हिन्दीमा बोले । उनले भने, ‘सभामुखको चुनावपछि क्रम तोक्नुहुन्छ ।’ 

फेरि आचार्यको नियमापत्ति आयो, ‘सदनको काम-कारबाही राष्ट्रभाषामा चल्नुपर्छ । जुन भाषा प्रयोग भएको छ, त्यसमा मेरो गम्भीर आपत्ति छ ।’

आचार्यको नियमापत्ति सकिँदा नसकिँदै मियाँले तत्कालै सदन स्थगितको घोषणा गरे । त्यसपछि त्यो ‘नियमापत्ति’ त्यत्तिकै सेलायो । मियाले केही बोलेको भए, आपत्ति-नियमापत्ति बढ्ने देखिन्थ्यो । उनले सदन स्थगित गरेपछि त्यो विषय त्यत्तिकै ‘मत्थर’ भएको संसदीय रेकर्डिङ उतारिएको विवरणमा देखिन्छ ।

२०४८ पछिको प्रारम्भिक संसद् अधिवेशन कालमा यो पंक्तिकार संसदीय संवाददाता थिएन । यद्यपि आफू रिपोर्टिङमा संलग्‍न नभएको राष्ट्रिय पञ्चायत र संसदीय विवरण अध्ययन गर्ने रहर जाग्यो । उतिबेला प्रतिनिधि सभाको बैठक तोकिएको समयमा चल्दैनथ्यो । खाली समय उपयोग गर्ने क्रममा संसद् सचिवालयको ‘अति सुरक्षित’ कक्षमा राखिएको ‘रेकर्डिङ उतार-विवरण अध्ययन गर्ने’ रहर जाग्यो । 

त्यो कक्षमा न माननीय प्रवेश गर्थे, न संसदीय संवादददाता नै । जो प्रवेश गर्थे, तिनले नाम-नामेसी लेख्नुपर्थ्यो । त्यो कोठाका तालाचाबी लिएका सचिवालयका कर्मचारीले भनेका थिए, ‘कसैलाई रुचि छैन, तपाईंलाई चाहिँ किन ?’

जवाफ दिएँ, ‘मलाई संसद् र राष्ट्रिय पञ्चायतका पहिलो बैठक कसरी चल्दा रहेछन् भनी हेर्ने रहर लाग्यो । त्यसकारण २०१६ असार १६ को प्रतिनिधि सभा, २०२० वैशाख १ को राष्ट्रिय पञ्चायत र २०४८ असार ६ को विवरण हेर्न दिनुपर्‍यो ।’

सचिवालयका ती कर्मचारीले फाइलमा नाम-नामेसी लेख्दै त्यो बन्द कोठामा प्रवेश दिए । जहाँ राष्ट्रिय पञ्चायत र बहुदलकालीन माननीयका बोली उतारका ढड्डाले थुप्रै दराज भरिएका थिए । यो तिनै विवरण ढड्डा पल्टाउँदै डायरीमा टिपिएको थियो, हिन्दी भाषा प्रकरण पनि । त्यसकारण यो आलेख चाहिँ ‘देखेको’ भन्दा संसदीय ‘विवरण’मा आधारित छ । त्यसकारण संसदीय डायरीभन्दा अलि पृथक् छ ।

०००
जसरी ‘हिन्दी’ भाषाले पहिलो बैठकमै ‘नियमापत्ति’ले प्रवेश पायो, त्यसपछि दोस्रो बैठकमा पनि त्यसरी नै ‘भाषा विवाद’ कायमै रहेको देखिन्छ ।

२०४८ असार ९ मा दोस्रो बैठकको कार्यसूची चाहिँ सभामुख निर्वाचन गर्ने थियो । प्रजातन्त्र र संसदीय व्यवस्था पुनर्बहालीपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभामुखका निम्ति दमननाथ ढुंगानालाई प्रस्ताव गरे । त्यसरी उम्मेदवारी प्रस्ताव गर्दा लामै भाषण दिने प्रचलन दिने गर्थे । तर, कोइरालाले निकै छोटो बोलेको देखिन्छ । उनले यति मात्रै भने, ‘ढुंगानाबारे मैले धेरै भन्‍नु छैन । भरिएको गाग्रोलाई भरेर खेर फाल्न म चाहन्‍नँ । धेरै कुरा गरेर खेर पनि फाल्न चाहन्‍नँ ।’

कोइरालाले ढुंगानाका हकमा ‘सर्वसम्मति’ खोजेका थिए । अनि अर्काे उम्मेदवारी पनि परेन । त्यसपछि ढुंगाना ‘सर्वसम्मत’ सभामुख बने । दलीय नेताहरूले नयाँ सभामुखलाई बधाइ तथा शुभकामना दिने नै भए । सँगै ‘निष्पक्ष भूमिका’ पनि खोज्ने नै भए ।

त्यही क्रममा सद्‌भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह बधाइ दिँदै थिए । उनले ‘नियमापत्ति’को चर्कै स्वर खेप्‍नुपर्‍यो । कारण थियो : हिन्दी बोली । सिंह नवनिर्वाचित सभामुख बधाइमा भन्दै थिए, ‘सदनले बुद्धिमान, एक कर्मशील भलादमीलाई सभामुख पाएको छ ।...’

उनी पनि त्यो ग्यालरी बैठकका अनुभवी पात्र थिए । अर्थात्, पञ्चायतकालमा पनि सप्तरीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । उनले बधाइमा राष्ट्रिय पञ्चायतकै अनुभव सुनाउँदै थिए, ‘म यो सदनमा यसभन्दा अघि पनि बसिसकेको हुँ । जुन एक भय र त्रासको वातावरण हुन्थ्यो । सदस्यहरूको मनबाट भय र त्रासको वातावरण हटाउन त्यो बेला त्यो कुर्सीमा अध्यक्ष बस्नुहुन्थ्यो, उहाँ असफल हुनुहुन्थ्यो । जबकि नयाँ व्यवस्था छ र नयाँ परिस्थिति छ, अब त्यस्तो हुनेछैन ।’

अर्थात्, पञ्चायतकालका अन्तिम राष्ट्रिय पञ्चायत अध्यक्ष नवराज सुवेदी पञ्चायतविरोधी सीमित राष्ट्रिय पञ्चायत सदस्यका निम्ति कठोर नै थिए । उनी ‘बहुदल’ बोल्नेलाई समेत कारबाही गर्न अग्रसर हुन्थे ।

तर, उनका हकमा पञ्चायतकालीन राष्ट्रिय पञ्चायत सदस्य भीमबहादुर श्रेष्ठको नियमापत्ति आयो । अर्थात्, राष्ट्रिय पञ्चायतकै मित्रबाट ‘नियमापत्ति’को सामना गर्नुपर्‍यो । श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (प्रजातन्त्रवादी)का सांसद थिए । उनी ‘जनपक्षीय’ राष्ट्रिय पञ्चायत सदस्य थिए । उनको नियमापत्ति वाक्य थियो, ‘हिन्दी भाषा विदेशी भाषा हो कि होइन ? हिन्दी भाषा व्यवहारमा लागू गर्न पाइन्छ कि पाइँदैन ?’

प्रतिनिधि सभा नियमावलीको नियम २२२ मा सदन र समितिको काम-कारबाही राष्ट्रभाषामा हुने व्यवस्था थियो । ढुंगानाबाट रुलिङ भयो, ‘सदस्यबाट नियम पालना हुनुपर्छ । तर नियमका केही यस्ता व्यवस्था पनि हुन्छन्, जुन कि सदस्यहरू स्वयंले अनुभूत र ग्रहण गर्नुपर्छ । राष्ट्रभाषा प्रयोग गर्न आग्रह गर्छु ।’

त्यसमा फेरि आचार्यको नियमापत्ति आयो, ‘हिन्दी बोली, संसदीय रेकर्डबाट फिर्ता गर्न रुलिङ होस् ।’

सभामुख ढुंगानाले भने, ‘राष्ट्रभाषा प्रयोग गर्न अनुरोध गरिएको छ, अब त्यो पलना गर्नु उहाँको कर्तव्य हो ।’ त्यो दिन ‘आपत्ति’, ‘नियमापत्ति’को प्रमुख विषय ‘हिन्दी भाषा’ रह्यो ।

०००
हिन्दी भाषा प्रकरण त्यत्तिमै सकिएन । प्रतिनिधि सभाको २०४८ असार २० मा बसेको नवौँ बैठक ‘हिन्दी’ भाषाले चर्काएको भेटियो । त्यो दिन नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा सद्भावना पार्टीका सांसद हृदयेश त्रिपाठी हिन्दी भाषा प्रयोग गर्न उत्साहित भएपछि फेरि भाषा विवादमा सदन रन्थनिन पुगेको देखिन्छ । उनको बोलीसँगै संसद्मा फेरि आपत्ति-नियमापत्तिको पर्रा लामै र राम्रैसँगै चलेको देखिन्छ ।

त्रिपाठीले सदनमा ‘सम्माननीय सभामुखज्यू’ भनी सम्बोधन गरेसँगै आपत्ति-नियमापत्ति चलेको देखिन्छ । उनी हिन्दी भाषा प्रयोग गर्न खोज्थे, उता होहल्ला सुरु भइहाल्थ्यो ।

फेरि आचार्यको नियमापत्ति आयो, ‘सदनको काम-कारबाही राष्ट्रभाषामा चल्नुपर्छ । जुन भाषा प्रयोग भएको छ, त्यसमा मेरो गम्भीर आपत्ति छ ।’

त्यसपछि सभामुख ढुंगानाले त्रिपाठीसँग प्रश्न गरे, ‘माननीय सदस्य, तपाईंलाई नेपाली बोल्न कुनै कठिनाइ छ ?’

तर, त्रिपाठी चाहिँ नेपाली भाषा प्रयोग गर्न नचाहेपछि सदन हंगामा परिणत भएको देखिन्छ । सभामुख ढुंगाना, त्रिपाठीलाई बोल्न समय दिन्थे, उनी उही हिन्दी भाषा प्रयोग... । संसदीय रेकर्डमा उनले बोलेका हिन्दी भाषण चाहिँ ‘रेकर्ड’मा उतारिएको भेटिँदैन । अर्थात् हिन्दी लवजलाई संसदीय ‘रेकर्ड’ले बुझ्दैनथ्यो ।

फेरि सभामुख प्रश्न गर्थे, ‘माननीयज्यूलाई राष्ट्रभाषा बोल्न कठिनाइ छ ?’

त्यसको जवाफ पनि त्रिपाठी नेपालीमा दिँदैन थिए । सभामुख र त्रिपाठीबीच निकै चोटि जुहारी-प्रश्नोत्तर चलिरहेको देखिन्छ । त्यसपछि सभामुख-त्रिपाठी मात्र होइन कि अरु सांसदहरू आपत्ति-नियमापत्ति उत्रिएको देखिन्छ । अनि सांसदहरू जुहारीबीच त्रिपाठी हिन्दीमै... ।

कांग्रेसका प्रमुख सचेतक गोविन्दराज जोशीले भने, ‘उहाँलाई नेपालीमा कठिनाइ होला, त्यसरी नै हामीलाई हिन्दी बुझ्न कठिनाइ भएको छ । हामी हिन्दी नबुझ्ने पनि यहाँ भएको हुनाले बुझ्दै नबुझ्ने भाषामा कानुन र नियम विपरीत बोल्न अनुमति नदिइयोस् ।’

त्यही बीचमा कांग्रेस सांसद् डा. रामवरण यादव पनि नियमापत्तिमा उत्रिए । उनको आपत्ति थियो, ‘नेपालको संविधानमा नेपाली भाषा राष्ट्रभाषा हुनेछ । क्षेत्रीय भाषाहरू राष्ट्रिय भाषा लिएको छ । यदि माननीय सदस्यलाई नेपाली भाषामा कठिनाइ छ भने आफ्‍नो मातृभाषा मैथिली, भोजपुरी या अवधि या थारु भाषामा बोले हुन्छ । म हाउसलाई यो निवेदन गर्न चाहन्छु कि नेपालको कुनै एउटा गाउँ, मलाई कुनै बुद्धिजीवीले या नेपालको एउटा नागरिकले देखाइदिओस् कि जुन गाउँको भाषा हिन्दी होस् ।’

डा. यादव पनि तराईको जिल्ला धनुषाबाट प्रतिनिधित्व गर्थे । उनको ‘नियमापत्ति’मा प्रयोग भाका पनि रोचक देखिन्छ, ‘आमाको गर्भबाट जन्मेपछि ‘माँ हामको दूध दो’, ‘मा हामको भात दो’ कुनै नेपालीले भनेका छैनन् । उहाँले निश्चय पनि जन्मेपछि ‘माई हामरा दूध दे’, ‘माइ हामरा भात दे’ भन्‍नुभएको होला ।’

अनि डा. यादवले त्रिपाठीसँगै प्रश्न गरे, ‘उहाँले आफ्‍नो आमालाई लात मारेर अरुको आमाको दूध उहाँलाई किन मीठो लागिरहेछ ? म जान्‍न चाहन्छु, आज त्रिपाठीजीलाई आफ्‍नो आमाको दूध मीठो नलागेर अरुको आमाको दूध किन मीठो लागिरहेछ ?’

त्यो हिन्दी भाषाले निकै अप्ठ्यारोमा परेका सभामुख ढुंगानालाई डा. यादव प्रश्नले निकै राहत दिलाएको देखिन्छ । अनि ढुंगानाले पनि त्रिपाठीलाई प्रश्न गरे, ‘माननीय सदस्य त्रिपाठीजी तपाईंले सदनबाट आएका आवाजहरू सुन्‍नुभयो ? तपाईं राष्ट्रभाषामा कोसिस गर्न सक्नुहुन्छ ?’

तर, त्रिपाठी किन बोल्थे र नेपालीमा ? त्यसपछि सभामुख भन्थे, ‘उहाँलाई कोसिस गर्न दिऊँ ।’

तर, के हुन्थ्यो र ? त्रिपाठीको नेपाली बोली प्वाक्क पनि फुटेन । फेरि हिन्दी भाषामा... संसद्को । त्यसकारण संसदीय रेकर्डमा त्यतिमात्र उल्लेख छ (हिन्दी भाषामा बोल्नु भएको).... । 

त्रिपाठीको भनाइ रहेछ, ‘तराईमा मत चाहिँ हिन्दी माग्‍ने, पोस्टर पनि हिन्दीमा छाप्‍ने अनि त्यो जनताप्रति गद्दारी होइन ? हिन्दी तराईको सम्पर्क भाषा हो । तसर्थ, कोसिस म गर्नेछु, यदि बीचमा एक्सप्रेस गर्दाखेरि अप्ठ्यारो पर्‍यो भने... ।’

सभामुख ढुंगानाले सुझाए, ‘राष्ट्रभाषा कोसिस गर्नुस्, मातृभाषामा कोसिस गर्नुस्, तपाईंलाई साँच्चै कठिनाइ हुन्छ ।’
तर, उनले भने, ‘मातृभाषा’ अरुले निर्णय गरिदिने होइन ।’ 

अनि त्रिपाठीले कतिपय बेला नेपाली र कतिपय बेला हिन्दी प्रयोग गरे । उनको नेपाली भाषण चाहिँ संसद्सँग सुरक्षित छ । अनि हिन्दी बोल्नुभएको मात्र उल्लेख छ । अर्थात्, उनका हिन्दी बोली संसदीय रेकर्डमा भेटिँदैन ।

त्यसबीचमा सांसदहरू नियमापत्तिको पर्रा छुट्थ्यो नै । अनि सभामुख रुलिङ हुन्थ्यो, ‘उहाँ राष्ट्रभाषामा बोल्ने प्रयास गर्दै हुनुहुन्छ, प्रयास गर्न दिनुस् । उहाँ प्रयास गर्नुहुन्छ ।’

त्यो दिन त्यसरी नै आपत्ति-नियमापत्ति, सभामुखको रुलिङले संसद् चलेको देखिन्छ ।

पहिलो संसदीय कालखण्ड, अनि भर्खर-भर्खर ग्यालरी बैठमा उदाएका माननीय । धेरैलाई लाग्थ्यो पनि होला, त्रिपाठीलाई नेपाली बोल्न आउँदैन भने किन बाध्य पारिएको होला ?

तर, वास्तविकता त्यस्तो थिएन । संसदीय संवाददातासँग निकै घुलमिल गर्ने त्रिपाठी संसद् परिसर, संसदीय समिति, क्यान्टिनमा ठेट नेपाली लबजमा मात्र होइन कि मीठो बोली बोल्थे । सदनबाहिर उनी खुब मीठो नेपाली लबज प्रयोग गर्थे । अझ संसदीय समितिमा उनको भाका र लिखित भाषा पूरै शुद्ध । अनि मिठास पनि उत्तिकै । 

अझ उनमा माननीयहरूलाई हँसीमजाकमा उडाउन सक्ने क्षमता पनि अपार नै थियो । त्यो शैली देखिएपछि लाग्‍ने नै भयो, ‘भाषाको राजनीति.... ।’ राजनीति भनेको ‘अजिब’को हुँदो रहेछ । पछि मन्त्री पदसँगै सत्तारूढ हुँदै गएपछि सदनले पनि उनको ठेट नेपाली भाका सुन्‍न पायो । प्रारम्भिक चरणकै संसदीय क्रियाकलापले देखाउँथ्यो कि ‘हिन्दी भाषा’ले संसदीय बहसको एउटा पाटो बन्‍नेछ । बेलाबखत हिन्दी भाषा प्रकरण यसरी उब्जिने गर्छ ।

र, पढनुहोस् डायरीका यसअघिका यी पाना :
 


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x